'छक्का–पञ्जा २'मा भद्दा मजाक

- गोकर्ण गौतम

बक्स फिसमा पैसा छाप्ने ‘ब्रान्ड’ बनिसकेको जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म छक्का–पञ्जा २ ले फेरि उधुम मच्चाइरहेको छ । फिल्मले व्यापार गर्नु सुखद हो । तर, व्यापारले मात्र फिल्मको स्तर र सफलता मापन गर्न सकिन्न/मिल्दैन । फिल्मको मुटु हो, कलात्मकता ।

कथालाई विश्वसनीय शैलीमा पस्कनु पनि उत्तिकै आवश्यक हुन्छ । छक्का–पञ्जा २ यही कसीमा चुकेको छ । कारण, कथा अनुरूपका दृश्य र संवादमार्फत हास्य पैदा गरिएको छैन । कन्टेन्टमाथि कमेडी गरेर बलजफ्ती हँसाउने प्रयास छ, निर्देशक दीपाश्रीको । त्यसमा पनि फिल्मी स्वाद होइन, टेलिसिरियल र रेडियो नाटकको ‘ह्याङओभर’ छ । जबकि, यो फिल्म ६ जना मिलेर लेखिएको हो । विकासराज आचार्य र सामिप्यराज तिमिल्सेनाको कथालाई दीपकराज गिरीले पटकथामा ढालेका हुन् । जितु नेपाल, केदार घिमिरे र अभिमन्यू निरवीलाई लेखक समूहमा राखिएको छ । तर, छक्का पञ्जा २ मा फिल्मी गुणको खडेरी छ, बेतुकका ‘कमेडी प्याकेज’जस्तो लाग्छ । अनि, नामका पछाडि २ थपिए पनि यो छक्का–पञ्जाको कथानक ‘सिक्वेल’ होइन । 

आकांक्षा (स्वस्तिमा खड्का)लाई जसरी पनि अस्ट्रेलिया जानु छ । तर, आइईएलटीएसमा अंक कम आउँछ । उता, प्रज्ज्वल (स्वरूपपुरुष ढकाल)ले आइईएलटीएसमा उच्च अंक ल्याए पनि पैसा नभएकाले अस्ट्रेलिया जान पाएको छैन । यसरी उस्तै सपना पालेर छटपटिरहेका प्रज्ज्वल र आकांक्षाको भेट गराइदिन्छन्, कन्सलटेन्सी मामा (केदार घिमिरे)ले । विदेश जानकै लागि उनीहरूको नक्कली विवाह गराइन्छ । तर, विवाह प्रमाणित गर्ने सरकारी कागजात बनाउने क्रममा अनेक झन्झट आइलाग्छ । तिनै झन्झटबाट उम्कने ध्याउन्नमै फिल्म घुमेको छ । 

‘डिपेन्डेन्ड’मा विदेश जान विवाहको नाटक गर्ने प्रवृत्ति केही वर्षयता निकै मौलाएको छ । जसका नकारात्मक प्रभाव देखिन थालिसकेका छन् । यस्तो यथार्थपरक विषय उठान गर्नु प्रशंसनीय हो । तर, निर्देशकले गम्भीर विषयलाई मजाकका रूपमा पर्दामा पेस गरेकी छन् । निर्देशक र पटकथाकारको अपरिपक्वता र हेलचेक्र्याइँ झल्कने घटनाक्रम बग्रेल्ती छन् । जस्तो : २० वर्षअघि र पछिको राजा (दीपक) र उमाको हुलियामा खास अन्तर छैन । न ‘फ्ल्यासब्याक’ का दृश्यमा तत्कालीन समयको झल्को दिने ‘सेटिङ’ नै छ । विवाह दर्ता गराउन हिँडेकी केटीले उत्तिखेरै पतिको हात समाउँदै ‘ए दाजु नसमाउ नाडीमा...’ भन्दै कम्मर मर्काउँछिन् । 

आधारभूत अदालती प्रक्रियालाई समेत बेवास्ता गरिनु अर्को लाजमर्दो पक्ष हो । दर्ता भइसकेको मुद्दा मिलाउन अदालतले प्रहरीलाई आदेश दिन्छ, त्यो पनि प्रहरी अधिकृत तोकेरै । उमा छिनभरमा वकिल हुन्छिन्, छिनमै साक्षी । बहस चलिरहेका बेला तेस्रो पक्ष हक माग्दै अदालतमै आइपुग्छ ।

न्यायाधीशको चरित्रचित्रण पनि पचाउन मुस्किल पर्छ । ‘सिनेमा लिबर्टी’ वा कमेडीका नाममा गरिएका यस्ता गम्भीर त्रुटिले फिल्ममेकरको बोधस्तरमाथि प्रश्न उठाएको छ । 

फिल्मका संवादले हाँसो पैदा गर्छन् । तर, फिल्मको वजन घटाउने प्रमुख कारक पनि संवाद नै बनेका छन् । किनभने, पात्रको मनोविज्ञान र परिस्थिति अनुसारका संवाद छैनन् । द्विअर्थी, जबर्जस्ती अनुप्रास मिलाइएका र महिलालाई होच्याइएका संवादको बोलवाला छ । कति दृश्य त पञ्चलाइनकै लागि तन्काइएको छ । कथामा जस्तै पात्रहरूमा पनि निर्देशकको लगाम फुत्किएको छ । अधिकांश घटनाक्रम मूल कथालाई ‘जस्टिफाइ’ गर्नेभन्दा हास्य सिर्जना गर्न ढंगले मात्र अगाडि बढाइएको छ । निर्देशक अनुत्तीर्ण भएको प्रमाण हो यो । लाग्छ, निर्देशक र पटकथाकारले गहन विषयलाई पर्दामा बुन्ने लोभ गरे । तर, विषय अनुरूपको गाम्भीर्य पस्कन सकेनन् । पर्याप्त गृहकार्यबिना फिल्म बनाउन हतार गरिएको छ । 

केन्द्रीय द्वन्द्व स्पष्ट छैन । सहायक ‘प्लट’ र असरल्ल पात्रले मूल कथाको बहावलाई बिथोलेको छ । छक्का–पञ्जा हेरेकालाई कुनै ‘ट्वीस्ट’ले चक्मा दिँदैनन् । मध्यान्तरपछि कमेडीमा ‘मेलो ड्रामा’ मिसाइएको छ । अन्तर्यमा हरेक पात्र यही समाजका प्रतिनिधि हुन् । तर, तिनको प्रस्तुति अतिरञ्जित छ । बरू, प्राविधिक रूपमा फिल्मले अब्बलता हासिल गरेको छ । दृश्य अनुरूपका ‘लोकेसन’ छन् । त्यस्तै, दृश्यलाई भव्यता बनाउन निर्माताले लोभ गरेका छैनन् । ‘म त यता किनारामा...’ गीतको कोरियोग्राफी लोभलाग्दो छ । सुजील कर्माचार्यको पृष्ठभूमि संगीतले दृश्यको भाव आत्मसात् गरेको छ । सिनेमाटोग्राफर दीर्घ गुरुङ पनि प्रशंसाका हकदार छन् । 

स्वस्तिमा र स्वरूपको जोडीले मन जित्छ । दुवैको चरित्र र अभिनय सम्झनालायक छ । जात्राबाट सम्भावना देखाएकी वर्षा राउतले यसपटक निराश पार्छिन् । प्रियंका ‘ ओभरएक्टिङ’को सिकार भएकी छन् । केदार घिमिरेको न चरित्र विश्वसनीय छ, न अभिनयमा नयाँपन । उनी माग्ने बूढाको दलदलबाट माथि उठ्न सकेका छै नन् । दीपकले घमन्डी स्वभावको चरित्रलाई धेरै हदसम्म आत्मसात् गरेका छन् । शिवहरि पौड्याल, जितु नेपाल, आयुष्मान देशराजलगायतका कलाकारको काम पनि सराहनीय छ । दीपाश्रीका लागि भने निर्देशकका रूपमा यो गर्व गर्नलायक फिल्म होइन ।

प्रकाशित: आश्विन २१, २०७४