नोटबुक

- चन्द्रशेखर अधिकारी

परराष्ट्रका पत्रु 

प्रधानमन्त्रीस्तरको सहभागिता अत्यावश्यक नभए पनि तीन वर्षको अन्तरालपछि प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन यसपटक अमेरिका पुगे । दसैँको मुखमा हुने महासभा परराष्ट्र मन्त्रालयका कर्मचारीका निम्ति दसैँसरह हुन्छ । त्यही कारण कर्मचारीहरु सकेसम्म महासभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिका लागि जोड गर्छन् । देउवा पटक–पटक अमेरिका पुगेका र महासभाको औचित्य बुझेका प्रधानमन्त्री हुन् । तर, उनी त्यहाँ जान पाउँदा फुरुंग देखिन्थे । महासभामा सम्बोधनअगावै ‘साइडलाइन’मा कोलम्बिया विश्वविद्यालयमा देउवाको अन्तरक्रिया राखियो, जसमा उनको अभिव्यक्तिले जग हँसाउने काम गर्‍यो । त्यसको दोषी केवल प्रधानमन्त्री देउवा मात्र थिएनन्, कुनै तयारी नगरी कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउने कर्मचारीहरु पनि उत्तिकै दोषी थिए । 

मञ्चमा प्रधानमन्त्री र तलचाहिँ विद्यार्थी र नेपालीहरुको समूह थियो । फ्लोरबाट सगरमाथामा थुप्रिएको फोहोरदेखि संविधान कार्यान्वयनसम्मका प्रश्नहरु आए । वाक्पटुता भएका राजनीतिज्ञलाई समेत निकै कठिन हुने दायराबिनाका खुला प्रश्न प्रधानमन्त्रीलाई सोधेको टुलुटुलु हेरेर बसिरहे । प्रधानमन्त्रीले सकी नसकी अंंग्रेजीमा उत्तर दिए । बेलाबेला अकमकिए पनि । तर, हाम्रा कर्मचारीमा कत्ति पनि हीनताबोध देखिएन । अझ कार्यक्रम सकिएपछि एक कर्मचारीले चाकडी गर्दै भने, ‘कार्यक्रम राम्रो भयो, हजुरले गज्जब उत्तर दिनुभयो ।’

हो, प्रधानमन्त्रीका कतिपय जवाफ राम्रा थिए । तर, उनलाई त्यो फोरम आवश्यक थियो या थिएन भन्नेमा कर्मचारीतन्त्र वा उनको सल्लाहकार समूहले सोच्नुपथ्र्याे । यदि आवश्यक थियो भने पनि दोभाषे उपयोग गर्न सकिन्थ्यो । प्रधानमन्त्रीको वाक्कला कमजोर अनि अंग्रेजी पनि खासै राम्रो छैन भनेपछि भाषण छोटो र सरल शब्दको प्रयोग गर्न सकिन्थ्यो । यस्ता विषयमा हाम्रा कर्मचारीले कहिले सोच्लान् र हाम्रा प्रधानमन्त्री यस्तो फन्दामा नपर्लान् ? परराष्ट्रको पत्रु कर्मचारीतन्त्रले कहिले राम्रो ‘कोरियोग्राफ’सहितको तयारी गर्ने होला ?

महराको मानहानि 

संयुक्त राष्ट्रसंघको महासभामा उच्चस्तरीय सम्बोधनको पहिलो दिन अमेरिकी राष्ट्रपतिले दिने रात्रिभोजको आफ्नै महफ्व छ । त्यस भोजमा सहभागी हुन विश्वभरका ठूला नेतासमेत लोभिन्छन् । नेपालबाट त्यस प्रकारको तयारी खासै हुँदैन । यो भोजमा हुने अन्तरक्रियालाई अवसरका रुपमा लिइँदैन पनि । अन्तिम समयमा प्रधानमन्त्रीको भ्रमण रद्द भएर प्रमण्डलको नेतृत्व अरुले गरेर जाँदासमेत त्यो रात्रिभोजमा सहभागी हुन सक्छन्, कर्मचारीले चाहँदा । जस्तो: दुई वर्षअघिको महासभाका लागि उड्ने दिनै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भ्रमण रद्द गरेर प्रमण्डलको नेतृत्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गर्न लगाएका थिए ।

र, सिंह दम्पती तत्कालीन राष्ट्रपति बाराक ओबामाले दिएको रात्रिभोजमा सहभागी भएका थिए । तर, यसपटक परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आधा घन्टा गेटमा उभिएर प्रयास गर्दा पनि त्यो भोजमा प्रवेश पाएनन् । कारण थियो, कर्मचारीको लापरबाही । महरा उक्त पार्टीमा निस्कनु केही बेरअघिसम्म निम्ता र पासपोर्ट बोक्ने कि नबोक्ने भन्ने अन्योलमा थिए । नेपालको स्थायी नियोगमा हाम्रा कर्मचारीमध्ये कसैले भन्दै थिए, ‘पासपोर्ट बोक्नुपर्छ, त्यहाँ अन्तर्राष्ट्रिय परिचयपत्र खोज्छ ।’ कोही भन्दै थिए, ‘मन्त्रीज्यूको नाम पठाइसकेकाले समस्या हुँदैन ।’

यस्तै अन्योलबीच महरा भोजस्थलतिर प्रस्थान गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पती भेट्ने र फोटो खिचाउने अनि अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग केही बेर भए पनि भलाकुसारी गर्ने महराको योजना थियो । तर, उक्त योजना अमेरिकी सुरक्षाकर्मीले तुहाइदिए । किनभने, सुरक्षाकर्मीसँग विदेशी पाहुनाको विवरणमा उनको नाम थिएन । मतलब, नेपाली नियोगको लापरबाहीका कारण उनको नाम त्यहाँ पुगेको थिएन । धन्न प्रधानमन्त्री देउवा दुई दिन ढिला पुगेका कारण जोगिए, नत्र उनी पनि त्यो गेटबाट यसैगरी फर्कनुपर्ने अवस्था आउन सक्थ्यो । किनभने, निम्तो कार्ड उनका नाममा पनि थिएन, राष्ट्र प्रमुखका नाममा थियो । 

जे भए पनि चल्छ भन्ने र परिस्थितिको गाम्भीर्य नबुझ्नु नै हाम्रो कूटनीतिको दुर्भाग्य हो । यसरी रात्रिभोजमा होटलको गेटबाट फर्कनु परेपछि स्थायी प्रतिनिधि दुर्गा भट्टराईलाई महराले सोधे, ‘के गर्नुभएको यस्तो ?’ तर, उनको जवाफ थियो, ‘कहिल्यै यस्तो भएको थिएन, जतिसुकै राम्रो प्रणाली भने पनि ल्याप्सेज हुन्छन्, त्यसमा पर्‍यो होला, बुझ्छु ।’ यिनै शब्दसाथ भट्टराई उम्किए । अन्यत्र भए गैरजिम्मेवार कर्मचारीको जागिर जान्थ्यो । झन् कूटनीतिमा गरिएको गल्ती त कहिल्यै क्षम्य हुँदैन । तर, हामीकहाँ जे पनि छुट छ । तापनि, हाम्रा कर्मचारी सधैँ अब्बल ठानिन्छन्, त्यसमाथि पनि परराष्ट्रका । 

प्रकाशित: कार्तिक १२, २०७४