[फिल्म] आँखा र मनलाई शीतल दिने

  • आमिर खानकाे 'सेक्रेट सुपरस्टार'मा मातृत्व र महिला सशक्तीकरणलाई मन छुने शैलीमा पस्किएको छ ।

- गोकर्ण गौतम

मनोरञ्जनको व्याख्या व्यक्ति र विधापिच्छे फरक हुन्छ । सिनेमाको हकमा चाहिँ मनोरञ्जन बौद्धिक हुनुपर्छ भन्ने मान्यता छ । ताकि हेर्दा आनन्दित भइयोस्, सँगै कथावस्तुले सकारात्मक ज्ञान प्रवाह पनि गरोस् । आमिर खान यही ‘लिगेसी’लाई आत्मसात् गर्ने थोरै फिल्मकर्मीमध्ये एक हुन् । तारे जामिन पर, थ्री इडियट्स, पिके र दंगल ज्वलन्त उदाहरण हुन् । आमिरको नयाँ फिल्म सेक्रेट सुपरस्टार यही गोरेटोको नयाँ आयाम हो । उनको लगानी र अभिनय रहेको यस फिल्ममा मातृत्व र महिला सशक्तीकरणलाई मन छुने शैलीमा पस्किएको छ । अद्वैत चन्दन फिल्मका निर्देशक हुन् । गायिका बन्ने सपना बोकेकी स्कुले फुच्चीको माध्यमबाट निर्देशक अद्वैत चन्दनले परम्परावादी र पितृसत्तात्मक सोचमाथि तीर खोपेका छन् । दंगलमा कुस्ती खेलेर वाहवाही कमाएकी जाइरा वासिमले हठी भूमिकाबाट सेक्रेट सुपरस्टारको भार बहन गरेकी छन् । 

इन्सिया (जायरा) को सपना छ, गायिका बन्ने । तर, इन्जिनियर बाबु फारुक (राज अर्जुन) लाई उसको फिटिक्कै मन पर्दैन । आमा नज्मा (मेहर वीज) लाई पनि उस्तै दमन गर्छन् । इन्सियाको मनमा बाबुप्रति कडा रोष हुन्छ । त्यसमाथि गिटार बजाउने र गाउने छोरीको चाहमाथि फारुक अझ कठोर भइदिन्छन् । उनकै कारण आमामाथि हिंसा हुन्छ । इन्सिया  बाबु र आमाको सम्बन्ध बिच्छेद चाहन्छिन् । नज्मा छोरा–छोरीको भविष्यकै लागि फारुकको अत्याचार सहेर बस्छिन् । तर, कहिलेसम्म ? क्लाइमेक्समा हिंसाले सीमा नाघेपछि एउटी नारीले गर्ने प्रतिरोधलाई मर्मस्पर्शी ढंगले बुनिएको छ ।

जति आधुनिक भएको भनिए पनि दक्षिण एसियामा महिला घरबाहिर निस्कनु हुन्न र पुरुषको इसारामा चल्नुपर्छ भन्ने सोच हाबी छ । झन् नाँच्ने, गाउने, अभिनय गर्नेजस्ता सिर्जनात्मक क्षेत्रमा छोरीको रोजाई त अभिभावकका लागि विषसरह हुन्छ ।सेक्रेट सुपरस्टारमा स्वच्छन्द जीवन चाहने आमा र छोरीको मनोविज्ञानको प्रधानता छ । त्यसैले पनि फिल्म हेरिरहँदा जो कोहीले आत्मसात् गर्छन् । फिल्ममा यस्ता पात्र सायद कोही छैनन्, जसमा दर्शकले कुनै न कुनै रुपले आफ्नो उपस्थिति महसुस नगरून् । किनभने, महिलाले स्वतन्त्रताका लागि घरबाहिरभन्दा घरभित्र अधिक संघर्ष गर्नुपर्ने हाम्रो तीतो यथार्थ हो । 

त्यसो त इन्सियाको गायिका बन्ने सपनामा उसको बाबुबाहेक कोही बाधक छैनन् । आमा, सानो भाइ, स्कुले साथीदेखि गिनेचुनेको संगीतकार शक्ति कपुरसमेत इन्सियाकै साथमा हुन्छन् । बुर्काले ढाकेर गाइएको गीतको भिडियोले युट्युबमा पाएको ख्यातिले आजको समयमा सामाजिक सञ्जाल कति उपयोगी छ भन्ने देखाउन खोजिएको छ । तर, एउटै भिडियोमार्फत् इन्सियाले रातारात बटुलेको प्रसिद्धि, शक्ति कपुरसँगको सम्पर्क, स्कुल ‘बंक’ गरेर बडोदाबाट मुम्बईसम्मको लामो दूरी नापेर गीत रेकर्डिङ गर्न पुगेका दृश्य थोरै नाटकीय लाग्छ । खासमा निर्देशक चन्दनले इन्सियाले सांगीतिक दुनियाँभन्दा बुबासँग गरेको संर्घषलाई महत्व दिएका छन् । अनि छोरीप्रतिको आमाको अथाह प्रेमलाई । त्यसैले मध्यान्तर अगाडिका कतिपय दृश्यमा कैंची चलाएको भए पनि मूल कथामा केही असर पर्दैनथ्यो, बरु थप प्रभावकारी हुन्थ्यो ।

जायराको चरित्र र अभिनय फिल्मको मेरुदण्ड हो , जो निकै सशक्त छ । आफ्नो चरित्रको ‘ट्याग’बाट थोरै पनि बाहिर गएकी छैनन् । उनी उत्कृष्ट अभिनेत्रीको प्रबल दाबेदार हुन् । उनकी आमा बनेकी मेहरले त्यस्तै दरिलो छाप छोडेकी छन् । पतिको दमन र छोरीको मायाले गाँजेको पात्र । खासमा फिल्मकी ‘हिरोइन’ हुन् उनी । घमन्डी संगीतकारको भूमिकामा आमिर बिलकुलै फरक तर भव्य लाग्छन् । उनले फेरि एकपटक आफू जस्तोसुकै भूमिकामा ‘फिट’ रहेको प्रमाणित गरेका छन् । ‘मै कौन हुँ...’ र ‘मेरी प्यारी अम्मी...’ श्रुतिमधुर छन् । तैपनि सांगीतिक फिल्मका लागि यी गीतहरूपर्याप्त ‘डोज’ होइनन् । 

कथा, प्रस्तुति र पात्र चयनमा अब्बलता हासिल गरेको सेक्रेट सुपरस्टार सपरिवार हेर्नुपर्ने फिल्म हो । यसले आँखा, मन र मन मस्तिष्कलाई शीतलता प्रदान गर्छ । आखिर भावना, उत्साह, उगंम, हाँसो र आँसुको सम्मिश्रण न पर्‍यो ।

 

प्रकाशित: कार्तिक १०, २०७४