महादेवसँग वार्तालाप

- भवसागर घिमिरे

वाह ! काठमाडौँको बिहान, पूरै नेपाल बन्दजस्तो लाग्दो रै’छ । हावा पनि चिसो चलेको, धूलो पनि कम उडेको । गाडी पनि कम गुडेको । मज्जा आयो । अरु दिनदिनै निस्कने भएर ‘मर्निङ वाक’ गर्छन् । आफू महिना दिनमा निस्कने भएपछि हिँडेर मात्र कहाँ भो र ? दौडनैपर्छ भन्ने भो, ‘मर्निङ रन’ । कुलेलम ठोकियो, स्याँस्याँ र फ्याँफ्याँ गर्दै । 

वाग्मतीको किनारैकिनार । जोसमा दौडदा एक जनासँग सोझै ठोक्किएपछि मात्र मैले जुत्ताको ब्रेक लगाएँ ।

‘महादेव !’ 

फर्केर हेरेपछि मेरो त होसले ठाउँ छोड्यो । स्वस्थानीमा पढेकै हो, हिन्दी सिरियलमा त धेरै देखेको हो, यीचाहिँ कहाँबाट आए त हउ ?

“हजुर माफ पाउँm,” मैले त आँखै देखिनँ । 

महादेवले नम्र भएर गगल्स खोल्दै भने, “सरी, मैले हो आँखा नदेखेको, निदाएछु हिँड्दा हिँड्दै ।”

म त हेरेको हेर्‍यै भएँ । महादेव हैन भनम् भने चालढाल उस्तै छन् । आँखा राताराता छन् । निधारमा काटेको खत छ । माला पनि सर्पकै छ । तर, प्लास्टिकको । छाला भने बाघको छ । तर, कपडामा पेन्टिङ गरेको । त्रिशूलमा टुप्पो फलामको छ, डन्डा काठको । जीउमा खरानी होइन, क्रिम घसेर चिल्लो पारेका छन् । कमन्डलु भिरेका उनको आधा ज्यान भने नांगै छ । नेपाली कम्पनीकै जुत्ता लगाएका । साँढेचाहिँ खोइ त ? त्यसैमाथि चढ्छन् भन्थे । पत्याउनै गाह्रो भो । तपार्इं महादेव नै हो कि ? कतै प्रहसनमा जान लाग्नुभा ?

उनले कानमा खुसुक्क भने, “म महादेवै हो, कसैलाई नभन्नू ।”

“अनि, कता त एकाबिहानै लखरलखर, पशुपतिमा नसुतेर ?,” जे त पर्ला मैले पनि फ्याट्टै सोधेँ ।

“मुला भक्तेहरु एकाबिहानै घन्टी बजाएर सुत्न दिँदैनन्,” महादेव जंगिए, “हिजो बाहुबली हेरेर सुत्दा बिहानको २ बज्यो । निद्रै पुग्या छैन, यसो सुत्ने ठाउँ खोज्दै हिँडेको ।”

प्रभु पनि बलिउडको फ्यान रै’छन् । राती सुत्न नपाएर हो वा दुई चार सर्को तानेर हो, आँखा त पिलित्तै पाकेका आलुबखडाजस्ता । मैले भनेँ, “प्रभु सुत्न त मेरैमा गए पनि हुन्छ, फ्ल्याटमा एक्लै छु । सातफुटे पलङ छ । तर, हजुर महादेवै हो भन्ने मलाई विश्वास दिलाइदिनु पर्‍यो ।”

महादेवले मलाई अचम्म मान्दै हेरे ।

“यो साँपचाहिँ किन प्लास्टिकको हो ?,” मैले सोधिहालेँ ।

“भट्टहरु डराएर ओरिजिनल राख्नै दिएनन्,” महादेवले दु:ख पोखे, “चढाएको प्रसाद क्वाप्प मुखाँ हाल्छन्, पहिलाको साँपले झन्डै टोक्देको ।” होलाझैँ गरी मुन्टो हल्लाएपछि मैले अर्को प्रश्न तेर्साइहालेँ, “अनि, छालाचाहिँ बाघको थियो नि !”

मान्छे पाए त बेच्ने नेपालमा बाघको छाला पाएपछि के बाँकी राख्थे ? गाँजा खाएर सुत्या बेलामा कुन सभासदले थुतेर लग्यो रे ! चन्दा दिएका भरमा दलालको भर्तीकेन्द्र बनेका राजनीतिक दलहरुमा बाघको छाला, गैँडाको खाग मात्र होइन, सुन तस्कर पनि अटेका छन् । नाम मात्रैको अस्पताल खोलेर डाक्टरको सर्टिफिकेट बेच्नेसम्मका मेडिकल माफिया घुसेका छन् । कालो धन चलाउनेको ठूलै चहलपहल छ । जग्गा किन्ने नाममा अर्बौंको घोटाला गर्नेहरु दलकै संरक्षणमा घायल निगममा मस्ती मार्न सक्छन् भने जाबो बाघको छाला के बाँकी राख्थे ? थुते होला भन्ने भो । बिचरा महादेवलाई पर्नु पनि ठूलै हैरानी पर्‍या रै’छ ।

“खरानीको साटो ज्यानमा क्रिम सुरु भएछ त ?” मैले सोध्न खोज्दा निद्रामा झुल्न खोजेका उनले उत्तरअघि लामो भूमिका बाँधे । दिनहुँ साउदी–कतारबाट रेमिट्यान्ससँगै गरिबको लास आउँछ । दंगा–जुलुस भइरहने नेपालमा कहिले नेताको चेपुवामा परेर पुलिस भुटिन्छन् । कहिले गुन्डाको चेपुवामा परेर सामान्य मान्छे चुटिन्छन् । औषधि खर्च बेहोर्न नसकेपछि कोही अस्पतालको छतबाट हाम फाल्छन् । रोग, भोक र शोकका कारण नचाहँदा–नचाहँदै धेरैले ज्यान फाल्छन् । मान्छे भकाभक मर्न थालेपछि घाटमा पनि पालो कुर्नैपर्ने भो । धेरै नै भीड भएपछि घाटेले आधा जल्दा–नजल्दै लास वाग्मतीमा धकेल्दिन्छन् रे ! मान्छे राम्ररी नपोलिएको त्यो दाउराबाट राम्ररी नबनेको खरानी ल्याएर दिनदिनै महादेवलाई घस्न दिँदा उनको जीउमा एलर्जी भएछ । त्यसपछि खरानी लगाउन छाडेर उनले एलर्जीको क्रिम लगाउन थालेछन् । 

मेरो मन पगाल्न उनले आफ्नो बिजोग देखाउँदै निधारको खत पनि देखाए, ‘एउटो भक्तले सिक्काले हानेर निधारमै घाउ बनाइदियो ।’ 

“बाफ रे ! महादेवलाई यस्तो दशा ?”

 उनलाई देखेर साह्रै दया लाग्यो । उनको डमरु पनि पशुपतिको बाँदरले लिएर भागेछ । त्रिशूलको डन्डा बाँदर धपाउन त्यहाँका कर्मचारीले लगेछन् । त्यसैले श्लेषमान्तक वनबाट एउटा रुखको काण्ड काटेर त्रिशूलमा घुसारेछन् । हल्ला धेरै हुन थालेपछि दर्शन गर्न आउने एक भक्तको जुत्ता लगाएर सुत्ने कोठा खोज्न हिँडेका रहेछन् । महादेव त हुन्जस्तै लाग्ने तर साँढे, पार्वतीको कुरा सोध्नै बाँकी थियो । मैले सोध्नुअघि उनी नै बाठो भए । भनिहाले, “साँढे कहाँ गयो भनौला ? अस्ति एउटा गाईको पछि लागेर गएको फर्केको छैन । भुइँचालोपछि सिन्धुपाल्चोक राहत वितरण गर्न गएका बेलामा राम्री देखेर पार्वतीलाई को मूर्खले मुम्बई पुर्‍याएछ । इन्टरपोलमा पोल लगाको अझै पत्ता लागेको छैन ।”

महादेवले एकै सासमा दुवै उत्तर च्याट्ट पारे । देवाधिदेव महादेवको श्रीमती पनि भारत पुर्‍याएर बेच्न सक्ने चेलीबेटी बेच्ने नेपाली दलाललाई त मान्नैपर्छ । अनि, प्रभुले तेस्रो आँखा खोलेर भष्म पारिदिए हुन्थ्यो नि तिनेरुलाई, किन नखोलिबक्स्या त ? उनले भने, “मान्छे पोलेको धूवाँ अनि काठमाडाँैको धूलोले गर्दा चिप्रा धेरै निस्केर तेस्रो आँखा ट्याप्पै पारेछ । तिलगंगाका डाक्टरले झोल औषधि लेख्दिएका छन् ।”

ओहो ! महादेव आफँै समस्यामा छन् । यिनलाई लिएर डेरामा जाउँ भने म आफैँ समस्यामा पर्छु कि भन्ने पनि भो । काठमाडौँमा कोठा खोज्दै आएका मान्छेले घर लुटेर भागेका घटना धेरै छन् । किताब बेच्न आएको भन्दै घर पसेर पूरै घर बेच्देका केस पनि हनुमानढोकामा दर्ता छन् । अपराधी छुटाउन राजनीतिक दबाब दिने हनुमानहरुले गर्दा सर्वोच्च अदालतको पक्राउ आदेशपछि पनि केही कसुरदारहरु खुलेआम बरालिँदै छन् । केही जेलमा कोचिनुपर्नेहरु भने सर्वोच्चकै आदेश पाएर फूलमाला लगाएर खुलेआम छन् । यस्तो परिस्थितिमा महादेवलाई सुताउन घर ल्याएँ भन्दा मलाई पहिला त छिमेकीले मूर्ख भन्लान् भन्ने डर भो । त्यसमाथि आफूले काठमाडौँमा जोडेको एउटो पलंग र ग्यासको चुल्हो पनि बाँकी नरहला कि भन्ने संशय पनि । “प्रभु अब एउटा प्रश्न है,” मैले उनको शक्तिको अन्तिम परीक्षा लिने विचार गर्दै थिएँ, उनी जंगी हाले, “साला, मेरो सुत्ने टाइम बित्न लागिसक्यो, तेरो प्रश्न मात्र सुनेर बस्न आको हो म ?” 

“नक्कली हो कि सक्कली हो नबुझी त्यसै घर कसरी लैजाउँm ?” मैले पनि आफ्नो समस्या अनुहारमा देखाएँ । मेरो कुराले दिक्क भएका उनी तीनकुनेको पुलमुनि थुचुक्कै बसेर आँखा चिम्ले । म पनि असमन्जसमा परेँ । उनले ध्यान दृष्टिले विचार गर्न थालेछन् । म उनको निधार केलाउन थालेँ । एकैछिनमा उनी एक्कासि जुरुक्क उठे अनि बानेश्वर चोकतिर जान थाले ।

“प्रभु कता ?” महादेव फुत्कन लागे भनेर म डराउन थालेँ ।

“संसद् भवनमा गएर सुत्छु,” उनले रिसाउँदै भने, “त्यहाँ दिनभर सप्पै मान्छे सुत्छन्, मलाई हल्ला हुँदैन ।” 

प्रकाशित: आश्विन ११, २०७४