[झटारो] मेयरको मुसुमुसु

- लक्ष्मण गाम्नागे

काठमाडाैँ महानगरका मेयरको आलोचना हुन अझै छाडेको छैन । उनकै पार्टीका कार्यकर्तासमेत भन्छन् कि विद्यासुन्दर शाक्यले अहिलेसम्म एउटा सिन्को पनि भाँचेनन्, सुतेरै बिताए, पार्टी नै अप्ठ्यारोमा परिसक्यो । तर, मेयरलाई परेको अप्ठ्यारोचाहिँ कसले देख्ने रु एउटा मोबाइल किन्न खोज्दा विरोधीहरूले मिसाइलै किन्न खोजेझैँ गरेर आक्रमण गरे । एउटा गाडी किन्न खोज्दा दरबारै आफ्नो नाममा खरिद गर्न लागेझैँ गरी झम्टिए । खल्तीमा एउटा मोबाइलसम्म नबोकी पैदल हिँडेर एउटा महानगरको मेयरले के काम गर्न सक्छ, बताऊन् तिनीहरूले । 

थुप्रै अभाव र अवरोधहरूका बीच पनि मेयरसाप चुपचाप बसेका छैनन् । केही न केही गरिरहेकै छन् । उनी बिहान सखारै उठ्छन् । उठेर अरूअरू मेयरहरूजस्तो उँगेर बस्दैनन् । पानी पिउँछन्, शौचालय जान्छन्, मर्निङवाकमा निस्कन्छन् । जनताको सेवा गर्नुपर्ने भएकाले शरीर स्वस्थ राख्नुपर्छ । मेयरसाबको मर्निङवाक जनताकै सेवामा समर्पित छ । उनी नियमित अफिस हाजिर हुन्छन्, मिटिङहरू गर्छन् । अनेकानेक उद्घाटन, शिलान्यास, सगुन, भेटघाट आदि कार्यक्रमहरूमा पुग्छन् । 

कति भद्र छन् हाम्रा मेयर भने जोसुकैले जतिसुकै गाली गरे पनि मुसुमुसु हाँसिरहन्छन्, कहिल्यै रिसाउँदैनन् । चर्को बोल्दैनन्, झर्को मान्दैनन् । यहाँभन्दा बढी के गर्न सक्छ एउटा मेयरले रु विकास, निर्माण, सरसफाइ इत्यादि हुनुपर्ने भन्ने कुरा हो भने त्यो त संसारका अरूअरू मेयरहरूले गरेकै छन् नि, हाम्रैले किन गर्नुपर्‍यो ! काठमाडाैँ सहरको इतिहास, परम्परा, कला, संस्कृति नै भिन्नै छ, मौलिक छ । यसको आफ्नै पहिचान छ । यसका आफ्नै खाल्डाखुल्डी छन्, आफ्नै धूलोधूवाँ छ । आफ्नै अस्तव्यस्तता र साँघुरोपन छ । यी हजार विसंगतिमाझ पनि हाम्रा मेयर मुसुमुसु हाँसिरहन्छन् । महानगरजस्तै मेयर पनि मौलिक र छुट्टै छन्, अद्वितीय छन् । 

जताबाट हेर्दा पनि हाम्रा मेयर एकदमै ठीकठाक छन्, बरू हामी नगरवासी ठीक छैनौँ । हामी आफूले गर्न सक्ने काम पनि गर्दैनौँ । मेयरलाई गाली गर्नुको सट्टा मास्क लगाएर सहर निस्के हुन्छ । फोहोरका रासअगाडिबाट हिँड्दा नाक थुने सक्किइहाल्छ । झाडापखाला लाग्यो भने अस्पताल गए भैगो । बाटो हिँड्दा वा सवारी चलाउँदा राम्ररी आँखा हेरेर खाल्डाखुल्डी छलेर चलाउन सकिन्छ । आफ्ना बच्चाहरूलाई पौडी खेल्ने तालिम दिएर मात्रै सडकमा निस्कन दिँदा उनीहरू ढलमा डुब्ने खतरा टर्छ । 

र, यो पनि ज्ञान राख्नुपर्‍यो कि इतिहासमा कुनै बेला यो काठमाडाँै पानीको दह थियो । कुनै दिन यहाँका मानिसहरू ओडारमा बस्थे, लुगा लगाउँदैनथे । इतिहासमा कुनै दिन यहाँका मानिसहरू खेत, आली, हिलो कुल्चँदै खाली खुट्टै हिँड्थे । अहिले कहाँ पुग्यो ! उसो भए कुनै न कुनै दिन यो महानगरमा मोनोरेल नआउला त ! कुनै न कुनै दिन यो महानगर सफा नहोला त ! कुनै न कुनै दिन भ्वाङ र खाडलहरू नपुरिएलान् त ! त्यसैले मेयरलाई गाली गर्नुभन्दा बरू इतिहासका पुस्तकहरू किनेर पढौँ, ज्ञान प्राप्त गरौँ । आखिर गाली त के मोसै दले पनि अबका पाँच वर्ष विद्याजीले मुसुमुसु हाँस्न छाड्ने हैनन् क्यारे ! बरू हाँसोले उनको मुख झन्झन् गोरो हुनेछ, रिसाउनेको मुख झन्झन् कालो हुनेछ । ख्याल गरौँ ।

प्रकाशित: आश्विन ३०, २०७४