नोटबुक

- सन्तोष आचार्य

जारी छ, भ्रष्टाचारको आन्दोलन

सरोकारवाला शक्तिकेन्द्रहरुमा ‘कुत’ बुझाउन सक्ने र त्यसका लागि ‘ भ्रष्टाचारको बाली’ उमार्न सक्ने, यही हो योग्यता– घपलाविद् गोपाल खड्काको । ‘प्रक्रिया मिलाएर भ्रष्टाचार’ गर्न सक्ने योग्यता हो उनको । तर, कहाँ के मिलेन, आयल निगमको कार्यकारी निर्देशकबाट पदच्यूत गरिए । त्यसअघि नै नेपालले ११ भदौको अंकमा ‘काण्डकारी निर्देशक’ शीर्षकको आवरण कथामा उनका कर्तुतबारे विस्तारमा लेखेको थियो ।

भ्रष्टाचार, अनियमितता अनि बेथितिका समाचार बढी देखिन्छन्, अचेल सञ्चारमाध्यममा । ‘कसले उठाउँछ गृहमन्त्रीको पैसा’देखि ‘चलचित्र विकास बोर्डको अध्यक्ष बन्न एक करोड रूपियाँ तोकिएको’जस्ता समाचारमा अब कुनै नयाँपन रहेन । पैसाको छेलोखेलो अथाह हुने पदहरु बिक्री गरिएका सूचना पनि अब समाचार रहेनन् । यस्ता पद कसैले सित्तैँमा पाएछ भने सञ्चारमाध्यमले कुनै दिन समाचार बनाउला बरु ।

राज्यको सम्पत्ति सोहर्न मिल्ने पद बेचिएका छन्, किनिएका छन् । तर, कुरा के भने नि हजुर ! पद खरिदकर्ता मात्र ‘भ्रष्टाचारी’ हुने । ऊ नै सञ्चारमाध्यमको तारो बन्ने । तर, त्यही पद बिक्रीकर्ता पानीमाथिको ओभानो हुने ? एक हातले ताली बज्छ र ? यो प्रवृत्ति रहेसम्म अर्को गोपाल खड्का समाजमा खडा भई नै रहन्छन् । कसैले पद बिक्री पसल खोल्छ भने त्यहाँ ग्राहकको के कमी ! हो, यहीँनिर हामीकहाँ दलालको बिगबिगी छ, नवधनाढ्य बन्ने चाहनामा ।

चलनचल्तीको भाषामा खड्का शिक्षित हुन् । भारतको प्रतिष्ठित शैक्षिक संस्थाबाट इन्जिनियरिङ गरेका छन् । राम्रै इन्जिनियर पनि हुन् । तर, शिक्षाको होइन, अथाह कमाउने माद चढ्यो । अनि, उनले बाटो मोडे । विगत दुई दशकमा जोजो ‘भ्रष्टाचारी’ ठहरिए वा भनिए , उनीहरु प्राय:को शैक्षिक पृष्ठभूमि राम्रै छ । यसैले भन्न करै लाग्छ, शिक्षा केवल योग्यताको कसी होइन रहेछ, मानसिक अवस्थाको मानक पनि रहेछ ।

जहाँ सहरीकरणको कृत्रिम उभारमा देखासिकी शैलीको उपभोक्तावादी प्रवृत्ति हावी हुन्छ, त्यहाँ लोकमान सिंह कार्कीदेखि गोपाल खड्काजस्ता पात्र देखापर्नु अस्वाभाविक होइन । त्यस्तो प्रवृत्ति जहाँ बलशाली हुन्छ, त्यहाँ यस्तै पात्रहरु जन्मिने हुन् । हामी मात्र अपवाद होइनाँै । नेपाली समाजको मनोदशा के भने यस्ता पात्रले पदमा रहुन्जेल कथित सामाजिक प्रतिष्ठा पाइरहन्छन् । समाजको एउटा तप्का भ्रष्टाचार गर्नसक्ने यस्ता ‘ बहादुरहरु’को जयगान गर्दा आफ्नो पनि सम्पत्ति र प्रतिष्ठा केही बढ्छ कि भन्ने आशमा र्‍याल चुहाइरहेकै हुन्छन् । 

खड्का बर्खास्त भए । अब आयल निगमको कार्यकारी पद किनेर अर्को कुनै गोपाल आउँछ । उसले आफ्नो लगानी उठाउँछ । समाजको त्यही तप्का उसकै पछि ‘झर्ला र खाउँला’को शैलीमा फेरि दौडिन्छ । यसैले जनआन्दोलनको उभारबाट उठेका तर अहिले होलसेल मूल्यमा पद विक्रेताका रुपमा रुपान्तरित नेताहरुलाई सोध्न मन लाग्छ, ‘नेताज्यू ! भ्रष्टाचारको आन्दोलन कहिलेसम्म जारी राख्ने हो ?’

दह्रो प्रहार कहिले ?

गोपाल खड्का प्रवृत्ति शक्तिमा रहँदा समाजको ठूलो हिस्सा उसको ताबेदार बन्न तँछाडमछाड गर्छ । सामाजिक दण्डभागी हुनुपर्ने यस्ता पात्रलाई पुज्ने परम्पराजस्तै छ हामीकहाँ । यसैले भ्रष्टाचारी हुनु पनि एउटा ल्याकत ठानिन्छ । कतै हाम्रो शिक्षा–प्रणाली, हाम्रो रहनसहन, संस्कार र संस्कृतिमै भ्वाङ परेको त छैन ? जस्तो दसैँमा मान्यजनबाट दिइने आशीर्वचनमा पनि विगत दुई दशकमा केही परिवर्तनका छनक देख्न सकिन्छ । मान्यजनले दिने आशिकमा ‘धेरै पैसा कमाएस्’ले प्रधानता पाइरहेको छ । भ्रष्टाचारीको भौतिक चमकधमक, रवाफ अनि ‘ठूला’हरुसँगको उठबसले पनि आशीर्वचनले रङ फेरेको हुन सक्छ ।

किनभने, जसरी पनि सम्पत्ति कमाउनैपर्ने र कमाउन सक्नेलाई पुज्ने हाम्रो प्रवृत्ति नै भ्रष्टाचारको मूल कारक हो । रामेश्वर खनालले ८ असोजको नेपालमा लेखेजस्तै रातारात धनकुवेर बन्ने अस्वाभाविक सपना अहिले स्वाभाविक भएको छ । जबकि, यो हाम्रो सामाजिक मान्यता नै थिएन । विगत चार दशकमा बिस्तारैबिस्तारै सामाजिक मूल्य, मान्यता र आदर्शहरु वाहियात हुँदैछन् । जसको कारणले विषमता निम्तियो, जसले थिति भताभुंग र लथालिंग बनाए, उनीहरु अझै पनि समाजमा झन्डैझन्डै पूजनीयजस्तै छन् । जस्तो: पूर्वसरकार प्रमुख एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई नै हेरौँ ।

मेरा नातेदारसमेत हुन् रेग्मी । विवाह, व्रतबन्धदेखि विभिन्न सामाजिक कार्यहरुमा उनलाई निम्त्याइँदा समारोहकै शोभा बढ्ने ठान्छन् मेरा नातेदार पनि । जबकि, प्रधानन्यायाधीश पदलाई ‘लियन’मा राखेर मन्त्रिपरिषद् अध्यक्ष भए, रेग्मी । उनी प्रधानन्यायाधीश हँुदा स्वयं न्याय क्षेत्र पनि चकित भएकै थियो । यो कसरी सम्भव भयो ? न्यायालयलाई गर्तमा पुर्‍याउने खेलको सुरुआत उनीबाटै भएको थियो । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श भत्काउँदै शक्ति पृथकीकरणको सिद्धान्तलाई ठेंगा देखाउने काम उनैले गरे । समाज यस्ता प्रवृत्तिलाई आफूनजिक पाउँदा सामाजिक मर्यादा बढेको ठान्छ भने हामी कहाँ रहेछौँ ?

पश्चिमाहरुले कुनै बेला आफूलाई ‘क्याथोलिसिज्म’बाट ‘ प्रोटेस्टेन्ट’मा रुपान्तरित गरेर तडकभडक र पाखण्डबाट मुक्त गराए । जलस्रोतका जानकार दीपक ज्ञवालीले भनेजस्तै अबको हाम्रो आन्दोलन पनि त्यसमै केन्द्रित गरे के होला ? किनभने, ‘ भ्रष्टाचार जारी छ’को आन्दोलनलाई मटियामेट गर्न पनि सामाजिक जागरणमार्फत एक दह्रो प्रहार जरुरी छ । 

प्रकाशित: आश्विन २५, २०७४