[ झटारो ]आकाशको फल

- लक्ष्मण गाम्नागे

उहिलेउहिले सञ्चारमाध्यमले दिने कतिपय समाचार सुन्दा पढ्दा हाम्रो आङै जिरिङ्ग हुन्थ्यो । हत्या, बलात्कार, भ्रष्टाचारी पक्राउ परेका, तस्करीका सुन वा रक्तचन्दन समातिएका, मिसावट गरेका खाद्यान्न बेचेको अभियोगमा व्यापारीहरू पक्राउ परेका इत्यादि समाचारले हामीलाई उद्वेलित बनाउँथ्यो । त्यस्ता ‘हट न्युज’हरू हामी स्तब्ध भएर हेथ्र्यौं, सुन्थ्यौँँ । त्यस्ता समाचारले हाम्रो शरीरमा काँडा उम्रन्थे, रगत उम्लन्थ्यो ।

उहिलेका कुरा खुइलिए अब । अब हामी एकदमै शिथिल भइसक्याँै, उत्तेजनाहीन भइसक्याँै । संवेदना, उत्तेजना, करुणा, कौतूहल उत्पन्न गर्ने हामीभित्र रहेको हार्मोन नै निख्रिइसक्यो । दुई–चार जना मान्छे मारेको समाचार सुन्दा हाम्रो मन अलिकति पनि हल्लिँदैन अचेल । दसवर्षे हिंसात्मक द्वन्द्व भोगेपछि हामीलाई हत्या–हिंसाका घटना सामान्य लाग्न थाले । टनका टन तस्करीको सुन पटक–पटक हाम्रा एयरपोर्ट र भन्सारबाट आहोरदोहोर गर्दा पनि जाँचकीहरूले देख्न छाडेपछि १०–२० किलो सुन समातिएका समाचारले हामीलाई छुन छाडे । जुन दिनदेखि जुत्ता, मोजा र पशुका आन्द्राभुँडीबाट उत्पादित रक्सी वर्षौँदेखि हाम्रा उपभोक्ताले दन्काइरहेको थाहा पायौँ, त्यस दिनदेखि खानेकुरामा के मिसावट गर्न हुने, के नहुने भन्ने कुनै सीमा हुँदो रहेनछ भन्ने हामीले बुझ्यौँ । यसपछि अरू कुनै पनि खाद्य मिसावटका समाचार हामीलाई बेकार लाग्न थाले । भ्रष्टाचारको परिमाणले क्रान्तिकारी छलाङ मारेर लाखौँ, करोडौँ र अर्बौं मात्र होइन, आधा खर्ब छेउछाउको राजस्व छाडा साँढेले घाँस खाएजसरी खाएका समाचार आएपछि जाबो लाख– करोडका भ्रष्टाचारका समाचारमा हाम्रो देब्रे कान पनि ठडिन छाड्यो । 

हामी यति थेत्तरा भइसक्यौँ, अब हामीलाई पत्रपत्रिका वा टेलिभिजनले अपराधका सामान्य समाचार सुनाएर जिस्क्याउन छाडे हुन्छ, त्यसबाट हामी पटक्कै उत्तेजित हुँदैनौँ । जग्गा खरिदमा केही करोड घोटाला गरेको, ट्याक्सीले यात्रु ठगेको, पेट्रोलपम्पले ग्राहक लुटेको, सुन, रक्तचन्दन, यार्सा वा अरू कुनै बहुमूल्य वस्तुको तस्करीमा प्रहरी, सांसद, गृहमन्त्री वा प्रधानमन्त्रीकै संलग्नताको शंका रहेको जस्ता सामान्य समाचार हाम्रा लागि दालभात खाएबराबर भइसके । नेताहरू दिल्लीमा गएर लम्पसार परेको, विदेशीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, नेताहरू बिक्री भएको, प्रधानमन्त्रीले नदीनाला बेच्ने सम्झौतामा हस्ताक्षर गरेको, प्रधानन्यायाधीशले नागरिकता सच्याएर जागिर अवधि बढाएको, विधायकहरूले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने माग गरेको, यी पनि हाम्रा लागि केटाकेटी समाचार भए । 

हामीलाई छक्क पार्ने समाचार अब के नै बाँकी होलान् र मुलुकमा † भ्रष्टाचार वा फौजदारी अपराधमा बहालवाला मन्त्री, प्रधानमन्त्रीलाई पक्राउ गरेको समाचार कुनै बेला सुन्न पाएदेखि अलिकति नौलो मान्थे होलान् हाम्रा कानले । सुन तस्करीका घटनामा भरिया वा ड्राइभरको सट्टा मालिक स्वयं पक्राउ परेको समाचार हेर्न पाए हामी एकछिन छक्क पथ्र्यौँ होला । हाम्रा नेताहरू दिल्लीसँग लम्पसार परेका समाचार के समाचार ? देशै बेचेको सम्झौतामा सही गरेको समाचार सुन्न पाए हाम्रो आङ एकछिन जिरिङ्ग हुन्थ्यो होला । अर्ब–खर्बको भ्रष्टाचार गरिदिने निमित्त पात्रहरू पक्राउ पर्नु, सफाइ पाउनु र छुट्नु कुनै नौलो भएन, तिनका संरक्षकहरू, धर्मपिताहरूलाई पाता फर्काएको समाचार सुन्न पाए हाम्रो मन अलिकति रोमाञ्चित हुन्थ्यो होला । तर, यस्ता समाचार हाम्रा लागि आकाशको फल भए । त्यस्ता समाचार हेर्न आँखा तर्दा तर्दै हामी भुतुक्कै हुने भयौँ । गतिला समाचार सुन्नै नपाई हामी मर्ने भयौँ ।

प्रकाशित: आश्विन २३, २०७४