लेदरका घरेलु उद्यमी

  • लोभलाग्दा स्वदेशी ब्रान्ड

- गोकर्ण गौतम

भारतको बैंगलोरमा इन्जिनियरिङ पढ्न गएका थिए, बिलाल अहमद शाह, २४ । तर, कलेज ‘ड्रप आउट’को ट्याग भिरेर डेढ वर्षमै फर्किए । बाबुआमालाई छटपटी हुने भइहाल्यो । नेपाल फर्किएपछि न पढाइतिर ध्यान दिए, न त जागिरमै । हल्लिएरै दिन कट्न थाल्यो । बुबासँग मनमुटाव त भइरहन्थ्यो नै, एक रात बुबाले हातै उठाए । बिलाल हाँस्दै सुनाउँछन्, “तर, बुबाको त्यो दिनको आक्रोशमा मैले जीवनको दिव्य ज्ञान पाएँ ।” उनलाई लाग्छ, यदि त्यो घटना नहुँदो त छालाका ज्याकेट र ब्यागको प्रिय स्वदेशी ब्रान्ड ‘ल्याटिडो लेदर’ जन्मने नै थिएन । किनभने, त्यसपछि नै हो, इन्जिनियरिङका यी अक्षम विद्यार्थीले ल्याटिडोको सपना बुनेको र संघर्ष सुरु गरेको । चार वर्ष नपुग्दै यो ब्रान्डले अहिले लोभलाग्दो लोकप्रियता कमाइरहेको छ । 

किताब देख्नासाथ कन्पारो तात्थ्यो, अहमद डुल्ला, ३०, को । काठमाडौँमा जन्मिएका अहमदले कालिङपोङको चर्चित सेन्ट अगस्टाइन स्कुलमा पढ््ने मौका पाए तर १० कक्षामा पुगुन्जेल तीनपटक गुल्टिए । धेरैलाई पत्यार नलाग्ला, बजारमा आउनासाथ ‘सोल्ड आउट’ हुने लेदरको जुत्ताको घरेलु ब्रान्ड ‘डुल्ला सुज’का जन्मदाता यिनै पढाइमा लद्दु अहमद हुन् । त्यसो त उनी डुल्ला सुजका डिजाइनर र लगानीकर्ता मात्र होइनन्, बजार प्रवद्र्धक र विक्रेता पनि हुन् । अर्थात्, ‘अलराउन्डर’ । जसका जुत्ता आकर्षक स्टाइल, नवीन डिजाइन र टिकाउ प्रमाणित भएका छन् । 

हाम्रो सन्दर्भमा न लेदरका ज्याकेट बनाउनु नयाँ कुरा हो, न जुत्ता । तर, बिलाल र अहमदजस्ता ‘फेलियर स्टुडेन्ट’ले छोटै समयमा उल्लेखनीय उपलब्धि हासिल गरे । कारण, उनीहरूको उत्पादन नौलो नभए पनि उत्पादनदेखि बेच्ने शैलीसम्म अलग छ, समय अनुकूल अनि सिर्जनशील पनि । बिलालका लागि ज्याकेट अनि अहमदका लागि जुत्ता व्यापार मात्र होइन, ‘प्यासन’ हो, रमाउने माध्यम । जो पढाइको असफलताबाट पाठ सिक्दै आफ्नो उद्यमको स्वर्णिम संसार निर्माणमा उद्यत छन् । लहड होइन, आफ्नो रोजाइ र भोगाइको पछि लाग्छन् । दुवैको विगत र वर्तमान नियाल्दा यस्तै लाग्छ । 

अहमदले मानविकी संकाय लिएर १२ कक्षा पास गरे जसोतसो । त्यसपछि के पढ्ने ? फसाद आइलाग्यो । मानविकीका विद्यार्थीले पढ्न मिल्ने सबभन्दा सजिलो विषय के हुन सक्छ, गुगल गरे । त्यही बेला फेला परेको थियो, फुटवेयर टेक्लोलोजी । जहाँ ८० प्रतिशत ‘प्राक्टिकल’ हुन्थ्यो, ‘थ्योरी’ त २० प्रतिशत मात्र । लजालु स्वभावका अहमद मुस्कुराए, “मैले फुटवेयर टेक्नोलोजी रोज्नुको एउटै उद्देश्य थियो, किताब रट्नु नपर्ने ।” तर, भइदियो के भने जुत्ता बनाउने कलामा उनको रस पस्दै गयो । कुनै पाठ घोक्नुपर्ने होइन, जुत्ताको सोल, डिजाइन, कलर, बुनाइ आदि सिक्ने न हो । चार वर्षमा डिप्लोमा सकियो । दिल्लीमा पुमा, रिबोकजस्ता जुत्ताका अन्तर्राष्ट्रिय ब्रान्डमा काम गर्ने प्रस्ताव आयो तर उनी मुम्बई हानिए, ‘इन्टर्नसिप’का लागि । कारण, जागिर खाँदा एउटा विभागमा मात्र सीमित हुनुपथ्र्यो, नयाँ कुरा सिक्ने सम्भावना न्यून हुन्थ्यो तर इन्टर्न गर्दा चौतर्फी अनुभव बटुल्न पाइन्थ्यो । 

नभन्दै मुम्बईमा जुत्ता बनाउनेदेखि बेच्नेसम्मको ज्ञान हासिल गरे । जुत्ता कम्पनीबाट आकर्षक प्रस्ताव आउन थाल्यो तर फेरि पनि जागिरतिर मन गएन । “आफ्नो सोच अनुरूप काम गर्न नपाइने भएकाले जागिरबाट प्रगति देखिनँ, परिवारबाट टाढा बस्नुपर्दाको पीडा पनि थियो,” जाडोयामका लागि जुत्ता डिजाइनमा व्यस्त अहमद सुनाउँछन्, “त्यही भएर आफैँ केही गर्ने सोच बोकेर नेपाल फर्कें ।” ठ्याक्कै ६ वर्षअगाडिको कुरा हो यो । कमलपोखरीमा गोदाम खोले, त्यहीँ जुत्ता बनाउन थाले । सुरुमा कलेज पढ्ने छात्राका लागि जुत्ता बनाए, एक जोरको पाँचदेखि ६ हजार रुपियाँ पथ्र्यो । ठ्याम्मै बिकेन । बुझ्दै जाँदा थाहा भयो, महँगो भएकाले रहेछ । यसबाटै पाठ सिकेर बैंकर, विदेशी नियोगका कर्मचारी अनि मध्यम वर्गका उपभोक्तालाई लक्षित गर्दै जुत्ता बनाउन के थालेका थिए, माग अनुरूप उत्पादन गर्नै मुस्किल पर्‍यो । 

आमव्यापारीले माग बढेपछि उत्पादन बढाउँछन् तर अहमदको व्यापार नीतिले यसलाई अनुशरण गर्दैन । जस्तो : उनी एक सिजनका लागि १०–१० डिजाइनका सय जोर जुत्ता मात्र बनाउँछन् । बिक्री खुलेको केही सातामा बिकिसक्छ, ग्राहकले खोजिरहेका हुन्छन् तैपनि त्यो सिजनका लागि अरू जुत्ता ल्याउँदैनन् । हरेक जुत्ता आफैँ डिजाइन गर्ने अहमद भन्छन्, “ब्रान्ड भ्यालु जोगाउनु मुख्य चुनौती हो ।

फेरि मेरो ध्यान धेरै होइन, टिकाउ र गुणस्तरीय जुत्ता बनाउनु र बेच्नु हो ।” अर्को रोचक कुराचाहिँ, उनको आफ्नो स्टोर वा सोरुम छैन । फोन, भाइबर, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामबाट ग्राहकले सम्पर्क गर्छन् र उनी आफैँ घर–घरसम्म पुर्‍याइदिन्छन् । काठमाडौँबाहिरका ग्राहकका लागि नि:शुल्क कुरियर सेवा छ । ठमेलमा दुई र कमलपोखरीमा एउटा सोरुम निर्माणाधीन छ । तीन वर्षदेखि ब्याग पनि बनाइरहेका छन् । जुत्ता प्रतिजोर ५ देखि ९ हजार रुपियाँसम्मका छन् भने ब्याग ६ देखि १२ हजारसम्मका । भन्छन्, “जुत्ता बनाउने कम्पनी टन्नै छन् तर मेरो प्रतिस्पर्धा मैसँग हो । आजभन्दा भोलि स्तरीय जुत्ता बनाउन सकेँ भने मात्र टिक्छु । मेरो प्रयास त्यसमै छ ।” 

अहमदलाई बजारीकरणको ज्ञान नभए पनि कम्तीमा फुटवेयर टेक्नोलोजी त पढेका थिए, बिलाललाई न ज्याकेटको ज्ञान थियो, न बजारको । जति जाने, आफ्नै बलबुतामा । गर्दै, ठक्कर खाँदै अनि सिक्दै । अझ उनले त सुकिसकेको बुबाको व्यापारलाई नयाँ आयाम दिएका हुन् । उनका बुबाको लेदरका ज्याकेटको ‘होलसेल’ पसल थियो तर सस्ता चाइनिज ज्याकेट आउन थालेपछि पसल बन्द भयो ।

“बुबाकै कारण ज्याकेटप्रति मोह थियो । तर, डिजाइन पुरानो लाग्थ्यो,” बिलाल भन्छन्, “त्यसैले डिजाइनमा नयाँपन दिने प्रयास गरेँ र होलसेल होइन, सीधै ग्राहकलाई बेच्न थालेँ, उनीहरूकै साइज र रोजाइको डिजाइन अनुसार ।” झम्सिखेलको गोदामबाट ज्याकेट बनाउन सुरु गरे, उनीबाहेक तीन जना कामदार थिए । तर, सुरुको एक वर्ष ग्राहकको चाह पहिल्याउनै सकेनन् । त्यहीबीच भूकम्प गयो । तैपनि, हार मानेनन्, ज्याकेटका डिजाइन र नयाँ मान्छेसँगको सम्पर्क बढाए । अनि, बिस्तारै व्यापारले गति लिन थालिहाल्यो । 

स्प्यानिस शब्द हो, ‘ल्याटिडो’ । जसको अर्थ हुन्छ, ढुकढुकी । सँगै उनको ब्रान्डको ‘ट्यागलाइन’ छ, ‘बी हू यू आर’ अर्थात् आफूजस्तै हुनु । उनको बुझाइमा युवापुस्ताको सबभन्दा ठूलो कमजोरी हो, आफ्नो चाह नबुझ्ने, लहडका पछाडि दौड्ने । उनकै हकमा पनि इन्जिनियरिङ ‘फिट’ रहेनछ, त्यसैले यात्रा अपूरो भयो । ज्याकेटको उद्यम सुरु गरेपछि सन्तुष्टि र कमाइ दुवै मिल्यो । जबकि, बाहिरबाट हेर्दा बिलालको काम निकै झन्झटिलो लाग्छ । जस्तो : हरेक ग्राहकसँग प्रत्यक्ष संवाद गर्नुपर्छ । ग्राहकलाई गोदामसम्म बोलाउने, टाढा हो भने फोनबाटै साइज लिने । विदेशबाट माग आएको छ भने त भिडियो कल गर्ने, नत्र फोटो खिचेर पठाउने । ज्याकेट तयार भएपछि खबर गर्ने । कुरिअर गरिदिने । आठ जनालाई नियमित रोजगारी दिएका यी उद्यमी भन्छन्, “मैले ज्याकेट बेचेको ९५ प्रतिशतभन्दा बढी ग्राहकसँग व्यक्तिगत सम्बन्ध कायम राखेको छु । यसले आत्मीयता बढाउँछ र दीर्घकालमा फाइदा पुग्छ ।” यसपटकको गर्मीमा ल्याटिडोका दर्जनौँ ज्याकेट अस्ट्रेलिया, अमेरिका र बेलायत पुगे । त्यहाँका नेपाली पनि ‘मेड इन नेपाल’ लगाउन पाउँदा दंग । 

अनलाइन सेवाका अलावा झम्सिखेलमा आफ्नै सोरुम छ उनको । जहाँ १० देखि १९ हजार रुपियाँसम्मका ज्याकेट पाइन्छन् । ब्याग र वालेट बनाउन थालेका छन् । यसको डिजाइन पनि आफैँ गर्छन् । नयाँ–नयाँ ग्राहकसँग सम्बन्ध स्थापित गर्न उस्तै समय खर्चनु पर्छ । विश्वसनीयता र गुणस्तरीयता जोगाउँदै ठूलो समूहसम्म पुग्ने योजना छ । साँच्चै, भ्याइनभ्याइ छ उनलाई । 

जबकि, ‘नेपालमा अवसर र बजार छैन’ भनेर लाखौँ युवा विदेशिएका छन् । यहीँ बस्नेले पनि गतिलो बाटो समात्न सकेका छैनन् । गुनासो र बहाना मात्र सुनिन्छ । यथार्थ पनि यस्तै हो त ? अहमद र बिलाललाई यो साझा प्रश्न सोधियो, छुट्टाछुट्टै । तर, जवाफचाहिँ एउटै थियो, सवालजस्तै, “हामी अल्छी छौँ तर रातारात सफलता चाहिन्छ । आजको भोलि भनेजस्तो नहुँदा हार मान्ने प्रवृत्ति छ तर आफूले चाहेजस्तो काम गर्ने र संघर्षमा रमाउने हो भने अवसरै अवसर छ । बजारै बजार छ ।” 

आखिर उनीहरूले आफ्नो हकमा प्रमाणित गरिसके पनि । 

प्रकाशित: आश्विन २४, २०७४