वामपन्थी नश्ल सुधार अभियान

  • अझै पनि एमालेको किचन क्याबिनेट र गेरुवा रंगको नयाँ दिल्लीको मुडमा धेरै कुरा निर्भर छ ।

- हस्त गुरुङ

देशमा वामपन्थी नश्ल सुधारको अभियान चलेको छ । खण्डे, प्रखण्डे बनेर आपसमा सिंगौरी खेलिरहेका वामपन्थीहरूलाई विकसित नश्लमा परिवर्तित गरेर ‘एक स्वर, एक बल’ बनाउने योजनामा काम हुँदैछ । विश्वका वामपन्थीहरू रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली वामपन्थीहरूबाट अधिकाधिक प्रतिफल लिने प्रक्रियामा अघि बढेको छ । त्यसैका लागि मुख्य वामहरूबीच प्रदेशसभा र प्रतिनिधिसभाका लागि चुनावी तालमेल भइरहेको छ । 

वामपन्थीहरूबीच यसअघि पनि कार्यगत एकता भएकै हो । यसपालिको एकता–चेतले माफिया र डन संस्कृतिमा हुर्किरहेका वामपन्थीहरूबीचको रञ्ज र षड्यन्त्र, राजनीतिक धुत्र्याइँ र छलकपट तथा आपसी लडाइँ मात्र समाप्त पारे पनि नागरिकले शान्ति महसुस गर्न पाउनेछन् । 

तर, सुधारिएको नश्ल तयार पार्न एउटा प्रजातिको बीज (वीर्य–विचार) अर्को प्रजातिको पाठेघरमा प्रतिरोपण गर्नुपर्ने हुन्छ । राजा र संसद्मा सार्वभौम अधिकार राख्न सहमत (०३३ सालपछिको बीपी कोइरालाको लाइनमा) रहेको एमालेको ‘जबज’को पाठेघर गणतन्त्रको घोषणापछि फुटिसकेको छ । त्यसैमा प्रत्यक्ष चुनावबाट कार्यकारी राष्ट्रपतिको पदस्थापन गर्ने प्रचण्डपथको बीज हालिँदैछ । त्यसले एमालेको मध्यमार्गी पाठेघर जलाइदिने वा पोषणनाल चुँडाइदिने जोखिम छ । तर, सहवास गर्ने तीव्र कामना र आँटले भरिएको एमालेले ‘जे त पर्ला’ भनेर कम्मर कसिसकेको छ र उहिल्यै फालेको माओवादी जामा फेरि भिर्न खोजेको छ । आङ खुइलिने डर भए पनि काँचुली फेर्न तयार भएको छ । 

विश्व वामपन्थको नश्ल

माक्र्सवाद विश्वकै अनुपम दर्शन हो । यसमा कुनै अर्को वादको फुर्को जोड्न आवश्यक थिएन, छैन । तर, नश्ल सुधारको अभियानमा रुस, चीन र उत्तर कोरियाले माक्र्सवादको मूल सिद्धान्तलाई ‘ जडवाद’को छाप लगाएर अनेकन् संशोधन गरिदिए । नयाँ–नयाँ फुर्को जोडिदिए । शीतयुद्धको समयमा रुसका तानाशाह लेनिनले माक्र्सवादमाथि हस्तक्षेप गरी लेनिनवादको फुर्को झुन्ड्याई दिएर रुसपन्थी माले (माक्र्सवादी–लेनिनवादी) नश्ल तयार पारे । चीनका माओत्सेतुङले माक्र्सवादको आडमा माओवादी नश्लको विकास गरे । उनले लेनिनवादलाई मात्र निन्दा गरेनन्, चीनमा पूर्णत: निषेध गरिदिए । उत्तर कोरियाका किम इल सुङले माक्र्सवाद, लेनिनवाद र माओवादको विकल्पमा जुछे नश्ल निकाले । 

यसरी अनेक कालखण्डमा नश्ल सुधारको अभियान चलेपछि माक्र्सवादीहरूचाहिँ कमजोर भए । माक्र्सले कोरेको वर्गीय चेतनाका अक्षरहरू धमिला भए । तापनि, माक्र्सवादको वजन घटेको छैन । लेनिनवाद, माओवाद र जुछे विचारको विपक्षमा बसेर पनि कम्युनिस्ट हुन सकिन्छ । तर, माक्र्सवाद अस्वीकार गर्ने कम्युनिस्टचाहिँ विश्व पटलमा देखिएका छैनन् । 

दक्षिण एसियामा रुसपन्थी वामपन्थ (माले)को प्रचारक भारत बन्यो । त्यसैले नेपालमा उत्तरी छिमेकको माओवादले स्थान पाएन । माक्र्सवादी–लेनिनवादीहरूकै झुन्ड हुर्केर, बढेर आयो । १७ असोजमा माओवादी–एमाले एकीकरणको सहमति घोषणा कार्यक्रममा प्रचण्डले प्रस्टैसँग भनेका छन्, ‘माओवादी केन्द्र बोल्सेभिक (बहुमत समूह) हो र एमालेचाहिँ मेन्सेभिक (अल्पमत समूह) हो ।’ अर्थात् यी दुवै रुसपन्थी हुन् । यथार्थमा नेपालको राजनीतिक ग्राफमा एमाले बोल्सेभिक र माओवादी केन्द्र मेन्सेभिक हो । तर, एमालेले प्रचण्डको त्यो दाबीको प्रतिरोध गरेन । यसरी यी दुई वामबीच माया बसेको लक्षण देखियो । त्यसैले उनीहरूबीच एकताको सम्भावना बढेको हो ।  

दक्षिण एसियामा रसियाली वामपन्थको क्षेत्रीय कमान्ड भारतको हातमा छ । यसको पन्थ शत्रुचाहिँ चिनियाँ नश्लको माओवाद (नक्सलवादसमेत) र उत्तर कोरियाली नश्लका जुछे कम्युनिस्ट हुन् । नेपालमा यी सबै नश्लका वामपन्थीहरू सक्रिय छन् । 

अहिलेको नश्ल सुधारको योजनाचाहिँ जुछे नश्लका समर्थक नारायणमान विजुक्छेलाई पन्छाएर, रुसपन्थी माले र चीनपन्थी माओवादी नश्लबीच सहवास गराउने र नेपाल सुहाउँदो वर्णसंकर नश्लको उत्पादन गर्ने हो । योजना अनुसार एमालेको मध्यमार्गी गर्भगृहमा प्रचण्डपथको उग्र दक्षिणपन्थी बीज प्रतिरोपण गरिनेछ । त्यो पनि इन्जेक्सनद्वारा होइन, सहवास गराएर । यो काम सम्भव भएको दिन एकता पूर्ण हुनेछ । अहिले चुनावी तालमेलको बहानामा ‘इङ्गेजमेन्ट’ भएको हो वा औँठी (सहमतिपत्र) साटासाट भएको हो । एकगोत्री हुने कर्म चलिसकेको छ । 

नेपाली वामपन्थको नश्ल

नेपाली वामपन्थीहरू विश्वमै अनौठा छन् । यिनले माक्र्सवादको मूल सिद्धान्तलाई ‘जडवाद’ भनेर त्यागिसकेका छन् । माक्र्सको वर्गवादलाई तिलाञ्जली दिएका छन् । अपराधी, ठग र डनहरूको सांस्कृतिक समूहले यिनको ‘कम्युन’ भरिएको छ । त्यसमाथि समाज जुधाउने गरी जातिवाद उचालेका छन् । गरिब र निमुखाहरूलाई शक्तिमा जाने भर्‍याङ बनाएका छन् । 

नेपाली कांग्रेसको सदस्यता लिएका पुष्पलाल श्रेष्ठ माक्र्सवादी दर्शन पढेपछि कम्युनिस्ट बने । उनैद्वारा विसं २००६ मा नेपाल कम्युनिस्ट पार्टीको जन्म माक्र्सवादी (जर्मन) दर्शनमा भारत (बनारस)मा भयो । 

तर, विश्व राजनीतिमा रुसको जगजगी बढेपछि केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर र कृष्णराज बर्मा आदिले नेकपा फुटाएर नेपालमा लेनिनवाद भित्र्याए । भारतीय खुफिया संस्थाको खर्चमा आयोजना गरिएको दरभङ्गा प्लेनमपछि नेपाली कम्युनिस्टहरू फुटेर एकले अर्कोलाई गद्दार घोषित गर्न लागे । यसपछि पुष्पलालले जम्मा गरेका माक्र्सवादीहरू छिन्नभिन्न भए । मनमोहन अधिकारी र सहाना प्रधानहरू माक्र्सवादी बनिरहे पनि पुष्पलालको नेतृत्वमा बसेनन् । मनमोहन र सहानाले अलग–अलग पार्टी बनाए । तुल्सीलाल अमात्य मूलधारबाट उछिट्टिए । पुष्पलाल अन्तिम समयसम्म एक्लै रहे । 

दरभङ्गा प्लेनम बाहिरबाट, झापाली समूहमा सीपी मैनाली र केपी ओलीहरू देखिए । मेचीपारि भारतको नक्सलबाडीमा बसेका चारु मजुमदारको मठमा पुगेर बीजमन्त्र ग्रहण गरेपछि यिनले मुडकट्टा अभियान चलाएकाले तुरुन्तै बदनाम भए । नक्सलवादको उठान चिनियाँ माओवादीहरूले गराएका हुन् भन्ने आशंकामा भारतले मजुमदारलाई निशानामा राखेपछि झापा विद्रोहीहरू रूप फेरेर माक्र्सवादी–लेनिनवादी (माले) बन्न पुगे । नक्सलवाद (माओवाद)को ‘दाग’ छोपे । सुरक्षाका लागि यसो गर्नु जरुरी थियो । माक्र्सवादी र माले समूहप्रति भारतको आपत्ति थिएन । तर, माओवादी (नक्सलवादी)हरू पूर्णत: वर्जित थिए । भारतले अहिले पनि माओवादी (नक्सलवादी)विरुद्ध युद्ध गरिरहेको छ ।

नेपाली वामपन्थीहरूको केन्द्रीय न्युक्लियस फुटाएर चौथो महाधिवेशन, एकता केन्द्र र माओवादीहरूले भूमिगत राजनीति गर्न थाले । यसैमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)ले पुँजीवादी कम्युनिस्ट बाबुराम भट्टराईलाई मिसाइदियो । जेएनयूको ‘फ्युजनवाद’ अंगीकार गरेपछि माओवादीहरूले हिंसात्मक गृहयुद्ध मच्चाएर शक्ति हात पारे पनि यसलाई कुपोषणले छोडेन । यसले छलाङ मार्न अर्काको सहारा लिनुपर्ने भयो । त्यसैले त्यस्तो बलियो ढाडको खोजी जारी थियो । 

अहिलेको नश्ल सुधार अभियानले मोहनविक्रम सिंह र मोहन वैद्यको समूहलाई ‘डेट एक्सपायर्ड’ नश्लका रूपमा पहिचान गरेको छ । कमलराज रेग्मी गाउँ फर्क राष्ट्रिय अभियानको प्रमुख भएका बेला उनको घरमा साप्ताहिक मिष्ठान्न भोजन गर्न लुकीलुकी पुग्ने सदावहार भूमिगत नेता मोहनविक्रम सिंह संकटग्रस्त छन् । सिंहको मसाल र मोहन वैद्यको मशाल समूहमा न वैचारिक उपचार सम्भव छ, न नश्ल सुधार । केशरजंग रायमाझीको बिँडो सम्हालेका विष्णुबहादुर मानन्धर समूह माओवादीमा विलय भइसक्यो, कृष्णराज बर्मा आफैँ लोप भए ।

०३२ मा पुष्पलालसँग छुट्टिएका मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितहरू मुक्तिमोर्चा हुँदै माले बने । पूर्व मुक्तिमोर्चा, सीपी मैनालीको माले र मनमोहन अधिकारीको माक्र्सवादी (पूर्व कोसी प्रान्तीय कमिटीसमेत) मिलेर एमाले नश्ल तयार भयो । ०४६ को संवैधानिक राजतन्त्रसहितको संविधानलाई आलोचनात्मक रूपमा लिएकाले एमालेको नश्लमा थप सुधार गर्न सकिने सम्भावना थियो । त्यसैले जनताको बहुदलीय जनवादको मध्यमार्गी धुरीमा घुमिरहेको एमालेले गणतन्त्र पनि सहजै स्वीकार गर्‍यो ।

जनमतसंग्रहको विरोध र बहिष्कारमा उभिँदा माले समूहले धेरै भ्रम पालेको थियो । त्यस पार्टीमा त्यस्तो भ्रम छरिदिने र नारायणहिटीको संरक्षण उपलब्ध गराइदिने दामोदरशमशेर हरूमार्फत दरबार र अञ्चलाधीशहरूले वामपन्थीहरूलाई ‘कमान्ड एन्ड अपरेट’ गर्ने युग पनि सकियो । दक्षिण एसियामा चीनले ड्र्रयागन पञ्जा फैलाई दिँदा भोलि के हुन्छ भन्ने अनुमान लगाउन गाह्रो भयो । नेपाली वामहरूको सञ्चालनमा भारतका सीपीएम, सीपीएमएल र सीपीआईको कमान्ड, कन्ट्रोल एन्ड अपरेटको मोर्चा कमजोर भयो । एमालेका अध्यक्ष केपी ओलीको खड्ग भारतविरुद्ध धारिलो हुन थालेपछि यसलाई नेपालको राजनीतिक शक्तिका रूपमा राखिरहनु जोखिमपूर्ण हुँदै गयो । त्यसैले यसैको नाकमा एकताको नत्थी लगाएर प्रचण्डको कमान्डमा पुर्‍याउन आवश्यक देखियो । एमालेलाई पुरानो लिकमा फर्काउन यो नश्ल सुधार अभियान चलाइएको हो । यो दक्षिण एसियाली क्षेत्रीय समयको माग थियो । 

तर, हाइब्रिड वामपन्थ हुर्काउन प्रशस्त जोखिम छ । वर्णसंकर वामपन्थमा माक्र्सवादी रंग, स्वाद, गन्ध र रासायनिक चरित्र समाप्त हुनेछ र त्यसलाई विदेशी औषधिले हुर्काउनुपर्ने हुन्छ । यस्तो वामपन्थी नश्ल हुर्काएर आफ्नो औषधिको नियन्त्रणमा राख्नु छिमेकीको कार्यक्षेत्रभित्रै पर्छ । दक्षिण हातका नयाँ र पुराना खेलौनाहरू माओवादी केन्द्र र नेकपा (संयुक्त)को विलय त्यसैको पहिलो संकेत हो । 

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले भनिसकेका छन् कि यो एकता कसैको विरुद्ध लक्षित छैन । कम्तीमा भारतविरुद्ध लक्षित छैन । प्रचण्ड र भारतका नक्सलवादी माओइस्ट कम्युनिस्ट सेन्टर (एमसीसी)बीच ‘डिभोर्स’ गराउन जेएनयू, सीपीएमएल र सीपीआईले यस खेलमा मुख्य भूमिका खेलिरहेका छन् । त्यसैले साउथ ब्लक बेखुस छैन । नेपाललाई स्वतन्त्र र स्वाधीन मुलुक नमान्ने जवाहरलाल नेहरु र बल्लभभाइ पटेलको नीतिमा चल्ने सत्ताबाहिर बसेको पुरानो दिल्ली पनि खुसी छ । 

खासमा साउथ ब्लकले नेपाली वामवृत्तमा आफ्नो मान्छेको ‘कमान्ड एन्ड कन्ट्रोल’ रहेको देख्न चाहेको छ । त्यसैले एमालेको ओलीवादी दाह्रा नङ्ग्रा र प्रचण्डको नक्सलवादी सिङ फुकालेर नयाँ नश्लकटो वामपन्थ जन्माउन खोजिएको छ । बाबुरामको घुर्कीको त्वरित् व्यवस्थापन गरेर एक तीर, दुई सिकार गरिने भएकाले यो वाम एकता असम्भव देखिँदैन । 

तथापि, भावी नश्ल स्वस्थ भएर जन्मने/नजन्मने शंका बाँकी नै छ । अझै पनि एमालेको किचन क्याबिनेट र गेरुवा रंगको नयाँ दिल्लीको मुडमा धेरै कुरा निर्भर छ । बीज उकेलिने, गर्भ तुहिने वा सुरक्षित प्रसूति सेवाको अभावमा गर्भिणीको मृत्यु हुने सम्भावना पनि उत्तिकै छ । कदाचित अनर्थ हुन गएमा नेपाली राजनीतिमा शोककाल आउनेछ । अहिलेलाई यति कामना गरौँ, त्यो दिन 

देख्न नपरोस् । 

प्रकाशित: कार्तिक १२, २०७४