विश्रामको एक साता !

  • राजधानीबाट पुगेका गाडीका ताँतीबाहेक के ही भेटिएन । पालुङे होटेल साहुजीहरुले राम्रो व्यापार गरे । विमान पालुङमा झरेको समाचार असत्य रहेछ ।

- राजेश मिश्र

विसं ०४९, १६ साउन, शुक्रबार मध्याह्नको आकाश मनसुनी बादलले डम्म थियो । पानी पर्दै थियो । थाइल्यान्डको बैंककबाट काठमाडाँैका लागि उडेको थाई एयरवेजको ए–३१० विमान अवतरण गर्नुअघि पखेटामा केही समस्या देखियो । 

यसअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रकले यो विमानलाई ‘सियरा सर्कल एप्रोच’ अर्थात् दक्षिणतिरबाट धावनमार्ग (रन–वे) २० मा अवतरण गर्ने अनुमति दिइसकेका थिए । विमान चालकले प्राविधिक समस्या देखाउँदै देब्रे मोडिएर भारतको कलकत्तातिर जाने अनुमति मागे । 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा त्यतिबेला आधुनिक राडार प्रविधि जडान भइसकेको थिएन । ट्राफिक नियन्त्रकसँग केवल नौ महिनाको अनुभव थियो । अर्को समस्या थियो, भाषाको । उनलाई सघाउन त्यहाँ अर्का अनुभवी कोही पनि थिएनन् । 

उनले विमानलाई आफ्नो मार्ग परिवर्तन नगरी रनवे २० को सट्टा रनवे–२ मा अवतरण गर्ने निर्देश दिए । चालकले पटक–पटक हावाको गति र ‘भिजिबिलिटी’को जानकारी मागे । तर, ट्राफिक नियन्त्रकले बारम्बार रनवे–२ उपलब्ध रहेको कुरा मात्रै दोहोर्‍याए । 

टावरबाट ठोस जानकारी नपाएपछि हतास चालकले देब्रे मोडे र कलकत्ता जाने आफ्नो योजना त्यागेर दाहिने मोडिएको जानकारी दिए । ट्राफिक नियन्त्रकले सोचे, विमानले अवतरण गर्ने योजना परित्याग गर्‍यो । उनले विमानलाई ११ हजार ५ सय फिटको उचाइमा जाने निर्देश दिए । 

विमान त्यतिबेला ९ हजार ५ सय फिटको उचाइमा थियो । दुई हजार फिटमाथि जान उसले ३ सय ६० डिग्रीको मोड लियो । अनि, विमानस्थललाई नाघेर ३७ नटिकल माइल (आकाशको सोझो दूरी) सीधै उत्तरमा रहेको रसुवाको घोप्टेभीर र ठाडे डाँडाको खोँचमा ठोक्कियो । १४ मुलुकका ९९ जना यात्रु र चालक दलका १४ जनाको अकाल मृत्यु भयो । नेपाली उड्डयनको आकाशमा यो पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय दुर्घटना थियो । 

***

यस्तो ऐतिहासिक दुर्घटना हुँदा नेपालमा गिरिजाप्रसाद कोइराला ऐतिहासिक रुपमा शक्तिशाली प्रधानमन्त्री थिए । नेपाली कांग्रेसभित्रको द्वन्द्व सतहमा देखिन मात्र होइन, उम्लिन थालेको थियो । यही द्वन्द्वका कारण देशान्तर साप्ताहिक फुटेर सुरुचि हुँदै किशोर नेपालको नेतृत्वमा बानेश्वरबाट स्वतन्त्रता साप्ताहिक सुरु भइसकेको थियो । सुरेश आचार्य, सुवास ढकाल किशोर नेपालसँग गए । म दिवंगत शिव अधिकारी दाइसँग रहेँ । यसका पछाडि अन्य यस्ता धेरै कारण छन्, जो सामान्य पाठकको सूचना उपभोग गर्ने अधिकारभित्र नपर्न सक्छ । म स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कुखुराको मासुबाट एड्स सर्दैन भनी समाचार दिन्थेँ, सुवास ढकाल स्वतन्त्रतामा ‘वाह ! क्या खण्डन है !’ भन्दै ‘ काउन्टर’ दिन्थ्यो । सुरुचिका पूर्वाञ्चल प्रतिनिधि अनन्तराज न्यौपानेले ‘सुपारीको तस्करीमा कमी आयो’ भन्ने बेहोराको समाचार लेख्दा सुरेश आचार्य स्वतन्त्रतामा ‘कतैबाट निर्देशन आयो अनि सुरुचिले छाप्यो’ भन्दै विचार लेख्थे । हामी पत्रकारिताभन्दा पनि द्वन्द्वकारितामा व्यस्त थियौँ । 

अचानक, शुक्रबार दिउँसो काठमाडौँमा ओर्लिनुपर्ने थाई एयरवेजको विमान नेपाली आकाशमा कतै हरायो भन्ने गाइँगुइँले मेरो कान ठाडो पार्‍यो । त्यो दुर्घटनामा परेका २३ जना नेपालीमध्ये एक जनाका आफन्तले मलाई पो केही थाहा छ कि भनेर सम्पर्क गरेपछि म झसँग भएँ । अर्थहीन नेपाली राजनीतिक रिपोर्टिङको ‘मोनोटोनी’बाट मुक्त हुने अवसर आएजस्तो लाग्यो मलाई । काँचो उमेरको जोस धेरै, होस कम थियो । 

त्यो दुर्घटना मेरा लागि सम्बन्धित मान्छेको जीवनमा अचानक आएको त्रासदीभन्दा समाचार लेख्ने र सबैभन्दा पहिले लेख्ने एउटा अवसरजस्तो लाग्यो । कुनै बेला देशान्तरमा सँगै काम गर्दाका सिनियर दाइ जयप्रकाश आनन्द प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । पुतलीसडकमा खाँदाखाँदैको बंगालीको सेकुवा र बियर छोडेर कुद्दै माथि सुरुचिको अफिसमा गएँ अनि बालुवाटारमा फोन गरेँ । 

मुलुक चलाउने सूचना र शक्तिसम्पन्न कोइराला किचेन क्याबिनेटका सदस्यहरुसँग समेत त्यतिबेलासम्म घटनाका बारेमा जानकारी भए पनि विस्तृत विवरण शून्य रहेछ । “खोइ, आर्मीले भने अनुसार जहाज मकवानपुरको पालुङतिर खसेको छ भन्ने मात्र थाहा भयो,” जेपी दाइले एक सासमा भनेर फोन राखिदिए । बालुवाटारमा आपत्कालीन बैठक बसेकोसम्म थाहा भो । यद्यपि, पालुङ भन्ने सूत्र फेला पर्‍यो । तर, अचानक जाने कसरी ? 

कुनै बेला एलसी काण्डमा परेर एक्लै कुख्याति कमाएर नेपाली कांग्रेस र एमालेका केही नेताहरुका लागि चुनाव खर्च जुटाइदिने एक व्यापारी थिए, प्रकाश टिवडेवाला । नेपालका नेता, प्रहरी र पत्रकार सबैसँग उनको सुमधुर सम्बन्ध थियो । उनी सबैलाई ‘सहयोग’ गर्थे । उनकै सहयोगले कसैले राजधानीमा घर बनाए । कसैले छोरीको बिहेसमेत गरे । उनको सहयोगले मैले खुब सोमरस सेवन गरेँ । आफू मात्र गरिनँ, अहिलेका नामी–गिरामी सबै पत्रकार मेरो महफिलका सक्रिय सदस्य हुने गर्थे । पछि उनैले मलाई जँड्याहाको पगरी लगाइदिए तर आफूहरु भने प्रकाश टिवडेवालाको जलसेवन गरेर भौतिक वैतरणी पार गरे । 

म उनीकहाँ पुगेँ, राती । डिल्लीबजार रसियन गल्लीमा एउटा राणाको सानदार बंगला भाडामा लिएर बसेका थिए उनी । “दाइ, एउटा गाडी तुरुन्त चाहियो । आइतबार पत्रिका निकाल्नु छ । मलाई पालुङ जानुपर्‍यो, अहिले, तुरुन्तै ।” उनले एउटा जिप देखाए । थोत्रो, नेपाली नम्बर प्लेट पनि छैन । भारतीय नम्बर छ । “फरक पर्दैन, गुडे पुग्छ,” मैले गाडी निकालेँ । तर, मध्य बर्खाको बेला राती त्यो कुलेखानीको पुरानो बाटो आफैँले गाडी हाँक्नु मूर्खता हुन्थ्यो । रातारात अनुप थपलियाले मैतीदेवीको एउटा चालक फेला पार्‍यो । राती नै कुदियो, मकवानपुरतिर । 

थोत्रो जिपमाथिको त्रिपालले पानी थेग्न सक्दैन । आफू भिजे केही छैन, समज्ञ लाकौल दाइको क्यामेरा जोगाउन गाह्रो भो । त्यसमाथि जोसिएर प्रकाश दाइको भिडिओ क्यामेरा पनि बोकेको छु । अलिकति उकालो लाग्यो कि गाडी थ्याच्च बसिदिन्छ । अनेक बल गरेपछि खोक्दै अलिकति अगाडि जान्छ, फेरि थच्चिन्छ । यो तालले पालुङ कसरी पुगिएला ? काठमाडाैँमा विमान पालुङमा खसेको हल्ला एक कान, दुई कान मैदान भइसकेको रहेछ । अब बाटोमा गाडी भरिन थाले । 

हाम्रो थच्चिएको गाडीले साँघुरो मोडमा यातायात नै ठप्प पार्‍यो । हाम्रा कलिला ड्राइभर रुन थाले । पछाडिबाट आएको गाडीका चालकले बोनट खोलेर यताउति छानबिन गरे । अनि, इन्जिनको ‘फिल्टर’ झिकेर फालिदिए । मैलो जमेर तेल नै पास नहुने भएको रहेछ । त्यसपछि त्यो अँध्यारो बाटोमा गाडी हावाझैँ उड्यो । झिसमिसेमा पालुङ पुगियो । 

तर, त्यहाँ विमान होइन, राजधानीबाट पुगेका गाडीका ताँतीबाहेक केही भेटिएन । पालुङे होटेल साहुजीहरुले राम्रो व्यापार गरे । विमान पालुङमा झरेको समाचार असत्य रहेछ । दिग्दारीका साथ राजधानी फर्कियो, शनिबार साँझ । भोलिपल्ट अखबार निकाल्नु छ । न लेख्ने कुरो छ, न लेख्ने तागत । 

देशान्तर फुटेदेखि सम्पादक शिव दाइलाई मैले कहिले प्रमुख समाचार लेख्ने मौका दिएको थिइनँ । त्यतिबेलासम्म विमान रसुवातिर खसेको कुरा थाहा भइसकेको थियो । दाइले तानतुन पारेर समाचार लेख्नुभयो । अखबार निकाल्नु अघिल्लो दिन जीवनमा पहिलोपटक म साँझ ७ बजे अफिसमा नै सुतिदिएँ । 

भोलिपल्ट अखबारमा जे छापियो, त्यो कमजोर सामग्री थिएन । अरु अखबारले पनि हामीले छुटाएका कुनै उल्लेख्य कुरा लेखेका थिएनन् । अब एक हप्ता बाँकी थियो । हामीले रसुवा जाने निधो गयौँ । तर, एक्लै किन जाने ? साथीभाइलाई खबर गरियो । त्यतिबेला दृष्टि साप्ताहिकका किशोर श्रेष्ठ, जनमञ्च साप्ताहिकका नारायण वाग्ले, फोटो पत्रकार चन्द्रशेखर कार्की, देशान्तरका राजेश घिमिरे, सुरुचिका मलगायत अनुप थपलिया अनि केदार कोइराला, पत्रकारितामा नभए पनि हामी सबैका साथी राजकुमार खड्का र उनका दाइ पुस्कल खड्काको टोली आइतबार राती रसुवा लागियो । 

धन्न यसपटक गाडीको स्टेरिङ पुस्कल दाइको अनुभवी हातमा थियो । यो कुराको आभास मलाई त्यतिबेला भयो, जब रानीपौवा पुग्न लाग्दा हाम्रो गाडीको क्लचप्लेट नै भाँचियो । यो जिनिस भाँचिएपछि गाडी स्टार्ट भए पनि गियरमा हाल्न मिल्दैन । गियरमा नहाली गाडी अगाडि बढ्दैन । मध्यरात परेको पानी चुट्ने गरी दर्किएको छ । नुवाकोटको पिच फुटेको बाटोमा चिप्लो रातो माटो बग्दैछ । “लौ, अब मलाई दुई जना भोलिन्टियर चाहियो,” पुस्कल दाइले भन्नुभो । “म गाडी स्टार्ट गर्छु, दुई जनाले ठेल्नु, गुडिरहेको गाडीमा क्लच नथिचे पनि बिस्तारै गियर हान्न सकिन्छ,” उहाँले रातको अँध्यारोमा उपाय जुराउनुभो । नारायण वाग्ले र म स्वयंसेवक भयौँ । गाडी स्टार्ट भएपछि हामी ठेल्थ्यौँ अनि गियरमा लागेपछि बाँदरझैँ उफ्रिएर गाडीमा हाम फाल्थ्यौँ । 

बिहान २ बजे त्रिशूली बजार नपुगुन्जेल नारायण र मेरो बाँदर बुर्कुसी चलिरह्यो । गाडीमा बस्ने साथीहरु भने बास बस्ने ठाउँमा कुखुराको तात्तातो झोल र भात खाने सपना देख्दै थिए । त्यतिबेला पुगेका हामीलाई बास बस्ने ठाउँ दिन एक जना होटलवाला दाइ राजी त भए । तर, मध्यरातमा कुखुरा काट्न तयार भएनन् । पाप लाग्छ रे ! हामी काट्छौँ नि त भन्दा पनि मानेनन् । अन्तत: उनको भान्सामा रहेको बर्खे तरकारीको नुनिलो झोल र गीलो भात खाएर नौ जनाको समूह तीनओटा खाट जोडेर सुतियो । कसको गोडा कसको टाउको ? कसलाई के मतलब ? 

बिहान ७ बजे पुस्कल दाइले आफ्नो सम्पर्कको सहयोगमा गाडी मर्मत गर्नुभो । हाम्रो गन्तव्य पुग्न फेरि ढिकुरे भन्ने ठाउँतिर फर्किनुपर्ने रहेछ । त्यहाँबाट गाडी जाने बाटो पनि छैन । हामी उकालो लाग्दै गयौँ । खाना पकाएर खाने समय थिएन । दिनभरि हिँड्दा हामी जहाँजहाँ अडिन्थ्याैँ, त्यहाँ वरपरका पसलमा बिस्कुट र चाउचाउका भण्डार खाली हुन्थे । 

जुका लागेर सबैका गोडा रक्ताम्य थिए । चिप्लोमा कतिपटक को लड्यो, लेखाजोखा थिएन । तर, सबैभन्दा बढी केदार कोइराला लडेको कुरा हामी सबैलाई थाहा भयो । ऊ हामीभन्दा अघिअघि हिँड्दै बस्तीतिर सुत्त छिर्दो रहेछ र दुई–चार डबका छ्याङ तानिहाल्दो रहेछ । हामी राती ९ बजेतिर समुन्द्रटार भन्ने ठाउँमा बास बस्ने निधो गरेर जाँदै गर्दा हिलोले पोतिएको केदार हाम्रो बाटो ढुकेर तर्साउन बसेको थियो । हामीलाई तर्साउने सुरमा आफँै चिप्लिएर डिलमुनि पछारियो । त्यसपछि उठ्न सकेन । सबैले मिलेर उसलाई झ्याइँकुटी पारेर बास बस्ने घरसम्म पुर्‍याइयो । 

हामीले फेरि त्यहाँ पनि कुखुरा छ कि भन्ने आशा प्रकट गर्‍यौँ । कुखुराको सट्टा राँगाको सुकुटी र दालभात प्राप्त भयो । खुसीको सीमा रहेन । अचानक नारायण वाग्लेले घरधनीलाई सोध्यो, “दाइ ! अलिकति काँचो तेल होला ?” तेल पाएपछि ऊ चुल्होको छेउमा बसेर भिजेको लुगा धमाधम खोल्न थाल्यो । अनि आगोमा तेल सेकाउँदै जीउभरि दल्यो । “हड्डीमा चिसो लाग्न दिनुहुन्न क्या,” ऊ ठट्यौली पारामा भन्थ्यो । नभन्दै हाम्रो समूहमा सबैभन्दा चिम्मट र ज्याद्रो ऊ नै थियो । उकालो लागेपछि बोकेको भिडिओ क्यामरा मलाई घाँडो भइसकेको थियो । चन्द्रशेखरले त्यो पाँच मिनेट बोकेर दुई मिनेटजति एउटा छाँगोको फुटेज खिचेको बाहेक त्यसको कुनै उपयोग भएको थिएन । कसैले बोक्न नमानेपछि नारायणले नै त्यसलाई डोकोझैँ बोकेर त्यहाँसम्म पुर्‍याएको थियो । 

भोलिपल्ट बिहानै ६ बजे हाम्रो यात्रा फेरि सुरु भयो । तीन घन्टा हिँडेर दुर्घटनास्थलको फेदीमा पुग्दा त्यहाँ सेनाको कडा पहरा थियो । “यहाँभन्दा माथि कसैलाई जान नदिनु भन्ने आदेश छ,” बन्दुक बोकेका सैनिकले सीधा सपाट भाषामा फर्किन भने । यसपछि हामी सबैको नौनारी गले । बहस गर्नुको कुनै अर्थ थिएन । अहिलेजस्तो मोबाइल फोनको जमाना हुँदो हो त कुनै उपाय लाग्थ्यो होला । ११ हजार फिटमाथि त्यो अनकन्टारमा हाकिमको आदेशले बाँधिएको अनि बन्दुक बोकेको सिपाहीलाई सलाम गर्दै भारी मनले हामी फर्कियौँ । 

निराशा र आक्रोशयुक्त भाव लिएर हामी केही नबोली केही घन्टा चुपचाप ओरालो लाग्यौँ । बीच बाटोमा एउटा बस्ती आयो । एकछिन यात्राको बिट मारेर आराम गर्ने भइयो । एउटा घरमा केही खानेकुरा पाइन्छ कि भनेर सोधियो । नाकमा बुलाकी लगाएकी एक युवतीले मकै भुट्न सकिने कुरा भनिन् । केदारले छेउको अर्को घरमा गएर एक घ्याम्पो छ्याङ ल्यायो । नारायण ती युवतीको अन्तर्वार्ता लिन थाल्यो । चन्द्रशेखर उनको वरिपरि घुम्दै तस्बिर लिन थाल्यो । केदारले ल्याएको छ्याङले नपुगेपछि तिनै युवतीले आफ्नै घरको मकैको भ्याबरले सत्कार गरिन् । राजेश घिमिरेले कतैबाट सियो–धागो ल्याएर यात्रामा च्यातिएको जुत्ता आफँै सिउन थाल्यो । सबैको मुड ‘फ्रेस’ थियो । 

ढिकुरे पुगेर दिउँसो सार्वजनिक धारोमा लाम लागेर नुहाएर कुखुराको झोल र भात खाँदासम्म हाम्रो ‘असाइन्मेन्ट’ एउटा ‘एडभेन्चर’मा अनुवाद भइसकेको थियो । 

फर्किने क्रममा किशोर श्रेष्ठले प्रस्ताव राख्यो, “गएको काम पूरा नभए पनि नुवाकोट दरबार हेरेर जाऔँ न !” त्यो पनि गरियो । तर, दरबारबाट फर्किंदा परेको पानीपछि चिप्लो भएको रातो माटोको ओरालो बाटोले झन्डै ज्यान लिएन । गाडी नगुडी बग्न थाल्यो । यहाँ पनि पुस्कल दाइको अनुभव काम लाग्यो । फर्किंदा बट्टारमा पुलिस चौकीअगाडि एउटा प्रहरीको हाम्रो जिपको भारतीय नम्बर प्लेटमा आँखा गएछ । सिट्टी फुकिहाल्यो । हामीलाई माथि सेनाले रोकेको रिस अब यो प्रहरीमाथि खनियो । सबैले एकैचोटि भने, “रोक्नु पर्दैन दाइ, जाउँजाउँ जाउँ,” त्यसपछि गुडेको हाम्रो जिप एकैचोटि रानीपौवा कटेर नागार्जुन पुग्ने बेलाको प्रहरी चौकीअगाडि पुगेर मात्र रोकियो । त्यहाँ पुलिसको एउटा सशस्त्र दस्ता बाटो छेकेर बसेको थियो । बट्टार चौकीले सञ्चार सेटबाट ‘ एउटा भारतीय नम्बर प्लेटको सन्दिग्ध सवारी साधन’का बारेमा सूचना दिइसकेको रहेछ । 

कडीकडाउ गर्दै हामीलाई चौकीमा लगियो । त्यसपछि हामी सबैले आ–आफ्नो ‘आईडी’ निकालेर गाँठी कुरा फुकायौँ । चौकीका प्रमुखले ‘मिस अन्डरस्ट्यान्डिङ’ भएछ भन्दै हात मिलाएर बिदा गर्‍यो । नारायणले बाटोभरि मलाई ‘हात किन मिलाएको’ भन्दै गाली गरिरह्यो । सबैलाई घर छोडेर बिहान ४ बजेतिर आफ्नो घर पुग्दा समाचारका नाममा हात रित्तो भए पनि मनमा एउटा कहिल्यै नबिर्सिने संस्मरण छापिएको अनुभव भयो । 

***

राजनीतिको लिकबाट हटेर केही नयाँ सामग्री प्रस्तुत गर्ने अभिलाषामाथि तुषारापात भइसकेको थियो । सकेसम्म कोसिस त गरेको हुँ नि भन्दै आफूले आफँैलाई सान्त्वना दिनुको विकल्प थिएन । अब दुर्घटनाका बारेमा छानबिन भएपछि आउने विज्ञप्ति छाप्नेबाहेक काम नै के थियो र ? यस्तै सोचेर बुधबार दिउँसो सुरुचि कार्यालयमा धुम्म परेर बसेको थिएँ । अचानक मलाई कसैको फोन आयो । “तपाईंकै अफिस वरिपरि छु, एकछिन तल ओर्लिन मिल्छ ? एउटा महफ्वपूर्ण कुरा छ,” एउटा अपरिचित आवाजले भन्यो । “तपाईं को ? मैले कसरी चिन्नु ?” मेरो स्वाभाविक जिज्ञासा थियो । “म तपाईंलाई चिन्छु । म आफैँ आउँछु !” फोन गर्नेले भन्यो । 

तल ओर्लेर कुरेँ । पाँच मिनेट नबित्दै एक जना भद्र व्यक्तित्व मेरोअगाडि उभिए । “चिन्नुभएन ?” सोधे । म अनकनाएपछि उनले आफैँ भने, “एक महिनाअघि होटल ब्लू स्टारमा एउटा सेमिनारमा हाम्रो भेट भएको थियो ।” अनि, सम्झिएँ । तर, मैले उनको नाम त्यतिबेला पनि सम्झिन सकेको थिइनँ, अहिले त अनुहार पनि त्यति याद छैन । हामी टेकबहादुर कार्कीको सेकुवा घरको माथिल्लो तलामा गयौँ । उनले भने, “हामी धेरै बेर नबसौँ होला । यो सुन्नुहोला, तपाईंलाई काम लाग्ने कुरा छ । तपार्इंको स्टाइल मलाई मन पर्छ त्यसैले । स्रोतको गोपनीयताको कदर गर्नुहोला,” एउटा खैरो खाम दिएर उनी हिँडे । एउटा सेमिनारमा एकछिन भेटेको मान्छेलाई मैले कसरी प्रभावित गरेँ हुँला ? अफिसमा कुदेर गएँ, शिव दाइको अगाडि खाम खोलेँ । पुरानो जमानाको सोनी कम्पनीको टेप थियो । 

अफिसका सहयोगी श्याम भुजेल भाइको वाक म्यान मागेर सुनेँ । पहिले त कुरै बुझिनँ । पाँच मिनेट सुनेपछि उत्तेजनाले शरीर काम्न थाल्यो । त्यो त्यही थाई एयरवेजका पाइलट र विमानस्थल टावरका ट्राफिक नियन्त्रकबीच भएको सम्पर्क संवादको शब्द–शब्द रेकर्ड थियो । संवादको स्वाभाविकता नै त्यो टेपको आधिकारिकता पुष्टि गर्ने सबैभन्दा ठूलो आधार थियो । नबुझेका केही कुरा नजानिँदो पाराले नेपाली सेनाका तत्कालीन कर्नेल पाइलट पुष्प केसीसँग सोधेँ । उहाँले ‘यो एभिएसनको कुरा तपाईंलाई कसरी थाहा भो ?’ भनेपछि थप पुष्टि गर्ने आवश्यकता रहेन । 

 नाटकको संवाद शैलीमा त्यो टेपको शाब्दिक उतार सुरुचिमा प्रकाशित भयो । दुर्घटनास्थलमा विमानको भग्नावशेषको तस्बिर गोपाल चित्रकार दाइबाहेक अरु कसैसँग थिएन । शिव दाइले त्यो तस्बिर कसै गरी मगाई छाड्नुभो । आइतबारको बजारमा सुरुचिले क्याफ्टेरियाको तातो केकभन्दा बढी ‘मार्केट’ लियो । 

त्यसपछि प्रतिक्रिया आउनु स्वाभाविक थियो । तत्कालीन दरबार परस्त अंग्रेजी साप्ताहिक दी इन्डिपेन्डेन्टले ‘प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जानीजानी लिक गराएको’ अड्कलबाजी छाप्यो । उता गिरिजाप्रसादको बालुवाटार जाँचबुझको रिपोर्ट आउनुअघि नै नेपाली पक्षलाई दोष दिएकाले सुरुचिसँग कुपित थियो । शिव दाइ र म मुखामुख गरेर हाँस्यौँ । अर्को साताबाट पुरानै ढर्राको राजनीतिक पत्रकारिता जो सुरु गर्नु थियो । 

 

प्रकाशित: आश्विन ११, २०७४