जोबनको देउरालीमा

- खगेन्द्र संग्रौला

मेरो लेखकीय परिचय खुलाउँदा अन्य कारहरुका फुदासँगै ‘नाटककार’को जुरो पनि जोड्ने गरिन्छ । फुर्सदिलो मुलुकका मनकारी जनको यो कत्रो उदारता ! विडम्बनावश, यो अविचारित उदारता अर्थवाहक विशेषणको सरासर दुरुपयोग हो । र, यो जीवनका मूल्यवान भाव सम्प्रेषण गर्ने खुबी भएको शब्दको फुर्मासी खर्च पनि हो । लेख्दा एक–एक शब्दलाई दुर्लभ पैसा पर्ने भए सायद उदारताको यस्तो प्रदर्शन वा शब्दको यो फुर्मासी खर्च किमार्थ नगरिँदो हो । जे होस्, मलाई नाटककार भन्नु बेकार हो । हुनलाई लाल विद्यार्थीकालमा मैले पनि नाटकहरु लेखिनटोपलेको होइन । तर, ती कथित नाटक गम्भीर साधनाका गम्भीर उपज निश्चय नै होइनन् । उष्ण आवेगी वाम विद्यार्थीहरु खासखास अवसरमा देखाउन मसँग नाटक लेखिमाग्थे । वचन हार्न नसकेर म केवल तिनको गर्जो टारिदिन यसो ख्यासख्यास केही कोरिटोपल्थेँ । ती कथित नाटक वास्तवमा कलाको कोटिमा नउक्सिएका लालित्यविहीन एवं निरस प्रचारबाजी थिए । ती जसरी हत्तपत्त लेखिए, त्यसरी नै ती अस्तित्वबाट हत्तपत्त मेटिए ।

वीरेन्द्रकालीन उन्मत्त शाही पञ्चायती राजको कुरा हो । त्यो कुत्तु राजको मनोवृत्तिलाई बेस्मारी गिज्याउँदै मैले एउटा हास्यव्यंग्य नाटक लेखेको थिएँ । अभद्रझैँ लाग्ने त्यसको शीर्षक थियो, ‘टालेको लगौँटी, फाटेको दिमाग’ । संरचना र संवादको बान्कीका दृष्टिले त्यो तैबिसेक नाटक हो कि जस्तो थियो । तर, लोकका पारखी दृष्टिमा देखिनै नपाई त्यो यसै विस्मृत भयो । यत्रो ठूलो संसारमा त्यसलाई सम्झिने केवल एक जना मानव छन्, श्री अशेष मल्ल । मलाई देख्यो कि कुशल नाट्य–निर्देशक अशेषलाई त्यो नाटकको झ्वाट्ट सम्झना आउँछ । र, भद्र मिजासी एवं मृदुभाषी अशेष भन्छन्, ‘दाइ ! यो माल मञ्चन गर्नु परो ।’ म मुसुक्क हाँस्दै सन्देहयुक्त प्रसन्नता साथ मुन्टो हल्लाउँछु । जब म ओझेल पर्छु, अशेष आफ्नो प्रस्ताव फुस्स बिर्सन्छन् । र, कुरो सहजै बुझिन्छ, अभिनय कुशल अशेषको यो अभिनय मेरो निरर्थक नाटक लेखनप्रतिको मलुवा व्यंग्य हो ।

तनहुँको डुम्रेमाथिको बन्दीपुर नगरीमा जाँदा प्रत्येकपटक मेरो एउटा नाटकको प्रसंग उठ्छ । मास्टरी गर्दाताका बन्दीपुरमै लेखिएको, बन्दीपुरमै खेलिएको र बन्दीपुरमै हराएको मेरो अभागी नाटक । त्यसको शीर्षक थियो, ‘जोबनको देउरालीमा’ । रुमानी र रसिक मार्काको झक्की शीर्षक थियो त्यो ! जब नाटक देखाइयो, बन्दीपुरमा त्यो मेरो नामको पर्याय बन्यो । कतिपय पारखी दर्शकहरुले आफ्नै ढंगले नाटकलाई अथ्र्याए । तिनले म नाटकको लेखकलाई जोबनको देउरालीमा उभ्याए । र, नाटकमा अर्को कसैलाई निमित्त नायक बनाएर म आफैँ अन्तर्जातीय पोथीको खोजीमा लागेको पो हुँ कि भनी तिनले लख काटे । त्यो लख कटाइ एकदमै अकारण त थिएन तर त्यसलाई पुष्टि गर्न मिल्ने मूर्त प्रमाण पनि थिएन । 

बन्दीपुर त्यसखबत आफ्नो चकाचौँध अतीतको पौरख र गौरव सम्झिँदै रुग्ण मनोदशामा रातदिन रोइरहेको थियो । हिजोसम्म बन्दीपुरमा जिल्लाको सदरमुकाम थियो । बहुविध गतिविधि, इलम, आर्जन र गुजाराको मुहान थियो त्यो । छँदाखाँदाको त्यस्तो गुनिलो सदरमुकाम दमौली भेगले हुल बाँधेर हल्ला गर्दै लुटेर लग्यो । लुटिएको सदरमुकाम मात्र होइन, सदरमुकामसँगै लुटियो बन्दीपुर भेगको भाग्य र भविष्य पनि । चाइनानिर्मित पक्की सडक पनि उदास बन्दीपुरलाई छलेर तलतलैबाट लुटिएको उही सदरमुकामलाई पछ्याउँदै दमौलीतिर सोझियो । छनछनी दाम टक््रयाउने ग्राहक नपाएर बन्दीपुरको व्यापार शरणार्थीका रुपमा नजिक वा टाढाका सहरहरुतिर बसाइँ सर्‍यो । धनीहरुको आर्जनको मुहान सुक्यो, गरिबहरुको कुल्ली काम गायब भयो । र, उजाड बन्दीपुर सबै वर्ग र तह–तप्काका लागि हुनुसम्म उराठलाग्दो भयो । त्यो कान्तिविहीन र शुष्क बन्दीपुरका इलमविहीन र उदास जनले मेरो नाटक ‘जोबनको देउरालीमा’बाट पलभरकै लागि भए पनि दिल बहलाए । मानौँ, नाटकको रसास्वादनको स्मृतिले बन्दीपुरको मानसमा अमरत्व प्राप्त गर्‍यो । जब म बन्दीपुर जान्छु, कतिपय रैथाने आजसम्म पनि वचनले वा भंगिमाले भन्छन्, ‘हेर, आफ्नो मायाँको मुहान सम्झेर पुरानो मास्टर आफ्नो जोबनको देउरालीमा आयो !’

नाटक भन्न मिल्ने गुणबिनाका मेरा नाटक नाउँका निकैवटा खोस्टा मुद्रित भए । अन्यत्र त कुन्नि, मदन पुरस्कार पुस्तकालयका अन्तरकुन्तरमा ती अझै फेला पर्दा हुन् । तर, नाटकजस्तो मेरो नाटक ‘जोबनको देउरालीमा’ मुद्रणको मुख देख्न नपाई हरायो । कहाँ र कसरी हरायो त्यो ? अहिले मलाई नै सम्झना छैन । सायद अलिकता मेरो लापर्बाहीले गर्दा र अलिकता बाहुबली प्रशासनको आखेटले गर्दा त्यो हरायो । यो घटना ४३ वर्षअघिको हो, ०३१ सालको । समयको इरेजरले मेटिएर मेरो नाटकका मसिना घटनाक्रम मेरै स्मृतिबाट अलप भए । अहिले मलाई नाटकको केवल मोटो कथानक याद छ । त्यो पनि कल्पित नाटकसँग प्रतीकात्मक रुपले जोडिएको मेरो जीवनको वास्तविक नाटकको कारणले । नत्र त्यो उपेक्षित र दमित नाटक सिंगै, कतै केही बाँकी नरही विस्मृतिको गर्तमा विलीन भइसक्दो हो ।

‘जोबनको देउरालीमा’ छोटो अद्र्धगीति नाटक थियो । त्यसका मूल संवाद गद्यमा थिए, त्यसका मार्मिक अंशहरु गीति लयमा थिए । नाटकको कथ्य अन्तर्जातीय प्रेम थियो, नेवार युवक र क्षत्री युवतीबीचको प्रगाढ प्रेम । नागरिकका सोच्ने दिमाग, देख्ने आँखा, बोल्ने जिब्रा र सुन्ने कान निरंकुशतन्त्रको कठोर दमनमा परेको त्यो कुकालमा नाटकमा कथित छूत र अछूतको प्रेमलाई ठाउँ दिनु बडो जोखिमपूर्ण कुरा थियो । ठाउँ दिन खोजेको भए मञ्चन गर्नै नपाई नाटक च्यातिन्थ्यो सायद । र, नाटककार बिनाकेरकार निसासलाग्दो शाही खोरमा जाकिन्थ्यो । पानी चल्ने जातबीचको प्रेमको चित्रण विषय चयनका दृष्टिले मध्यमार्ग थियो । तर, त्यही नाथे मध्यमार्गले पनि मलाई कसो शाही खोरमा नपुर्‍याएको !

म सम्झन्छु, नाटकका निर्विकल्प निर्देशक थिए, रैथाने चन्द्रलाल विश्वकर्मा । दलित अधिकारका निष्ठावान् एवं अथक अभियन्ता । नायकको भूमिकामा थिए, रौसे मास्टर भारत प्रधान । नायिकाका पिताश्रीको भूमिकामा थिए, हक्की र झोँक्की मास्टर लक्ष्मीनाथ भट्टराई । र, नायिकाको भूमिकामा थिए, अर्धनारीस्वरका स्वामी मेरा चुलबुले विद्यार्थी मिस्टर सानुकाजी । उपलक्ष्य थियो, मैले पढाउने भानु माध्यमिक विद्यालयको वार्षिकोत्सवको । सांस्कृतिक कार्यक्रम नजर गर्न सदरमुकाम दमौलीबाट प्रशासनिक कोर्राधारी सीडीओ र एलडीओ पनि आएका थिए । ती दुई सरकारी पुरुषले महेन्द्रीय गीतमा अंकित ‘बन्दीपुरे उकाली लामो’ छिचोल्न निकै पाउकष्ट गरेका थिए । बस्तीको सिंगो सेरोफेरो जुरुक्क उठेर साँझपख नाटक हेर्न विद्यालयको प्रांगणमा हाजिर भयो । नाट्यमञ्चको यो छेउ र ऊछेउमा दुईवटा मइन्टोल झल्झली बले । स्कुलमाथिको कहालीलाग्दो पहरोले धरी टड्कारै सुन्ने ढ्वाङको मुख खोलियो । र, खुला डबलीमा, थुप्रा दर्शकको उपस्थितिमा, चकमन्न वातावरणमा सुरु भयो मेरो नाटक, ‘जोबनको देउरालीमा’ ।

मञ्चमा प्रेमकथा बुनिएको नाटक चल्दो छ, प्रकृतिमा मौसम बदलिँदो छ । मानौँ, नाटकको संवेदनशील कथानकबाट करुणामयी प्रकृति द्रवित भयो र त्यसले वर्षाको औतारमा अश्रुधारा वर्षाउने लक्षण झिक्यो । नायिकाको बाबुले अन्तर्जातीय बिहेविरुद्ध विषवमन गर्दै सामन्ती गर्जन गर्‍यो, कि त म यो असनातनी प्रणयलाई भत्काइदिन्छु कि म बित्पाते छोरीको प्राणपखेरु नै नामेट पारिदिन्छु ! जब हतास नायिकाले झुन्डिन घाँटीमा डोरीको सुर्काने बेरी, परिवेश कुहिरोले डम्म ढाकियो । र, फटिक सेतो फुसफुसे कुहिरोको घुम्टोमुनि नारी दर्शकहरु सुँक्कसँुक्क रोएको करुण अवाज वायुमण्डलमा तरंगित भयो । नाटकको नायकले विनम्र लबजमा उदारता र कृपाको याचना गरेका के थिए, नायिकाका बाबु लक्ष्मीनाथ ‘तँलाई पाडा’ भन्दै उनीमाथि यसरी जाइलागे मानौँ, ठीक त्यही बेला ह्वार्र हात्तीसुँडे वर्षा नभएको भए नाट्यमञ्च सायद रक्ताम्य हुन्थ्यो । र, सके दम्भी सामन्तको उन्मादी प्रहारबाट नाटकभित्र अर्को नाटकको रचना हुन्थ्यो र रंगमञ्चमा ज्यान उठ्थ्यो ! 

किञ्चित उदार मानिने एलडीओ डीबी थापा दर्शकगणको अग्रभागमा सीडीओ ताराप्रसादसँगै बसेका थिए । हँसीखुसी सुन्नाराम टाइपका गुत्थ फुलेका सीडीओ ताराका अनुहारको भाव पढ्न गाह्रो थियो । तर, एलडीओ थापाले पुलकित स्वरमा प्रतिक्रिया दिए, ‘एक्सेलेन्ट डायलग !’ तर, त्यही ‘एक्सेलेन्ट’ले मलाई झन्डै बितायो । नाटकको अन्त्यतिर नायकले भनेथ्यो, ‘पुरानो बाटो पैरो गयो, नयाँ बाटो बन्न बाँकी छ ।’ शासनतन्त्रका गोटीहरुले यो संवादको लालबुझक्की पाराले अर्थ लगाए । तिनले पुरानो माने शाही पञ्चायत व्यवस्था बुझे र नयाँ माने ‘अराष्ट्रिय’ व्यवस्था भनी अथ्र्याए । म प्रशासनका आँखाको कसिंगरतुल्य थिएँ । व्यर्थमा मेरा हर क्रियाकलापको चियोचर्चाे गरिन्थ्यो । मैले बिँडी खाएर उडाएको धूवाँमा व्यवस्थाविरोधी भावनाको अभिव्यक्ति खोजिन्थ्यो । सीडीओ तारा सांस्कृतिक कार्यक्रम नजर गर्न आएका थिए कि वागी विचारको जासुसी गर्न आएका थिए, मलाई थाहा छैन । अलि दिनपछि गोबरगणेश टाइपका तारा महोदयले नाटकको निहितार्थबारे मसँग केरकार गरे । प्रत्युत्तरमा मैले भनेँ, यो केवल कथेको कथा हो श्रीमान् ! जीवनको वास्तविकतासँग यसको बाह्र हात परको साइनो पनि छैन । सीडीओले कन्चट कन्याए, नाक निमोठे, सुस्तरी सुस्केरा हाले र हान्ने अर्नाका आँखाले हेरेर मलाई एकपटकलाई फुकुवा गरिदिए ।

कल्पनाको माध्यमले यथार्थलाई वाणी दिन खोजिएको मेरो नाटकले अनेक हन्डर र ठक्करसँगै विश्राम लियो । त्यो विश्राम नाटकको पूर्ण समाप्ति थिएन । त्यो त केवल त्यसको स्थगन थियो । मेरो काल्पनिक नाटकले भूमिगत शैलीमा मेरो वास्तविक जीवनमा प्रवेश गर्‍यो र त्यसले अनेक रुमानी छटाहरुको सिर्जना गर्‍यो । आखिर भयो के ? कथा किञ्चित दुरुह छ । के मेरो कल्पित नाटक ‘जोबनको देउरालीमा’ यथार्थ लोककी परीसँग मेरो प्रणय निवेदनको प्रतीकात्मक अभिव्यक्ति थियो ? म भन्न सक्दिनँ । मेरो मस्तिष्कको सचेत तहमा त्यस्तो अभिप्राय कहीँ कतै थिएन । मेरो अवचेतनले त्यो कर्म गरेको भए म जान्दिनँ । तर, नाटकका कतिपय जिज्ञासु दर्शकले त्यही अर्थ लगाए । र, नाटकको मञ्चनपछि सुलसुले शैलीमा बजारभरि सशंकित कुरा चलखेल गर्न थाले । फलानाले फलानीलाई पट्याउने सुर झिक्यो । नाटक त देखाउने दाँत हो, चपाउने दाँत नजानिदो गरी फलानीलाई फकाउनु हो । हेर–हेर, कलमबाज पूर्वेली मास्टर कति बाठो !

बन्दीपुरमा म जुन घरमा बस्थेँ, मेरो नाटकका दर्शकको आशामा उपस्थित परी पनि त्यही घरमा बस्थिन् । म हाई स्कुलको मास्टर, उनी अस्पतालकी स्टाफ नर्स । हामी दुवै बाहिरिया । जीवनको विचित्र संयोगले हाम्रो एकै घरको बास थियो, एउटै चुल्होको गाँस थियो । उनको साथमा उनका भाइ र बहिनी थिए । ती थिए, रैथाने निमाविका विद्यार्थी । तरुण वयकी विपरीत लिंगी पोथीका हिसाबले म लक्का जवान भालेको उनीप्रति स्वाभाविक आकर्षण थियो । बस्, त्यति मात्र । मेरा दर्शकका रुमानी आशंकामा झैँ तिनलाई फकाउने र पट्याउने अभिप्राय मेरो मनको अन्तरकुन्तरमा कतै थिएन । यसको कारण थियो । अँ, कारण एक होइन, अनेक थिए । म कता हो कता पूर्वको बाहुन, उनी कता हो कता पश्चिमकी गुरसिनी । म होचो र ख्याउटे, उनी अग्ली र हृष्टपुष्ट । म पेपटिक अल्सरको फुकिढल रोगी, उनी स्वस्थ र बलिष्ठ नारी ।

म खासै रुपरंगरहित, उनी खास्सा रुपसी । यी यावत् भिन्नता हाम्रोबीचका अनेक अभेद्य पर्खाल थिए । भूगोलको दूरीले बनाएको एउटा पर्खाल, जातको पृथकताले बनाएको अर्को पर्खाल । कदको उचाइ र होचाइबीच खडा भएको एउटा पर्खाल, शारीरिक स्वस्थता र अस्वस्थताबीच ठडिएको अर्को पर्खाल । रुप र रंगको विपरीत बान्कीद्वारा निर्मित एउटा पर्खाल, सोचको भावनाद्वारा निर्मित अर्को पर्खाल । यता हामी दुई प्राणीबीच यतिका पर्खाल छन्, उता शंकालु जनले कति सजिलै हाम्रो प्रणय–सूत्रको गाँठो कसिसके !

मेरो कल्पित नाटकले मेरो जीवनको वास्तविक नाटकमा पारेको प्रभाव सम्झेर ल्याउँदा म त्यसै त्यसै विस्मित र पुलकित हुन्छु । यो कलाको जादुगरी प्रभावको एउटा खास्साको प्रमाण हो भन्छु म ।

‘जोबनको देउरालीमा’का दर्शकहरुले मानव मनोविज्ञानको गूढ रहस्यबारे गम खाएर जे लख काटेका थिए, नभन्दै भयो पनि त्यस्तै । मेरो नाटकले एकाघरबासी परीलाई प्रणयको वेदीमा अघि सर्न आमन्त्रण गरेछ क्यार, उनका नजर, वचन र भंगिमाहरुले अब अर्कै रुप धारण गर्न थाले । नाटकले सायद उनको हृदयसँग प्रणय संवाद गर्‍यो, उनको उत्साहलाई उकास्यो र उनको आँट बढायो । अभेद्य ठानिएका जे जति पर्खालहरु थिए, ती सबै प्रेमको तुफानी शक्तिसामु गल्र्यामगुर्लुम ढले । मेरो जीवनको नाटकमा त्यसपछि जे भयो, प्रेमिल जगत्ले त्यो देखिजानेकै छ । किमधिकम् ?

बस्, जीवनमा यस्तै भयो । मेरो कल्पित नाटक दुखान्तमा तुरियो । र, मेरो वास्तविक जीवनमा परेको त्यसको सुखद प्रभावमा त्यसको स्मृतिले निरन्तरता पायो । मेरो प्रिय नाटक हरायो, र मेरो प्रिय नाटक अविस्मरणीय भयो । 

प्रकाशित: आश्विन १०, २०७४