नोटबुक

- विमल खतिवडा

साइकल्नी आमै 

साइकल सहरको उपाधि पाएको चितवनलाई अहिले त्यो साख जोगाउनै मुस्किल परेको छ, सहरी क्षेत्रमा ठूला सवारी साधनको चापले गर्दा । यद्यपि, भित्री गाउँहरुमा भने अटुट साधनका रुपमा साइकल नै प्रयोग भइरहेको छ । गाउँघरको मुख्य साधन साइकल नै हो । नेपाल साप्ताहिकले दसैँ अंकमा साइकलसँग मानव जीवनको सम्बन्धबारे सामग्री तयार गर्ने भएछ । यसमा चितवन अछूतो रहने कुरै भएन । यही मौका छोपेर चितवनका सहरसँगै भित्री गाउँ घुमियो ।

कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले साउन महिनातिर एक वृद्ध आमाले साइकलमा तरकारी बोकेर घरघर पुगेको फोटो फेसबुकमा राखेका थिए । मैले त्यो फोटोलाई आफ्नो मोबाइलमा ‘सेभ’ गरेको थिएँ । ताकि, ती आमालाई भेटेर स्टोरी गरौँ । उनको ठेगाना पत्ता लगाउन निकै सकस पर्‍यो । निकै खोजेँ । उनले तरकारी बिक्री गर्ने पसल–होटल चहारेँ । उनको घर पत्ता लगाउन दुई दिन लाग्यो । 

उनी रहिछन्, भरतपुर महानगरपालिका–१० की ललिता सापकोटा, ६९ । घर पुग्दा उनी भर्खर तरकारी बेचेर फर्किएकी थिइन् । उनले पटक–पटक साइकलको वर्णन गरिन् । अचम्मको कुरा, उनलाई साइकल चलाउनै आउँदो रहेनछ । डोर्‍याउन सिक्न मात्र दुई दिन लागेछ । “पहिला थाप्लोमै बोकेर बिक्री गर्न लैजान्थँे, टाउकाले निकै सास्ती खेपेको थियो,” उनले भनिन्, “अहिले यही साइकलको भरमा बाँचेकी छु ।”

हुन पनि उनी बिहान ४ बज्न नपाउँदै उठ्छिन् । नुहाइधुवाइ गरेर पूजापाठ सक्छिन् । त्यसपछि साइकलमा सानो डोको अड्याएर उनी नारायणगढको मण्डीबाट तरकारी उठाएर भरतपुरका होटल र घर चाहर्छिन् । यही उनको दैनिकी हो । 

उनीसँग दुई घन्टा गफिने मौका मिल्यो । भोलिपल्ट तरकारी बिक्री गरिरहेको उनको फोटो खिच्नु थियो । त्यसका लागि हाकिमचोकमा बोलाइन् । मैले फोटो खिचेँ । आमाको मिहिनेत देखेर मलाई पनि तरकारी किनेर सहयोग गर्न मन लाग्यो । निगुरो समातेँ । तर, पैसा दिन खोज्दा उनले लिन मानिनन् । उल्टै ‘पैसा दिने भए मेरो फोटो क्यामेराबाट मेटाउनूस्, मेरो समाचार नलेख्नूस्’ भन्दै कड्किन थालिन् । ‘ तपार्इं मेरो छोरोजस्तो, आमाले दिएको तरकारी सम्झेर खानू’ भन्दै उनी हातमा निगुरो थम्याएर साइकल डोर्‍याएर अघि बढिन् । मन भारी भयो । ५० रुपियाँको निगुरो हातमा थम्याइदिँदा एक हजार रूपियाँ नै राखिदिएजस्तो भयो । 

फेरि कहिल्यै नहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवन धाउने क्रम

बढेको बढ्यै छ । अब त नधाऊन् पनि किन ? प्रतिनिधि र प्रदेशसभाको चुनाव हुने पक्का भएपछि चुनावी प्रचारप्रसार त थाल्नै पर्‍यो । प्रधानमन्त्री हुँदा उनले गृहजिल्लालाई बिर्सिएनन् । पटक–पटक आए । एक अर्ब रूपियाँभन्दा बढीको विभिन्न ‘प्याकेज’ कार्यक्रम ल्याए । भदौ अन्तिममा गृहजिल्लामै पत्रकार सम्मेलन गरेर चितवनबाट चुनाव लड्ने घोषणा गरेका उनले १० असोजमा आउँदा भने आफ्नो चुनाव क्षेत्रको टुंगो लगाए । उनले क्षेत्र–३ बाट चुनाव लड्ने पक्का भएको सुनाए, जुन कांग्रेसको पकेट क्षेत्रमा पर्छ । 

भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणु दाहाललाई अघि सारेका दाहाल अब भने गृहजिल्लामा आफैँ चुनाव लड्ने भएका हुन् । चुनावी तालमेलमा उनकी छोरी रेणुलाई कांग्रेसले सघाएको थियो ।

दसैँ सकिनेबित्तिकै सुरू भएको एमाले–माओवादी केन्द्र तालमेल र एकीकरणको प्रसंगले अब उनी कुन पार्टीको उम्मेदवार हुन्छन्, एकीकृत पार्टीको वा माओवादी केन्द्रकै ? यो प्रश्नको जवाफ असोज तेस्रो साताभित्र तय भइसक्नेछ । जे होस्, रोल्पा, काठमाडौँ र सिरहाबाट चुनाव लडिसकेका दाहाल पहिलोपटक गृहजिल्लामा आई चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् । स्मरणीय छ, मेयरको मतगणनामा अन्तिम समयमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर–१९ मा पुन: मतदान भएको थियो । फेरि अध्यक्ष दाहाल उठेको क्षेत्रको मतगणना गर्ने क्रममा त्यही घटना दाहोरियो भने के होला ? तर, कामना गरौँ, फेरि त्यस्तो कहिल्यै नहोस् । 

पिङ खोज्दै देवघाट 

दसैँ नजिकिँदै गर्दा पहिला–पहिला घटस्थापनाको अघिल्लो दिन नै घर–गाउँमा पिङ लगाउँथे । काठको रोटे पिङ र डोरी बाटेर लगाइने लिंगे पिङको महफ्व नै छुट्टै हुन्थ्यो । जताततै पिङ खेल्नेको घुइँचो लाग्थ्यो । अहिले यस्ता दृश्य धेरै कम भएका छन् । सहर– बजारमा त विरलै मात्र यस्ता दृश्य देख्न पाइन्छ । गाउँघरमा पनि मिहिनेत धेरै लाग्ने भएकाले रोटे पिङ हराउँदै गएको छ । लिंगे पिङ हाल्न भने अहिले पनि गाउँघरमा प्रतिस्पर्धा चल्छ । अनि, पिङ खेलिरहेको फोटोले पत्रपत्रिकामा ठाउँ पनि पाउँछ । 

त्यही सपना साँचेर पिङ खोज्दै भरतपुर महानगरपालिका–१ भित्र पर्ने देवघाटवारि पुगियो । त्यहाँको रामजानकी बालिका आश्रममा लिंगे पिङ लगाइएको रहेछ । बालिकाहरु मच्चीमच्ची पिङ खेलिरहेका थिए । आश्रमको पोसाकमै पिङ खेल्न प्रतिस्पर्धा गरिरहेका बालिका देखेर फोटो खिच्ने जाँगर चल्यो । साना बालिकादेखि ठूलासम्म रमाइरहेका थिए । आश्रमले चाडबाडको महफ्व बुझाउन पिङ लगाइदिएको रहेछ । आश्रमले यसरी पिङ लगाएर संस्कृतिको जगेर्ना गरेको छ । आशा गरौँ, हराएका कला र संस्कृतिको यसरी नै जगेर्ना हुनेछ । 

प्रकाशित: आश्विन २५, २०७४