फिल्मकर्मीका अमेरिका आशक्ति

  • नाम अनुुसार दाम नहुनु कलाकर्मीको साझा पीडा

- गोकर्ण गौतम

दस वर्षको बीचमा झन्डै ८० फिल्ममा अभिनय गरे सुमन सिंहले । ’६० को दशकको अन्त्यतिर त एक महिना पनि नपुग्दै उनको फिल्म रिलिज हुन्थ्यो । तर, उनै हिरो अमेरिका पलायन भए । चार वर्षयता उनलाई नयाँ सिनेमामा देख्न पाइएको छैन । नेपाली फिल्मसँगको साइनो लगभग टुटेको छ । 

जीवन लुर्इंटेल त अझ सफल अभिनेतामा पर्छन् । चकलेटी लुक्सका जीवन अभिनीत अन्दाज, नाई नभन्नु ल, रिदम, नोटबुकलगायतका फिल्म बक्स अफिसमा अब्बल दरिए । यीबाहेक उनका दुई दर्जन फिल्म प्रदर्शन भए । नेपालमा क्रेज ओरालो लाग्ने संकेत के मिलेको थियो, जीवनले पनि अमेरिका नै रोजे । झन्डै दुई वर्ष भयो, उनी अमेरिकाको साउथ डाकुटामा नियमित रूपमा बस्न थालेको । त्यतै बन्ने म्युजिक भिडियोमा आक्कलझुक्कल देखापर्नुबाहेक फिल्मबाट विरानो भइसकेका छन् ।

सुमन र जीवन उदाहरण मात्र हुन् । उनीहरूजस्ता गिनेचुनेका कैयौँ फिल्मी सेलिब्रिटी अमेरिकामा सामान्य जीवन बिताइरहेका छन्, ‘एक्सन–कट्’बाट बिलकुलै टाढा रहेर । अझ दु:खलाग्दो पक्षचाहिँ, प्राय: कलाकार उता कार्यक्रमको बहानामा गएका हुन्छन् । र, लुकेर बस्छन् अनि ग्रिनकार्ड प्राप्तिका लागि प्रक्रिया सुरु गर्छन् । सरोज खनालदेखि राजवल्लभ कोइराला, सुवास थापा, विमलेश अधिकारी, नन्दिता केसीसम्म यही कोटिमा पर्छन् । सायद यही कारण हुनुपर्छ, चार वर्षयता कलाकारलाई कार्यक्रम गर्नका लागि दिइने पी–३ भिसामा नेपालस्थित अमेरिकन दूतावासले कडाइ गरेको स्वयम् कलाकारहरू बताउँछन् । जसका कारण भ्रमण वा अरू कुनै भिसामा अमेरिका जाने क्रम बढ्दो छ । कलाकारिताबाटै लाखौँ दर्शकले चिनेको कलाकार अवैधानिक तवरबाट विदेशी भूमिमा भासिनु रहर कि बाध्यता ? व्यक्तिका आ–आफ्ना भोगाइ र रोजाइ होलान् तर यो प्रवृत्तिले फिल्मकर्मीको छविमा नकारात्मक असर पारेकामा चाहिँ शंकै छैन । 

तर, यहाँ उल्लेखनीय अर्को पक्ष पनि छ, ५० वर्ष पार गरिसकेको नेपाली चलचित्र क्षेत्र अझै पूर्ण व्यावसायिक बन्न सकेको छैन । केही प्रतिशत चलचित्रहरू मात्रै व्यावसायिक रूपमा सफल हुन्छन् । लहडमा अभिनय क्षेत्रमा हाम फालेकालाई टिक्न मुस्किल पर्छ । एकाध कलाकारले मात्र बजार अनुरूपको पारिश्रमिक पाउँछन् । त्यो पनि कतिन्जेल टिक्ने हो, टुंगो हुन्न । अधिकांश कलाकारले त सुरुबाटै असुरक्षित महसुस गर्ने कलाकार तथा निर्माता दीपकराज गिरीको ठम्याइ छ । चार वर्षअघि अमेरिकामा हास्य प्रस्तुति दिएर स्वदेश फर्किएका गिरी भन्छन्, “सोही कारण नेपालमा तीनवर्षे करिअरको भर पर्नुभन्दा पाँचवर्षे भिसाको पछि लाग्नु नै सुरक्षित अवतरणको रूपमा लिने गरेको पाइन्छ ।” कति फिल्मकर्मी त करिअर थालनी हुँदा–नहुँदै अमेरिका हुइँकिने गरेका छन् । जस्तो : कलात्मक सिनेमाका रूपमा ख्याति कमाएको साघुँरोका निर्देशक जोयश पाण्डे र अभिनेता सुशांक मैनाली अमेरिकामै रमाइरहेका छन् । उनीहरू तीन वर्षअघि फिल्म प्रदर्शनका लागि गएका थिए । यतिबेला दुवैको ग्रिनकार्ड बनिसकेको छ । 

राजवल्लभचाहिँ नेपाली फिल्ममा माग हुँदाहुँदै अमेरिका पलाएन भए । हाई वे टू धम्पुसको सुटिङका लागि गएका बखत ग्रिनकार्डको चक्करमा लागे । भदौ तेस्रो साता अमेरिकामै बसोवास गर्ने प्रतिमा विमलीको दुलहा बने । सोही कारण तत्काल नेपाल फर्कने सम्भावना कम रहेको उनी निकटका मित्रहरू बताउँछन् । थिएटर हुँदै फिल्ममा फड्को मारेका अभिनेता सुवास थापासमेत नेपालमा टिकिरहन सकेनन् । आफैँ निर्मित फिल्म बिर्खेलाई चिन्छस्को प्रदर्शनका क्रममा अमेरिका गएको मौकामा उतै बसे । ग्रिनकार्ड बनेपछि पत्नी र सन्तानलाई पनि लगिसकेका छन् । लंका, मौसम, मर्यादालगायतका फिल्म निर्देशन गरेका श्याम भट्टराई अमेरिका बस्न थालेको चार वर्ष बित्नै लागेको छ । श्यामका अनुसार कोही कलाकर्मीलाई देशको चटक्कै माया मारेर हिँड्न मन हुँदैन । 

तर, नेपालमा आर्थिक पक्ष सबल नभएकाले फिल्मबाट कमाएको इज्जत धान्नै धौ–धौ पर्छ । खर्च बढ्छ, कमाइ हुन्न । त्यही इज्जत जोगाउन अमेरिका भासिनुपर्ने बाध्यता छ । “अमेरिकामै संसार बनाएर बस्छु भनेर कोही आएको हुँदैन । केही समय काम गरेर नेपाल फर्कन्छु भन्ने सोच हुन्छ । तर, यहाँ काम गर्न थालेपछि गाडी, अपार्टमेन्ट आदिको चक्करले साङ्लोमा फस्दै गइन्छ,” पाँच महिनापछि नेपाल फर्केर फिल्म बनाउने तयारीमा रहेका श्याम अमेरिकामा रहेका कलाकर्मीको साझा पीडा सुनाउँछन्, “काम गर्दै किस्ता तिर्नुपर्ने हुन्छ, त्यसैले चाहेर पनि भनेको समयमा नेपाल फर्कन सम्भव हुन्न ।” उनी बेलामौकामा म्युजिक भिडियो बनाएर निर्देशनको तिर्खा मेट्छन् । 

श्यामकी पूर्वपत्नी रञ्जना शर्मा अमेरिका भासिएको एक दशक हुन लाग्यो । सांस्कृतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएकी उनी अहिले न्युयोर्कमा आफ्नै ब्युटी पार्लर चलाउँछिन् । फिल्मी करिअर खस्कँदै गएपछि अर्की हिरोइन नन्दिता केसीले अमेरिका रोजिन् । ग्रिनकार्ड लिएपछि अहिले केही समयका लागि नेपाल आएकी छन् । मुनामदन फिल्मकी मुना अर्थात् उषा पौडेल पनि नेपाली फिल्मवृत्तमा टिक्न सकिनन् । हिन्दी सिरियलमा काम गरे पनि अपेक्षाकृत सफलता नपाएपछि उषा अमेरिका पलाएन भएकी हुन् । केही महिनाअघि उनले उतै स्थायी रूपमा बसोवास गर्दै आएका नायक सुधांशु जोशीसँग लगनगाँठो कसेकी छन् । हिरोइन ऋचा घिमिरे र उनका निर्देशक पति शंकर घिमिरेले पनि अमेरिकाको ग्रिनकार्ड लिइसकेका छन् । फिल्म प्रदर्शनका लागि जाँदा उतै अल्झिए । पर्खि बसेँबाट सुखद डेब्यु गरेकी हिरोइन युना उप्रेती आधा दर्जन फिल्म खेलेपछि अमेरिका गइन् र त्यहीँ बसोवास गर्ने विकास अधिकारीसँग घरजम गरिन् । नायिका अरुणिमा लम्सालले अमित अर्यालसँगको १२ वर्षे वैवाहिक सम्बन्ध हालै अमेरिकामै पूर्णविराम लगाएकी छन् । विवाहपछि फिल्मबाट टाढा भएकी अरुणिमा तीन वर्षअघि स्थायी बसोवास गर्ने गरी अमेरिका पुगेकी थिइन् । कुनै समयका हिट हिरोइनद्वय पूजा चन्द र सारंगा श्रेष्ठ अमेरिका बस्न थालेको अढाई दशक नाघेको छ । 

हिरोइनको करिअरको आयु छोटो हुन्छ, हिरोको तुलनामा । हिरोइनमा अमेरिका आशक्ति अधिक हुनुको कारण पनि यही हो । कुनै समय नेपालस्थित अमेरिकी राजदूतावासले भिसा नदिएपछि सुमिना घिमिरेले मिडियामै रोइलो मच्चाएकी थिइन् । अन्य कलाकर्मीमा पनि भिसा पाउँदा अति उत्साही हुने, नपाउँदा हतोत्साही हुने प्रवृत्ति छ । तर, भिसालाई प्रतिशोध वा अपमानको विषय बनाउन नहुने चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप के उदयको भनाइ छ । प्रदीप भन्छन्, “कुनै उमेरपछि अमेरिका जालान् तर कार्यक्रम गर्न गएका बेला उतै बस्लान् भन्नेचाहिँ लाग्दैन । कतिले त यहीँबाट ग्रिनकार्डका लागि आवेदन दिन्छन् ।” झरना थापा र दिलीप रायमाझीले नेपालबाटै ग्रिनकार्ड लिएका हुन् । 

नायिका केकी अधिकारी नेपाली कलाकर्मीको अमेरिकाप्रेमप्रति दूराभाव राख्नु आवश्यक नरहेको धारणा राख्छिन् । भलै उनी आफैँचाहिँ अमेरिकामा ‘इभेन्ट’ सकेर फर्कने गरेकी छन् । केही समय बसेर स्वदेश फर्की फिल्म उद्योगलाई योगदान गर्नु सबभन्दा उत्तम हुने उनको ठम्याइ छ । भन्छिन्, “उतै बस्नु पनि गलत नहोला, आफ्नो रोजाइ त हो । प्राय:जसो नेपालीको सपना नै अमेरिका जाने हुन्छ, यहाँको अवस्थाबारेमा हामी सबैलाई जानकारी नै छ ।” कमाइले आफू र परिवार पाल्न सकिने हुँदो हो त सायदै कोही फिल्म, नाम र सम्मान छोडेर अमेरिका पुग्ने अवस्था सिर्जना हुन्थ्यो तर नाम अनुुसार दाम नहुनु फिल्मकर्मीको साझा पीडा हो ।

अमेरिकामा लामो समय बिताएर स्वदेश फर्किएका अभिनेता सरोज खनालको एउटा भोगाइ उल्लेख गर्नु सान्दर्भिक हुन्छ यहाँ । नेपाली फिल्ममा व्यस्त भएकै बखत सरोज अमेरिका पलायन भएका थिए । त्यही भएर उनलाई सोधियो, ‘तपाईंको त कमाइ राम्रो थियो । किन अमेरिका भासिनु भयो ?’ केही बेरको मौनतापछि उनले मलिन स्वरमा भने, “पारिश्रमिक कम हुन्थ्यो, त्यही पनि पाइँदैनथ्यो । झन्डै १० लाख रुपियाँ पारिश्रमिक उठ्दै उठेन । सबै चिनेका–नजिकका हुन्छन् । कोसँग पैसा दिनु भनेर झगडा गर्नु । त्यसैले यहाँ सबैसँग सम्बन्ध बिगार्नुभन्दा आफैँले कठिन बाटो रोजेँ ।”

दुई दशक बित्यो तर यो नियतिबाट आजका गिनेचुनेका स्टारसमेत मुक्त छैनन् । अनि, सरोजका नयाँ संस्करणहरू नजन्मिऊन् पनि कसरी ? 

प्रकाशित: आश्विन ३१, २०७४