नारी सारथि

  • ट्रेकिङ गाइडका रूपमा महिला उपस्थिति उत्साहजनक

- लालप्रसाद शर्मा

पोखरा ।। सोलुखुम्बु काकुका बबिता राई र मीना राई १२ कक्षा पढ्दापढ्दै पोखरा आएर ट्रेकिङ गाइडको तालिम लिइरहेका छन् । सजिलै रोजगार पाइने भएपछि आफन्त र साथीभाइको सल्लाहमा उनीहरू यता आए । एकातिर देश घुम्न पाइने, अर्कोतर्फ सजिलै रोजगार पाइने भएपछि  राईद्वयले ट्रेकिङ गाइडको तालिम लिएको बुझ्न कठिन छैन । 

तालिमपछि आन्तरिक तथा बाह्य पर्यटकलाई देशका विभिन्न पर्यटकीयक्षेत्रमा घुमाउन लैजान उनीहरू आतुर छन् । नेपालीहरूमा घुम्न जाने संस्कृति देखिन थालेको छ । विदेशी पर्यटक त छँदैछन् । पर्यटकलाई घुमाउन गाइडको आवश्यकता पर्छ । तर, गाइड भन्नासाथ पुरुष नै हुन्छन् भन्ने मान्यताविपरीत पछिल्लो समय महिला ट्रेकिङ गाइड पनि उल्लेख्य मात्रामा बढेका छन् । पोखराबाट मात्रै करिब डेढ सय बढी महिला ट्रेकिङ गाइडले पर्यटकलाई लिएर पदयात्रामा निस्कने गरेका छन् ।   

मुगु, आमबाडाकी दुर्गा रावल ट्रेकिङमा हिँड्न थालेको १० वर्ष भयो । सुरुमा झोला बोक्ने, गाइडको सहायक हँुदै उनी पूर्णकालीन ट्रेकिङ गाइड भएर हिँड्न थालेको तीन वर्ष बितिसकेको छ । यसबीचमा उनले अन्नपूर्ण क्षेत्र, लाङटाङ, सगरमाथा आधार शिविरलगायतका स्थानमा पर्यटकलाई घुमाइसकेकी छन् । विकट गाउँमा जन्मेकाले सुरुका दिनमा पर्यटकको भारी बोक्न पनि उनलाई कुनै समस्या भएन । ६ कक्षासम्म पढेकी उनी यतिबेला पर्यटकसँग निर्धक्कसँग अंग्रेजीमा कुरा गर्छिन् । पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदाको बेलीबिस्तार लगाउँछिन् । “जीवनमा सोच्दै नसोचेको परिवर्तन आइदियो,” भन्छिन्, “देश घुम्न पाएँ । भाषा, संस्कृति, रहनसहन बुझ्ने अवसर मिल्यो । विदेशी संस्कृतिको पनि अनुभव भयो ।” पेसाकै कारण अमेरिका भ्रमणको समेत अवसर पाएकामा उनी दंग देखिइन् । 

एक, नेपालीमा घर छाडेर घुम्ने बानीको संस्कृति नभएका बेला । अर्काे, छोरी मान्छेले त घर छाड्नै हुन्न भन्ने मान्यतालाई तोड्दै थुप्रै युवती यतिबेला देशका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटकलाई पदयात्रा गराइरहेका छन् । यसले उनीहरूमा एउटा आत्मविश्वास पैदा गराएको छ भने अर्कोतर्फ स्वदेशमै रोजगारी पाएर आर्थिक हैसियतमा आफूलाई उभ्याएका छन् । देश मात्र होइन, विदेश पनि घुम्ने अवसर पाएका छन् । पुरुषको मात्र भनेर एकलौटी बनाइएको गाइड पेसामा आफ्नो ठाउँ बनाइसकेका छन् । 

लेकसाइडस्थित थ्री सिस्टर्स एड्भेन्चर ट्रेकिङ र महिला सशक्तीकरण नेपालले नेपालमै पहिलोपटक अंग्रेजी भाषालगायतको तालिम दिन थालेपछि महिलाहरूको ट्रेकिङ गाइडमा आकर्षण बढेको हो । पर्यटकीय क्षेत्र भएर पनि ट्रेकिङ र पर्वतारोहणमा महिलाको शून्य सहभागितालाई देखेर तालिमको व्यवस्था गरिएको हो । “अहिलेसम्म १ हजार ५ सयभन्दा बढी महिलाले ट्रेकिङ गाइडको तालिम लिइसकेका छन्,” सञ्चालक लक्की क्षत्री भन्छिन्, “थ्री–सिस्टर्समा मात्रै डेढ सयले रोजगारी पाएका छन् । बर्सेनि ५० जना थपिन्छन् ।” पढेर–बुझेर विदेश र स्वदेशमा राम्रो जागिर खाने अवसर पनि पाएको उनको अनुभव छ । 

महिलाले ट्रेकिङ गाइडका रूपमा काम गर्न सक्दैनन् भन्ने मान्यतालाई गलत साबित गरेको र धेरैमा सकारात्मक सोचको विकास भएको उनले बताइन् । “केही गर्न सकिँदैन कि भनेर निराश युवतीमा आत्मविश्वास जागेको छ,” उनले भनिन्, “स्थानीय स्रोत–साधनको पहिचान, परिचालन गर्नुपर्ने धारणाको विकास भएको छ ।” सुरुमा तालिमका लागि खोजेर ल्याउनुपर्नेमा अहिले थामी नसक्नु भएर अन्तर्वार्तामार्फत प्रशिक्षार्थी छनोट गर्नुपर्ने अवस्था आएको उनले बताइन् । कतिपय पर्यटकले पुरुष गाइडका कारण धेरै समस्या बेहोर्नुपरेको अनुभव सुनाउन थालेपछि महिलालाई अघि सारिएको हो ।  

महिलालाई अंग्रेजी भाषा, पर्या–पर्यटन र पदयात्रासम्बन्धी सूचना, प्राथमिक उपचार, धर्म, संस्कृति, इतिहास, भूगोल, वातावरण, वनस्पति तथा चराचुरुंगी, आपतकालीन उद्धार, लेक लाग्ने रोग तथा रोकथाम, नेतृत्व विकाससम्बन्धी जानकारी, पूर्वीय र पश्चिमी सभ्यता तथा आचरण, रक क्ल्याइम्बिङ एवं आइस क्ल्याइम्बिङसम्बन्धी तालिम दिइन्छ । 

पाल्पाकी मन कुँवर, तनहुँ दुलेगौँडाकी दानु गुरुङ, जुम्ला खलंगाकी लक्ष्मी सुनारले पनि अहिले ट्रेकिङ गाइडबाटै आफूलाई सक्षम साबित गराइसकेका छन् । सुरुमा पुरुष गाइडहरूले नपत्याउने, जिस्काउने पनि गर्थे । तर, अहिले आफूहरूको काम देखेर उनीहरूसमेत प्रभावित भएको महिला गाइडहरू बताउँछन् । तीनदेखि ३० दिनसम्मको पदयात्रा तय गर्दा महिलाहरू हिँड्न सक्दैनन् भनेर नेपालीले नै विश्वास गर्दैनथे । तर, विदेशीले भने अविश्वास गरेको अनुभव छैन । अधिकांश महिला गाइड गाउँमा जन्मे/हुर्केकाले पदयात्रामा कठिनाइ नआएको लक्ष्मीको अनुभव छ । 

प्रकाशित: आश्विन ३०, २०७४