[अनुभूति] रमिताहरूका बीचमा

  • सौन्दर्यको सिर्जना एउटाले मात्रै गरेर हुने हो र ? यसका लागि जीवनका ती सबै तत्त्वको आवश्यकता पर्छ, जसको प्रतिकृति बन्न सक्दैन या भनौँ कसैले बनाउन सक्दैन ।

- किशोर नेपाल

ओहो, दसैँको मौसम रे ! यस्तो पनि दसैँको मौसम ! न मालश्रीको धुन सुनिएको छ, न पन्चेबाजाको आवाज सुनिएको छ । पहिले त सोह्रश्राद्ध सुरु हुनुभन्दा १५ दिनअघिदेखि दसैँका बाजा बज्थे । पार्वण श्राद्धका सोह्र दिन छाडेर बज्ने ती बाजाले सबैको मनमा उत्साहको सञ्चार गर्थे । भक्तजनहरू ताँती लागेर पुग्थे देवी–मन्दिरहरूमा । राजेश्वरी घाटमा रहेको नवदुर्गा मन्दिरमा भीड लाग्थ्यो । यहाँ त अहिले पिंगलादेवीको मन्दिर पनि खोज्नुपर्ने भएको छ । नियालेर हेर्‍यो भने थाहा हुन्छ, पिंगलादेवी चक्रपथमुनि भूमिगत भएकी छन् । जहाँ उनको मन्दिर थियो, त्यो त्यहीँ छ । तैपनि, यस्तो लाग्छ– त्यो ठाउँ नै छैन । अलिकति कर्तव्यबोध र भावनामा आएको परिवर्तनले पनि होला । बाजा बजाए पनि र नबजाए पनि गुठियारी मिली हाल्छ भने किन बजाउने बाजा ? जसलाई सुन्ने मन छ, उसले यूट्युबमा सुनोस् । 

चिरिक्क चर्किएको घामले आँखा तिर्मिराएको छ । धूलो बुंगबुंगती उडेको छ । यस्तो पनि दसैँ हुन्छ ? दसैँमा बाहरू जुवा खेल्थे । छोराहरूलाई लुकामारी खेल्न लगाउँथे । अहिले त बाहरू पनि थाकेका छन् । मानिसको जस्तै मौसमको पनि आन्दोलन चर्किएको छ । सडकवारि एक थोपा पानी कतै चुहिएको छैन । सडकपारि पानी दर्किएको छ । सबैलाई थाहा छ, यहाँ एकैछिनमा चिसो हावाको उच्छवास आउनेछ । एकैछिनमा त्यो हराउनेछ । एकैछिनमा बादल लाग्नेछ । एकैछिनमा गर्मीले आलस–तालस बनाउनेछ । वातावरणमा आएको यो विकृतिका बीच हाम्रो सहर काठमाडौँमा दसैँको परिचय हराइसकेको छ । हामीले अहिले जे मनायौँ, त्यो दसैँ होइन पक्कै । दसैँ थियो भने खोइ त त्यो आत्मीयता ? अहिले त जुन सहरमा हामी बाँचेका छौँ, त्यो काठमाडौँ नै होइनजस्तो लाग्छ । समय सकिएपछि सतिसालको काठमा पनि धमिरा लाग्छ । यति बुझ्न वैज्ञानिक बन्नु पर्दैन । काठमाडौँको बासिन्दा भए पुग्छ । 

एक जमाना त्यो पनि थियो, जतिबेलाको दसैँ सम्झिने बित्तिकै शरद ऋतुको स्निग्ध र सौम्य प्राकृतिक वातावरणले शरीरमा अनौठो कुतकुती लाग्न थाल्थ्यो । प्रकृतिको चहक चारैतिर छाउन थाल्थ्यो, आँखाको अघिल्तिर । समय अहिलेको जस्तो तातो थिएन त्यतिखेर । गाउँबाट सहर निकै पर थियो । सहरको निकै बाहिर थियो सहरलाई गाउँसँग जोड्ने सडक । सहरमा दुर्गन्ध थिएन । पानी सधँैको संकट हो सहरमा । तर, अहिलेको जस्तो प्यास मेट्नै नपाइने हिसाबले पानीको अभाव थिएन । ढुंगे धाराहरू कति थिए कति । इलाकाको पूरै भूगोललाई रमाइलो बनाएका थिए, ढुंगेधाराहरूले । हाम्रो गाउँ नदीको दोभानको मुखैमा थियो । दुईतिर बगेका दुई सडक छिचोल्दै आधा दर्जन गल्लीहरू दायाँ–बायाँ लाग्थे । पूर्वतिरको गल्ली ओर्लेर सीधै जाँदा वाग्मती नदी भेटिन्थ्यो । 

पश्चिमतिरको गल्ली अलि अप्ठ्यारो थियो । राम मन्दिरबाट सीधै तल ओर्लिन्थ्यो यो गल्ली । अलिकति अप्ठ्यारो पनि थियो गल्ली । तल अर्को नदी भेटिन्थ्यो रुद्रमती । मायालु भाषामा सबैले भन्थे, धोवीखोला । तर, धोवीखोलामा धोवीहरूको लुगा धुलाइको तरंग कहिल्यै कतै देखिँदैनथ्यो । किन यो नदीको नाम राखियो होला धोवीखोला ? लुगा धुने धोवीहरू नदीको यति लामो किनारामा कतै देखिँदैनथे । नदीहरू थुप्रै थिए । ती नदी अहिलेको जस्तो नाला बनिसकेका थिएनन् । काठमाडौँ सहर त भयो । यो कहिल्यै सफा बस्ती भएन । तर, फोहोरको सन्निपातले कहिल्यै यो सहरलाई पिरोलेन । 

दसैँ आउन आउन लागेको संकेत त्यति बेला पाइन्थ्यो, जब फूलका बोटमा कोपिला लाग्थे ।

फुलिनसकेका अनेकन फूलहरू, फुल्नफुल्न लागेको गेंवरा फूलको चर्को सुगन्धमा डुबेको जस्तो समय । निख्खर सेतो गेंवरा फूललाई पंखाको आकारमा उनेर कपालको पछाडिपट्टि सिउरिन्थे तरुनीहरू ।

यस्तो सोख गर्नेमा तरुनीहरू मात्र हुन्थे भन्नु त अलि अन्याय नै हुन्छ । वैंश निख्रिन लागेका वैंशालुहरूमा यसको ‘क्रेज’ झन् बढी हुन्थ्यो । पंखाजस्ता आकारका यी फूलमा निख्खरा सेतो रंगको भाव जहाँजहाँ मिलेको हुँदैनथ्यो, त्यहाँत्यहाँ नजानिँदो किसिमले उनिएको हुन्थ्यो, गुनकेशरीको निख्खर रातो फूल । पुतली फूल त सामान्य थियो । मौसमको प्रतीक मात्र । यसले पूरै गाउँलाई ‘इस्टम्यान’ कलरमा ढालेको हुन्थ्यो । मानौँ, यो सानो गाउँको सानो टुक्रा जमिन होइन । नील आर्मस्ट्रंगले बोकेर ल्याएको चन्द्रमाको एउटा सानो टुक्रा सौन्दर्य हो । सौन्दर्य फूलमा मात्र होइन, ढुंगामा पनि खुल्न सक्छ । सौन्दर्यलाई पछ्याउन एउटा मानिसचाहिँ नभई नहुने । लोग्ने मानिस र स्वास्नी मानिस दुवै चाहिने । 

सौन्दर्यको सिर्जना एउटाले मात्रै गरेर हुने हो र ? यसका लागि जीवनका ती सबै तत्त्वको आवश्यकता पर्छ, जसको प्रतिकृति बन्न सक्दैन या भनौँ कसैले बनाउन सक्दैन । बितेको दसैँ भुइँचालोपछिको तेस्रो हो । तीनवटा दसैँअगाडि आएको भुइँचालोले मानिसहरूको घर मात्रै भत्काएको होइन, मन पनि भत्कायो । एक प्रकारले राजधानी उपत्यकालाई घेरेर बसेका सबैको बिल्लीबाठ पार्‍यो । राजधानी आफैँ पनि पीडित छ । यहाँका घर भत्किएका छन्, पाटी भत्किएका छन्, कुलदेवताका मन्दिर भत्किएका छन् । सरकारले कतै पनि हेर्न भ्याएको छैन । जसलाई हेर्न खटाइएको छ, ती डण्डीबियो खेलेर बसेका छन् । आत्म–प्रवन्चनाको छुट छ सबैलाई । भूमिविरुद्धको प्रलय मानिस आफँैले ल्याएको कुनै विपत्ति हो र ?

अहिले सरकार रानीपोखरीको पुन:निर्माणमा लागेको छ । पुन:निर्माण कहिले सकिन्छ ? यो कुरो त सरकारलाई नै थाहा छैन । तर, यति पक्कै भन्न सकिन्छ, रानीपोखरीको पुनर्जन्म ‘राजा पोखरी’का रूपमा हुने लक्षण बढ्दो छ । अलिअलि संस्कृति त पढिएको थियो, त्रिविमा सञ्चालित हुने इतिहास, संस्कृति र पुरातत्त्वको कक्षामा । त्यही पढाइ र अनुभवका आधारमा पनि यति भन्न मन लागेको छ– रानीपोखरीको दलदललाई हटाएपछि मात्र यसको वास्तविक गहिराइबारे जानकारी पाइनेछ । त्यसपछि मात्रै पोखरीमा पानी भरिनेछ । सरकारमा त्यसो गर्ने हिम्मत छैन । छुट्याएको बजेटले मात्र पुग्दा पनि पुग्दैन । राजधानीमा अरू पनि लफडा छन् । देशमा गणतन्त्र आएपछि राजाका सालिकहरू भकाभक उखेलिँदै छन् । जहाँ राजाको सालिक थिएन, त्यहाँ नयाँ सालिक ठड्याएर भए पनि भत्काइएको समाचार आउन थालेका छन् । यो अवस्थामा रानीपोखरीको दक्षिण किनारामा रहेको हात्तीमा सवार राजा प्रताप मल्ल, उनकी रानी र छोराको सालिकलाई स्थापित वा विस्थापित के गर्ने ? सरकारले यसमा यत्तिकै निर्णय लिने सम्भावना देखिएको छैन । त्यसका लागि पार्टीको पोलिटव्युरो बैठक बस्नु पर्ला । तीन दलीय सहमति पनि गर्नुपर्ला । त्यसका लागि सहमति जुटेको छैन । रानीपोखरीको ‘ब्युटिफिकेसन’का लागि जनताका सुझाव पनि आइसकेका छैनन् । प्रयोगमा नै छ सबै कुरा । 

त्यतिखेर सहरमा मनाइने दसैँका बारे हामी भुराभुरीलाई केही थाहा हुँदैनथ्यो । सुनेका थियौँ, हनुमानढोका दरबारमा राखिएको दसैँ–घर, सुनेका थियौँ, आडमा रहेको तलेजु भवानीको अग्लो मन्दिर, त्यसपछि तन्त्र–मन्त्रका दुई देवता काला र सेता भैरव । जामुना गुभाजुको कथा जताततै सुनिन्थे । कुनै एक जना कलाकारले जामुना गुभाजुको कथालाई चित्रमा उनेर पुस्तक बनाउन खोजेका थिए । त्यो काम भएको भए हाम्रो नेपाली भाषामा पनि अमर चित्र कथा प्रकाशित हुन्थ्यो । काठमाडौँको बजार हिन्दी भाषाको अमर चित्र कथाले ओगटेकै थियो, नेपाली भाषामा पनि त्यही कथा त्यही कम्पनीले उस्तै साजसज्जामा प्रकाशित गरेको भए गज्जब हुन्नथ्यो त ?

हामी त्यहाँ अर्थात् हनुमानढोका पुगेका थिएनौँ । बा, आमा, दाइ, मामा, काका, जेठा बा कसैले हाम्रो हनुमानढोका घुमाइदिने बिन्ती सुनेका थिएनन् । हाम्रा साथीहरू, जसका हजुरबा थिए, ती अलौकिक कथाजस्ता लाग्ने सहरका सबै मन्दिर, पाटी र पौवाहरू पूरै घुमेर आइसकेका थिए । उनीहरूलाई टुँडालमा कुँदिएका रंगीन चित्रका बारे पनि थाहा भइसकेको थियो । ती चित्रहरू देखेर हाँस्ने केटीहरूमा अर्चना पनि थिई । हामीले ती जम्मै कथा सुन्यौँ । 

दु:खका कुरा हाम्रा हजुरबा थिएनन् । हजुरबा नहुनु हाम्रो घाटा थियो । हाम्रो सांस्कृतिक जिज्ञासामा तालाबन्दी थियो ।

उतिबेला अहिलेको जस्तो वाग्मती सफाइ अभियान सञ्चालनमा थिएन । वाग्मती मात्रै होइन, यसका सहायक नदीहरूलाई पनि सफा गर्ने आवश्यकता नै थिएन । घाम र जून दुवैको उज्यालोमा चाँदीजस्तै टल्किन्थे बालुवाका कणहरू । दसैँको पहिलो दिन घटस्थापनामा जमरा रोप्नका लागि अहिलेको जस्तो प्रतिपोका १ सय ५० रुपियाँमा बालुवा किन्न पर्दैनथ्यो त्यतिबेला । केटाकेटीहरू घटस्थापनाको झिसमिसे बिहानीमा वाग्मतीमा नुहाउँथे । जाडोले थुरथुर काँप्दै बालुवाको भारी बोकेर घर फर्किन्थे । आमाले जौ केलाउँथिन् र बाले जमरा राख्थे । यीबाहेक केटाकेटीहरू शक्तिपीठहरूको दर्शन गर्न अँध्यारैमा हिँड्थे । 

समय बदलिन केही बेर लाग्दो रहेनछ । सरकारले विकास र निर्माणको विगुल चर्को आवाजमा बजाइरहँदा वाग्मती सभ्यताको चीरहरण भइरहेको थियो । नदीको चीर भन्नु नै बालुवा हो । नदीमा बालुवा नै नरहेपछि पानीको शुद्धता कहाँ खोज्ने ? सरकारका एक प्रमुख अधिकारीले गन्जी–कट्टु बाँडेर मानिसहरूलाई वाग्मतीको प्रशोधनमा संलग्न गराइछाडे । पञ्जा लगाएका हात हिलोमा गाड्न लगाएर फोहरका रूपमा फालिएका प्लास्टिकका झोला नदीबाट निकाल्न लगाए । वाग्मती सफा भएको भ्रम फैलाउन आफैँ नदीमा डुबुल्की मारेको जस्तो गरे । जति गर्दा पनि वाग्मती शुद्ध हुन सकिनन् । 

तैपनि, वाग्मती सफाइ निरन्तर छ । वाग्मती मात्रै होइन, विष्णुमती, रुद्रमती, इच्छामती, मनमती, हनुमन्तमतीलगायतका सबै मतीहरूको सफाइ नियमित भइसकेको छ । मुख्य कुरो, शासन–प्रशासन चलाउने राजनीतिक नेता र प्रशासनिक अधिकारीहरूको मतिमा सुधार आउन सकेको छैन । सरकारका मुख्य अधिकृत स्तरबाट संगठित भएर फैलिएको यो सफाइ अभियान ‘राष्ट्रिय गौरवको अभियान’ घोषित हुन मात्रै बाँकी छ । यो अभियानमा कर्मचारी, पूर्वनेता, व्यापारी, तस्कर, खेलाडी, सञ्चारविद्, सञ्चारकर्मीलगायत काम नपाएकाहरूको ‘नागरिक सहभागिता’ रहेको छ । 

दसैँ सकियो । काठमाडौँ सहरमा बजारको चमक तिहारसम्म रही रहनेछ । तिहार सकिएपछि बजारले अलिकति चमक गुमाउनेछ । चीनतिरका नाका भर्खर मात्र सहज बन्न लागेको खबर आएको छ । नाका सहज नबनेका कारणले यो वर्ष सोचेजस्तो व्यापार भएको छैन । स्वेटर, पुलओभरका नयाँ ‘एडिसन’ हवाई मार्गबाट आउने हुँदा ती महँगा हुन्छन् । सस्तो त अप्पो छ मोबाइल पनि, क्यामरा पनि । तर, त्यो ओढ्न र ओछ्याउन मिल्दैन । भनिएको छ, देश परिवर्तनको सँघारमा छ । जनता त्यो सँघार खोज्दैछन् । कतै त्यो सँघार ओप्पोको लेन्सभित्र हराएको पो छ कि ? देश रमिताहरूका बीचमा रमाइरहेको छ । देश रमिताहरूका बीचबाट हराइरहेको छ । 

 

प्रकाशित: कार्तिक १, २०७४