भद्रगोल भेरी अस्पताल

  • राजनीतिक हस्तक्षेपले अञ्चल अस्पताल लथालिंग

- जनक नेपाल

नेपालगन्ज ।। एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई हेरे पुग्छ । गत वर्ष नियुक्त जुनियर अस्पताल प्रमुखलाई न कर्मचारीले टेर्छन्, न त चिकित्सकले मनैदेखि स्वीकारेका छन् । त्यसको नतिजा, एक वर्षमै अस्पतालको सम्पूर्ण व्यवस्थापन अस्तव्यस्त हुन पुग्यो । 

स्वास्थ्य मन्त्रालयले ०७३ कात्तिकमा अस्पतालका लोकप्रिय प्रमुख मेडिकल सुपरिटेन्ड डा श्यामसुन्दर यादवलाई हटाएर जुनियर रेडियोलोजिस्ट वीरेन्द्रबहादुर चन्दलाई निमित्त प्रमुख बनायो । १ कात्तिकमा यादवलाई हटाएर नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा रामपरीक्षण यादवलाई भेरी अस्पतालमा सरुवा गरियो । उनी ३५ दिन बित्दासमेत अस्पतालमा हाजिर भएनन् । उल्टै सरुवा रोकाएर मन्त्रालय पुगे । तर, भेरी अस्पतालमा भने प्रमुख सुपरिटेन्ड यादवलाई हटाएर जुनियर रेडियोलोजिस्ट डा चन्दलाई निमित्त प्रमुख नियुक्त गरियो । यादवलाई ‘गर्दै आएको जिम्मेवारी अनुसार काम गर्न’ भन्दै सर्जरी विभागमा थन्काइयो । स्वास्थ्य नियमावली अनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्ड नियुक्ति गर्न पाउने व्यवस्था छ । तर, निमित्तका रूपमा रेडियोलोजिस्ट प्रमुख भए । निमित्त प्रमुखलाई चिकित्सकले नटेर्नुको एउटा कारण त्यो पनि रह्यो । 

राजनीतिक हस्तक्षेपले सरकार परिवर्तनसँगै सरकारी अस्पतालमा प्रमुख फेरिने गरेका छन् । बितेको नौ वर्षमा भेरी अञ्चल अस्पतालमा आठपटक प्रमुख फेरिए । तीमध्ये ६ जना त निमित्त भए । वरिष्ठ सर्जन डा यादव मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रकै सबैभन्दा सिनियर चिकित्सक हुन् । “डेढ वर्षमा मैले अस्पतालमा धेरै सुधार ल्याएँ । स्वास्थ्य सेवालाई स्तरीय बनाउन कोसिस गरेँ । तर, बिनाकारण प्रमुखबाट हटाइयो,” यादव भन्छन् । सरकारी अस्पताललाई व्यवस्थित एवं सुविधासम्पन्न बनाएर खस्किन लागेको विश्वास आर्जन गर्नुपर्ने उनी बताउँछन् । 

यादवभन्दा अघि पनि सिनियर हँुदाहुँदै जुनियर डा पीताम्बर सुवेदीलाई निमित्त प्रमुख बनाइएको थियो । त्यसो त ०६५ सालमा डा यादवलाई पनि निमित्त मेसु बनाइएको थियो । तर, त्यतिबेला सिनियर डा उषा शाहलाई सुर्खेत सरुवा गरिएकाले जुनियरको मातहतमा रहनुपरेन । अहिले उनै शाह अस्पताल विकास समितिका अध्यक्ष छिन् । 

लगत्तै डा विमल ढकाल प्रमुख मेसु नियुक्त भए । उनको सरुवापछि डा नरेन्द्रकुमार राय सात महिनाका लागि प्रमुख भए । उनीपछि डा विनोद खेतान ६ महिना निमित्त प्रमुख बनाइए । डा खेतान आमाको किरियामा रहेका बेला रातारात हटाएर जुनियर डा सुवेदी निमित्त प्रमुख बनाइए । दुई वर्ष प्रमुख रहँदा उनी भ्रष्टाचारमा मुछिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदी, लेखापाल मनिराम बर्मा र पदम जिसीविरुद्ध एक करोड रुपियाँ बिगोसहित मुद्दा दर्ता गरेपछि उनीहरू अहिले निलम्बित छन् । विशेष अदालतमा मुद्दा चलिरहेको छ । 

६ असार ०७२ मा प्रमुख मेसु नियुक्त भएपछि डा यादवले अस्पतालको सुधारका लागि केही महत्त्वपूर्ण काम गरे । आईसीयू सेवा सञ्चालनमा ल्याए । अस्पताललाई चौबीसै घन्टा विद्युत् सेवा मिलाए । कार्डियोलोजी केन्द्रका लागि पेसमेकरलगायतका उपकरण भित्र्याए । सीटीस्क्यान मर्मत, डिजिटल एक्स–रे, प्रयोगशालामा नयाँ प्रविधि, सिकलसेल इलेक्ट्रोफोरासिस मेसिन जडान गराए । त्यस्तै, अस्पतालको आन्तरिक स्रोतबाट इमरजेन्सी ल्याब सञ्चालनमा ल्याए । तर, अस्पताल प्रमुख फेरिएको एक वर्षमै ती सेवाहरू प्रभावित छन् । अस्पताल फोहर र अस्तव्यस्त बनेको छ । आईसीयू सेवा बिस्तार हुनुको सट्टा झन् खुम्चिएको छ । गत वर्ष नै सुरु हुनुपर्ने डाइलेसिस सेवा थालिएको छैन । बजेट अभाव भन्दै सिकलसेलका बिरामीले पनि उपयुक्त उपचार पाइरहेका छैनन् । कार्डियोलोजी सेन्टरका रूपमा विकास गर्ने भनिएको अस्पतालमा त्यसले पनि गति लिएको छैन । “पूरै बिग्रियो भन्ने होइन । काम भइरहेको छ,” अस्पतालका निमित्त प्रमुख डा चन्द दाबी गर्दै भन्छन्, “सहिद गंगालाल हृदयरोग निवारण केन्द्रको सहयोगमा क्याथल्याब सञ्चालनमा ल्याउँदैछौँ । डाइलेसिस सेवाका लागि पनि काम भइरहेको छ ।” 

प्रकाशित: कार्तिक १, २०७४