कृष्णभीर–२

  • सिद्धबाबा पहिरोको बाह्रैमासे सास्ती

- मुक्तिनाथ गैह्रे

दसैँको टीका थाप्न स्याङ्जा, मालुंगास्थित माइती हिँडेकी सूर्यपूरा, रुपन्देहीकी गौरी तिवारी सिद्धार्थ राजमार्गको रुपन्देही–पाल्पा सीमामा पर्ने सिद्धबाबाको पहिरोका कारण लगातार दुई दिन बुटवलसम्म धाएर घर फर्किनुपर्‍यो । दशमी र एकादशीका दिन क्षणक्षणमै आएको पहिरोले उनलाई त गाडी नचढीकनै घर फर्कायो तर सयौँलाई बीच बाटोमै अलपत्र पार्‍यो ।

भीर कुँदेर बनाइएको र ढुंगा झरिरहने साँघुरो बाटोमा गाडीमा अलपत्र परेका यात्रु झरेर हिँड्दा हेर्दाहेर्दै भीड मेलाझैँ भयो । सुक्खा ढुंगे पहिरोले सामान्य मौसममा समेत थुप्रैको ज्यान लिएको त्यो झन्डै पाँच किलोमिटर सडक खण्डको मानव लस्करसमेत तनावग्रस्त भयो । पहिरो पन्छाइने काम निरन्तर भइरहँदा पनि झरिरहने क्रम थुप्रैपटक दोहोरिएपछि धेरैले एक दशक पुरानो पृथ्वी राजमार्गको कृष्णभीरको नयाँ शृंखलाका रूपमा सम्झिए । 

दसैँ टीकाको दिन साँझपख दुईपाङ्ग्रे र साना सवारी चल्न सक्ने गरी बाटो खुलाउन स्थानीय प्रशासन सफल भए पनि त्यही रात झरी परेपछि झन् ठूलो पहिरो झर्‍यो । अवरुद्ध सडक पूर्णिमासम्मै पूर्ण रूपमा खुल्न सकेको थिएन । अरू बेला समेत त्यो खण्ड पार नगरुन्जेल यात्रुहरू कतिखेर रोकिनुपर्ने हो भन्ने त्रास बोकेर यात्रा गर्छन् ।

यो पहिरो लामो समयदेखि पश्चिम नेपालको साझा समस्याका रूपमा लुम्बिनी, गण्डकी र धौलागिरि अञ्चलका बासिन्दाको टाउको दुखाइ बनेको छ । कृष्णभीरको पहिरोले बाटो छेक्नेसम्मको समस्या गथ्र्याे । तर, रुपन्देही जिल्लाको बुटवल उपमहानगरको सीमाबाटै सुरु हुने पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्रको यो पहिरो भने बिचित्रको छ । पहिरोका कारण बाटोमा बार लगाउने मात्र होइन, वर्षौंदेखि धुले वा हिले पहिरो, ढुंगा खस्ने, गाडी नै पुरिदिने वा नदीमा खस्नेसम्म भएको छ ।

सिद्धबाबा क्षेत्रको पहिरो झर्न कुनै मौसम, महिना वा बारको आवश्यकता पर्दैन । चैतदेखि जेठसम्म पनि पहिरो झरेको हुन्छ, कात्तिकदेखि फागुनसम्म पनि पहिरो झरेको हुन्छ । एकै वर्षमा कैयौँपटक तर जहिलेसुकै पहिरो गइरहने हुँदा पहिरो खस्नासाथ हटाउन सकियोस् भनेर पाल्पातर्फ एउटा र बुटवलतर्फ एउटा डोजर तयारी अवस्थामा राखिएका छन् । 

दोभान प्रहरी कार्यालय पाल्पाका अनुसार यसपटकको वर्षात् सुरु भएपछि मात्र २० भन्दा बढी पटक पहिरो खसेर बाटो अवरुद्ध भएको छ । खस्नैका लागि तयारी अवस्थामा रहेजसरी त्यहाँका चट्टान भित्तामा झुन्डिएका छन् । जुनसुकै बेला वा जहिलेसुकै ती चट्टान खस्न सक्ने भएकाले सधैँ उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको प्रहरी नायब निरीक्षक सन्तबहादुर बस्नेत बताउँछन् । पहिरोले थिचेकै कारण यस वर्ष चार जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते र अंगभंग भएका छन् । 

विसं ०२१ मा सिद्धार्थ राजमार्ग निर्माणका क्रममा यो सडक खण्डमा ढुंगे चट्टानहरूको निकै नै विस्फोट गराइएको थियो, जसले उतिखेरैदेखि सडकको जग कमजोर बन्न पुगेको विज्ञहरू बताउँछन् । पछिल्लो भूकम्पले यस भागलाई पुन: चलायमान बनाएको छ । त्रिभुवन विश्वविद्यालयका भूगोगका प्राध्यापक भोजराज कडेरिया भन्छन्, “चुरे पहाडको गेग्रयान, बालुवा, ढुंगा आदि सहितको खुकुलो किसिमको माटोका कारण आकाशे पानी सीधै भित्र पसेर घुल्न थालेपछि पहिरोको मात्रा बढ्ने गर्छ ।” 

त्यही कमजोर भूभागमा गाडीहरूको थर्काहटले पनि भुरभुरे माटोसहितको पहिरो खसिरहन्छ । यहाँको पहाडमा माटोको मात्रा कम र बालुवा तथा ढुंगा बढी हुने, त्यसै गरी भएको माटोको मात्रा पनि खसेर सकिँदै जाने गर्दा पहिरो बढी गइरहेको हो । 

दैनिक औसत १ हजार ५ सय सवारी साधन गुड्ने यो सडक पश्चिम नेपालका पहाडी जिल्लाहरूका लागि ‘लाइफ लाइन’ हो । देशका दुई प्रमुख पर्यटकीय गन्तव्य पोखरा र लुम्बिनीलाई जोड्ने सबैभन्दा छोटो बाटो पनि यही हो ।

विदेशी पर्यटकका लागि बनाइएका महँगा प्याकेजमा समेत यही पहिरोका कारण सुनिश्चित हुन नसकिएको पर्यटन व्यवसायीहरू चिन्ता व्यक्त गर्छन् । मुग्लिन–नारायणगढ खण्ड विकल्पका रूपमा प्रयोग गर्दा झन्डै दोब्बर दूरी र समय लाग्छ, जुन अहिले उताको बाटोका कारण पनि समयमै यात्रा गर्न सकिने अवस्था छैन । पर्यटन प्याकेजहरूमा धक्का नै पर्न थालेपछि हालै पोखरा–भैरहवा हवाई उडान सुरु गरिएको छ ।

यद्यपि, बुटवलको पश्चिमी क्षेत्रबाट बेलबास दोभान निस्कने दुई लेनको १७ किलोमिटर लामो वैकल्पिक बाटो पनि निर्माणाधीन छ । अर्कोतर्फ पाल्पाको बाँसटारी–झडेवा–गोठादी हुँदै रुपन्देहीको खैरेनीसम्म आउने सडकको समेत ट्रयाक खोल्ने काम पूरा भइसकेको छ । डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख इन्जिनियर बाबुराम सापकोटा भन्छन्, “यी दुवै सडकको पूर्णता र स्तरोन्नति अपरिहार्य भइसकेको छ, जसले सिद्धबाबाको बाटोमा सवारी चाप त घटाउनेछ नै, स्तरोन्नतिका लागि समेत बाटोलाई पूर्ण रूपमा बन्द गरेर काम गर्न सकिनेछ ।”

प्रकाशित: आश्विन २३, २०७४