नोटबुक

- रवि मानन्धर

आन्तरिक पर्यटकको हालत

प्रसंग जेठ महिनाको हो । तनहुँ, देवघाटको तीन दिन बसाइपछि सहकर्मी राजकुमार बानियाँ र म चितवन, सौराहा बजारको पुछारमा रहेको होटलमा बास बस्न पुग्याैँ । देवघाटमा गर्मीकै कारण राती निदाउन नसक्दा हाम्रो शरीर थकित थियो । काम बाँकी नै थियो । हाम्रो एउटै उद्देश्य थियो, वातानुकूलित (एसी) जडित कोठामा एक रात आरामले सुत्ने र भोलिपल्ट काममा खटिने । 

हामीले एसीजडित कोठा माग्यौँ । कोठाको साँचो बुझ्ने बेला एसीले काम गर्ने/नगर्नेबारे शंका पनि जाहेर गर्‍यौँ । रिसेप्सनकी युवतीले होटल उच्चस्तरको भएकाले शंका नगर्न आग्रह गरिन् । हामी माथिल्लो तल्लामा उक्लियाैँ । रुम ब्वाय एसी चलाएर एकैछिनमा कोठा चिसो हुने जनाउँदै तल लागे । तर, दुई घन्टा बित्दा पनि कोठाको तापक्रम झरेन । रुमको कि–चेनमा लेखिएको नम्बरमा फोन गर्‍यौँ । रिसेप्सनमा घन्टी बजेको माथिबाट मजैले सुनिन्थ्यो । तर, फोन उठेन । 

हामीले जुक्ति निकाल्दै स्थानीय संवाददाताको सहयोगमा होटल मालिकको फोन नम्बर पत्ता लगायौँ र फोन गर्‍यौँ । समस्या बताएको पाँच मिनेट नबित्दै होटलका कर्मचारी आइपुगे । उनी ‘अहिले भोल्टेज कम भएकाले एसीले चिसो नफालेको हो, एकैछिनमा फाल्छ’ भन्दै तल ओर्लिए । एकैछिन भनेको रातको ११ बजिसक्दा पनि कोठा चिसो भएन । हामी बरन्डामै थियौँ, कोठा चिसो हुने आशमा । तीन दिनको थकान अनि पसिनाले निथु्रक शरीर, त्यसमाथि लामखुट्टेको डसाइ । हैरान थियाँै हामी । वरपर कोठाका विदेशीहरु निदाउन थालिसकेका थिए । फेरि होटल मालिकलाई फोन गर्‍यौँ । उताबाट आवाज आयो– तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको ‘स्विच अफ’ गरिएको छ । यसपछि हाम्रो पनि ‘मुड अफ’ । उपाय थिएन, थाकेका थियाँै । कोठाको झ्याल सबै खोल्यौँ र पसिना–पसिना भएर अर्धनिद्रामै रात बितायाैँ । 

सबेरै सामान पोको पारेर रिसेप्सनमा कडा शब्दमा गुनासो गर्दै कोठा छाड्ने निर्णय सुनायौँ ।

रिसेप्सनमा रहेकी युवतीले आफू हिजो ७ बजे नै घर गएकीले समस्याबारे अनभिज्ञता जनाउँदै एसी नचलेबापत चार सय रुपियाँ छुट दिने बताइन् । हामीले पैसा दिँदै बिल माग्यौँ । उनले बिल चाहिने भए १ हजार ५ सय रुपियाँ नै लाग्ने सुनाइन् । हामीसँग समय थोरै र काम धेरै थियो । त्यसैले विवादमा अल्झिरहनुभन्दा थप चार सय रुपियाँ तिरेर भ्याट बिल लियाैँ र नजिकैको अर्काे होटलमा बस्न गयाैँ । 

आन्तरिक पर्यटक नबढेकामा रोइलो गर्ने अनि आएका नेपालीलाई दोस्रो दर्जाको व्यवहार गर्ने होटल सञ्चालकहरुको यो चालालाई के पो भन्नु र खोइ !

म:मको स्वाद 

कालीमाटीको स्पार्क होममा उपचाररत बिरामी आफन्तसँग साथी गएको थिएँ । उनको थेरापी गर्न दुई घन्टा लाग्ने भो । कसरी समय कटाउने ? बाहिर निस्किएर केही पर बाटोछेउमा रहेको रेस्टुराँमा छिरँे । साहूजी आफैँ अर्डर लिन्थे, पानी दिन्थे । उनको सत्कार देखेर म प्रभावित भएँ । 

मभन्दा अगाडिको सिटमा बसेकाहरु बियर पिउँदै अन्त्यमा के खाने भनेर सल्लाह गर्दै थिए । चार जनाको समूहमा रहेका उनीहरुले केही समयपछि साहूजीलाई नै बोलाए, एकले भने, “साहूजी लास्टमा केही चट्ट खाऔँ न !” ग्राहकको कुरा सकिन नपाउँदै साहूजीले भने, “सर चिकेन फ्राइड म:म खानूस् ।” अलमलमा परेका उनीहरुलाई त्यो सल्लाह रामवाण भयो । तर, त्यसमध्येको एउटाले बफ म:म मगाए, साहूजीले बफभन्दा चिकेन नै राम्रो भएको बताए । 

भोक मेटाउन नभई समय कटाउन रेस्टुराँ छिरेको म पनि के खाने भनेर अलमलमा थिएँ । मेन्यु हेरेँ र भेज म:म मगाएँ । साहूजीले भेज म:म बनाउन २०–२५ मिनेट लाग्ने भएकाले चिकेन नै खान सुझाए । मैले आफू शाकाहारी भएको र समय पनि प्रशस्तै भएको बताएपछि उनले कर गर्न सकेनन् । केही बेरमा अघिका ग्राहकलाई चिकेन म:म दिएर साहूजी ‘बच्चा लिएर आउँछु’ भन्दै बाहिरिए । काउन्टर साहूनीले सम्हालिन् । 

केही छिनमा एक जनाले म:मको स्वाद अलि कस्तोकस्तो भएको भन्दै साथीसँग जिज्ञासा राखे । अर्कोले ‘भुँडी टन्न भरेपछि के मीठो हुनु’ भने र अर्कोले थपे, ‘बियरले मुख बिगारेकाले मीठो नभएको होला ।’ उनीहरुले यस्तै गफ गर्दै प्लेट खाली गरे । बिल मगाए । साहूनीले साँेफसहितको प्लेटमा बिल ल्याइन् । उनीहरुले प्लेटमा हजारका तीन ओटा र अरु केही नोट राखे, एक–एक मुठी साँेफका दाना मुखमा हाले । अनि, ‘दिउँसै मापसे चेक हँुदैन होला नि’ भन्दै बाहिरिए । 

मेरो टेबलमा पनि म:म आइपुग्यो । म समय कटाउने हिसाबले सुस्तसुस्त खान थालेँ । केही छिनमा स्कुलबाट भर्खरै फर्केका दुई भिन्न उमेरका स्कुले विद्यार्थी रेस्टुराँमा छिरे । काउन्टरभित्र ब्याग फाले र एकैछिन अगाडि खाली भएको टेबलमा बस्दै कराए, ‘ममी चिकन म:म खाने ।’ साहूजी कता लागे कुन्नि ! साहूनीले हप्काउँदै भनिन्, ‘ आज चिकेन राम्रो छैन, बफ खाओ ।’ बच्चाहरु चुप लागे । साहूनीले कुकलाई दुई प्लेट बफ म:म बनाउन अह्राइन् । र, काउन्टरमा गएर बसिन् । म भने भर्खरै मूर्ख बनेका पियक्कडहरुको अनुहार सम्झँदै बिल तिरेर रेस्टुराँबाट बाहिरिएँ । 

प्रकाशित: कार्तिक ५, २०७४