विदेशबाट र्‍याकेट

  • देशबाहिरबाट सञ्चालन भइरहेका भूमिगत आपराधिक समूह आन्तरिक सुरक्षाका लागि चुनौती

- मनबहादुर बस्नेत

धादिङ सत्यदेवीका याङ लामा सेतो हेरोइनसहित पक्राउ परेका थिए, १६ वर्षअघि । सुरुमा प्रहरीले भरिया मात्रै ठानेको थियो उनलाई । तर, अनुसन्धानपछि आश्चर्यजनक आयाम खुल्यो, लागूऔषध कारोबारको अन्तर्राष्ट्रिय गिरोहमा एक जना नेपाली महिलाको संलग्नताबारे । त्यसयता नेपालमा बरामद हुने हेरोइनमा अक्सर उनै महिलाको नाम जोडिँदै आएको छ । तर, प्रहरी सूचीमा उनी जहिल्यै फरार मात्रै दर्ज भइरहेकी छन् । 

लामो समयदेखि विदेशी भूमिमा बसेर नेपाललगायत अन्य मुलुकमा लागूऔषधको ठूलो भूमिगत बजार विस्तार गर्ने ती नेपाली हुन्, काइँली भनिने गोपी तामाङ । करिब ५८ वर्षकी उनलाई दुई दशकभन्दा लामो समयदेखि नेपाल प्रहरीले खोजे पनि हात लाग्यो शून्य छ । बरू उनीसँग जोडिएका घटनाको संख्या भने दिनानुदिन बढ्दै छन् । काइँलीको यस्तो कारोबार खुलेपछि नेपालमा मात्रै उनीसँग जोडिएका ३८ जना पक्राउ परिसकेका छन्, जो भरियाका रूपमा प्रयोग भएका छन् । प्रहरीको अनुमानमा ती महिला पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा बसेर सेतो हेरोइनको कारोबार गर्छिन् । यस क्रममा नेपालमा समेत उनको ठूलो सञ्जाल छ । 

अझ पछिल्लो समय त काइँलीको समूहले चरेसको कारोबारमा समेत हात हालेको देखिन्छ । नेपालबाट अफगानिस्तान पुग्नेहरूलाई काइँली समूहले चरेस बोकाएर बोलाउने र हेरोइन बोकाएर फर्काउने गरेको छ । फागुन ०७२ मा ९० किलो चरेससहित पक्राउ परेका सेतुङ, धादिङका हेरमान तामाङ, बसेरीका धनबहादुर गुरुङ र नरबहादुर गुरुङ काइँलीबाटै परिचालित भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो, जो चरेस बोकेर अफगानिस्तान जाने योजनामा थिए ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पछिल्लो साढे दुई वर्षमा पक्राउ गरेका करिब दुई दर्जन लागूऔषध कारोबारीमध्ये अधिकांश सेर्तुङ, लापा, सत्यदेवीका छन्, जो काइँलीबाटै परिचालित भएको प्रहरीको भनाइ छ । नाइजेरियालीसँग विवाह गरेकी काइँली ०६५ मा पाकिस्तानबाट नेपाल आएको सुराकी पाएपछि प्रहरीले बालाजुस्थित उनको घरमा छापा मारे पनि रित्तो हात भएको थियो । त्यसयता प्रहरीसँग काइँलीको पासपोर्ट साइजको फोटो र पाकिस्तानमा रहेको सूचनाबाहेक केही छैन । काइँलीका सहयोगी वसु तामाङ पनि पाकिस्तानमै रहेको अनुमान प्रहरीको छ । काइँलीको कारोबारको पोल खोलिदिने याङ सोही कारोबारमा फर्किएका छन्, जो नयाँ दिल्लीमा बसेर कारोबार सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ । 

बाह्य मुलुकमा बसेर अवैध धन्दा चलाउने अर्का पात्र हुन्, सत्यदेवीकै धर्म पाख्रिन । नेपालमा उनको सहयोगीका रूपमा सहोदर भाइ पूर्णबहादुर पाख्रिन रहेको र विदेशमा बसेर नेपालमा लागूऔषधको जालो फैलाउनेमा यो समूहको नाम प्रकाशमा आएको डेढ वर्ष मात्रै भएको प्रहरी अनुसन्धानबाट देखिन्छ । ब्युरोले २ वैशाख ०७३ मा पूर्णलगायत अन्य सहयोगी चित्र तामाङ र नेत्र गुरुङलाई पक्राउ गरेपछि यो तथ्य सतहमा आएको थियो । प्रहरी अनुसन्धानबाट यो समूहको रिमोट थाइल्यान्डमा देखियो, जुन धर्मले त्यहीँ बसेर चलाउँथे । त्यतिबेलासम्म प्रहरीको सूचनामा विदेशमा बसेर नेपालीले लागूऔषध कारोबारको खतरनाक गिरोह चलाउने एउटा समूह काइँली नेतृत्वको थियो । “पाख्रिनको र्‍याकेट यति ठूलो होला भन्ने सुरुमा अनुमान गरेका थिएनौँ,” यो घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठ भन्छन् ।

सन् २०१६ को जनवरीमा ५४ किलो एम्फेटामाइन जफत भएको घटनामा समेत धर्म मुछिएका थिए । धर्मले भूपेन्द्र तामाङसहित अर्का एक अस्ट्रेलियाली नागरिकलाई बोकाएर सामान अस्ट्रेलिया पुर्‍याएका थिए । यो घटनापछि अस्ट्रेलियाली प्रहरीको समेत ‘ वान्टेड’ सूचीमा रहेका धर्म नेपाल प्रहरीको पनि फरार सूचीमा छन् । एम्फेटामाइनको कारोबारमा यो समूह एक दशकदेखि सक्रिय रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार धर्म थाई नागरिकसँग विवाह गरेर २३ वर्षदेखि उतै बसोवास गर्छन् । साथै, उनी लागूऔषध एम्फेटामाइनको दक्षिण एसियाली बजारका प्रमुख कारोबारी हुन्, जसले अफगानिस्तानबाट एम्फेटामाइन ल्याएर युरोप र क्यानाडासम्म आपूर्ति गर्छन् । ब्युरो प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठूले राईका अनुसार धर्म एम्फेटामाइन कारोबारको ‘किङ’ नै देखिन्छन् । धर्मले अस्ट्रेलिया, फिलिपिन्स, म्यानमार, हङकङ, नेपाल र भारतमा यो लागूऔषध आपूर्ति गर्छन् । प्रहरीले संकलन गरेको यी दाजुभाइको ट्राभल डकुमेन्टले समेत उनीहरू दक्षिण एसियाली मुलुकलगायत युरोपेली मुलुकमा समेत बारम्बार आउजाउ भएको देखाउँछ । यो समूहमा नेपाली मात्र नभई विदेशीलाई पनि भरियाका रूपमा उपयोग गरेको देखिएको छ ।

पूर्ण पक्राउ परेपछि ब्युरोले उनको सम्पत्तिसमेत खोजबिन गरेको थियो । उनको बिलासी जीवनशैली अनि आमा, बहिनी, श्रीमती र साथीका नाममा सम्पत्ति जोडेको भेटियो । पूर्णले श्रीमती टल्कु पाख्रिनका नाममा काठमाडौँको गोंगबुमा एक रोपनी एक आना जग्गा जोडेको देखिन्छ । आमाका नाममा बालाजुमै आठ आना जग्गा छ । सामाखुसी ग्रिनसिटीमा सालीका नाममा रहेको आठ आना जग्गामा आलिशान घर छ, जुन पूर्णकै अवैध कारोबारको अंगका रूपमा प्रहरीले समावेश गरेको छ । त्यस्तै उनले धापासीमा ६ आना जग्गामा बनेको साढे तीन तले घर जोडेका छन् । 

विदेशमा बसेर नेपालमा आपराधिक साम्राज्य सञ्चालन गर्नेहरू लागूऔषध कारोबारी मात्र छैनन्, जबरजस्ती असुली, गुण्डागर्दी र हत्यासम्मका घटनाका अभियुक्तहरूको सञ्जालसमेत अन्तर्राष्ट्रिय भूमिसम्म फैलिएको छ । ४ पुस ०७३ मा रुपन्देहीको देवदहमा नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालमा आबद्ध दुर्गा तिवारीलाई दिउँसै गोली हानी मारियो । अनौठो त के भने यो हत्या कसले गर्‍यो भनेर प्रहरीले टाउको दुखाउनुपरेन । हत्या गर्नेले नै प्रहरीलाई फोन गरेर घटनाको जिम्मा लियो । यसरी हाकाहाकी घटनाको जिम्मा लिने समूह थियो, मनोज पुनको । जसले मलेसियाबाट फोन गरेर हत्याको जिम्मा लिएको थियो । नभन्दै प्रहरी अनुसन्धानले समेत पुनकै योजनामा तिवारीको हत्या भएको देखायो र घटनामा संलग्न आधा दर्जनभन्दा बढीलाई पक्राउ गर्‍यो ।

त्यसको चार महिनाअघि समेत तिवारीलाई पुनको समूहले आक्रमण गरेको थियो । त्यस घटनाबाट बच्न सफल भए पनि अर्कोपल्ट उनलाई तारो बनाइ छाड्यो । उक्त हत्यापछि एकाएक पुन समूह अपराधको जगत्मा छाउन थाल्यो । पुनको समूह यस्तो समयमा अगाडि निस्कियो कि जतिखेर काठमाडौँ उपत्यकामा सक्रिय दुई ‘डन’ प्रहरी इन्काउन्टरमा मारिएको केही समय मात्रै भएको थियो । एक वर्षको बीचमा दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिएपछि गुण्डागर्दीमा संलग्नहरूको भागाभाग भएको थियो । (हेर्नूस्, डायस्पोरातिर डनहरू, ५ असार ०७३) । 

यस्तो प्रतिकूल अवस्थामा अपराधको फ्रन्टमा देखापरेको पुन समूहले निकै ठूलो सञ्जाल तयार पारेको प्रहरीको आकलन छ । पुन समूहले आफ्ना आपराधिक गतिविधिको आधार भने भारतलाई बनाएको छ र नेपालमा आतंक सिर्जना गरिरहेको छ । तिवारी हत्याको तीन महिनापछि अर्थात् गत २ ९ चैतमा नै त्यही शैलीमा राजधानीको गौरीघाटमा अर्को गोलीकाण्ड भयो, जुन घटनामा योगेन्द्र लामा (दावा) आक्रमणको तारो बनेका थिए । घटनालगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौँका तत्कालीन प्रमुख छविलाल जोशीलाई फोन गरेर पुनकै समूहले जिम्मा लियो । यसमा संलग्नको जालो केलाउन नपाउँदै २३ असोजमा अर्को ‘हाइप्रोफाइल’ हत्या भयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको व्यस्त स्थलमा पर्ने शान्तिनगरमा दिउँसै गोली हानेर हत्या गरिएको थियो । यसअघि जस्तै यो घटनाको समेत पुन समूहले जिम्मा लियो । टेलिफोन मलेसियाबाटै आएको थियो । 

घटनापछि प्रहरीलाई नै टेलिफोन गरेर जिम्मा लिनुले यस्ता आपराधिक समूहको मनोबल कुन तहसम्म उक्सिएको छ भन्ने प्रस्ट हुन्छ । प्रहरीका अनुसार पुन र अर्का गुन्डा नाइके समीरमानसिंह बस्नेतले भारतीय भूमिबाट यस्तो गिरोह सञ्चालन गरिरहेका छन् । पुनको समूहले गौचन र दावा हत्याको जिम्मा लिए पनि यसका मुख्य योजनाकार बस्नेत भएको प्रहरीको निचोड छ । प्रहरीले गुण्डागर्दीमा संलग्नहरूमाथि कारबाही थालेपछि दुवै भारत पुगेका थिए । भारतमै पुन र बस्नेतको भेट भएपछि उनीहरू एक भएर आपराधिक साम्राज्य बनाएका छन् । 

दावा अर्का गुन्डा नाइके गणेश लामा (काभ्रेली) समूहमा आबद्ध व्यक्ति हुन् भने बस्नेत घैँटे समूहका । कुनै समय लामासँगै थिए, बस्नेत । तर, काभ्रेलीका एक सदस्यमाथि दरबारमार्गमा खुकुरी हानेपछि घैँटे र काभ्रेली समूहबीच दुस्मनी बढ्यो र घैँटे अलग भएर छुट्टै समूह बनाए । घैँटे मारिएपछि बस्नेतले उक्त समूह परिचालन गर्न थालेका हुन् । काभ्रेली र घैँटे समूहबीच पुरानो दुस्मनी भएकाले दावालाई पुनको समूहसँग मिलेर गोली हानिएको प्रहरीको दाबी छ । यसबाट मानिसमा त्रास फैलाएर असुली धन्दा सहज बन्ने र शत्रु पक्षसमेत हच्कने उक्त समूहको योजना हुन सक्ने अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् । भन्छन्, “त्यस घटनामा नाम मात्रै पुनको आएको हो । समीर योजनाकार हो र त्यसका लागि पुनका केटाहरू प्रयोग भएका हुन् ।” 

तिवारी हत्यापछि पुनले बुटवलदेखि विराटनगरसम्मका व्यवसायीसँग मोटो रकम उठाएको सूचना प्रहरीमा पुगेको थियो । उपत्यकाका व्यवसायीहरूले समेत गुपचुप पैसा बुझाउन थालेका थिए । ज्यानकै तलमाथि हुने भयले अधिकांशले यस्ता घटना गुपचुप राख्छन् । गौचनले भने अटेर गरेपछि घटना भएको अनुमान प्रहरीको छ । 

०६३/६४ मा अपहरणमा संलग्न ‘ब्ल्याक स्पाइडर ग्रुप’ले भारत र थाइल्यान्डमा बसेर यस्तो गिरोह चलाए पनि यति संगठित भने थिएन । नेपाली सेना र प्रहरीका भगौडाहरूको समूह तयार पारेका थिए, सन्दीप पाठक भनिने मिलन लामाले । उक्त समूहले धम्क्याउँदा रकम नपाएपछि काठमाडौँ मेडिकल कलेजका प्रिन्सिपल डा हेमाङ्ग दीक्षित, सञ्चालक वीरमानशमशेर राणा, वैदेशिक रोजगार व्यवसायी एलपी साँवालाई गोली हानेको थियो । त्यसपछि लामाले नेपालमै बसेर गिरोह सञ्चालन गर्न खोज्दा प्रहरी सक्रिय भएको थाहा पाएर फेरि भागेर भारत पुगे । मंसिर ०६७ मा उनी पक्राउपछि मात्रै व्यवसायीहरू ढुक्क बनेका थिए । तर, पछिल्ला घटनाक्रममा प्रहरीले अपराधी पत्ता लगाउन नसक्दा व्यावसायिक वृत्तमा थप सन्त्रास फैलिएको छ । प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “गुण्डागर्दी नियन्त्रणमा प्रहरीको पनि केही कमजोरी भएको हुन सक्छ । यसमा रिभ्यु जरुरी छ । नभए ठूलो समस्याको सामना गर्नुपर्नेछ ।” 

प्रकाशित: कार्तिक १२, २०७४