चुनौतीको पहाड

- नेपाल संवाददाता

फिल्म करिअर त ओरालो लागेकै थियो, राजनीतिमा समेत रेखा थापाले सन्तोषको श्वास फेर्न पाइनन् । कमल थापाको हातबाट टीका लगाएर अन्तिम पार्टी भन्दै राप्रपा प्रवेश गरे पनि वर्ष दिन टिक्क सकिनन् । यतिबेला पशुपतिशमशेर राणाको नयाँ पार्टीतिर लागेकी छन् । तर, अहिलेकै लागि राजनीतिभन्दा चिन्ता छ, रुद्रप्रियाको । फ्लप फिल्मको ‘ह्याट्रिक’ बाट बच्नुपर्ने विडम्बना जो छ । उनका पछिल्ला दुई फिल्म पलास र डायरी असफल भएका थिए । त्यसैले आफ्नै होम प्रोडक्सनको रुद्रप्रियाको सन्दर्भमा निकै संवेदनशील छिन् उनी । ‘चिरबिर चिरबिर...’ गीतले धेरथोर चर्चा बटुल्यो । रेखा मक्ख । तर, ट्रेलरले भने टाउको दुखाएको छ । किनभने, दुई सातामा यूट्युबमा चार लाख भ्युज बटुल्नै मुस्किल पर्‍यो । न त नेपाल ट्रेन्डिङको अग्रस्थानमै आयो । अर्कातिर ‘तिमी बाहेक...’ गीतले पनि अपेक्षाकृत लोकप्रियता हासिल गर्न सकेन । क्या फसाद ! 

 

प्रकाशित: आश्विन २५, २०७४