आवरण टिप्पणी» वर्गीय विभेद हटाउने साधन

- भूषण तुलाधर

काठमाडौँमा एक ठाउँबाट अर्को ठाउँमा जान औसत दूरी पाँच किलोमिटर तय गर्दा हुन्छ । अर्थात्, चक्रपथको एउटा बिन्दुबाट सहरको मध्य भागसम्मको दूरी हो । पाँच किलोमिटरको दूरी साइकलका लागि सामान्य हो । साइकल मौसमका हिसाबले पनि अनुकूल छ । यति धेरै अनुकूलताका बाबजुद यसको प्रवद्र्धन भने हुन सकेको छैन ।

तराईमा सामाजिक विम्बका अलावा महिलाहरूलाई अगाडि ल्याउन पनि साइकलले ठूलो योगदान गरेको छ । अधिकांशको दैनिकी साइकलमै टिकेको छ । त्यसैले आर्थिक र सामाजिक दुवै हिसाबले साइकल महत्त्वपूर्ण माध्यम हो । सय वर्षअघिका साहित्य हेर्ने हो भने अमेरिकी महिलाहरूको सशक्तीकरणका लागि पनि साइकलले निकै सकारात्मक भूमिका खेलेको देखिन्छ । 

मुख्य रूपमा साइकलको भूमिका भनेको धनी र गरिबलाई एउटै स्तरमा ल्याइदिन्छ । गरिबले पनि चढ्छ, धनीले पनि चढ्छ । अर्को कुरा, सडक भनेको सबैका लागि हो । यदि त्यो सडक सबैका लागि हो र त्यसको डिजाइन पनि सबैका लागि गर्न सक्यौँ भने त्यो वास्तवमा लोकतन्त्र हुन्छ । र, साइकल भनेको अधिकांशले खरिद गर्न सक्ने यातायातको साधन हो । हाम्रोजस्तो देशमा सबैजसोले साइकल किन्न सक्छन् । पछिल्ला वर्षहरूमा काठमाडौँजस्ता सहरमा वातावरण संरक्षण पनि अहम् विषय हो ।

राजधानीको बढ्दो प्रदूषण नियन्त्रण गर्न पेट्रोलियममा आधारित यातायातका साधन निरुत्साहित गर्नैपर्छ । त्यसका लागि प्रथमत: हिँड्नलाई प्रेरित गर्नुपर्छ । अहिले पनि यहाँको ४० प्रतिशत यातायात हिँडेर नै तय हुन्छ । दोस्रो, साइकलमैत्री हुने र तेस्रो, सार्वजनिक यातायातलाई सुधार गर्ने हो । गाडीको संख्या त वृद्धि हुन्छ नै । मान्छेले आवश्यक पर्दा गाडी किन्न पाउनु पनि पर्छ । तर, काठमाडौँमा सडकको सीमा छ । सडक चौडा पार्दैमा समस्या समाधान हुनेवाला छैन । विश्वमा कहीँ पनि सडक चौडा गर्दैमा ट्राफिक जाम कम भएको छैन । यातायात प्रणालीमै सुधार ल्याउनुपर्छ । 

हाम्रा लागि उपयुक्त यातायात प्रणाली भनेकै साइकल हुन सक्छ । साइकल संस्कृति प्रवद्र्धन गर्न सडक सजिलो बनाइदिने र साइकल चलाउनुलाई समाजमा इज्जतिलो बनाइदिने हो भने जसले पनि साइकल चढ्छ । कोपनहेगनमा करिब ४० प्रतिशत यात्रा साइकलबाट हुन्छ र यो सम्भव छ भन्ने देखिइसकेको छ ।

साइकल चलाउनेहरूलाई परेको समस्या भनेको प्रदूषण र असुरक्षा हो । साइकल यात्रालाई सुरक्षित बनाउने हो भने धेरै बढी साइकल चलाउनेहरू सडकमा आउनेछन् । यसका लागि सडकमा छुट्टै लेन नै बन्दोबस्त गर्नुपर्छ । आर्थिक रूपमा पनि साइकल लेन बनाउन कम स्रोतले पुग्छ ।

साइकलको फाइदा भनेको वातावरणीय पक्ष त हो नै, स्वास्थ्यमा पनि सकारात्मक असर पर्छ । नेपालजस्ता मुलुकमा नसर्ने रोगहरूको अवस्था भयावह छ । मुटु, फोक्सोका रोगहरू बढेका छन् । साइक्लिङका लागि अनुकूल अवस्था भयो भने ती दुवै कुरा सम्बोधन हुन्छन् ।

अर्को कुरा, गाडी चढ्दा समाजसँग अन्तक्र्रिया नै हुँदैन । आफ्नै टोलका बासिन्दाबाट पनि टाढा भइन्छ । वर्गमा विभाजित हुन्छ समाज । एक किसिमले समाजसँग हिमचिम नै हुँदैन । हुनेखाने र गरिखानेबीच विभेद निम्त्याउँछ गाडीले । तर, साइकलले त्यो वर्ग विभेदलाई हटाउँछ । विभिन्न अध्ययनले जुन ठाउँमा साइकल र पैदल यात्रालाई प्रवद्र्धन गरिएको छ, ती बजार र गल्लीमा आर्थिक गतिविधि पनि बढेको देखाएको छ । युरोपका पुराना बस्तीहरू धेरै छन्, जहाँ साइकल र पैदलयात्रा मात्र गर्न पाइन्छ । स्टकहोममा गाम्लास्ताम, छिमेकमै गान्तोकको एमजी मार्ग, सिमलामा मल रोड छ ।

काठमाडौँमा यस्तो व्यवस्था नहुँदा भित्री क्षेत्रको अर्थतन्त्र खस्किँदै गएको छ । ठमेलमा पनि पहिलेजस्तो चमक छैन । नयाँ सडक र ठमेललाई पुन:जीवन दिने हो भने गाडीलाई प्रतिबन्ध लगाउनुपर्छ । सन् १९६९ को पहिलो गुरुयोजनामै काठमाडौँको भित्री भागमा गाडीलाई निषेध गरेर पैदल यात्रालाई प्रवद्र्धन गर्ने भनिएको थियो । तर, योजना अनुसार नीति बनाइएन ।

युरोपमा त साइक्लिङ संस्कृति नै बनेको छ । १५–२० वर्षअघिसम्म साइकललाई निरुत्साहित गर्ने नीति लिएको चीनले प्रदूषणको स्तर कहालीलाग्दो अवस्थामा पुग्न थालेपछि पुन: साइकल प्रवद्र्धन नीति लिएको छ । तर, यहाँ त सहरी सडक कस्तो हुनुपर्छ भन्ने खाकासमेत प्रस्ट छैन । सडक मापदण्ड बनेको छ तर सहरी सडकको मापदण्ड नै छैन । जबकि, राजमार्ग र सहरको सडकबीच आधारभूत भिन्नता हुन्छ भन्ने समेत हाम्रा नीति निर्माताहरूले विचारै गरेका छैनन् । सहरका सडकमा गाडी मात्र कुद्दैनन्, त्यहाँ त जीवन हुन्छ, संस्कृति हुन्छ, व्यापार हुन्छ । त्यसले नै सहरलाई जीवन्त बनाउँछ । मच्छिन्द्रनाथको रथ पनि त्यहीँ गुड्छ, बालबालिकाहरू पनि त्यहीँ खेल्छन् । त्यसैले सहरी सडकको मापदण्ड बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

धेरैले गाडी किन्न नसक्ने अहिलेको यथार्थ पनि हो । यात्रा गर्नुपर्ने दूरी पनि छोटो छ । पछिल्लो समय युवाहरूमा साइक्लिङप्रति आकर्षण बढ्दो छ । पोखरा, धरान, बुटवल, नेपालगन्जलगायत सहरपिच्छे साइकल क्लबहरू खुलेका छन् । नेपालका साइक्लिस्टहरूले विदेशमा समेत प्रतियोगिता जित्न थालेका छन् । अन्य खेलकुदका माध्यमबाट विश्वस्तरका खेलाडी जन्माउन गाह्रो भइरहेका बेला माउन्टेन बाइकले इज्जत राख्न सक्छ । यसबाट एकातिर मनोरञ्जनको माध्यम हुन सक्छ भने अर्कोतर्फ नेपाललाई साइक्लिङ गन्तव्यका रूपमा चिनाउन सकिन्छ । सामाजिक र आर्थिक रूपान्तरणका लागि साइकल उपयोगी साधन बन्न सक्छ । समाजलाई जोड्न, वातावरण जोगाउन, नागरिकलाई स्वस्थ राख्न र अर्थतन्त्रलाई चलायमान बनाउन पनि साइकललाई प्रवद्र्धन गर्नुपर्छ । 

(वातावरणविद् तुलाधरसँगको कुराकानीमा आधारित)

 

आवरण कथा» साथी साइकल

  •  

प्रकाशित: आश्विन ११, २०७४