उडायो सपना

- नेपाल संवाददाता

डेब्यु फिल्म नाईं नभन्नु ल ४ मा  भीडमै हराएकी थिइन्, आँचल शर्मा । जोनी जेन्टलम्यानमा भने प्रमुख भूमिका पाइन् । तर, उनी यस फिल्मसँग आशावादी हुनुको कारण मुख्य भूमिका भएर मात्र होइन । ‘रियल प्रेमी’ पल शाहसँगको अनस्क्रिन रोमान्सले आँचल उत्साही बनेकी थिइन् । पलको दोस्रो फिल्म म यस्तो गीत गाउँछु हिट भएपछि त उनी झन् फुरुंग । तर, जोनी जेन्टलम्यानबाट जोडी नै चम्कने आँचलको सपना हुरीले उडाएको छ । कारण, ३० भदौमा प्रदर्शित यस फिल्मले न बक्स अफिसमा कमाल गर्‍यो, न सकारात्मक समीक्षा नै बटुल्यो । कतिसम्म भने उनीहरुको अभिनयले समेत प्रशंसा पाएन । फिल्म फ्लप भएपछि सम्बन्धमा पूर्णविराम लागेका उदाहरण प्रशस्त छन् । अनि, आँचलको ढुकढुकी नबढोस् पनि कसरी ? 

प्रकाशित: आश्विन २३, २०७४