[स्मरण] रानी ऐश्वर्यले रोकेपछि

  • युवराज दीपेन्द्रलाई पनि सुप्रिया खुबै मन परेकी थिइन् । त्यसैले उनको पूर्ण कदको ठूलो तस्बिर दीपेन्द्रले त्रिभुवन सदनभित्र रहेको आफ्नो बेडरुममा सजाएर राखेका थिए ।

- रेवतीरमण खनाल

दरबारमार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्रका साथीहरू र अंगरक्षकबीच कुटपिट भएको खबर थाहा पाएपछि मैले राजा वीरेन्द्रमा जाहेर गरेको थिएँ– ‘सरकार ! जवानी, धनसम्पत्तिका अतिरिक्त रिसको समयमा विवेक गुमाउन पुग्दा यस्ता घटना हुन्छन् । अब युवक अंगरक्षकभन्दा माथि पाको कमान्डर राख्नुका साथै युवराजको पनि चाँडो विवाह गरिदिनुपर्‍यो ।’ प्रत्युत्तरमा राजा वीरेन्द्रले ‘उपयुक्त समय आउनासाथ विवाह भइहाल्छ नि !’ भन्नुभयो । तर, दुर्भाग्य ! युवराज दीपेन्द्रको विवाहका निम्ति राजा वीरेन्द्रले भन्ने गरेको त्यो ‘उपयुक्त समय’ भने कहिल्यै आएन । 

युवराज दीपेन्द्रको विवाह प्रसंगमा उनीसँग पनि मेरो केही संवाद भएको थियो । युवराज दीपेन्द्र भर्खर मात्र पाटन क्याम्पसबाट स्नातक उत्तीर्ण भएका थिए । काम विशेषले त्रिभुवन सदनमा छिरेको थिएँ । उनी दरबारमा हालै मात्र भित्रिएको कम्प्युटरमा तास खेलेर बसिरहेका थिए । मैले आफ्नो परिचय दिएपछि पछाडि पनि नफर्किएरै ‘के छ तिम्रो हालखबर’ भनी सोधे । मैले भनेँ, ‘सरकारको विवाह भोज कहिले खान पाइएला भनी कर्मचारीहरू गाइँगुइँ गर्छन् । जनता पनि सरकारको बिहे चाँडो भएको हेर्न आतुर छन् ।’

मेरो कुरा सुनेपछि युवराज दीपेन्द्र पछाडि फर्किएर मुसुक्क हाँसे । त्यसपछि ‘पर्ख न पर्ख, एक दिन भैहाल्छ नि ! तिमीहरूलाई भोज नख्वाएर कसलाई ख्वाउँला र ?’ भन्दै पूर्ववत् तास खेल्नमा व्यस्त भए । विवाह प्रसंगले युवराजलाई पुलकित तुल्याउँथ्यो । र, उनी रोमाञ्चित भएजस्तो लाग्थ्यो । 

नोकरीबाट अवकाश पाए पनि म दरबारिया कार्यक्रममा भने बरोबर आमन्त्रित हुन्थेँ ।

राजदरबारभित्रका खास–खास पूर्वकर्मचारीलाई निमन्त्रणा कार्ड पठाएरै त्यस्ता कार्यक्रममा आमन्त्रण गरिन्थ्यो । विसं २०५२ को सन्दर्भ हो । अधिराजकुमारी श्रुतिको विवाह गोरखशमशेर राणाका साथ सम्पन्न हुने तय भएपछि दरबारमा आयोजित भोजमा मैले पनि निम्तो पाएँ । भोज खाइरहेका बेला युवराज दीपेन्द्रको नजर ममाथि परेछ । खानाको प्लेट लिएर उनी सीधै मनिर आएर भने, “रेवती ! तिमीले अब मेरो बिहेभोज खान नपाउने भयौ ।” मैले भनेँ, “नोकरीबाट अवकाश पाए पनि यस्तै निम्ता पाए हाजिर भैहाल्छु नि !” त्यसपछि युवराज केही बोलेनन् । म पनि त्यहाँबाट निस्केर सरासर घरतर्फ लागेँ । 

बिहेको प्रसंग निस्किँदा पुलकित हुने र रमाइला एवं ठट्यौला गफगाफ गर्ने युवराजले किन यस्तो भने भनेर मेरो मथिङ्गल घुमिरह्यो । पक्कै पनि उनी त्यत्तिकै यति गम्भीर भएका थिएनन् । बुझ्दै जाँदा थाहा पाएँ, वास्तवमा निश्चितजस्तै भएको उनको विवाह कार्यक्रम रद्द हुने पुगेको आवेशमा उनले त्यस्तो अभिव्यक्ति दिएका रहेछन् । 

त्यतिबेला उनको विवाह मुमाबडामहारानी रत्नको नजिकका नातेदार रथी प्रदीपविक्रम शाहकी छोरी सुप्रियासँग हुने लगभग निश्चितजस्तै भइसकेको थियो । सायद त्यही भएर सुप्रियालाई ०४९ मै दरबारिया काइदा–कानुन र रहन–सहन सिकाउने भनेर मुमाबडामहारानी रत्नसँगै राजदरबारभित्रै बस्ने प्रबन्ध मिलाइएको थियो । यति मात्रै होइन, उनलाई दरबारभित्रै जागिर पनि दिइएको थियो । ढुकुटी विभागले युवराजको विवाहका निम्ति भनेर गहना बनाउन अर्डर दिइसकेको हल्ला दरबारभित्रै चलेको थियो ।

युवराजलाई पनि सुप्रिया खुबै मन परेकी थिइन् । त्यसैले उनको पूर्ण कदको ठूलो तस्बिर दीपेन्द्रले त्रिभुवन सदनभित्र रहेको आफ्नो बेडरुममा सजाएर राखेका थिए । त्यो तस्बिरबारे मैले बैठकेहरूबाट थाहा पाएको थिएँ ।

रानी ऐश्वर्य भने सुप्रियासँग दीपेन्द्रको विवाहको विपक्षमा रहिछन् । अरू के के कारण थिए, त्यो त थाहा भएन । तर, सुप्रिया सासू रत्नकी नातेदार परेकाले ऐश्वर्यलाई उनी मन परेकी रहिनछन् । यही कारण हुनुपर्छ, ऐश्वर्यले सुप्रियालाई भित्र्याउन अस्वीकार गरेपछि उनलाई राजदरबारबाटै फिर्ता पठाइएको र युवराज दीपेन्द्रको सुप्रियासँग तय भएको बिहे रद्द हुन पुगेको रहेछ । यही झोकमा युवराज दीपेन्द्रले ‘अब तिमीले भोज खान नपाउने भयौ’ भनेका थिए । 

सुप्रियासँग ‘फिक्स’ भएको विवाह कार्यक्रम एकाएक रद्द हुन पुगेपछि दीपेन्द्र ज्यादै निराश र एकान्तप्रेमीजस्तो बन्न पुगेका थिए । त्यसपछि उनको नाम पशुपतिशमशेरकी छोरी देवयानीसँग जोडियो । तर, त्यो सम्बन्धलाई लिएर पनि रानी ऐश्वयले विरोध गरेपछि युवराज दीपेन्द्रको विवाह नै हुन पाएन ।

धेरै लामो समयदेखि विवाहको कुरा उठाउने तर हुन नदिने कार्यले युवराज दीपेन्द्रको मनस्थिति कस्तो भयो होला भन्नेबारे कसैले सोचेको पाइएन । सायद यही कारण हुनुपर्छ, दीपेन्द्रले आफ्ना एडीसी कर्णेल सुन्दरप्रताप रानालाई ‘अब मेरो विवाह नै नहुने भयो’ भनेर दु:ख मनाउ गरेको । अन्तत: १९ जेठ ०५८ मा राजदरबार हत्याकाण्डसँगै युवराज दीपेन्द्रको पनि इहलीला समाप्त भयो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: कार्तिक १, २०७४