दुई सातामा दुई छलाङ

  • बाबुराम भट्टराई वामदेखि लोकतान्त्रिक गठबन्धनसम्म

- माधव बस्नेत

वाम गठबन्धनका लागि १७ असो जमा सहभागिता जनाएका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले त्यसको १० दिनभित्रै २७ असोजमा गठबन्धनबाट बाहिरिएको घोषणा गर्न बाध्य हुनुपर्‍यो । रोचक के भने वाम गठबन्धनमा उनको आगमन जति आकस्मिक देखियो, बहिर्गमन पनि एकाएक भयो । एमाले–माओवादी गठबन्धनमा भट्टराईको प्रवेश र बहिर्गमनको अन्तर्यभित्र के–के खेल भए/थिए त ?

ओलीको स्वागत, प्रचण्डको छिर्के

भट्टराईकै शब्दमा गठबन्धनमा उनको सहभागिता आकस्मिकजस्तो देखिए पनि यथार्थ त्यसो होइन । खासमा गठबन्धनको प्रमुख सूत्रधारमध्ये एक आफू नै भएको भट्टराईको दाबी छ । ३१ वैशाखमा पहिलो चरणको स्थानीय निर्वाचन हुनुअघिदेखि नै भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकताको प्रयास भएको थियो । उनीहरूबीच यसरी छलफल हुँदा दुई शक्तिबीच मात्र किन ? गठबन्धनका लागि माओवादीसँग पनि छलफल चलाउने सल्लाह भयो । अनि, यादव, भट्टराई र प्रचण्डबीच चुनावी तालमेलका विषयमा कुराकानी अघि बढ्यो । छलफलमा प्रचण्डले तालमेलका लागि एमालेसँग पनि कुराकानी भइरहेको सूचना चुहाए । प्रचण्डले नै ‘गठबन्धनको जानकारी कसैलाई पनि दिनु हुँदैन’ भनेका थिए । उनले अरूलाई जानकारी गराएमा भाँडिन्छ भनेपछि ओली, प्रचण्ड, भट्टराई र यादवबीच मात्रै गोप्य बैठक भयो । यसपछि छलफलको जिम्मा प्रचण्ड र ओलीलाई दिइयो । 

कतिसम्म भने १२ असोजमा प्रचण्डले ‘ एमालेसँगको छलफल सकारात्मक रूपमा अघि बढेको र सबै एक भएर निर्वाचनमा जानुपर्ने’ भनेका थिए । तालमेल गर्दा एमाले, माओवादीका अतिरिक्त संघीय फोरमबाट उपेन्द्र यादव र अशोक राई, नयाँ शक्तिबाट भट्टराईसमेत गरी १० जनाको संयन्त्र बनाउने सहमति पनि भएको थियो । तर, फेरि १३ असोजमा प्रचण्डले ‘एमालेसँग नहुने भयो । हामी तीन पार्टीबीच मात्र तालमेल गरौँ’ भने । जसका लागि १४ असोजको बिहान प्रचण्ड, भट्टराई र यादव तीन नेताहरूको भेटघाट भयो । तालमेलको खाका बनाउने जिम्मा यादवलाई दिइयो । र, १६ असोजमा त्यसलाई निष्कर्षमा पुर्‍याउने भन्दै उनीहरू छुट्टिए । 

स्रोतका अनुसार गडबडी यहीँ भयो । यी तीन नेता छुट्टिएपछि एमाले नेताहरू ओली, वामदेव गौतम, विष्णु पौडेल र माओवादी केन्द्रबाट प्रचण्ड, जनार्दन शर्माको बैठक भयो । यही बैठकपछि दुई पार्टीबीच मात्र गठबन्धन गर्ने सहमति बन्यो । उनीहरूले खाकासमेत तयार गरे । यसपछि ‘१६ असोजमा निष्कर्षमा पुगौँला’ भनेका प्रचण्डले भट्टराईलाई फोन सम्पर्क नै गरेनन् । यादव र भट्टराई भने सम्पर्कमै थिए । तर, १६ असोजमा भट्टराई र एमाले उप–महासचिव विष्णु पौडेलबीच टेलिफोनमा कुराकानी भयो । यस बेलासम्म एमाले–माओवादी केन्द्रबीच तालमेल हुँदै एकतासम्म जाने सहमतिका धेरै कुरा सार्वजनिक भइसकेका थिए ।

१७ असोज दिउँसो २ बजे ओलीले भट्टराईलाई आफ्नो निवास बालकोटमा निम्त्याए । जहाँ ओलीले उनलाई तालमेलमा सहभागी हुन आग्रह गरे । भट्टराई मोटामोटी सहमत नै थिए । अनि, त्यहीँबाट भट्टराईले प्रचण्डलाई फोन गरे । ‘ ओलीले मान्दैनन्,’ प्रचण्डको भनाइ थियो । ‘ ओलीजी सहमत हुनुहुन्छ । उहाँ र मसँगै छौँ ।’ भट्टराईले भनेका थिए । भट्टराईको यो अभिव्यक्ति सुनेपछि प्रचण्डले भने, ‘ए ल त्यसो भए ठीक छ । भेट गरी थप सल्लाह गरौँ ।’ यसपछि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा थप छलफल गर्ने सहमति भयो । ओली र भट्टराई बालकोटबाट सिंहदरबार आए । यस बेलासम्म दुई पार्टीबीच मात्र कार्यक्रम गर्ने गरी ब्यानर तयार पारिएको थियो । राष्ट्रिय सभागृहमा सार्वजनिक गर्ने बुँदाहरू पनि त्यही अनुसार बनाइएको थियो । भट्टराई पनि सहभागी हुने भएपछि ब्यानरदेखि बुँदासम्म नयाँ बनाइयो ।

बुझ्न कठिन भएन, ओली चाहना र ढिपीका कारण मात्र बाबुराम गठबन्धनभित्र छिरेका थिए । गठबन्धनबारे जानकार एमालेका एक स्थायी समिति सदस्यका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले भट्टराईलाई उक्त गठबन्धनभित्र ल्याउन चाहेकै थिएनन् । गठबन्धनमा भट्टराईसमेत सामेल हुने जानकारी पाएपछि श्रेष्ठले त कतिसम्म अडान लिएका थिए भने, भट्टराईलाई अर्को दिन ल्याऔँ, आज एमाले–माओवादी दुई दलबीच मात्र तालमेलको घोषणा गरौँ । भट्टराईलाई ‘ आइसोलेसन’मा राख्ने नियत नै सही, प्रचण्ड सहमत थिए । गठबन्धन घोषणाको भोलिपल्ट एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका नेताहरूबीच बैठक बस्यो । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन क्षेत्र र सिट बाँडफाँट कार्यदल बनाइयो । जहाँ नयाँ शक्तिबाट गंगा श्रेष्ठ तोकिए । तर, श्रेष्ठलाई एक दिनभन्दा बैठकमा बोलाइएन ।

वाम गठबन्धनमा भट्टराईको नयाँ शक्तिले पाँच प्रतिशत सिट मागेको थियो । त्यो भनेको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आट सिट हुन्छ । ती थिए, गोरखा–२, सप्तरी–१ वा २, रौतहट–२, कपिलवस्तु–१, मकवानपुर–१ वा २, रसुवा, खोटाङ र कैलाली–३ वा ४ । प्रदेशसभामा पनि त्यही अनुसार बाँडफाँट गर्न उनीहरूको माग थियो । सुरुमा आठ सिट प्रस्ताव गरेको भए पनि छलफल चल्दै जाँदा चार वा पाँच सिट दिएको भए नयाँ शक्ति सहमत हुन तयार थियो । भट्टराईको प्रस्तावप्रति एमाले नेताहरूमध्ये वामदेव गौतमबाहेक सकारात्मक नै थिए । तर, सुरुआती दिनदेखि नै माओवादी नेताहरू यसरी प्रस्तुत भए कि नयाँ शक्तिलाई एक सिटभन्दा नदिने, त्यो पनि भट्टराईले लड्छु भनेको गोरखा–२ त चिताउनै नहुने अडान लिए । माओवादीहरू नरम र लचक ढंगले प्रस्तुत भएका हुन्थे भने भट्टराई गोरखा–२ बाट चुनाव नलड्न राजी हुन पनि सक्थे । तर, गठबन्धनबाट भट्टराईलाई निकालेरै छाड्ने माओवादीको नियत बुझेपछि ‘ मर्नु नै छ भने किन झुकेर मर्नु’ भनेझैँ गोरखा–२ कै ढिपीमा अडिएका थिए, भट्टराई । 

एमाले उपाध्यक्ष वामदेव गौतम नै माओवादी केन्द्रसँग मिलेर गठबन्धनबाट आफूहरूलाई बाहिर निकाल्न सहयोगी बनेको नयाँ शक्तिका नेताहरूको बुझाइ छ । माओवादीबाट सिट बाँडफाँट कार्यदलमा रहेका नेताहरू नयाँ शक्तिप्रति अनुदार ढंगले प्रस्तुत भएपछि भट्टराईले प्रचण्डलाई समेत भेटेका थिए । तर, भेटमा प्रचण्डले ‘मैले साथीहरूलाई मनाउन सकिनँ । तपार्इं र नारायणकाजी गोरखा–२ बाटै लड्नूस्’ भनेको स्रोत बताउँछ । प्रचण्डको यो अभिव्यक्तिलाई भट्टराईले ‘गठबन्धनमा स्थान छैन, बाहिरिनूस्’ भनेको रूपमा नबुझ्ने कुरै भएन । गठबन्धन गरेर पनि श्रेष्ठसँगै प्रतिस्पर्धा गर्नुपर्ने हो भने किन त्यहाँ बसिरहने भनेर भट्टराईले गठबन्धनबाट बाहिरिएको घोषणा गरे । 

कांग्रेसको काँध

गठबन्धनबाट बाहिरिएपछि ‘गोरखामा वाम तालमेललाई देखाइदिने र मुलुकको एक महत्त्वपूर्ण पात्र भएकाले आफूलाई कसैले पाखा लगाउन नसक्ने’ भन्दै भट्टराई कांग्रेससँग सहकार्य गर्न पुगेका थिए, जसका लागि आईएस्सी पढ्दा नेविसंघका अगुवाहरूसँग निकट भएको उनको पृष्ठभूमिले सहज बनाएको थियो । त्यसो त भट्टराईजतिका पात्रलाई संसद् बाहिर राख्न हुन्न भन्ने प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत कांग्रेस नेताहरूको सदाशयताले पनि निकै हदसम्म काम गरेको थियो । साथै, भट्टराईलाई आफ्नो पक्षमा ल्याउन सके माओवादीले आफ्नो किल्ला दाबी गरिरहेको गोरखामा उसलाई बढार्न सकिने कांग्रेसको मूल्यांकन छ । भट्टराई वाम गठबन्धनबाट बाहिरिएसँगै कांग्रेसका दोस्रो तहका नेताहरूले उनलाई प्रधानमन्त्री देउवाले भेट्न चाहेको सुनाएका थिए । यसपछि भट्टराईले प्रधानमन्त्री देउवा, रामचन्द्र पौडेल, गोरखाकै कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई सम्पर्क गरेका थिए ।

पहिलो भेटमै देउवा र पौडेल भट्टराईलाई गोरखा–२ छाड्न सकारात्मक भए । अर्को भेटपछि गोरखा–१ मा नयाँ शक्तिले कांग्रेसलाई र २ मा कांग्रेसले नयाँ शक्तिलाई सहयोग गर्ने समझदारीले औपचारिकता पाएको थियो । सुरुआती दिनमा भट्टराई आफ्नो व्यक्तित्वका कारण कोहीसँग तालमेल नगरे पनि निर्वाचन सहजै जित्न सकिने ठम्याइमा थिए । तर, स्थानीय निर्वाचन परिणामले व्यक्तित्वले मात्र जित्न नसकिने निष्कर्षमा पुगे । त्यसैले उनी वाम तालमेलमा सहभागी हुन पुगेका थिए । त्यहाँ आफ्नो अपमान भएको महसुस गरेपछि लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका थिए । अहिले माओवादी केन्द्रका नेताहरूचाहिँ भट्टराईलाई आगामी दिनमा कम्युनिस्ट विरोधीका रूपमा करार गर्ने ध्याउन्नमा छन् । र, यही सोचका साथ आगामी दिनमा पनि भट्टराईलाई गठबन्धनमा पुन: प्रवेश नदिने तयारीमा छन् । 

वाम तालमेलबाट भट्टराईको बहिर्गमनसँगै प्रतिनिधिसभाका लागि पहिलो चरणमा हुने ३७ स्थानको निर्वाचनमध्ये सर्वाधिक चासोको क्षेत्र गोरखा–२ बनेको छ । किनभने, भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठ त्यही मन्त्रिपरिषद्मा उपप्रधान र परराष्ट्रमन्त्री थिए । अहिले यी दुई नेताबीचमै त्यहाँ प्रतिस्पर्धा भइरहेको छ । भट्टराईले आफ्नो बौद्धिक पृष्ठभूमि, अर्थमन्त्री, प्रधानमन्त्री हुँदा दीर्घकालीन महत्त्व राख्ने योजना पारेका कारण कांग्रेस, एमाले, माओवादी सबैले सहानुभूतिको मत दिने आकलन गरेका छन् । श्रेष्ठचाहिँ उक्त निर्वाचन क्षेत्रलाई वाम पकडको क्षेत्र मान्छन् । नेपालसँगको कुराकानीमा भट्टराईले वाम तालमेलको सूत्रधार आफू भएको दाबी त गरे । तर, आफू गठबन्धनबाट बाहिरिनुमा चाहिँ एमाले–माओवादी केन्द्रमा रहेको पुरानै जड कम्युनिस्ट ढर्रालाई दोष दिए । “मैले वाम गठबन्धन/एकता गर्ने हो भने पुरानो ढर्राको कम्युनिस्ट सोच त्याग्नुपर्छ भनेको थिएँ,” उनी भन्छन्, “तर, उहाँहरू पुरातनवादी सोचबाट माथि उठ्न सक्नुभएन । त्यसैले गठबन्धनमा सहभागी भइरहनुको अर्थ नदेखेर बाहिरिएको हुँ ।” 

प्रकाशित: कार्तिक १४, २०७४