रहस्यको पोको

- चित्रबहादुर चौधरी

बाँसका झ्याङमा बास बसेका सारौँ चराका बथानले पखेटा फडफडाउँदै–चिर्बिराउँदै बिहानीको जनाउ दिन्छन् । पूर्वी क्षितिजमा पोखिने सूर्यको लालिमासँगै रुखका डालीमा बसेर आङ तन्काउँछन् । र, लाग्छन्– आफ्नो नियमित दैनिकीमा । चारो खोज्छन्, टिप्छन्, खान्छन् र स्वच्छन्द आकाशमा विचरण गर्छन् । दिनभरको थकाइ मेट्न साँझ फेरि त्यही झ्याङमा फर्किन्छन् । यी सारौँको दैनिकीभन्दा कत्ति फरक छैन, मेरो दैनिकी पनि । बिहान उठ्यो । नित्यकर्म गर्‍यो । एकछिन यताउता टहलियो । यति गर्दा–नगर्दै खाना खाने समय भइसक्छ । पिठ्यूँमा झोला भि‍र्‍यो । साइकलमा लागेको धूलो पुछ्यो । र, मुल्लाह मस्जिदका लागि निस्केजस्तै निस्कियो, ‘कपुरी क’ पढाउन ।

टीकापुर घर भएर टीकापुरबाहिर पढाउन जाने शिक्षकहरु धेरै थिए । १० जना ‘टिचर्स स्टाफ’ रहेको पथरैयाको श्री राष्ट्रिय निम्न माविमा पढाउने पाँच जना त हामी एकैतिरबाट जाने नै थियौँ । पूर्वसल्लाह त हुँदैनथ्यो । तापनि, यदाकदा सँगसँगै हुन पुग्थ्यौँ । पाँचै जनाको भेट हुन्थ्यो, दुर्गौली र टीकापुरको सीमामा रहेको चुंगी ढाँटनिर । टिरिङ... टिरिङ... साइकलको घन्टी बजाउँदै गाडीले उडाएको धूलोबाट जोगिन हातले नाकमुख छोप्दै भगतपुर–दुर्गौली हुँदै तोरैयापुर पुग्थ्यौँ । तोरैयापुर साइकल स्टप थियो हाम्रो । काम–बेकाम त्यहाँ पुग्नेबित्तिकै आफैँ ब्रेक लाग्थ्यो साइकलको । हामीले विश्राम लिँदा छोटो विश्राम पाउँथ्यो हाम्रो वसन्तीले पनि । हामी साइकललाई वसन्ती भन्थ्यौँ ।

साथीहरु पानी या यस्तै अरु केही खान्थे । जगत सर चुरोटको धूवाँले मुख धुपाउँथे । म भने सुर्ती माडेर लुँड्याउँथेँ । त्यसपछि पुन: हाम्रो यात्रा सुरु हुन्थ्यो । अगाडि चौराहा पुग्दा अलिकबेर अलमलिन्थ्यौँ, पथरैया भएर जाने कि धर्मापुर भनेर । बहुमतकै जित हुन्थ्यो । धेरै साथीहरुको मूलघर पथरैया भएकाले प्राय: त्यही बाटो भएर विद्यालय गइन्थ्यो । तर, एक्लै हुँदा मेरो रोजाइमा धर्मापुरको बाटो परिरहन्थ्यो । 

धर्मापुर भएर हिँड्नुका अनेक कारण थिए । विद्यार्थी जीवनका धेरै लँगौटिया यारहरु त्यहीँकै थिए । ती साथीहरु आफ्नो गाउँमै बस्थे । उनीहरुसँग नियमित भेटघाट हुन्थ्यो । हिँड्दा हिँड्दै राम...राम... भनेर हात मिलाउँदा बेग्लै आनन्दानुभूति हुन्थ्यो । विद्यालय जाँदा अलिक हतार नै हुन्थ्यो । घर फर्कंदाचाहिँ त्यहीँ समय बिताउँथ्यौँ, साथीहरुसँग ।

रोल्पा–रुकुमबाट सल्किएको माओवादी ‘जनयुद्ध’को राप बिस्तारै कैलालीका दूरदराजका गाउँबस्ती पनि अनुभूत हुन थाल्यो । गाउँमा नौला मान्छे देखिन थालेका थिए । एकदिन नौला मान्छेले भट्टीमा झुम्ने जँड्याहाहरुलाई रक्सीको जर्किन खन्याएर नुहाइदिएको घटना सुनाए, भागीरामजीले । काम नपाएर जुवाको खालमा जम्ने जुवाडेहरुलाई तासका ५२ पत्ता एक–एक गरेर चपाउँदै निल्न लगाएका किस्सा पनि कम्ता रोचक थिएनन् । 

‘जनयुद्ध’ले समाजमा पारेको सकारात्मक–नकारात्मक प्रभावको अध्ययन मेरो रुचिको विषय थियो । तत्कालीन माओवादी निकट मानिने जनआह्वान साप्ताहिकका लागि म समाचार सुँघिरहेको हुन्थेँ । गाउँमा भेटिने माओवादी कार्यकर्ता र भागीरामजस्ता साथीले समाचारको सुराक दिने गर्थे । त्यसैले पनि मेरा गोडा धर्मापुरतिर आफैँ घिसारिन्थे । 

***

गाउँमा नौला मान्छे र तिनको सक्रियता बढ्नु सरकारी सुरक्षा फौजलाई गाउँ प्रवेशको निम्तोपत्र पठाउनु थियो । मदिरास्नान गराएको भोलिपल्टदेखि कोही सादा पोसाकमा त कोही बर्दीमा सलहको बथानझैँ हुलका हुल सुरक्षा फौज गाउँ पस्न थाले । खानतलासीका नाममा कतिका डेहरी (अन्न भण्डार गर्ने माटो र परालबाट निर्मित भाँडो) फोरिए, कतिका आँगन र गोठ खनिए । शंकामै गिरफ्तारीमा पर्नेहरुको संख्या पनि बढ्न थाल्यो । 

एकाएक गाउँको दैनिकी फेरियो । मानिसका क्रियाकलाप फेरिए । चौराहा, चिया पसल र भट्टीमा देखिने मान्छेको झुण्ड अलप भयो । उन्मुक्त हाँसो साउतीमा बदलियो । कुनै बहानामा हुने भागीरामजीसँगका भेटघाटको त्यो क्रम पातलिँदै गयो । भेट भइहाले पनि थोरै मात्र कुराकानी हुन्थ्यो ।

***

भागीराम अर्थात् दुर्गौली–५, धर्मापुरका स्थायी बासिन्दा, भागीराम चौधरी । उही जमानामा आईए गरेका । चाहेको भए नोकरी पाउन कुनै समस्या थिएन । टीकापुर नगरपालिकासँगै जोडिएको पुरानो खाले पक्की घर थियो । व्यापार गर्न चाहेमा त्यहीँबाट गर्न सक्थे । आमा–बाबाका एक्ला छोरा । प्रशस्त जग्गा–जमिन । काम गर्न घरमा कमैया थिए । तर, खोइ किन, उनले गाउँको आफ्नै घरमा सानो खुद्रा व्यापार रोजे ? बुझिनसक्नु थियो । म अहिले पनि ठान्छु, उनले समय काट्न मात्र त्यो व्यापार गरेका थिए, गरिरहेका छन् । तर, यसबारेमा न मैले कहिल्यै खोतलेँ, न उनले नै कहिल्यै केही बताए । 

विद्यालय जाँदा–आउँदा बाटोमै पर्ने उनको घर दर्के पानी पर्दा होस् कि हुरीबतास चल्दा ओत लाग्ने ठाउँ थियो, हाम्रो । उनको पसलमा सुर्ती किन्न जाँदा भएको परिचय प्रगाढ हुँदै गयो । गाह्रो–साह्रो पर्दा सहयोग गर्न कहिल्यै कन्जुस्याइँ गरेनन् । उनी साह्रै मितव्ययी थिए । घर–व्यवहारदेखि बोलीचालीमा पनि । उनका कतिपय संवाद त हिन्दी सिनेजगत्का हास्य कलाकार कादर खानका जस्ता बहुअर्थी पनि हुन्थे । 

पसलमा आउने ग्राहकसँग गरिने व्यवहार झनै अचम्मलाग्दो हुन्थ्यो । यतिसम्म कि कहिलेकाहीँ पसलमा भएको सामान छैन भनेर कसैलाई फिर्ता पनि गरिदिन्थे । ‘ऊ.. त्यहाँ छ त साहूजी’ भनेर कसैले देखाउन खोजे ‘मलाई बेच्नु छैन’ भनिदिन्थे । कुरै सक्कियो । बबुरो ग्राहक आँखा अघिल्तिरको सामान नपाएर बाटो लाग्न बाध्य हुन्थ्यो । कहिले भने उनको व्यवहार यसको ठ्याक्कै उल्टो हुन्थ्यो । सामान किनीवरी सकेर हिसाब गर्दा जब ग्राहकको दामले पुग्दैनथ्यो, उसले ‘पछि मिलाउँला’ भन्न नभ्याउँदै उनी भनिहाल्थे, ‘बाबक जिम्दारीले नाइँ पुगल तोर दुई–चार रुप्यले मोर का हुई ?’ अर्थात्, बुबाको जिम्दारीले पुगेन, तपाईंको दुई–चार रूपियाँले मलाई के हुन्छ ? यति भनेर उत्तिखेरै उनी हिसाबकिताब राफसाफ गरिदिन्थे । यी सबै उनका ‘मुड’का कुरा थिए । 

***

विसं ०५७ को प्रसंग हो । म विद्यालयबाट फर्कंदै थिएँ । उनी बाटोमा उभिएका थिए । मलाई देख्नेबित्तिकै ‘राम ! राम !’ गरे र मिझ्नी (दिउँसोको खाजा)मा बोलाए । सतर्कतापूर्वक चारैतिर आँखा डुलाउँदै र मलाई भित्र कुन्टी (सानो कोठा)मा लिएर गए । बस्नका लागि गुन्द्री र त्यसमाथि कम्मल ओच्छ्याइएको थियो । म घरज्वाइँ भाँतीमा विराजमान भएँ । थरीथरीका खानेकुरा आए । र, आयो मौवाको एकपाने रक्सी पनि । खानपिन सुरू भयो ।

खानपिन चलिरहेकै बेला उनले कानेखुसी शैलीमा भने, “मलाई यो समस्याबाट तपाईंबाहेक अरु कसैले पार लगाउन सक्तैन ।” कस्तो समस्या हो, मैले केही भेउ पाउन सकिरहेको थिइनँ । अलमलमा परेँ । उनी भन्दै गए, “साथीहरुले पहुरा (नासो) छाडेर गएको धेरै भयो । आजसम्म लिन आएका छैनन् । कुन दिन यसले मेरो ज्यान लिने हो ।” उनकी पत्नीले पनि सही थापिन्, “हो नि सर, कतै अन्तै लगिदिनूस् ।” 

होइन के सार्न भनिरहेका छन्, यी दम्पतीले ? म झन् अलमलिएँ । एकछिनपछि मैलिएको कपडा बेरिएको केही सामान लिएर आए । बाहिरबाट छाम्दा महिलाको गहना हुन् भनेर ठम्याउन गाह्रो थिएन । सुन र चाँदीका गहनाको त्यो पोको पाँच किलोभन्दा कम थिएन, बरु बढी नै थियो । अब मैले कुरा बुझेँ, यो गरगहनाको पोको कसैले राख्न दिएको तर लिन नआएको रहेछ । सुरक्षाकर्मीको बढ्दो चल्तीफिर्तीले भागीराम दम्पतीको डर बढाएको रहेछ । उनीहरुको पीडा मैले राम्ररी बुझेँ । र, उनीहरुप्रति मेरो सदासयता पनि थियो । तर, तत्काल मसँग पनि समस्याको समाधान थिएन । छिट्टै त्यो पोको कतै सारिदिने आश्वासन दिएँ । र, बसाइ छोट्याउँदै उठेँ । 

माओवादीका जिल्लास्तरदेखि माथिका नेताहरुसँग मेरो नियमित सम्पर्क थियो । घर पुग्नेबित्तिकै एक जनासँग भेट गरेँ । उनले जिल्ला पार्टीमा पठाउन भने । मेरो खुसीको सीमा रहेन । कतिखेर भागीरामजीलाई भेटूँ भयो । भोलिपल्ट बिहानै उनको घर पुगेँ । र, समस्याको त्यो पोकोबाट आजैदेखि मुक्ति पाउने खुसीको खबर सुनाएँ । हामीले त्यो पोको सार्ने योजना पनि बनायौँ ।

यो प्रसंगभन्दा केही महिनाअघि राजा ज्ञानेन्द्र शाहका ज्वाइँ कैलाली रामशिखरझालाका ‘सामन्त’ राजबहादुर सिंहमाथि भौतिक ‘कारबाही’ स्वरुप माओवादीले उनको घर ‘कब्जा’ गरेको थियो । त्यही क्रममा ल्याइएको सम्पत्ति हुनुपर्छ त्यो । किनभने, केही महिना वरपर माओवादीले कतै कसैको घर ‘कब्जा’ गरेको घटना भएको थिएन, सिंहको घरबाहेक । खासमा त्यो गहनाको पोको बर्दियाका रमेश चौधरी, जो माओवादी पार्टी कामका सिलसिलामा कैलालीमा सक्रिय थिए, ले ‘पछि लिन आउँछु’ भन्दै भागीरामजीलाई राख्न दिएका रहेछन् । सम्भवत: पार्टी–कामको व्यस्तताले उनी लिन आएका थिएनन् र भागीरामजीको परिवार आपत्मा परेको थियो । 

पार्टी नेताहरुसँगको मेरो सम्पर्कपछि त्यो पोको स्थानान्तरणको योजना बनाइयो । त्यस अनुसार रक्सी पिएको कम तर अभिनय बढी गरेर त्यस पोकोलाई टीकापुर बजारकै एक सम्पर्क व्यक्तिकहाँ सकुशल पु‍र्‍याइयो । यसरी एउटा मिसन सफलतापूर्वक फत्ते गरेको आफ्नो बहादुरी देखेर आफँै चकित थिएँ म ।

तर, केही समयपछि भागीरामजीलाई त्यो पोको राख्न दिने कमरेड रमेशको सुरक्षा फौजसँगको भिडन्तमा धर्मापुरकै आसपास मृत्यु भयो । उनको मृत्युसँगै त्यो गहनाको पोकोको रहस्य पनि कहिल्यै नखुल्ने गरी विलुप्त भयो । अनि, यो पनि थाहा भएन कि मैले त्यो पोको जुन व्यक्तिकहाँ पुर्‍याएको थिएँ, तिनले पार्टीलाई बुझाए या आफैँसँग राखे ! 

यसबीच कर्णालीमा धेरै पानी बग्यो । कतिपय कमरेडका तारामण्डल घर आलिसान भवनमा बदलिए । चिम्के घडी नपाएका नाडीमा आज राडो घडी टल्केका छन् । तर, अहिले पनि भागीरामजीको दोकानदारी उस्तै छ, मेरो दैनिकी उस्तै । 

प्रकाशित: आश्विन ११, २०७४