महयात्राको आद्योपान्त

- पदमसिंह कार्की

जन्मेको छ महिनामै ‘आमा टोकुवा’को आरोप  खेपेका ‘मदन राजा’ स्कुल भर्ना हुँदा मात्र मदनकृष्ण श्रेष्ठमा बदलिए ।  काठमाडौँबाट केही माइल पश्चिमको उनको  जन्मस्थल यस्तो ठाउँ हो, जसलाई नेपालले भोटसँग जितेपछि यसको नाम  जितपुर फेदी रहन गयो । यो ठाउँलाई पृथ्वी राजमार्ग नबनुञ्जेल पश्चिम नेपालको मूलढोका मानिन्थ्यो । यही अवसरलाई छोपेर मदनकृष्णका बाजे सम्पन्न भए । तर उनका बाबु भने समाजसेवी र प्रधानपञ्च थिए, जसको हैसियत क्रमश: कमजोर हुँदै गयो । 

गाउँले परिवेशमा बाख्रा भैँसी चराउँदै १४ वर्षसम्म आइपुग्दा सातवटा विद्यालय चहारेपछि मदनकृष्णले बल्ल म्याट्रिक उत्तिर्ण गरे । बिहानको ४ बजे गाँस टिपेर दाउरिनीको साथ लागेर नागार्जुनको वन छिचोल्दै बिहानको कक्षा धाउनु पथ्र्याे । त्यहाँबाट फर्केर भर्खर स्वीकृति पाएको प्राथमिक स्कुलमा प्रशासन, अध्यापन,हिसाव किताव एक्लैले गर्नु पर्दथ्यो । साँझमा घर फर्केपछि थकाइले बेहाशजस्तै हुन्थे । यसरी जोतिएर पाएको मासिक तलव ७० रुपियाँ पनि बाबुलाई नै वुझाइदिन्थे ।

यसरी सोह्र वषको उमेरपछि असार २०२३ मा एसएलसी नै नगरी तत्कालीन प्रशासक परीक्षित नरसिंह राणाको ठाडो जाँचबाट उनले जागिर पाएका थिए । त्यहाँ १२  वर्ष बिताएर आफ्नो रुचिसँग मेल खाने कृषि सूचना शाखामा सुब्बा हुन गए । यहाँनिर उनी आफ्ना हजुरबाका आशीर्बाद सम्झन्छन् । यहीँबाट धेरथोर लोकप्रिय पनि भए कलाकारका रूपमा । करोडौँको माया पाए । 

तर करोडौँलाई हँसाएर पनि आफू हाँस्न सकिरहेका थिएनन् । सञ्चयकोषमा कार्यरत यशोदासँग तीन वर्ष अघिदेखि अंकुराएको प्रेमसम्बन्ध फक्रन सकेको थिएन । कारण, उनी बाहुन परिवारकि थिईन । मागीविवाह असम्भव भएपछि साथीहरू वटुलेर सूर्यविनायकमा माला पहिराएर बिहे गरे र डेरामा गुप्तवास बसे । तर, केही समयको अन्तरालमा मदनका बाबुले विधिपूर्वक विवाह गरेर यशोदालाई घर भित्र्याए । 

वाल्यकालमा सुनेका वौद्घ र हिन्दु भजन यिनको नसामा पसिसकेको थियो । राजा महेन्द्र जितपुरफेदी आउँदा बाबुसँग मिलेर मञ्चमा स्वागत गीत गाएका थिए । यिनले राग यमन मात्र सिके तर दिल्लीको प्रचण्ड गर्मीमा राग मल्हार पनि गाए  । दिल्ली दूरदर्शन र अल इण्डिया रेडियोमा गीत रेकर्ड गरे ।

यिनले रेडियो नेपालमा  पनि गीत रेकर्ड गरे । २०२२ मा रेडियो नेपालबाट ‘जिवनदव’ु नामको प्रत्येक मंगलबार प्रसार हुने नेपाल भाषाको लोकप्रिय कार्यक्रम हटाएपछि भाषाकर्मी, कवि–कलाकार एकत्रित भए । मुनासस र मङ्काखलको  छातामुनि सङ्घर्ष गर्ने अभियन्ता मदनकृष्ण पनि हुन् । त्यसताका सहरका प्रत्येक डवलीमा हुने साँस्कृतिक कार्यक्रममा यिनको सहभागी अनिवार्य हुन्थ्यो । नगेन्द्र हाडा यिनका संगीत गुरु थिए । उनकै सल्लाहमा रुन्चे स्वरमा स्वास्नी नपाएर द:ुख पाएको भाव प्रकट गर्दा दर्शकहरू एकै पटक गलल हाँसे । ‘त्यही हाँसोको विस्फोटनै मेरो हास्यव्यंग्य–यात्राको लागि एउटा गहकिलो प्रेरणाको स्रोत बन्यो । अर्थात् म त्यही गीतवाट हास्यव्यंग्य क्षेत्रमा सधँैका लागि क्लिक भएँ,’ पुस्तकमा भन्छन् मदनकृष्ण  ।

बैशाख ०३८ मा नेपाल राष्ट्र बैंकले २५औँ वार्षिकोत्सव मनाउने भयो । बाहिरबाट लिने कलाकारमा मदनकृष्णलाई वैकका अधिकृतसमेत रहेका गायक रुवि जोशीले निम्त्याए । उनकै सिफारिसमा रेडियो नेपालमा ‘रसरंग’ कार्यक्रम चलाउने हरिवंश आचार्यलाई पनि वोलाइयो । समयको पावन्दीले बेग्लाबेग्लै कार्यक्रम तयार पारेर गएका दुवै एउटै प्रहसन देखाउन बाध्य भए । प्रहसन अत्यन्त सफल भयो । त्यही वर्ष हुन लागेको गाईजात्रा महोत्सवमा पनि संयुक्त प्रस्तुति दिने निधो गरे । र, धक फुकाएर ‘यमलोक’ नामको प्रहसन प्रदर्शन गरे । 

औधी चलेको बिज्ञापन नाटकको लेखकको रुपमा महको न्वारान उदघोषक राजाराम सुवेदीले ख्यालख्यालमा गरेका हुन् । यो जोडीले हास्यव्यंग्यको फाँटमा प्रतिभाले वाँझो मार्‍र्यो, पसिनाको कुलो खन्यो, आँटले आली ठड्यायो अनि अन्नपूर्णझैँ बाली भित्र्यायो । धनकुटामा विज्ञापन नाटक देखाउँदै गर्दा पंचायत व्यवस्थाविरोधी भन्दै हरिवंशलाई राष्ट्र बैंकले जागिरबाट निकाल्यो । सुन्नासाथ मदनकृष्णले पनि जागिर छोडे र मह सञ्चारतिर लागे । ४४ लाखको कारोवर गरेको विज्ञापनले हौसिएका मदनलाई निर्णय गर्न घोत्लिरहनु परेन । एउटा कोठा, दुई जना पियन अर्थात् मदनकृष्ण र हरिवंश । समयको अन्तरालमा यो सहयात्रा मित्रता, व्यवसायिकता र जनचेतनाको पर्यायवाची हुन पुग्यो । 

उनीहरूले ३ चैत ०४५ मा पंचायतविरूद्ध सुरू गरेको कालोपट्टी आन्दोलनलाई २०४६ जेठ २० मा मात्र बिसाए । पुस्तकका  अनुसार उनीहरू कुनै पार्टीमा नभए पनि जनताले मदनलाई कम्युनिस्ट र हरिवंशलाई कांग्रेस ठानेका थिए । ०६६ को आन्दोलनपछि गिरिजाप्रसाद कोईराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता गरेको टेलिभिजनमा देखेपछि उनीहरूले घरमा एक्लै ताली बजाएका थिए । 

पुस्तक लेख्न थालेको तर श्रीमतीलाई क्यान्सरले गाँजेपछि यसलाई पुरा गर्न छ वर्ष लागेको यो कृति मूलत: महयात्राका सारथीहरूको सहयात्राको मार्मिक कथा पनि हो । अनि, यात्रामा भाग लिने आम नेपालीले देखाएको स्नेहप्रतिको अभिनन्दनको जेथा पनि हो । भोगाइ फरक भए पनि बुझाइ एउटै भएकोले सहयात्रा फलदायी भएको निष्कर्ष छ । नरम व्यंग्यात्मक शैलीको यो पुस्तक पढ्दा खित्का नछोडी सुखै छैन । पुस्तक प्रेरणादायी पनि छ ।

 

प्रकाशित: आश्विन २५, २०७४