जो मरेर पनि बाँचिरहन्छन्

  • नेपाली मौलिक संगीतको शिक्षा, अनुसन्धान तथा पूर्वाधार निर्माणका लागि सधैँ समर्थन गर्नुभयो, सहयोग गर्नुभयो ।

- लोचन रिजाल

मलाई जगदीशशमशेर राणाले भन्नुभएको याद आउँछ, ‘म मर्दा एपीजे अब्दुल कलामजस्तै काम गर्दागर्दै मर्न पाए हुन्थ्यो ।’ नभन्दै उहाँ साहित्य, संस्कृति, कला तथा अनगिन्ती कामहरूमा संलग्न हुँदै गर्दा जानुभयो । बिरामी भएको थाहा पाएर एक दिनका लागि भए पनि भेट्छु भन्ने उद्देश्यले केही महिनाअघि चण्डीगढ गएका बेला उहाँलाई भेटेको थिएँ । लेखिराख्नु भएको थियो उहाँ । त्यसबेला हिँड्न पनि सक्नुहुन्न थियो । ‘पूरा हुन नसकेका सपना’ तथा ‘संगीत क्षेत्रका चुनौती र विकास’का बारे लेख्नुभएका आफ्ना लेखहरू उत्साहपूर्वक मलाई सुनाउनुभएको अझै ताजा लाग्छ । 

मैले उहाँलाई आजभन्दा १२ वर्षअघि भेट्ने मौका पाएको थिएँ । मेरा गुरु गेर्ट–माथियास वेगनरले आफ्ना साथी जगदीशशमशेरसँग भेट्ने क्रममा मलाई लैजानुभएको थियो । त्यसबेला राणाले मलाई खुट्टाबाट टाउकोसम्म हेर्नुभयो । त्यसपछि भक्तपुरको नाचगानबारे पुस्तक लेख्ने व्यक्ति, दक्षिण एसियाकै पहिलो एथ्नोम्युजिकोलोजी विषय पढाउने काठमाडौँ विश्वविद्यालयको विभाग स्थापना गर्न मेरा गुरुलाई मद्दत गर्ने व्यक्ति नै जगदीशशमशेर रहेको भनेर थाहा पाएँ, मलाई खुसी लाग्यो ।

समयसँगै मेरो सांगीतिक जीवन परिवर्तन हुने क्रममा म विश्वविद्यालयमै काम गर्न थालेँ ।

विश्वविद्यालयमा संगीतको अवस्थाबारे निकै चासो राख्ने हुनुभएकाले उहाँसँग भेटघाट बाक्लो हुन थाल्यो । अनगिन्ती भेट भए, काठमाडौँ आउनु हुँदा लगभग हरेक दिन भेट हुन्थ्यो, उहाँले हरेक भेटमा केही न केही नयाँ कुरा सिकाउनुभयो, सुनाउनुभयो, हौसला दिनुभयो । उहाँ त मेरा अभिभावक बन्नुभयो ।

उहाँ भारतबाट नेपाल आउँदा, मैले अर्बाजो बजाएका गीत, लेखेका शब्द ध्यान दिएर घन्टौँ सुनिदिनुहुन्थ्यो । आफ्ना कविता, लेख सुनाउनुहुन्थ्यो साथै जीवनका विभिन्न पक्ष बताउनुहुन्थ्यो । म सुनिरहन्थेँ, रमाइरहन्थेँ । म र मेरी श्रीमतीलाई सिमला बोलाउनुभएको थियो । हामी त्यहाँ १५ दिन बस्यौँ, साह्रै हौसला, माया र पारिवारिक वातावरण दिनुभयो । उहाँका घरमा त कवि, कलाकार, विद्यार्थी सबै आउँथे, रमाएर जान्थे । 

नेपाली मौलिक संगीतको शिक्षा, अनुसन्धान तथा पूर्वाधार निर्माणका लागि सधैँ समर्थन गर्नुभयो, सहयोग गर्नुभयो । भूकम्पपछि धुलिखेलको थाक्ले गाउँ गएर पुन:निर्माण गर्न उपाय सोच्दै हुनुहुन्थ्यो, त्रिपुरेश्वर महादेव मन्दिर परिसर पुन:निर्माण गरी सम्पदा तथा संगीत संरक्षण गर्ने काठमाडौँ विश्वविद्यालयको उद्देश्यलाई आत्मसात् गर्नुभएको थियो । 

मलाई जगदीश बुबाले नेपाली इतिहासको अनुभव नै दिएर जानुभएको छ । उहाँले खाना पकाउन सिकाउनुभएका कुरादेखि आधुनिक समाजका कुरा, लामो यात्रामा सुनाउनुभएका कथा र कविता, भिलायत खाँले सहनाई बजाउँदाका उहाँका अनुभव, नेपाली राजनीति, राणा, दरबारका कथाहरू कतिकति ! 

आँखा कमजोर हुँदा सिँढी गनेर भए पनि हिँड्नुहुन्थ्यो, साना केटाकेटी देख्दा उनीहरूजस्तै स्वभाव बदल्नुहुन्थ्यो, कसैसँग डराउनु हुन्नथ्यो, दूरदर्शी हुनुहुन्थ्यो । काठमाडौँ, सिमला र धुलिखेलको कुनाकुनामा उहाँसँग गएको, भक्तपुरका नेवार कलाकारहरूसँग भुइँमा बसेर बारा खाएको हिजोजस्तै लाग्छ । 

प्रकाशित: आश्विन ३०, २०७४