[परदेशबाट] सम्बन्धहरूको सम्झना

- विश्वास हमाल

विदेश बसाइका क्रममा चिनजानमा धेरै विदेशीहरूसँग भेट भयो । सम्बन्धहरू बने । कुनै सम्बन्ध केवल एक कप कफीमै सीमित रहे भने कुनै फेसबुक–फ्रेन्डभन्दा माथि उठ्न सकेनन् । कुनै सम्बन्ध समयसँगै झन् दरिलो हुँदै गएका पनि छन् । जस्तोसुकै जमघट पनि नछुटाउने मेरो बानीले धेरै विदेशीसँग संगत जुरायो । उमेरजन्य जोसले धेरै साथी बनाउन मन लाग्थ्यो । साथीमा पनि विदेशी । सहरमा मुस्किलले हामी पाँच जना मात्रै नेपाली थियौँ ।

एक दिन साथीले भन्यो, ‘मेरोमा जम्मा होऔँ, राती फुटबल फाइनल छ ।’ हामी ६ जना साथीहरू जम्मा भयाँै, उसको अपार्टमेन्टमा । सबैले आफैँले बियर, ससेज, बर्गरजस्ता खानेकुरा लिएर गएका थियौँ । बाँडेर खाने सोचेको थिएँ । तर, आ–आफ्नै खाने रहेछ । केही नल्याउने बेल्जियन साथीलाई कसैले खाऔँ पनि भनेन । उसलाई पनि अप्ठ्यारो लागेन । त्यो समूहका साथीहरू सबैले एक अर्कालाई राम्रोसँग चिन्थे । विगत एक वर्षदेखि हामी कलेजकै क्याफेको कुनामा अड्डा जमाएर बस्थ्यौँ । 

कुरा खानाको मात्र थिएन त्यहाँ । कुरा थियो–आत्मीयता र घनिष्ठताको । सबैभन्दा आत्मीय गफ डिनर टेबलमा नै हुन्छन् । बाँडेर खानुको मजा बेग्लै छ । तर, पश्चिमा संस्कृति अर्कै छ । स्कुलदेखि नै सिकाइन्छ– सकेसम्म कसैको सहारा नलिनू, अरूको नखानू र आफ्नो पनि नदिनू । १८ वर्ष हुनेबित्तिकै घर छोड्नू, एक्लै बस्नू । मनको दु:ख कसैलाई नभन्नू, आफँैसँग राख्नू । 

जबकि, हामी स्कुलदेखि नै साथीसँग बाँडेर खाने संस्कृतिमा हुक्र्यौं । नदिए खोसेर–चोरेर पनि खान्थ्यौँ । साथीको घरमा खाना खाने मायालु आग्रह पाउँथ्यौँ । तर, यता आमाको घरमा जाँदा पनि आफैँले चिसो स्यान्डविच बोकेर जानुपर्ने ।

मोजमस्ती गर्ने साथीहरू धेरै बने । विदेशी जीवनशैलीमा लोभिएर म उनीहरूको पछि लागेर गाउँ घुम्न धेरैपटक गएँ । उनीहरूका आमाबा, सौतेनी आमा, ६० वर्षकी बूढीको ब्यायफ्रेन्ड भेटेँ । निकै रमाइला थिए, ती दिनहरू । उत्तरी युरोपका चिसा ठाउँको जीवनशैली पनि अलि चिसा नै थिए । फिनल्यान्डको ताम्पेरे विश्वविद्यालयमा एक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थी संघको सचिव भएर काम गर्दा झनै धेरै संगतमा परेँ ।

सबै सम्बन्धमा केही न केही स्वार्थ लुकेकै हुन्छ । साथी या जरुरतजस्ता सतही कुराहरू सकिन्छन्, जब सम्बन्धको एक पत्र खुल्छ । अनि, सुरु हुन्छ अर्को पाटो, गहिरो आत्मीयताको । धनी समाजमा हुर्केकाहरूको जीवन एकदम सीधा अनि सजिलो हुँदो रहेछ । परिवारसँग खासै अपेक्षा नगर्ने । सकेजति सरकारले गरिदिएकै छ । एक किसिमले त्यो जिन्दगी खल्लो छ । न धेरै रस छ, न आकर्षक रंग । उनीहरूले जिन्दगीको रंग नै नशा, यौन र नयाँ यात्रामा भेट्दा रहेछन् । जर्मनी, अमेरिका, अस्ट्रेलिया, डेनमार्कका साथीहरूको जीवनशैलीमा खासै केही फरक भेटिनँ मैले ।

हुन त सबै आफ्ना लागि जिउँछन् । अरू कसैको सहारामा बाँच्नु नै सबैभन्दा ठूलो भ्रम हो । मानिस एक्लै जिएको हुन्छ । साथ, आड, भरोसा सबै क्षणिक हुन् । यो ध्रुवसत्य बुझ्नेको जिन्दगी सहज हुन्छ । तर, पश्चिमाहरू यो बुझेर नभई अरूसँग दुखेसो नसाटौँ भनी एकलकाँटे भएको जस्तो लाग्छ । त्यसैले लन्चमा कसैलाई नसोधी खाने बानी परिसक्यो अचेल । बारमा ‘सेल्फ सिस्टम’ अप्ठ्यारो लाग्दैन ।

सबै नजिक भए भने मित्रताको अर्थ पनि रहँदैन । तर, विदेशीहरूसँग संगत गर्दै गएपछि अगाडि बढ्ने बाटो नपाई एक बिन्दुमा रोकिन्छु म । हाम्रो मित्रता रहे पनि आत्मीयता रहँदैन । परेको बेलामा सहयोग पनि गरिन्छ, भेटघाट हुँदा रमाइलो हुन्छ तर त्यस्तो आत्मीयता र घनिष्टता हुँदैन । उनीहरूहरूसँग एउटा सिमाना तोकिएको हुन्छ, निजत्वको सिमाना । 

सम्बन्धमा दरार आउनु सामान्य कुरा हो । तर, मन नै नमिलेपछि त सँगै बस्नुको के अर्थ ? सबै कुरा ‘म’बाट हेरिँदो रहेछ.। विवाहजस्तो सबैभन्दा गहिरो सम्बन्ध पनि ससानो कुरामा तोडिँदो रहेछ । तर, यी सबै तपसिलमा राखिन्छन् यहाँ । त्यसैले आधाभन्दा बढी विवाह सम्बन्ध–विच्छेदमा टुंगिन्छन् । ७० वर्षीय गरिब वृद्घ नेपालको चौतारीमा गफ लाउँदै रोग र भोक सहेर पनि रमाइलै जिन्दगी जिएको हुन्छ । तर, यता उही उमेरको व्यक्ति हट्टाकट्टा भएर पनि एक्लै वृद्घाश्रममा हुन्छ । अनिद्रा, एक्लोपना, निराशा, सम्बन्ध–विच्छेद, आत्महत्याजस्ता समस्या नै विकसित देशका चुनौती हुन्, जुन जस्तोसुकै भौतिक विकासले पनि समाधान गर्न सक्दैन ।

देश विकसित हुँदै जाँदा मानिसको एक अर्काप्रतिको सहारा कम हुँदो रहेछ । सरकारले नागरिकका सबै आवश्यकता परिपूर्ति गरिदिएपछि पारिवारिक सम्बन्धहरू पनि त्यति दरिलो नहुँदा रहेछन् । सायद यही कारण युरोपकै अल्पविकसित देशहरू पोर्चुगल, पोल्यान्ड, युक्रेन, बुल्गेरियाका मानवीय सम्बन्धहरू अलि दरिला छन्, जबकि जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम, नर्वेजस्ता धनी देशका फितला ।

केही अपवादबाहेक नेपालीका सबैभन्दा मिल्ने साथी नेपाली नै हुन्छन् । नेपालजस्तो अभावग्रस्त देशमा बाल्यकाल गुजारेकाले साथी पनि उस्तै खोज्दो रहेछ । विदेशीमा चाहिँ भारतीय, पाकिस्तानी, अफ्रिकीसँग धेरै नेपालीको गहिरो सम्बन्ध रहेको छ । जति नै सुखी र सम्पन्न परिवारबाट आए पनि उनीहरूले कम्तीमा आफ्नो समाज र देशमा गरिबी र कष्टकर जीवन देखेका छन् ।

वर्षौंदेखि धेरै विदेशी साथीसँग उठबस, फेसबुके संगत रहे पनि मलाई केही समस्या पर्दा ती विदेशी साथीहरू कहिल्यै सम्झिन्नँ । सबैभन्दा पहिले म तिनै नेपाली साथीहरू सम्झिन्छु । 

प्रकाशित: आश्विन २५, २०७४