६५५ मिसन डे ओरो

- नारायण ढकाल

त्यो पहाड होइन । पहाड भन्न त्यसको भू उचाइ पुग्दैन । थली पनि होइन । एक हिसाबले त्यो थली र ढिस्को बीचको ठाउँ हो । न पूरै थली, न पूरै ढिस्को । म त्यहाँ एउटा घरमा बस्थेँ । पूरा ठेगाना, ६५५ मिसन डे ओरो ड्राइभ, रेडिङ, क्यालिफोर्निया ९६००३ । 

 

सन् २०१६, सेप्टेम्बरको दोस्रो साता हामी त्यहाँ पुगेको थियौँ, म र मेरी पत्नी । हाम्रा कान्छा छोरा उमेश भर्खरै सान्फ्रान्सिस्को नजिक बे एरियाबाट त्यहाँ सरेका थिए । रेडिङमा गर्मी थियो, नेपालगन्ज सम्झाउने । गर्मी खप्न सक्छु म । समशीतोष्ण काठमाडौँको काँठमा जन्मेहुर्के पनि गर्मीसित म डराउँदिनँ । लामखुट्टेबाहेकको गर्मी मलाई मनपर्छ । जाडोचाहिँ मेरो शत्रु हो । जाडोले कडा एलर्जी दिन्छ मलाई । 

 

नयाँ ठाउँ त्यसै पनि रोमाञ्चकारी हुन्छ । महानगरपालिकाभित्रको आवासक्षेत्र भए पनि त्यो ठाउँ एउटा सानो गाउँजस्तै थियो । धेरैका घर एकतले भए पनि नयाँ घरचाहिँ दुईतले थिए । हाम्रो पनि दुईतले नै थियो । ६५५ नम्बरको घरमा छोरा उमेश, बुहारी करुणा, नातिनी सोफी, नाति सोनित, धरानका आशिक राई, जावलाखेलका इन्द्र नेपाली र हामी जोईपोइ थियौँ । सायद क्यालिफोर्निया सेन्ट्रल भ्यालीको उत्तरपश्चिमको त्यो सहरमा नेपाली मूलका मानिसको कुल संख्या त्यत्ति नै थियो । चार महिनाको बसाइमा मैले अरु नेपाली भेटिनँ । राई र नेपालीलाई महिनावारी तलबमा छोरा उमेशले आफूसँगै बे एरियाबाट लगेको थियो । उमेश कार र मिनी ट्रक भाडामा लगाउने कम्पनी बजेट र एभिसका दुइटा लोकेसनको कमिसन एजेन्ट कम म्यानेजर थियो । सन् २००७ मा आएको आर्थिक मन्दीपछि बजेट र एभिस एकापसमा गाभिएका थिए । 

 

पाँच वर्षकी नातिनी र १८ महिनाको नातिको हेरचाह मेरी पत्नीले गर्थिन् । मचाहिँ पत्नीको सहयोगी र अंगरक्षकजस्तो थिएँ । मेरो खास परिभाषित केही काम थिएन ।

 

टोलको पश्चिमतिर करिब तीन मिनेटको पैदल दूरीमा पहाडी बेगवान नदीझैँ चौबीसै घन्टा सुसाइरहने इन्टरइस्टेट–५ राजमार्ग छ । लामालामा ट्रक हेरेर र तिनको एकरस आवाज सुनेर म अभिभूत हुन्थेँ ।

मिसन डे ओरोबाट उत्तरतिर हेर्दा सधैँ मलाई सुन्दरीजलको सम्झना हुन्थ्यो । करिब पाँच किलोमिटर उत्तरतिर हरिया पहाडका अनेक तह सिरानीझैँ बसेका देखिन्थे । दुईतिरबाट भीमकाय अजिङ्गरझँै एकर्कालाई झम्टिन आएका ती डाँडाहरुको खोँच र सेतो हिमालको सानो चोक्टो मेरो घर मूलपानीबाट देखिने जुगल हिमालको शिरजस्तै लाग्थ्यो । माउन्ट सास्ता ४ हजार ३ सय २१ दशमलव ८ मिटर उचाइ । गर्मी याम भएकाले माउन्ट सास्ता हिउँले दरालेको होचो ढिस्कोजस्तो देखिएको थियो । त्यसको टुप्पोमा एक पित्को मात्र हिउँ थियो ।

 

घरनजिकै पश्चिमपट्टि फूलचोकीजस्तै अर्को पहाड थियो । त्यो पहाडको शृंखला पश्चिमोत्तर हुँदै माउन्ट सास्तासम्म फैलिएको थियो । सेन्ट्रल भ्यालीलाई घेरेको पूर्वतिरको पहाडचाहिँ निकै टाढा थियो । त्यो आकाशजस्तै नीलो देखिन्थ्यो ।

 

जेटल्यागको असरबाहेक केही दिनसम्म रेडिङमा मलाई अमेरिकाबोध भएन । मनमा आफ्नै गाउँ मूलपानीमै रहेको भ्रम भइरह्यो । तर, भ्रमको आयु चाँडै समाप्त भयो । म एक्लो रहेको अनुभूतिपश्चात् अतासिन थालेँ । सामाजिक सम्बन्धबाट चुँडिएको पीडाले सताउन थाल्यो ।

 

जब दिनहरु समयको राजमार्गबाट चिप्लिँदै गए, मेरा निम्ति रेडिङ सहरको बसाइ लामो एकान्तबासजस्तो लाग्न थाल्यो । मनोरम प्रकृति र मौसम मेरा लागि अनुकूल भए पनि आफ्नो मूलजरोबाट काटिएको थिएँ । मलाई माया–घृणा, तारिफ–गाली गर्नेहरु त्यहाँ थिएनन् । नेपालमा रहँदा समाजसँग बात मारिरहेको हुन्थेँ । समय र इतिहाससित बाझिरहेको हुन्थेँ । साहित्य र राजनीतिका ताता बहसमा भाग लिन्थेँ । पाप र धर्मका अन्तद्र्वन्द्वको बाढीमा बग्दै निकटका साथीहरुसँग सायंकालीन सांस्कृतिक उत्सवमा भाग लिन्थेँ । तर, यहाँ मेरा ती एडिक्सन छुटे । लाग्थ्यो, अचानक एउटा अम्मली नशाखोर नशालु औषधिबाट अलग्याइको कारण सिकिस्त बिरामी छ ।

 

म समय कटाउने केही उपाय खोज्न थालेँ । जस्तै : घरनजिकको सार्वजनिक पार्कमा जान सक्थेँ । डीभी चिट्ठे साहित्यकार साथीहरुलाई फोन गर्न सक्थेँ । आत्मीय साथी राजव यतै थियो । मदन पुरस्कार विजेता कृष्ण धरावासी यतै थिए । मलाई मन पर्ने नयाँ पुस्ताका कथाकार अनमोलमणि क्यानडामा यतैकतै थिए । वासस्थानभन्दा १० मिनेट पैदल दूरीमा रहेको सानो बजारतिर साँझमा यताउति हल्लेर घन्टौँ बिताउन सक्थेँ । त्यस्तै, नयाँ किताबसितको अन्तरंग संगत हुन सक्थ्यो । लाग्छ, स्तरीय किताब पढ्नु समय व्यवस्थापन र आत्मसन्तुष्टिको चरम अवस्था हो । मलाई लाग्दैन, यसभन्दा उत्तम बाटो संसारमा अर्को छ । लेखन–दुव्र्यसन त आफैँसँग छँदैछ । लेख्न थालेपछि समयको अस्तित्व ख्याल नै हुँदैन । उपायहरु धेरै थिए । तर....!

 

कहिलेकाहीँ स्थापित र पूर्वनियोजित सूत्रहरुले काम गर्दैनन् । अनगिन्ती सुगम सडकमा पनि हिँड्न मन लाग्दैन । र, वैकल्पिक बाटो खोज्न मन लाग्छ । साथीहरुसित टेलिफोने कुराकानीका सीमा थिए । मुख्य कुरा, उनीहरु फुर्सदमा हुनुपर्‍यो । पुँजीवादले नियन्त्रणमा लिएको यो अकाल उत्सवको दिक् र कालमा मलाई मात्र पायक पर्ने गरी उनीहरुको फुर्सद सहजै कहाँ मिल्नू ?

 

सुरुसुरुमा पार्कमा दैनिक दुईपटक जान थालेँ । एकपटक नातिलाई घुमाउन र अर्कोपटक नातिनी स्कुलबाट फर्केपछि उसलाई खेलाउन । बिदामा पार्कमा केटाकेटीसहित आएका वयस्कहरुको भीड हुन्छ । तर, भीडमा सबै एक्लाएक्लै देखिन्छन् । अलि धेर उमेरका मानिसहरु आफ्ना केटाकेटीलाई खेल्न लगाएर घन्टौँ फोनमा झुन्डिरहन्छन् । कोहीचाहिँ आत्महत्याको मुद्रामा फोनमा घोप्टिरहेका हुन्छन् । 

म चाहन्थेँ, कोही मसित कुरा गरोस् । एकर्कामा अनुभव बाँड्न सकौँ । तर, कस्तो विडम्बना ! कोही कसैलाई हेर्दैन । अरुका मुखमा हेरेर हाँस्न चाहन्छु । तर, कसैले मतिर ध्यान दिँदैनन् । त्यस्तो अवस्थाचाहिँ सधैँ रहेन ।

 

उपत्यकावरिपरिका पहाड हरियो रङले छोपिएका थिए । कपुर र पपलरका पातहरु अझै हरिया थिए । होचा डाँडाका घाँस खैरा भइसके पनि धूपी र देवदारका हरिया गाछीहरुले वातावरण रम्य बनाएका थिए । तर, मेरो मनमा त्यो रम्यताले ठाउँ लिन सकेन ।

 

अक्टोबर महिनाको दोस्रो साता चल्दै थियो । सधैँझैँ बिहानको खाजा खाएर म नातिलाई स्ट्रोलरमा गुडाउँदै हाइल्यान्ड पार्कतिर लागेँ । पत्नी मलाई पछ्याउँदै थिइन् । पार्कमा केही चक्कर लगाइरहन उनलाई मन पथ्र्यो । 

 

पार्कमा शनिबारे भीड थियो । बच्चाले खेल्ने चिप्लेटी र पिङ कुनै खाली थिएन । नातिलाई बास्केटबल कोर्टमा कुद्न छोडेँ । ऊ मैले चाहेजस्तो के गथ्र्यो ? ऊ लडखडाउँदै हुत्तिँदै काठको ससाना टुक्रा राखेर बनाएको ठाउँतिर लाग्यो । यो ठाउँमा केटाकेटी लड्दा चोटपटक लाग्दैन । ऊ अर्को बच्चानजिक पुग्यो, जो प्लास्टिकको हलुका भकुन्डो खेलिरहेको थियो । नातिले केटालाई झम्टेर भकुन्डो खोस्यो । त्यो सानो केटो रुन थाल्यो । नातिले लिएको भकुन्डो तुरुन्तै थुतेँ र केटालाई दिएँ । तापनि, केटो रुन छोडेन, नाति पनि रुन थाल्यो । त्यसैबेला केटाकी आमा आइपुगिन् । “माफ गर्नूस् है,” मैले लजाउँदै उनलाई भनेँ । “केही छैन । केही छैन । केटाकेटी यस्तै हुन्,” उनले भनिन् ।

 

रोएको नाति बोकेर यताउति हल्लिन थालेँ । एकछिनमा नाति चुप भयो । त्यसपछि उसलाई मेरी पत्नीले पिङतिर लगिन् ।

 

“तपार्इंहरु भारतीय हो ?” प्लास्टिकको भकुन्डोवाला सानो केटाकी आमाले अंग्रेजीमा सोधिन् । “होइन, हामीहरु नेपाली हौँ ।”

 

“नेपाली ? तर, तपाईं भारतीयजस्तै पो हुनुहुन्छ ।”

 

“हामी चीन र भारतको माझमा छौँ । कोही भारतीयजस्ता छौँ र कोही चिनियाँजस्ता । अथवा, हामीजस्तै भारतीय र चिनियाँ पनि छन् ।”

“ए त्यस्तो हो ?”

 

एकछिनसम्म हामीले एकर्कालाई स्पष्टीकरण दिइरह्यौँ । केटीले आफ्नो नाम भिक्टोरिया पिट भनेर बताइन् । खैरी भए पनि विशेष गरी काला आँखा निकै राम्रा थिए । उनी तीन छोरा र प्रौढ बाबुसँग त्यहाँ आएकी थिइन् । कुरा गरिरहँदा उनको बाबु हामीनजिकै आए । उनको बाबु बुढ्यौलीतिर ढल्किसकेर पनि निकै सुन्दर देखिन्थे । “उहाँ नेपालबाट आउनुभएको । उहाँका छोरा र बुहारी यहीँ काम गर्छन्,” उनले आफ्नो बाबुलाई बताइन् । उनी निकै उत्साहित देखिन्थिन् । “नेपाल मैले सुनेको छु । नेपालमा कहाँ पर्छ नि घर ?”

“काठमाडौँ ।”

 

“ए, त्यो त प्रख्यात ठाउँ हो । बब सिगरको गीत काठमाडौँ सुन्ने धेरैलाई त्यो ठाउँबारे थाहा हुन्छ । त्यो निकै पपुलर गीत हो । मेरो जमानामा धेरै मानिस सिगरका फ्यान थिए ।”

 

“काठमाडौँको विषयमा भएकाले हाम्रोमा पनि अंग्रेजी गीत सुन्ने श्रोताहरुमाझ त्यो पपुलर छ । तर, के त्यो गीतलाई अमेरिकनहरुले पनि मन पराउँछन् ?”

 

“त्यही त भन्दैछु । उसको कन्सर्टमा त्यो गीत सुन्दा हामी धेरैले कम्मरमाथि लगाएको लुगा गुमाएका थियौँ,” मन्दमन्द हाँस्दै उनले भनिन् ।

“लुगा गुमाएको ?”

 

“उन्माद र आनन्दमा लुगा फुकालेर हुर्‍याएको । तर, गाउँदा ऊ धेरै चिच्याएकाले त्यो गीत मन पर्दैन होला भन्ठानेको ? नेपाली गीत मैले सुनेको छु । ती अलि मधुर र सुस्त हुन्छन् ।”

 

“नेपाली गीत सुन्ने अवसर कसरी पाउनुभयो ?”

“मेरो एउटा मिल्ने साथी काठमाडौँमा काम गथ्र्यो । उसले ल्याएको थियो ।”

“ऊ कहाँ काम गथ्र्यो ? अमेरिकी दूतावासमा ?”

“होइन, पिसकोर स्वयंसेवकमा ।”

 

भिक्टोरियाको बाबुले आफ्नो नाम डगलस पिट बताए । मास्टरीपछि अवकाशको जीवन बाँचिरहेका उनी लगभग मेरै उमेरका लाग्थे । “म पनि कुनै समय स्कुले शिक्षक थिएँ,” मैले भनेँ ।

“स्कुलमा पढाउनु ज्यादै पट्यारलाग्दो काम हो । तर, मन नपरे पनि मैले त्यसमा बिताएँ ।” नाक खुम्च्याउँदै उनले भने ।

 

“तर, म त्यसबेला सन्तुष्ट थिएँ । विद्यार्थीहरुमाझ म धेरै लोकप्रिय थिएँ ।”

“कति वर्ष काम गर्नुभयो ?”

“करिब सात वर्ष ।”

 

“त्यो त निकै छोटो अवधि हो । मैले जवानीका सबै वर्ष बच्चाहरुको संगत गरेँ । सात वर्षको शिक्षणपछिचाहिँ तपाईंले अरु के के गर्नुभयो ?”

 

“केही समय पत्रकारिता गरेँ । त्यसपछि राजनीति गरेँ । राजनीतिपछि फेरि पत्रकारितामा फर्किएँ । अहिले म तपाईंजस्तै छु, नाति–नातिनाको गोठालो मात्र,” म हाँसेँ ।

 

“तपाईं भाग्यमानी हुनुहुन्छ । जन्मेको ठाउँभन्दा यति टाढा आउन सक्नुभयो । तर, म अझै अमेरिकाबाहिर गएको छैन,” उनी गम्भीर भए ।

 

“तपाईंले सोचेजस्तो सुखी म छैन । यहाँ एक्लो छुजस्तो लागिरहन्छ । परिवारमै भए पनि के नपुगे नपुगेजस्तो भइरहेको छ । तर, आज म धेरै खुसी छु । यो सहरमा आएको यतिका दिनपछि आज पहिलोपटक कुनै अमेरिकनसँग यति आत्मीय कुरा गर्दैछु । यसका लागि तपाईं र विशेष गरी तपाईंकी छोरी भिक्टोरियालाई धेरै धन्यवाद !”

 

“हाम्रो फेरिफेरि पनि भेट हुन सक्छ । म दिनभरि फुर्सदमै रहन्छु । तपाईंलाई पनि फुर्सद हुँदा वेस्ट ब्राउनिङसम्म आउनूस् । त्यहाँ स्टारबक्स कफीसप छ । म साँझमा त्यहाँ पुग्छु । मेरा अरु साथीहरुसँग पनि चिनापर्ची हुनेछ । हामी त्यहाँ कफी खाएर कुराकानी गर्छौं । कुनैकुनै साँझ त्यहाँ वाइन र बियर पार्टी पनि गर्छौं ।”

 

त्यो दिन अरु धेरै कुरा भए । अमेरिकी राष्ट्रपतिको आसन्न चुनाव, त्यहाँको स्कुले शिक्षा र रेडिङको विषम हावापानी आदि इत्यादि । डगलस र भिक्टोरियसितको त्यो भेट र कुराकानीले मभित्र थुप्रिँदै गएको एकान्तको पहाडलाई भत्काएको थियो । म खुसी थिएँ ।

 

 म त्यहाँ पुग्दा साँझ ढल्किँदै थियो । अझै कफीसप सुनसान थियो । त्यहाँ ग्राहक भन्नु म मात्र थिएँ । पसलका दुई जना कर्मचारी काउन्टरसँगै रहेको एस्प्रेस्सो कफी मेसिनको बगलमा उभिएका थिए । काउन्टरको देब्रेपट्टि चारवटा टेबुल र १६ वटा मेच राखेको सानो कक्ष थियो । काउन्टरपछाडि र्‍याकमा स्न्याक्स र अन्य खानेकुराका प्याकेटहरु राखिएका थिए । मैले सानो एक कप मिल्क कफी भनेँ र वालेटबाट १० डलरको नोट झिकेर कम्प्युटरअगाडि उभिएको होचो काँटको तर चाक्लो शरीर भएको बिक्रेतालाई दिएँ । छाँटकाँट हेर्दा लाग्थ्यो, उनी स्पेनिस मूलका हुन् । 

 

उनले सात डलर फिर्ता गर्दै बिल दिए । उनले बिलको अर्को हिस्सा अटोमेटेड एस्प्रेसो मेसिनअगाडिको केटोलाई दिए । बिक्रेतालाई सोधेँ, “मिस्टर पिट यहाँ आउनुहुन्छ, होइन ?”

 

“को पिट ? जर्ज कि डगलस ? 

म यहाँ प्राय: आइरहने यी दुई 

भद्रजनहरुलाई जान्दछु ।”

“उनले आफूलाई डगलस भन्थे सायद ।”

“उनी ७ बजेतिर आउलान् ।”

 

भित्तामा टाँसिएको क्वार्ज डिजिटल घडीमा पौने ७ बजिसकेको थियो । मैले कफीको गिलास बोकेँ र नजिकैको मेचमा आनन्दसित बसेँ ।

 

७ बजेसम्ममा मैले कफी रित्याइसकेको थिएँ । अब म पिट आउँछ कि भनेर आँखा तन्काउँदै कफीसपको ढोकातिर फर्किएँ ।

 

मेरो निम्ति प्रतीक्षा भनेको एक प्रकारको सकस हो । जब कसैलाई कुर्नुपर्ने हुन्छ, म नर्भस हुन थाल्छु । प्रतीक्षित मानिस नआएसम्म मेरो अनुहारको रङ उडेको पुरानो चित्रजस्तो हुन्छ । 

 

त्यस साँझ पिट आएनन् । म निराश भएर घर फर्किएँ । भोलिपल्टदेखि लगातार म कफीसपमा धाइरहेँ, हाइल्यान्ड पार्कमा भेटिएका ती अमेरिकी भलाद्मीसँग फेरि भेटिने आशामा । तर, उनी आएनन् । बरु, त्यस अवधिमा अफ्रिकी मुलुक इरिट्रिया घर भएका डेभिड अलाजारसँग मेरो चिनापर्ची भयो । उनी अफिस सकेर त्यहाँ आएका थिए र अर्को ठाउँमा काम गर्न गएकी पत्नीलाई कुरिरहेका थिए ।

 

अलाजार दुब्लो काँटको कालो वर्णको युवक थिए । उनी कम्प्युटर इन्जिनियर रहेछन् । उनका मातापिता र दाजुहरु पनि शरणार्थी भएर यहाँ आएका रहेछन् ।

 

“हाम्रो देशको राष्ट्रपति इसाइक अफ्वेर्की एउटा बदनाम तानाशाह हो । उसको दमनचक्रले १० लाखभन्दा बढी इरिट्रियाइहरु निर्वासनमा छन् । उसले १० हजारभन्दा बढी आफ्ना विरोधीलाई जेलमा थुनेको छ,” उनले भने ।

 

“कुनै एक समय अफ्वेर्की क्रान्तिकारी माक्र्सवादी थियो होइन र ?”

 

“पहिले त माक्र्सवादी मात्र होइन, माओवादी नै थियो नि ! अचेल आफ्नो हातबाट सत्ता नगुमोस् भनेर आफूलाई इरिट्रियाको नम्बरी राष्ट्रवादी भन्छ । ऊ राष्ट्रवादी बनेर २२ वर्षदेखि सत्तामा छ । अनि, हामीचाहिँ अराष्ट्रवादी भएर देशविहीन शरणार्थी बनेका छौँ ।”

 

कुराकानीका क्रममा थाहा भयो, एलाजार पनि मेरै टोलको सामुन्ने बस्दा रहेछन् । केही दिनपछि जब बिहानबिहान छोराछोरीलाई स्कुल बस चढाउन हाइल्यान्ड पार्कअगाडि आउन थाले, उनीसित भेट हुन थाल्यो । म पनि सधैँ बिहान ठीक ७ बजे नातिनीलाई बस चढाउन त्यहाँ पुग्थेँ ।

 

उता दुई–तीन साता बित्दा पनि डगलस पिटसित भेट नभएपछि एक साँझ मैले स्पेनिस मूलका कफीवालालाई उनको विषयमा सोधेँ, “के उनी बसाइँ सरेर अन्त गएका त होइनन् ? खोइ त कहिल्यै भेटिएनन् ?”

 

“ए ऊ ? तीन सातादेखि जेलमा पो छ भन्ने अखबारमा पढेको छु,” कफीवालाले भने ।

“जेलमा ! के अपराधमा ?” म आश्चर्यचकित भएँ ।

 

“गाँजा लिएर पोर्टल्यान्डतिर गइरहेका बेला पुलिसले कार र एक सय पाउन्ड गाँजासहित उसलाई समातेछ । अहिले मुद्दा चल्दैछ ।”

 

उनको कुराले म अग्लो छानोबाट झरेको मनोदशामा पुगेँ ।

 

“पिट गाँजा ओसारपसार गर्दो रहेछ ? ऊ आफूलाई रिटायर्ड स्कुल शिक्षक हुँ भन्थ्यो त  ?” कालोनीलो अनुहार बनाउँदै मैले सोधेँ ।

 

“बाहिरबाट हेर्दा भद्र र असल देखिन्थ्यो । तर, मानिसको जातलाई बुझ्न गाह्रो छ ।” त्यसपछि उनी त्यो प्रसंग त्यहीँ अन्त्य होस् भनेर कम्प्युटरमा घोप्टिए ।

 

त्यसपछिका अरु केही दिन म कफीसपमा गइरहेँ । तर, अब म त्यहाँ डगलस पिटलाई होइन, केही समयअघि त्यहाँ चिनापर्ची भएका नयाँ मानिससँग भेट्न र उनीहरुसँग कुरा गर्न जान्थेँ । यही क्रममा रेडिङको चर्चित धार्मिक संस्था बेथेल चर्चमा पढ्न आएका फिजीको नागरिक जोह्न फिनाउ मेरो अर्को साथी बन्यो । ऊ एकदमै सालीन र हँसिलो थियो । उसको अनुहारको रङ पहाडे नेपालीझैँ गहुँगोरो थियो । ऊ सन् २०१३ को क्रिसमसअघि फिजीबाट यता आएको थियो र रेडिङ सहरको बासिन्दा बन्न पुगेको थियो ।

 

“मानिस र चराहरुको जीवनमा धेरै समानता छ । मौसम अनुसार चराहरु आफ्नो बासस्थान बदल्न उत्तरबाट दक्षिण वा दक्षिणबाट उत्तरतिर यात्रा गर्छन् । हामी पनि परिस्थिति नामको उस्तै मौसम अनुसार एक ठाउँबाट अर्को ठाउँमा पुग्छौँ,” एक साँझ उसले भन्यो ।

 

म अभिभूत बनेर उसको ख्याउटे अनुहार हेरिरहेँ ।

 

“आखिर देश भन्ने कुरा पनि एउटा सुखद भ्रम रहेछ । अहिले म कति फिजियन हुँ र कति अमेरिकन हुँ, आफैँ छुट्याउन नसक्ने अवस्थामा पुगेको छु,” फेरि अर्को साँझ उसले भन्यो । 

 

ऊ हरेकपटक केही न केही मार्मिक कुरा भनिरहन्थ्यो । ऊ कहिले दार्शनिक र कहिले कविजस्तो भावुक हुन्थ्यो । फेरि कहिले ऊ सामान्य बालकजस्तो बन्थ्यो । 

 

त्यसपछि ६५५ मिसन डे ओरोको मेरो बसाइ सन्तोषजनक हुन थालेको थियो । विशेष गरी एलाजार र फिनाउसितको अन्तरंग संगतले मनभित्रको एकान्त पूरै गायब भएको थियो । 

प्रकाशित: आश्विन ११, २०७४