हिउँफूलको उपत्यका

- विष्णु भण्डारी

‘तपाईंहरू हो लेखक ?’ ओर्जिनल लामा होटल पुग्दा मिङ्मार गुरुङले सोधे ।

केही गाइडसँगै गपिँmदै थिए मिङमार । म थकाइले चूर भएको थिएँ । बोल्ने पनि हिम्मत थिएन । मुस्किलले राजको नाम उच्चारण गरेको थिएँ मैले । प्रथाले ब्यागसहित कुर्सीमा बस्दै भने, ‘हो हो, म कवि, उहाँ लेखक ।’ 

अघिल्लो दिन स्याफ्रुबेसीको यालापिक होटलमा भेटिएका थिए राजबहादुर थापा । यिनैले हाम्रो नालीबेली फोनमार्फत सुनाइसकेका रहेछन् । सोलुका यी भाइ पेसाले गाइड हुन् । साहित्यप्रति गहिरो अभिरुचि राख्ने राजकै कारण हाम्रो यात्रा सहज भएको थियो । 

०३४ सालताका लाङटाङ पदयात्रा भर्खर सुरु भएको थियो । पर्यटक बस्नका लागि होटलको अभाव थियो । यस्तैमा सरकारी टेन्डर लिएर गएका थिए मिङमारका बुबा राजबहादुर गुरुङ । धादिङका यी गुरुङ रहँदाबस्दा लामा गुरुङमा रूपान्तरण भए । पछि यिनैले खोलेको लामा होटलको नामबाट ठाउँको नामै लामा होटल रहन गयो । अहिले यो ठाउँमा लामाको नाममा ठूलठूला होटल खुलेका छन् । यी लामा गुरुङले भने आफ्नो होटलको पहिचान बचाउन ओर्जिनल थप्नुपरेको रहेछ ।

बिहानको खाना खाँदा एक बोत्तल पानीको दुई सय रुपियाँ तिर्नुपरेको थियो । तर्सिनु स्वाभाविकै थियो । थाकेको ज्यानमा एक कप कफी कसरी नखानू ? नेपालीले मेनु हेरेर अर्डर गर्नु भनेको असामान्य कुरो हुन्छ त्यहाँ । महँगोमध्येमा पर्छ लाङटाङ पदयात्रा । ‘पहिले त नेपालीलाई रुम नै दिन्नथे,’ मिङमारले मुस्कुराउँदै भने, ‘अहिले भने आन्तरिक पर्यटकलाई महत्त्व दिन थालेका छन् ।’ कफीको कति पर्छ भनेर सोध्न पनि भएन । फेरि तातो पानी पनि पिउनै पर्‍यो । ‘लु जे हुन्छ हुन्छ खाइदिम् ।’ हामी टन्न खाएर सुत्यौँ । अर्को बिहान दूधचिया खाएपछि हिँड्ने बेला भयो । बिल सोध्दा प्रथाले मेरो मुखमा हेरेर ‘आच्चे’ भनिहाले । राज थापाको फोनले कमाल गरेको थियो ।

साँझ लाङटाङ पुग्दा ग्याल्बु लामा हामीलाई नै पर्खिएर बसेका थिए । भूकम्पमा बाउआमा र भाइ गुमाएका थिए यिनले । काठमाडौँबाट भर्खर ब्याचलर सकेका यिनी अहिले घर बनाउन व्यस्त थिए । भत्किएको घर भएकै ठाउँमा । उनकै आफन्तको ल्हासा होटलमा राखे हामीलाई । त्यहाँ फेरि मिङमारको फोनले काम गरेको रहेछ । उनले भत्किएको गाउँ घुमाउँदै भने, ‘सारहरले लाङटाङ ट्रेकिङका लागि सुरक्षित छा भानेर लेखिदिनु पर्‍यो ।’

कुनै समय लाङटाङ पदयात्राको सुन्दर गन्तव्य थियो यो गाउँ । केही वर्षअघिसम्म गुल्जार यो उपत्यका अहिले भने मरुभूमि बनेको थियो । ०७२ सालको भूकम्पमा आएको हिमपहिरोमा पूरै गाउँ पर्‍यो ।

भूकम्पमा परी झन्डै दुई सय गाउँले पुरिए । त्यत्तिकै संख्यामा भरिया, गाइड र पर्यटकको ज्यान गयो । अहिले त्यहाँ पुरानो स्मृतिसिवाय केही बाँकी छैन । हामीले सयौँ मानिसको कङ्कालमाथि उभिएर पारिपारि हेर्‍यौँ । आँखाले देखुन्जेलसम्म सबैतिर ढुंगा, माटो र गेग्रेटो मात्र थियो । यतिखेर त्यहाँ कुनै समयमा गाउँ थियो भन्नु किंवदन्ती मात्र हुन जान्थ्यो । 

गाउँसँगै विद्यालय, हेल्थपोस्ट र जाँचचौकी पनि हिमपहिरोमा परे । दस जना सैनिकको मृत्यु भयो । त्यसपछि यहाँ न विद्यालय खुलेको छ, न जाँचचौकी । प्रकृतिको अघि निरीह हुनुको विकल्प थिएन । लाङटाङ यही नियतिको चपेटामा बाँच्न विवश थियो ।

***

‘द भ्याली अफ ग्लासियर’ अनलाइनमा कतै पढेको थिएँ । त्यहाँ पुगेर हेर्दा थाहा भयो, क्याञ्जिङलाई किन ग्लासियरको उपत्यका भनिएको रहेछ । 

लाङटाङ पदयात्राको अन्तिम बिसौनी हो, क्याञ्जिङ । 

यहाँ ६ हजारभन्दा माथिका दसवटा हिमाल छन् । चारैतिर हिमाच्छादित पहाड र हिमालले घेरिएको क्याञ्जिङ अनुपम छ । अलभ्य छ । सुन्दर † असाध्यै सुन्दर † प्रकृतिको स्वर्गभन्दा फरक नपर्ने ।

क्याञ्जिङ भ्यालीको ढोकैमा रहेको सानो थुम्कोमा हामीलाई लिन आएकी थिइन् कैसाङ डोल्मा शेर्पा । ‘ग्याल्बुको साथी तपाईं नै हो ?’ हामी थुम्कोमा पुगेर फालिएको देखेपछि उनले सोधिन् । हामी ‘हो’ भन्दै उनकै पछि लाग्यौँ । एउटा छोरो भूकम्पमा गुमाएकी ती एकल महिलाले नायाकाङ्ग पिक गेस्ट हाउस चलाउने रहिछन् । त्यो विकट गाउँमा पनि सफाइ र व्यवस्थापनलाई कति साह्रो ध्यान पुर्‍याएकी ।

हामी उनकैमा बस्यौँ । ‘तपाईंहरू लेखक रे हो ?’ काठमाडौँमा प्लस टू पढ्ने उनको छोरो ग्याल्बु लामाले शंका व्यक्त गर्दै सोधे । 

‘कहाँ लेखक मात्र, म कवि, उहाँ लेखक ।’ प्रथाले फेरि दिइहाले । ‘ याँको बारेमा लेख्छा हो ?’ उनी केहीबेर रोकिए र फेरि निराशा व्यक्त गर्दै भने, ‘लेखेर के गार्ने हाम्रोमा पत्रिका आउँदैन ता !’ 

‘लेख्यो भने तिमीलाई फोन गरूँला । अनलाइनमा पढ्न सकिहाल्छ नि !’ मैले उनको जिज्ञासा मेट्दै भनेँ ।

‘तपाईं केही दिन पहिले आएको भए सबैतिर हिउँ नै हिउँ थियो ।’ स्थानीय कग्याल्बु लामाले भने, ‘अहिले त हिउँ पग्लिसक्यो ।’

नभन्दै हामी पुग्दा तलतलको हिउँ पग्लिएको थियो । स्निग्ध हिमशैलको सुन्दरता कुहिरोभित्र लुकेको थियो । लजालु मायालुजस्तो । कतिखेर घुम्टो खोल्थ्यो, कतिखेर लुक्थ्यो । वैशाखको दोस्रो साता पनि क्याञ्जिङ चिसो थियो । 

‘हामी त क्याञ्जिङ री पो जाने हो । कतै वेदर बिग्रिने त होइन !’

‘केही भन्न सकिँदैन । यहाँको मौसम छिनछिनमा परिवर्तन भइरहन्छ ।’ नायाकाङ्ग गेस्ट हाउसमा हामीसँगै बसेका गाइडले भने । 

हामी री पुगेनौँ । बरू लाग्यौँ, लाङटाङ लिरुङ पोन्डतिर । ‘थाकेको बेला कसरी चढ्नू री ? फेरि पुगेर के गर्ने हिमालै देख्न नपाएपछि ।’ प्रथाले तर्क गरे । री बिहान जाने भयौँ हामी ।

ग्लेसर खोला तरेर हामी उकालो लाग्यौँ । देख्दा त नजिकै थियो । तर, साह्रो उँचो ठाउँमा रहेछ लिरुङ पोन्ड । त्यहाँ पुग्दा कुहिरोले छपक्कै छोप्यो हामीलाई । एकैछिनमा आकाश गर्जियो र पानी बर्सिन लाग्यो । 

‘हैन हाउ विष्णु दाइ हामी बीच त पर्दैनौँ ?’ प्रथाले शङ्का व्यक्त गरे । 

जेहोस्, हामी बीच परेनौँ । दर्केझरीमा बडा मुस्किलले तल झर्‍यौँ । ‘ल घोडा लिएर जान परेन,’ मुस्कुराउँदै होटल भाइले व्यंग्य गर्‍यो । माथि पुग्दा लेक लाग्यो भने के गर्ने भन्दा उसले घोडा लिएर आउँला नि दाइ भनेको थियो । अहिले यही प्रसंग कोट्याउँदै थियो भाइ । 

चिसो यसरी बढ्यो कि ज्यान काँप्न थाल्यो । कफी खाएर हामी कोठाभित्र पस्यौँ । बाहिर पानी बर्सिरह्यो । केही समयमै पानी थामियो र आकाश कञ्चन भयो । आकाशसँगै चारैतिर हिमाल मुस्कुरायो । एकाध घन्टाको पानीले सबैतिर हिउँ परेछ । हामीलाई के चाहियो । हामी चुलबुले बच्चाजस्तै हिमालको सुन्दरतामा रमायौँ ।

लाङटाङसँगै ठडिएको लिरुङ पहाड केहीबेरअघिसम्म नाङ्गै थियो । अहिले भने कपासजस्तै सेतो हिउँको तन्ना ओढेर मुस्कुराउँदै थियो । पूर्वतिर मेनथेप्चा र चेरकोटी हिमाल सेताम्मे थिए । दक्षिणतिर काङसाङ्पो र गान्जला नाकै अगाडि उभिएका थिए । नयाकाङ्ग हिमाल दक्षिण–पश्चिमतिर लम्पसार परेको थियो । अनि, धेरै टाढा पश्चिमतिर लाङटाङ गाउँमाथि बेनामे हिमच्छादित पहाड चम्किदै थिए । उत्तरबाट झर्ने लिरुङ झर्ना र पूर्वबाट सीधै पश्चिमतिर हानिएको लाङटाङ नदीको सुसाहट विशाल सन्नाटालाई चिर्दै आउने अव्यक्त र उन्मादी संगीतजस्तै लाग्दै थियो । 

***

जीवनमा एकपल्ट पुग्नैपर्ने ठाउँ हो क्याञ्जिङ । नदीको सुसाहट र पन्छीको कलरव, स्याफ्रुबेसी छोडेपछि यात्रा रोमाञ्चक बन्छ । बाटो यति अप्ठ्यारो छ कि चिप्लियो भने लाङटाङ नदीको तीव्र बहावमा समाहित हुन बेर लाग्दैन । घना जंगल र रंगीबिरंगी फूलको छहारी हुँदै हिँड्न कम रमाइलो हुन्न । थ्याङसेक कटेपछि भने घना जंगलको साटो काँडेदार झाडी सुरु हुन्छ । अग्लाअग्ला ढुंगे पहाडको तलतल नदीको खोँच हुँदै पुगिन्छ क्याञ्जिङ । 

प्राय: चिसो हावा चलिरहने यो उपत्यका सुन्दर मात्र होइन, जैविक विविधताले भरिपूर्ण छ । विदेशी मुद्रा भित्र्याउने यो भ्याली आफू भने बत्तीमुनिको अन्धकारजस्तो छ । यहाँ कुनै पनि सरकारी सुविधा पुगेको छैन । न विद्यालय छ, न त हेल्थपोस्ट । बिमारी भए महँगो हेलिकप्टरको सहारा लिनुपर्छ । नानीहरू पढाउन विदेशीको भर पर्नुपर्छ । अहिलेसम्म विद्युत् पुगेको छैन । खाम्जिङदेखि खच्चडमा बोकाएर लग्नुपर्छ सामान । भूकम्पपछि विस्थापित प्रहरीचौकी र जाँचचौकीको व्यवस्था गरिएको छैन । 

क्याञ्जिङ रीभन्दा अलि परतिर पर्छ मेनथेप्चा पहाड, जहाँ यार्सागुम्बा पाइन्छ । पुस–माघमा लामा होटलसम्म सेताम्मे हिउँ पर्छ । स्थानीयहरू जाडोमा कि काठमाडौँ पुग्छन् कि घरभित्रै बस्छन् । सुन्दरताभित्र अथाह पीडा लुकाएर बाँच्ने यो उपत्यका वर्षामा भने रंगीबिरंगी फूलले ढकमक्क हुन्छ । त्यतिखेर यो उपत्यका ‘द भ्याली अफ फ्याओर्स’मा रूपान्तरित हुन्छ । 

प्रकाशित: आश्विन २५, २०७४