वर्णविन्यासको कसीमा नेपाली भाषा

- भेषराज पोखरेल

‘बूढा मरे भाषा सरे ।’ यो उक्ति भाषाका नयाँ आयामसँग सम्बन्धित छ । कुनै पनि भाषा समय अन्तरालमा परिवर्तन हुन्छ । कुनै समय सीमित अर्थ बोक्ने शब्दले कालान्तरमा व्यापक अर्थ बोक्छ । व्यापक अर्थ बोकिरहेको शब्द समय फेरिँदै जाँदा सीमित अर्थमा खुम्चिन पनि सक्ने भयो । कहिलेकाहीँ शब्दले प्रचलन गुमाउन पनि सक्छन् भने कतिपय शब्दले नयाँ अस्तित्वसमेत प्राप्त गर्छन् । भाषाको विकासक्रममा यस्तो अवस्था आए पनि कुनै भाषा प्रचलनमा आएका शब्दको अर्थात् कुनै भाषामा प्रविष्टि पाएका शब्दको स्थान त्यस भाषाको शब्दकोश तथा व्याकरण व्यवस्थामा सधैँ सुरक्षित रहिरहन्छ । त्यसलाई समयक्रममा आउने कुनै पनि विद्वान्ले समाप्त पार्न सक्दैनन् । 

 

अर्को, पूर्ववर्ती विद्वान्ले गरेका भाषा प्रयोगलाई अशुद्ध तथा गलत भन्ने अधिकार कसैमा पनि हुँदैन । त्यसो गर्न खोजे मूर्खतापूर्ण कार्य मानिन्छ । यो भाषा परम्पराको स्थापित मान्यता हो । पाणिनिले पनि आफूभन्दा धेरै पहिलेका व्याकरणकार र भाषा व्यवस्थालाई आफ्नो अष्टाध्यायीमा स–सम्मान यथास्थान दिएका छन् । केही समययता नेपाली भाषामा रहेका प्रचलित मान्यतालाई सरल बनाउने भन्दै संयुक्त शब्दलाई भत्काउने, संयुक्त वर्णलाई भत्काई खुट्टा काटेर प्रयोग गर्ने, केही अक्षरहरूलाई नै नेपाली शब्दकोशबाट हटाउने प्रयास भए । यसले नेपाली भाषालाई सरल बनाउँदैन । बरू विकृत र जटिल बनाउँछ भन्ने कुरालाई सप्रमाण पुष्टि गर्न बलदेव शर्मा अधिकारीले वर्णविन्यास विज्ञानभित्र नेपाली भाषा पुस्तकको रचना गरेका छन् ।

 

दुई खण्डमा विभाजित उक्त पुस्तकको प्रथम खण्डमा लेखकले नेपाली भाषा व्यवस्थाको विस्तृत खोज गरेका छन् । नेपाली भाषा व्यवस्थाका आधारहरू के हुन् ? स्वर र व्यञ्जन वर्णको महत्त्व, तिनीहरूको आपसी सम्बन्ध, नेपाली भाषामा तिनीहरूको स्थान र संस्कृत भाषामा भएका प्रयोगका बारेमा पुस्तकमा सप्रमाण प्रस्तुत गरिएको छ ।

नेपाली भाषाको संस्कृत भाषासँग सम्बन्ध, नेपाली संस्कार र संस्कृतिसँग संस्कृत भाषाको निकटता, वर्ण अर्थात् अक्षरहरूको संस्कृतिसँगको अन्योन्याश्रित निकटतालाई लेखकले खोज गरेका छन् । नेपाली भाषा व्याकरण र शब्दकोश निर्माणको सुरुआतदेखि विभिन्न विद्वान्ले गरेका प्रयोग र तिनले दर्शाएका महत्त्वलाई लेखकले प्रमाणका रूपमा प्रस्तुत गरेका छन् । दोस्रो खण्डमा स्थापित र वैज्ञानिक नेपाली वर्णविन्यास परम्परा भत्काउने भूमिकामा त्रिविका केही प्राध्यापकहरू शीर्षकमा त्यसका विभिन्न आयामहरू उल्लेख गरिएको छ । यस खण्डमा नेपाली भाषा र संस्कृत भाषाको सम्बन्ध, नेपाली संस्कृतिसँग संस्कृत भाषाको सम्बन्धजस्ता कुराहरू पनि उल्लेख गरिएको छ । 

 

नेपाली भाषा संस्कृत भाषाको सबैभन्दा नजिकको भाषा रहेको कुरा विभिन्न विद्वान्ले समय–समयमा खोजमूलक रूपमा उल्लेख गरेका कुरालाई प्रमाणस्वरूप प्रस्तुत गरिएको छ । अर्को, संस्कृतका विभिन्न शब्द कसरी प्रयोग गरिँदै आएको छ र हिन्दी तथा अन्य भारोपेली भाषामा कसरी र कस्तो स्थान दिने प्रचलन छ भन्ने कुरा पनि सप्रमाण समेटेका छन् । लेखकले यस खण्डमा नेपाली वर्णमाला, वर्णोच्चारण तथा वर्णविन्यासको वैज्ञानिक परम्परा र त्यसमा ल्याइएको विचलनलाई विस्तृत रूपमा उल्लेख गरेका छन् । 

 

सीमित व्यक्तिको अहं र लहडले गरिएको कार्यले नेपाली भाषा पढ्ने विद्यार्थीमा ठूलो असर पार्‍यो । तल्लो कक्षामा पढ्ने विद्यार्थीले एक खालको वर्णविन्यास र भाषा व्यवस्था पढे, माध्यमिककाले अर्कै पढे, दस जोड दुई पढ्नेले फेरि अर्कै तथा उच्चशिक्षा पढ्ने विद्यार्थीले अर्कै पढ्ने अवस्था खतरनाक छ । यस्तो अवस्थामा शिक्षक पनि अन्योलमा रहने र विद्यार्थीका आँखामा वर्षौं अध्यापन गराइरहेका शिक्षक नजान्ने बन्ने अवस्था सिर्जना हुनु गलत हो । 

 

भाषामा गरिएको पछिल्लो कार्यलाई नेपाल प्रज्ञा–प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयले गलत हो भन्ने कुरा महसुस गरे । प्रतिष्ठानले विसं ०७२ को बृहत् नेपाली शब्दकोशलाई खारेज नै गरेको छ भने त्रिविमा पनि ०४० को शब्दकोश अनुसार पठनपाठन गराउने कुरा बताइएको छ । यति हुँदाहुँदै पनि यी दुवै संस्थाले घुमाउरो पाराले पछिल्लो त्रुटिलाई आंशिक सच्याएर उनीहरूका केही कार्यलाई वैध ठहर्‍याउने काम पनि गरेका छन् । सरकार पनि यसैलाई मानेर ठोस निर्णय गर्न चुकेको छ । सरकारी कामकाजमा पनि नेपाली भाषा प्रयोग गर्दा अनेकौँ त्रुटि गरिँदै आएका छन् । पुस्तकमा यी कुरा पनि उल्लेख गरिएको छ ।

 

अधिकारीले यस पुस्तकमा नेपाली भाषाका अनेकौँ आयामलाई आफ्नो खोजको विषय बनाएका छन् । पुस्तकको मुख्य केन्द्रीयता भनेको कुनै पनि भाषामा वर्ण, शब्द तथा व्याकरण व्यवस्थाले पहिले प्रविष्टि पाएपछि तिनी सधैँ कायम रहन्छन् र ती मूल हुन् । पछि प्रविष्टि पाउने तिनको विकल्पका रूपमा प्रयोग हुन सक्छन्, न कि पहिलेका विकल्पी नयाँ मूल । तसर्थ, यो खोजमूलक पुस्तकको आग्रह विसं १९९८ मा विभिन्न विद्वान्को प्रयासबाट तयार भएको नेपाली शब्दकोश बगलीकोश मूल हो । पछि आएका सार्थक प्रयोग विकल्पी हुन् र हुन सक्छन् । 

 

वर्णविन्यास विज्ञानभित्र नेपाली भाषा

लेखक : बलदेव शर्मा अधिकारी

प्रकाशक : दिनेश रिजाल

पृष्ठ : २०८

मूल्य : ४२५ रुपियाँ

प्रकाशित: कार्तिक ५, २०७४