[स्मरण] भावी राजालाई नेपाली सिकाउने प्रयास

  • यदुनाथ खनालले ‘नेपाली र अंग्रेजी भाषाको एउटा पत्रिका निकाल्ने र त्यसको सम्पादनको जिम्मेवारी युवराज वीरेन्द्रलाई सुम्पिने’ सल्लाह दिए । यो प्रस्ताव राजा महेन्द्रलाई जच्यो ।

- रेवतीरमण खनाल

युवराज वीरेन्द्र भर्खर मात्र बेलायतको इटन कलेजबाट पढाइ सकेर फर्किएका थिए । उनी आफ्ना कुरा अंग्रेजी भाषामा बडो सहज ढंगले राख्थे । नेपाली भाषामा कुराकानी गर्नु पर्‍यो भने उनलाई ज्यादै अप्ठ्यारो हुन्थ्यो । यही बुझेर हुुनुपर्छ, राजा महेन्द्रले विशेष जाहेरी विभागमा परेका बिन्तीपत्र सुन्ने क्रममा युवराज वीरेन्द्रलाई पनि सँगै लिएर जान्थे र आडैमा राखेर बिन्तीपत्रको बेहोरा सुन्न लगाउँथे । जाहेरी विभागमा रहेर बिन्तीपत्र राजालाई सुनाउने सिलसिलामा मैले पनि थुप्रैपटक त्यस्ता दृश्य देखेको थिएँ । 

दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा पढेर बेलायत पुगेका युवराज वीरेन्द्रको अंग्रेजी भाषाप्रतिको पकड बेजोड थियो । तर, नेपाली भाषामा भने उनी सामान्य कुराकानीबाहेक तर्क–वितर्क र बहस गर्न सक्दैनथे । उनी अंग्रेजीमा सोच्थे र अंग्रेजीमै जवाफ दिन्थे । अलिक क्लिष्ट शब्द त उच्चारण गर्न नै समस्या हुन्थ्यो । ‘पूर्ण’ शब्द उच्चारण गर्नुपर्‍यो भने उनी ‘पुर्न’ भन्थे । यस्तो उच्चारणगत समस्या उनमा प्रशस्तै थियो ।

भविष्यका राजाको नेपाली भाषाप्रतिको कमजोर पकड देखेर राजा महेन्द्र धेरै चिन्तित थिए । नेपाली भाषा, साहित्य, रीतितिथि र संस्कृतिसँग युवराज वीरेन्द्रलाई एकाकार र घुलमिल गराउने भनेरै उनले चार विकास क्षेत्रमा यस्ता कार्यक्रमहरू आयोजना गर्न लगाउँथे र युवराजलाई अवलोकनार्थ पठाउँथे । नेपाली कला–संस्कृतिको विकास गर्नुका साथै मठ–मन्दिरको जीर्णोद्धारजस्ता कार्यक्रममा युवराज वीरेन्द्र विशेष ढंगले सरिक हुन्थे र नेपाली कला–संस्कृतिलाई नजिकबाट अवलोकन गर्ने प्रयास गर्थे ।

यहीबीच तत्कालीन परराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनाल, जसको विद्वताबाट राजा महेन्द्र पूर्णत: जानकार थिए, लाई दरबारमा बोलाएर युवराजलाई नेपाली भाषा सिकाउने काइदाबारे रायसुझाव मागे । खनालले ‘नेपाली र अंग्रेजी भाषाको एउटा पत्रिका निकाल्ने र त्यसको सम्पादनको जिम्मेवारी युवराज वीरेन्द्रलाई सुम्पिने’ सल्लाह दिए । यो प्रस्ताव राजा महेन्द्रलाई जच्यो । 

राजाले पत्रिका निकाल्न आदेश दिए । पत्रिकाको नाम जुर्‍यो, रमझम । युवराज वीरेन्द्र सम्पादक भए । रेणुलाल सिंह र निरविक्रम प्यासी सम्पादक मण्डलका सदस्यमा नियुक्त गरिए । अंग्रेजी र नेपाली भाषामा साहित्यिक समालोचना, लेख, निबन्ध, पुस्तक समीक्षा र कविताहरू समेटेर रमझम प्रकाशित हुन सुरु भयो ।

नेपाली भाषामा लेखिएका प्राय: रचना युवराज वीरेन्द्रलाई एकसरो पढ्न दिइन्थ्यो । उनले पढेपछि सम्पादक मण्डलका सदस्यले थप सम्पादनको जिम्मेवारी पूरा गर्थे । गोरखापत्रमा समसामयिक विषयमा आफ्नै नाममा र राजनीतिक, विदेश सम्बन्ध र दरबारको विषयमा लेख्नुपर्‍यो भने आकाशप्रसादका नाममा लेख/टिप्पणी प्रकाशित गरिरहेको मैले रमझममा भने आफ्नै नाममा साहित्यिक लेख/रचना र समालोचना प्रकाशित गर्न थालेँ । 

राजदरबार संवाद सचिवालयबाट प्रकाशित रमझमको कार्यालय युवराजाधिराजको कार्यकक्षमै स्थापना गरिएको थियो । नेपालका प्रसिद्ध साहित्यकारका रचना यसमा प्रकाशित हुन्थे । प्रा यदुनाथ खनाल, तारानाथ शर्माजस्ता थुप्रैका लेख/रचना त्यसमा प्रकाशित भएका छन् ।

‘कालीदासको दृष्टिमा युवराजको विवाह’ शीर्षकमा युवराज वीरेन्द्रको विवाह प्रसंगमा केन्द्रित रहेर मैले लेखेको सामग्री पनि यो पत्रिकामा प्रकाशित भएको थियो । ज्यादै धेरै चर्चा र प्रशस्त मात्रामा प्रतिक्रिया प्राप्त गरेको मेरो लेख थियो, यो । 

तारानाथ शर्माले राजा महेन्द्रको फेरि उसैका लागि कवितासंग्रहबारे गरेको समीक्षा पनि यस पत्रिकामा प्रकाशित भएको थियो । त्यो समीक्षा ज्यादै चर्चित र विवादास्पद रह्यो । किनभने, त्यसपूर्व उनले राजा महेन्द्रको उसैका लागि पुस्तकका बारेमा विभिन्न पत्रपत्रिकामा समीक्षा प्रकाशित गर्ने क्रममा राजाको कटु आलोचना गर्दै ‘साहित्यिक क्षेत्रमा देखिएको एक कमसल पुस्तक’ भनेर समीक्षा गरेका थिए । तर, रमझमका लागि समीक्षा लेख्दा भने उनले ‘आजसम्मको नेपाली साहित्यिक जगत्मा रचना भएका कविताकृतिमध्ये सशक्त र अब्बल कविताकृति’ भनेर ठोकुवा नै गरेका थिए । दरबारभित्रै पनि यस समीक्षालाई लिएर गरमा–गरम बहस र चर्चा–परिचर्चा भएको थियो । 

युवराज वीरेन्द्रको नेपाली भाषा सुधार गर्ने अभिप्रायले सुरु गरिएको रमझम राजा महेन्द्रको निधन र वीरेन्द्रको गद्दी आरोहणसँगै बन्द हुन पुगेको थियो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: आश्विन ११, २०७४