सकसमा अर्जेन्टिना

  • ​अहिलेका खेलाडी व्यावसायिक खेलमा जतिसुकै सफल भए पनि यसपटक विश्वकप पुग्न सकेन भने अर्जेन्टिनी फुटबलको ठूलो दुर्भाग्य हुनेछ ।

- ज्ञानेन्द्र आचार्य

अघिल्लो वर्ष अर्जेन्टिनी फुटबल केही महत्त्वपूर्ण घटनाका कारण चर्चामा रह्यो । कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा अर्जेन्टिना फेरि चिलीबाटै पराजित भएको थियो । लगत्तै लियोनल मेसीले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरे । लगातार तीन मुख्य प्रतियोगिताको फाइनलमा पुगेर पनि कुनै उपाधि जित्न नसक्दा मेसी निराश भएका थिए । यसै कारण उनले आवेशमा आएर उनका लागि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको ‘करिअर’ त्यहीँ समाप्त भएको बताएका थिए । अर्कोतर्फ अर्जेन्टिनाको फुटबल संघ आर्थिक संकटबाट गुज्रिरहेको थियो । 

अर्जेन्टिनी फुटबल संघको आर्थिक संकटभन्दा मेसीको संन्यासले अन्तर्राष्ट्रिय मिडियामा ठूलै तहल्का मच्चायो । सबैले मेसीबिनाको अर्जेन्टिना कस्तो होला भनेर अड्कल काट्दै थिए । पछि मेसीले संन्यास त फिर्ता लिए तर त्यसले अर्जेन्टिनी फुटबल टिमको नियति बदल्न सकेन । त्यसबेला मेसीबिना अर्जेन्टिना जस्तो हुने अनुमान लगाइएको थियो, अहिले उनी हुँदा पनि त्यस्तै छ, निकै फितलो । आर्थिक संकटबाट त्यहाँको घरेलु फुटबल र फुटबल संघ दुवै उम्किने तरखरमा छन् । तर, राष्ट्रिय फुटबल टिम भने झन् कमजोर भएको छ । आगामी विश्वकपको छनोटका लागि दक्षिण अमेरिकी क्षेत्रमा अर्जेन्टिना पाँचौँ स्थानमा छ । उसको विश्वकपमा छनोट नहुने सम्भावना पनि उत्तिकै छ । 

हुन त अर्जेन्टिना १९७० मा पनि विश्वकपमा छनोट हुन असफल भएको थियो । तर, त्यसपछि दुईपटक विश्वकप जितेको अर्जेन्टिनाको यो अन्तर्राष्ट्रिय स्पर्धामा छुट्टै शान छ । त्यसकारण यसपटक विश्वकपमा छनोट हुन नसक्नु उसका लागि ठूलै संकट हुन सक्छ । त्यसमाथि अहिले अर्जेन्टिनासँग यस्ता खेलाडी छन्, जसले व्यावसायिक क्लबबाट खेल्दा थुप्रै उपाधि जितेका छन् । जसको उदाहरण उनीहरूका कप्तान मेसी आफैँ हुन् ।

जोर्ज साम्पावली

बार्सिलोनाबाट खेल्दा मेसीले लगभग सबै उपाधि जितेका छन् । तर, अर्जेन्टिनाका लागि उनी त्यही स्तरमा प्रभावकारी देखिएका छैनन् । वास्तवमा अर्जेन्टिनाका लागि खेल्दा अरू खेलाडीले मेसीलाई राम्रोसँग सघाउन नसकेका हुन् । जुन अर्जेन्टिनाले खेलेका पछिल्ला छनोट खेलबाट पनि थाहा हुन्छ । विपक्षी टिमको ‘डिफेन्सिभ’ क्षेत्र वरिपरि आफ्नै टिमका खेलाडी भए, मेसीले आफ्नो अद्भुत क्षमता देखाउन सक्छन् । यो बार्सिलोनाका हरेक प्रशिक्षकले बारम्बार भन्दै आएको कुरा हो । उनी कस्ता खेलाडी हुन् र उनको क्षमता अहिले सबैलाई थाहा छ । त्यसैले उनलाई रोक्न सबै विपक्षी टिमको एउटै रणनीति हुने गर्छ । उनलाई तीन–चार जनाले निगरानीमा राख्ने र उनको खुट्टामा बल पर्नासाथ सबैले उनलाई नै घेर्ने । यसै गरेर विपक्षीले उनको खुट्टाबाट बल खोस्छन् वा उनलाई कुनै निर्णायक पास निकाल्नबाट रोक्छन् । तर, वरिपरि आफ्नै साथी भए, उनी तिनीहरूसँग छोटो पास खेल्दै विपक्षीको पासोबाट फुत्किन सक्छन् । यसै सिजन बार्सिलोना आएका नयाँ प्रशिक्षकले पनि यही रणनीति अपनाएका छन्, जसमा बार्सिलोना सफल पनि देखिएको छ । 

लियोनल मेसी

अर्जेन्टिनामा यस्तो बिरलै देख्न पाइन्छ । विश्वकप छनोट अन्तर्गतका पछिल्ला खेलहरूमा मेसीलाई अर्जेन्टिनाका मिडफिल्डरभन्दा डिफेन्डरले बढी पास दिएको देखियो । यसबाट अर्जेन्टिनाको मिडफिल्डले धेरै मौका सिर्जना गर्न नसकेको भन्ने बुझिन्छ । 

रणनीतिक हिसाबमा फुटबल निकै अगाडि बढेको छ । उहिलेका पेले वा म्याराडोनाले जस्तै गरी एकल प्रयासमा खेल जित्न निकै गाह्रो छ । किनभने, विपक्षी टिमले हरेक खेलाडीको खेल्ने शैली अनि उनीहरूको बलियो र कमजोर पक्ष राम्रोसँग केलाएका हुन्छन् । र, खेलमा विपक्षीको कमजोर पक्षलाई उजागर गर्नु जोकोहीको पनि प्राथमिकतामा पर्छ । अर्जेन्टिना मेसीको मात्रै भर पर्दा यसैको सिकार बनेको हो । क्षमताका आधारमा त्यस टिममा अहिले कुशल र दक्ष खेलाडी नभएका होइनन् । सर्जयो अग्वेरो, हिग्वाइन, पाउलो डीबाला, डी मारिया, एभर बनेगा आदि सबै क्लब स्तरका उत्कृष्ट खेलाडी हुन् । राष्ट्रिय टिमबाट खेल्दा उनीहरू जम्न नसकेका मात्रै हुन् । 

एक वर्षअघि अर्जेन्टिनाको छिमेकी ब्राजिल पनि यस्तै समस्याबाट गुज्रिएको थियो । नेयमारमा बढी केन्द्रित हुँदा उनी नभएको खेलमा कुनै रौनक नभएजस्तो लाग्थ्यो । त्यसबेला विश्वकपको छनोटमा ब्राजिलले सुरुका ६ खेलमा नौ अंक मात्रै जोडेको थियो । र, कोपा अमेरिकामा पनि २९ वर्षमा पहिलोपटक समूह चरणबाट बाहिरिएको थियो । त्यसपछि ब्राजिलमा टिटे प्रशिक्षक भएर आए । उनले ब्राजिलको मौलिक शैलीमै ध्यान दिए । उनी नेयमारमा मात्रै केन्द्रित भएनन् । यो परिवर्तनपछि लगातार नौवटा छनोट खेल जितेर ब्राजिल आगामी विश्वकपमा सबैभन्दा पहिले छनोट हुने टिम बन्यो । ब्राजिलको खेल अहिले निकै धारिलो छ । चाहे नेयमार खेलून् वा न खेलून्, टिमले एकनासको खेलिरहेको छ । छिमेकी अर्जेन्टिनाका लागि ब्राजिलको टिममा आएको सुधार राम्रै पाठ हुन सक्छ । 

गत वर्ष आयोजना भएको कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा पराजित भएपछि अर्जेन्टिनामा दुईपटक प्रशिक्षक फेरिए । कोपा अमेरिकालगत्तै एडुराडो बाउजा प्रशिक्षक भएर आए । मेसीको संन्यास फिर्ता गराउन उनी सफल भए पनि टिमको प्रदर्शन उकास्न सकेनन् । उनी प्रशिक्षक रहँदा अर्जेन्टिनाले आठ खेलमा मात्रै तीन जित निकाल्यो । उनकै पालामा हो, मिडफिल्ड झनै कमजोर भएको । बाउजाले सम्हालेको अर्जेन्टिनामा डी मारियाले आफ्नो भूमिका निभाउन सकेनन् । व्यावसायिक क्लबबाट खेल्दा अब्बल दर्जाको प्रदर्शन गर्ने डी मारिया अर्जेन्टिनाका लागि भने निकै फिक्का देखिने गरेका छन् । हालै बाउजापछि जोर्ज साम्पावली प्रशिक्षक भएका छन् । 

मेसी र अर्जेन्टिनाको प्रशिक्षक बन्नु साम्पावलीको सपना थियो । त्यसैले स्पेनमा सेभियाको प्रशिक्षक रहँदा नै आएको यो प्रस्ताव नि:संकोच स्वीकारे उनले । साम्पावली अर्जेन्टिनाको प्रशिक्षकका लागि सबैभन्दा उत्तम उम्मेदवार हुन् । यो कुरा उनले सम्हालेको टिमले निकालेको नजिताले नै देखाउँछ । दक्षिण अमेरिकाकै अर्को देश चिलीलाई एउटा सशक्त फुटबल टिमका रूपमा स्थापित गर्ने प्रशिक्षक साम्पावली नै थिए । २०१५ को कोपा अमेरिकामा उनले नै प्रशिक्षण दिएको चिलीले साम्पावलीकै देश अर्जेन्टिनालाई फाइनलमा हराएको थियो ।

अर्जेन्टिनाको प्रशिक्षक हुनासाथ उनले टिममा केही फेरबदल गरे । सधैँ आक्रमणको जिम्मा पाउने हिग्वाइन र अग्वेरोको ठाउँमा उनले मेसीलाई सघाउन युवा तर निकै प्रतिभाशाली खेलाडीहरू डीबाला र माउरो इकार्डीलाई ल्याए । गोल गर्नुका साथै मौका सिर्जना गर्न विपक्षीको क्षेत्रमा निर्णायक पास खेल्ने क्षमता भएका कारण उनीहरूले अहिले सुरुआती ११ मै मौका पाइरहेका छन् । साम्पावली आएपछि खेलमा सुधारका केही संकेत देखिए पनि भनेजस्तो परिणाम आएको छैन । अर्जेन्टिनाले पछिल्ला दुई छनोट खेलमा दुवैमा बराबरी गर्‍यो । यी खेलमा अर्जेन्टिनाले एक मात्रै गोल गर्न सक्यो । त्यो पनि भेनेजुयलाविरुद्ध पाएको आत्मघाती गोल थियो । अहिले साम्पावलीको ध्यान पनि मिडफिल्ड सुधार्नमै छ । उनको सबैभन्दा ठूलो चुनौती मिडफिल्डलाई सशक्त बनाउँदै डी मारियालाई लयमा फर्काउनु वा उनको विकल्प खोज्नु हो । 

हाल अर्जेन्टिना विश्वकप छनोटको पाँचौँ स्थानमा छ । खराब प्रदर्शनका बाबजुद उसलाई अहिले भाग्यले भने साथ दिएको छ । अन्य खेलमा पनि अर्जेन्टिनालाई अनुकूल हुने परिणाम आएका छन् । दक्षिण अमेरिकाबाट चार टिम विश्वकपमा सीधै छनोट हुन्छन् । पाँचौँ हुनेले प्ले अफ खेल्नुपर्छ । हाल पाँचौँ स्थानमा रहेको अर्जेन्टिना दोस्रो स्थानमा भएको उरुग्वेभन्दा मात्रै तीन अंकले पछि छ । 

अहिलेका खेलाडी व्यावसायिक खेलमा जतिसुकै सफल भए पनि यसपटक विश्वकप पुग्न सकेन भने अर्जेन्टिनी फुटबलको ठूलो दुर्भाग्य हुनेछ । र, मेसीको खेल–जीवनमा पनि एउटा अमिट दाग लाग्नेछ । 

प्रकाशित: आश्विन २३, २०७४