[स्मरण] राजाबाट २० हजार क्षतिपूर्ति

- रेवतीरमण खनाल

भर्खर मात्र नारायणहिटी दरबारकै विशेष जाहेरी विभागमा सरुवा भएको थिएँ । आमनागरिकले आफ्ना दुखेसा र अन्यायमा परेका वेदना बिसाउने दरबारको आधिकारिक निकाय थियो त्यो । दैनिक करिब तीन हजारसम्म बिन्तीपत्र दर्ता हुन्थे । तिनलाई पढ्न मात्र हरेक दिन करिब आठ घन्टा खर्च हुन्थ्यो । पढेर प्राथमिकताक्रम छुट्याउँदै राजामा जाहेर गर्नैपर्ने किसिमका भए जाहेर गर्नुपथ्र्यो ।

यस्तैमा एक दिन डोटी स्थायी घर भएका र भद्रगोल जेलमा आजीवन कारावासको सजाय पाएर कैदी जीवन व्यतीत गरिरहेका एक सामान्य किसानले हालेको बिन्तीपत्र पढेँ, ज्यादै दर्दनाक र हृदयविदारक लाग्यो । ती कैदीले कारागारबाटै हालेको बिन्तीपत्रमा लेखेका थिए, ‘१४ वर्षअघि मैले जुन मानिसलाई मारेको भनेर सर्वस्वसहित आजीवन कारावासको सजाय भोगिरहेको छु, त्यो मानिस अहिले गाउँमा परिवारसहित बसिरहेको छ ।’ 

आफूले गरेको बिन्ती झूट्टा ठहरे मुलुकी ऐन, २०२० ले आजीवन कारावासको सजाय २० वर्ष कायम गरे पनि कारावासमै पूरै जीवन बिताउन तयार रहेको लेखेका थिए । ‘जाहेर गरेको कुरा सत्य ठहरे १४ वर्षसम्म मेरा बालबच्चासँग बस्न, हिँडडुल गर्न र आफ्नो पेसा गरी स्वतन्त्र ढंगले जीवन यापन गर्न नपाएकामा त्यसको क्षतिपूर्तिसमेत पाउनुपर्ने’ माग पनि उनले बिन्तीपत्रमार्फत गरेका थिए ।

बिन्तीपत्रको बेहोरा जस्ताको तस्तै जाहेर गरेपछि राजाद्वारा ‘निवेदकको गाउँमै गई गोप्य रूपमा हेरी/बुझी सत्यतथ्य जाहेर गर्नू’ भनी डोटी जिल्लाका बडाहाकिमलाई निर्देशन भयो । बडाहाकिमले स्थलगत अध्ययन गरी निवेदकले भनेको बेहोरा साँचो रहेको भन्दै गोप्य जाहेरी राजालाई बुझाए । त्यसपछि ‘मुद्दाको सम्पूर्ण मिसिल झिकाई हेरी सुरु कारबाही तथा किनारा गर्ने न्यायाधीश, कारिन्दा, पुनरावेदन सुन्ने न्यायाधीश र सर्वोच्च अदालतबाट निर्णय गर्ने न्यायाधीश को–को रहेछन्, तिनीहरूको समेत विवरण जाहेर गर्नू’ भनी राजाबाट हामीलाई आदेश भयो ।

वास्तवमा डोटी जिल्लाका दुई जना ठालू बाबुसाहेबबीचको लडाइँको घानमा ती सोझा किसान पिसिन पुगेका रहेछन् । दुई जना किसानबीच जग्गाको मुद्दामा सामान्य भनाभन हुँदा एक जनाले ‘तँलाई नमारी छोड्दिनँ’ भनेको विषय बढेर त्यो तहमा पुगेको रहेछ । सोझो किसानलाई उक्साएर ‘अब त्यसले तँलाई नमारी छोड्दैन, तसर्थ तँ फरार भइस् भने बँच्छस्’ भनेर एक जना किसानलाई बाटो खर्चसमेत दिएर बम्बई पठाइएको रहेछ र अर्को सोझो किसानलाई उसको हत्या गरेको अभियोग लगाएर फसाउने काम भएको रहेछ ।

जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतसम्मले ज्यान मारेको अभियोग ठहर्‍याई पहिले आजीवन र २०२० को मुलुकी ऐनपछि २० वर्षे कारावास सजाय पाएका रहेछन् । उनलाई दाहिने गालामा दामल चिह्न खोपेर भद्रगोल जेलमा राखिएको थियो । त्यतिबेला आजीवन कारावासको सजाय पाएको व्यक्तिको गालामा दामल खोप्ने चलन थियो । यदि जेलबाट कैदी फरार भए त्यही चिह्नका आधारमा देख्नेले नजिकका सरकारी कर्मचारी वा प्रहरी प्रशासनलाई खबर गरिदिन्थे र उसलाई पुन: पक्राउ गरी जेल हालिन्थ्यो । 

घटना भएको करिब आठ वर्षपछि अब त मुद्दा सामसुम भयो होला भन्ठानेर मारिएको भनिएको किसान बम्बईबाट गाउँ फर्केपछि मुद्दाले नयाँ रूप लियो । भद्रगोल जेलमा थुनिएका ती किसानकी श्रीमतीले मारिएको भनिएको किसान  गाउँ फर्किएको कुरा लिएर काठमाडौँ आएकी रहिछन् । र, विशेष जाहेरी विभागमा बिन्तीपत्र हालिएको रहेछ ।

विभागले घटनाको सत्यतथ्य राजामा जाहेर गरेपछि बिनाकसुर जेलमा थुनिएका व्यक्तिले मुक्ति पाए । तर, उनले दाबी गरेको क्षतिपूर्तिबापतको रकम दिने कानुन भने त्यतिबेला थिएन । राजाले न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूसँग रायसुझाव लिई आफ्नो विशेष कोषबाट २० हजार रुपियाँ भने ती किसानलाई दिए । मुद्दाको  कारबाहीका क्रममा लापरबाही गर्ने तलदेखि माथिसम्मका सबै न्यायाधीश–कर्मचारी कारवाहीका भागीदार भए । सुरु फैसला गर्ने न्यायाधीश जागिरबाटै हटाइए भने अन्यलाई सचेत गराउने, तलबसुविधा कटौती गर्नेसम्मका कारबाही भए ।

 

प्रकाशित: आश्विन २५, २०७४