राजा त्रिभुवनकी गुमनाम रानी

  • गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् ।

- सीताराम बराल

राजा वीरेन्द्रको वंशनाश हुने गरी १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन ३२ जेठ ०५८ मा सार्वजनिक भयो । तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेको प्रतिवेदनमा हत्याकाण्डस्थल त्रिभुवन सदनमा आयोजित रात्रिभोजमा निम्त्याइएका २४ जना शाही नातेदारहरूको नाम पनि समावेश थियो । निम्तालुहरूको सूचीमा १८ नम्बरमा एक नाम थियो– सानु रानी साहेब सरलादेवी शाह । 

मैले सुने अनुसार नानी (सुसारे)का रूपमा नारायणहिटी राजदरबार प्रवेश गरेकी एक किशोरी, जो नेवार समुदायकी थिइन्, लाई राजा त्रिभुवनले यति मन पराए कि, तिनलाई उनले पत्नीका रूपमा स्वीकारे र रानीको दर्जासमेत दिए । ती रानी अझै जीवित छन् तर नारायणहिटीभित्रको बम्बई चोक दरबारमा झन्डै बन्दीजस्तो गुमनाम जीवन बिताइरहेकी छन् भन्ने पनि सुनेका थिएँ ।

‘सानु रानी साहेब सरलादेवी शाह’ खासमा राजा त्रिभुवनकी तिनै कान्छी रानी थिइन् । शाही हैसियतसहित उनको नाम पहिलोपटक दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदनमार्फत सार्वजनिक भएको थियो । दरबार हत्याकाण्डपछि सरलाले पहिलोपटक रानीको रूपमा सार्वजनिक परिचय त पाइन् । तर, नारायणहिटीभित्रै नियन्त्रित जीवन बिताउनुपर्ने, कतै जानुपर्‍यो भने दरबारको अनुमति लिनुपर्ने, अनुमति पनि मन्दिर वा नातेदारकहाँ जान मात्र पाउने नियतिचाहिँ यथावत् रह्यो । 

म दरबार मामिला सम्बन्धमा रिपोर्टिङ गर्थें । तर, रानी सरलाको थप अवस्थाबारे स्रोतहरूलाई धेरै जानकारी थिएन । हात्तीसार नजिकै जय नेपाल चित्रघर आडैबाट नारायणहिटी राजदरबारबाट ठीक पछिल्तिर झिंगटीको छानो मात्र देखिने अग्लो भवनमा सरला बस्छिन् भन्नेबाहेक थप जानकारी मैले पाउन सकेको थिइनँ । 

तिनै गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् । २९ जेठ ०६५ मा नागार्जुन प्रस्थान गर्नुअघि पूर्वराजाले नारायणहिटी परिसरभित्रका महेन्द्र मञ्जिल र बम्बई चोक दरबार क्रमश: वृद्ध आमा रत्न र हजुरआमा सरलाका लागि मृत्युपर्यन्त बस्न पाउने प्रबन्ध मिलाइदिन सरकारसँग सर्त राखेका थिए । त्यही सन्दर्भमा रानी सरला दोस्रोपटक चर्चामा आइन् । 

पूर्वराजाले छाडेपछि नारायणहिटीको प्रशासनिक भवनमा परराष्ट्र मन्त्रालय सर्ने भयो । परराष्ट्र मामिलासम्बन्धी पनि रिपोर्टिङ गर्ने भएकाले म बारम्बार नारायणहिटी जान थालेँ । परराष्ट्र मन्त्रालय बस्ने तम्तयारी गरिरहेको नारायणहिटीको प्रशासनिक भवनसम्म त पश्चिमढोकाबाट सहजै जान सकिन्थ्यो । तर, नारायणहिटी राजदरबारको मूल खण्डमा सैनिक पहरा यथावत् थियो । त्यहाँभित्र पस्न सक्ने स्थिति थिएन । 

***

१५ माघ ०६५ । नारायणहिटी राजदरबारतिरको माहोल त्यस दिन फरक देखिन्थ्यो । राजदरबारको उत्तरतिरको खण्डमा निकै ठूलो कल्याङमल्याङ थियो । माइकबाट भाषणको आवाज आइरहेको थियो । पहरामा रहेका राइफलधारी सैनिकले पनि राजदरबार परिसरभित्र जान कसैलाई रोकेका थिएनन् । मंगल सदन आडैबाट मानिसहरू धमाधम नारायणहिटी राजदरबारतिर गइरहेका थिए । 

नारायणहिटीमा कार्यरत माओवादी समर्थित कर्मचारी संगठनको सम्मेलन हुँदै रहेछ । त्यहाँ सामान्य प्रशासनमन्त्री पम्फा भूसाल प्रमुख अतिथिका रूपमा आउने कार्यक्रम रहेछ । नारायणहिटी राजदरबार प्रवेश खुकुलो हुनुको कारण यही रहेछ । मैले मौकामा चौका हानेँ, आफू कर्मचारी भएको बताउँदै नारायणहिटी छिरेँ । चिनजानका केही कर्मचारी कार्यक्रमस्थलमा भेटिए । एक जनासँग बम्बई चोक दरबार र रानी सरलाको प्रसंग उप्काएँ । बम्बई चोक दरबारमा काम गर्ने एक कर्मचारी पनि त्यहाँ रहेको बताउँदै भेट गराइदिने वचन दिए । 

एकैछिनमा एक अधबैंसे व्यक्तिका साथ उनी आइपुगे । “सबै कुरा उहाँलाई बताइदिएको छु, तपाईंले खोजेको सहयोग गरिदिनुहुन्छ,” परिचय गराउँदै भने, “तपाईंले पनि बम्बई चोकका कर्मचारीहरूलाई आवश्यक सहयोग गरिदिनु होला ।” 

तिनको नाम दिलीप तण्डुकार रहेछ, बम्बई चोक दरबारमा खरिदार दर्जाका कर्मचारी । 

***

पूर्वराजाले नारायणहिटी छोड्न राखेको सर्त अनुसार सरकारले रानी सरलालाई नारायणहिटी परिसरमा रहेको बम्बई चोक दरबारमा आजीवन बसोवासको व्यवस्था मिलाएको थियो । झन्डै सात सय कर्मचारी रहेको राजप्रासाद सेवा अन्तर्गत बम्बई चोक दरबारमा रानी सरलाको सेवामा नौ कर्मचारी खटिएका थिए । तर, दरबारको कर्मचारीतन्त्रका अगुवाहरूले बम्बई चोक दरबारमा कार्यरत नौ जनाको नाम सरकारलाई उपलब्ध गराएनछन् । परिणाम, सरकारी कर्मचारीसरह उनीहरूले निजामती सेवामा प्रवेश नपाउने भए, रानीको मृत्युपछि बिनापेन्सन उनीहरूले दरबार छाड्नुपर्ने भयो । 

दिलीप, तिनै अभागी नौ कर्मचारीमध्ये एक थिए । आफूहरूलाई परेको मर्काबारे थप समाचार लेखिदिए सरकारी कर्मचारीको मान्यता प्राप्त गर्न सहज हुने आशा थियो उनको । परिचय आदानप्रदान हुनासाथ दिलीपले मलाई आफ्नो पछिपछि आउन संकेत गरे । मैले दिलीपलाई पछ्याएँ । 

हाल राहदानी विभाग र नारायणहिटी संग्रहालयको बीचबाट एउटा फराकिलो सडक उत्तरतर्फ लाग्छ । दिलीप त्यही सडकबाट अघि बढे । तीन सय मिटर पर पुगेपछि सडक जंगल हुँदै पूर्वतर्फ मोडियो । जंगलको बीचमा पुराना टहरा थिए । झन्डै दुई सय मिटर जंगल छिचोलेपछि सडक मन्दिर रहेको घुम्तीमा ठोक्कियो । त्यहाँ पुगेपछि दिलीप बोले, “यो गणेशको मन्दिर हो । पहिले त मुमाबडामहारानी रत्न खासै यो मन्दिरमा आउनुहुन्थेन, ज्ञानेन्द्र सरकारले नारायणहिटी छाडेपछि पूजाका लागि यता आउन थाल्नुभएको छ ।”

बम्बई चोक दरबार होस् वा त्यसको ठीक अघिल्तिर रहेको महेन्द्र मञ्जिल, त्यहाँ पुग्ने आधिकारिक बाटो जय नेपाल चित्रघरअघिल्तिर रहेको नारायणहिटीको पूर्वी द्वार हो । पूर्वी द्वारमा अहिले राष्ट्रपति/उपराष्ट्रपति/प्रधानमन्त्री आदिको ‘क्लोज सेक्युरिटी’ हेर्ने प्रधानसेनापति मातहतको 

‘विशेष सुरक्षा बल’को मुख्यालय छ । तर, यो वैध मार्गबाट मलाई बम्बई चोक दरबार पुर्‍याउन दिलीपलाई किन असम्भव थियो भने विशेष सुरक्षा बलले आफ्नो गेटबाट पूर्वराजपरिवारका सदस्य र राजप्रासाद सेवाका कर्मचारीबाहेक अरू कसैलाई भित्र छिर्न दिँदैनथ्यो । त्यसैले दिलीपले त्यो निर्जन चोरबाटो प्रयोग गरेका थिए । 

गणेश मन्दिर पुगेपछि बाटो फाट्यो । चलनचल्तीको एउटा बाटो पूर्वतर्फ सोझियो भने बेचल्तीको अर्काे बाटो पूर्व–दक्षिणतर्फ लाग्थ्यो र नारायणहिटीको त्रिशूल सदन र आडैमा रहेको महेन्द्र मञ्जिलको ठीक पछिल्तिर पुग्थ्यो । बाटोको बायाँतर्फ झाडीले ढाकिएको भग्नावशेषउन्मुख एउटा पुरानो दरबार थियो । यो त्यही दरबार रहेछ, जहाँ श्री ३ रणोद्दीप सिंह आफ्नै भतिजा वीरशमशेरलगायतबाट मारिएका थिए, विसं १९४२ कात्तिकमा (हेर्नूस् : इतिहास बुझाउने स्मारक, नेपाल, २८ वैशाख ०७१) । रानी सरलाको निवास बम्बई चोक दरबार रणोद्दीप मारिएको त्यही दरबारको अग्रभाग रहेछ । 

***

विसं १९०३ मा कोतपर्वपछि बस्नेत खलकबाट राणाहरूले हत्याएको नारायणहिटीको बम्बई चोक दरबारको अघिल्लो खण्डमा तीन तला रहेछन् । भुइँतलाको एउटा भागमा नारायणहिटीका पुराना फर्निचर राखिएको र अर्काे भागमा कोते र डोले दर्जाका दुई पुरुष कर्मचारी बस्दा रहेछन् । सात कोठे दोस्रो तल्ला रानी सरलाको निवास रहेछ । तेस्रो माथिल्लो तलामा उनका सहयोगीका रूपमा रहेका ६ जना महिला कर्मचारी (नानी, बज्यै) बस्दा रहेछन् । 

दिलीपले २५ वर्षीय युवक मानकुमार तामाङसँग परिचय गराए । तामाङ बम्बई चोक दरबारमा डोले रहेछन् । उनको जिम्मेवारी आवश्यक सामान किनमेल गर्ने, सरसफाइ र खेतीपाती गर्ने रहेछ । अर्का पुरुष कर्मचारी रहेछन्, कोते जंगबहादुर गुरुङ, ४० । किनमेल गरिएका सामान बोकेर ल्याउने र भान्साका भाँडाकुँडा सफाइ गर्ने काम कोतेले गर्नुपर्ने रहेछ । 

बडामहारानीद्वय कान्ति र ईश्वरीबाहेक त्रिभुवनका थप आधा दर्जन पत्नी थिए तर सार्वजनिक नगरिएका । उनीहरू सबै बम्बई चोक दरबारका विभिन्न लङमा बस्थे । उनीहरूबारे अरूले जानकारी नपाऊन् भनेर कडा पहरामा राखिँदो रहेछ र मूलढोकामा भोटेताल्चा ठोकिँदो रहेछ । अरुको त पहिल्यै निधन भइसकेको थियो, रानी सरला गणतन्त्र स्थापनाअघिसम्म त्यस्तै पहरामा बस्न विवश थिइन् । 

गणतन्त्रपछि भने सरला अलिक फुक्काफाल भएकी थिइन् । उमेर ९० वर्ष पुगिसकेको थियो, त्यो उमेरमा पनि किनमेलका लागि कहिले कालीमाटी पुग्थिन्, कहिले बागबजार । रानीका सहयोगीहरू मलाई उनका सबै गतिविधिका सूचना दिन्थे । एक दिन दिलीपले फोन गरे । भने, “उपचारका लागि रानी साहेबलाई आज मोडल अस्पताल (भृकुटीमण्डप) ल्याउँदैछौँ । उहाँले थाहा नपाउने गरी फोटो खिच्न आउनुभए हुन्छ ।”

रानी सरला मारुती सुजुकी भ्यान चढेर अस्पताल आइपुगिन् । ड्राइभर आडैको सिटमा बसेकी थिइन् उनी । भ्यानको एकातिरको ढोकाबाट दिलीप निस्के, अर्काे ढोकाबाट अर्की एक महिला । उनी द्वारे राधा तामाङ, ६०, रहिछन् । उनलाई रानी सरलाको सम्पूर्ण खटनपटनको जिम्मेवारी रहेछ । सरला दिलीप र राधाको सहयोगमा ओर्लिन् । 

कालो बुट्टेसारी, त्यस्तै रंगको स्वीटरमाथि हरियो पछ्यौरी ओढेकी रानी दिलीप र राधाको सहारामा चिकित्सक कक्षतर्फ अघि बढिन् । त्यो कक्षबाहिर रहेको बेन्चमा रानीले आममानिससरह नै डाक्टरको प्रतीक्षा गरिन् । क्यामेराको क्षमता अनुसार मैले उनका सबै क्षणका तस्बिर खिचेँ । उनलाई अस्पताल छाडेर भ्यान निर्मल निवास फर्किसकेको थियो । परीक्षण सकिएपछि उनी गाडीको प्रतीक्षामा अस्पतालबाहिरको बेन्चमा बसिन् । 

मैले उनीसँग बसेर तस्बिर लिन चाहेँ । फोटो खिच्न थालेपछि दुई घन्टाअघिदेखि नै उनको ध्यान मतर्फ केन्द्रित भइरहेको थियो तर मौन थिइन् । जब मैले उनीसँगै फोटो लिएँ, उनले आफूलाई थाम्न सकिनन् । रिसाउँदै सोधिन्, “तपाईं को हो ?” 

मैले उत्तर दिएँ, “म पनि उपचारका लागि अस्पताल आएको ।” 

मेरो जवाफपछि आफ्नो परिचय खुलेको छैन भन्नेमा विश्वस्त भइन् क्यार । चुप लागिन् । 

***

मैले बम्बई चोक जाने चोरबाटो थाहा पाइसकेको थिएँ । अब म बरोबर त्यहाँ जान थालेँ । यो क्रम बढेपछि बाँकी कर्मचारीहरूसँग पनि चिनजान भयो । सरकारी कर्मचारीको दर्जा पाउन नसक्दा भविष्यप्रति चिन्तित उनीहरू म त्यहाँ पुग्दा आफ्ना लागि मन्त्री/प्रधानमन्त्रीसँग हारगुहार गरिदिन आग्रह गर्थे । हुन पनि घरबार छाडेर दरबार छिरेका उनीहरूको टेक्ने/समाउने कुनै हाँगो थिएन । कति बालविधवा भएपछि दरबार छिरेका थिए, कति बिहे नगर्ने बाचाका साथ । 

तिनीहरू असाध्यै अवोध र सुधा थिए । बज्यै शुभद्रा पौडेल, ६०, र प्रभावती रेग्मी, ८०, प्रत्येक कुराकानीमा हात जोड्थे । नानी कमला खड्का, ३५, अनिश्चित भविष्य सम्झेर आँसु झार्थिन् । द्वारे कमला घले आफूहरूको नाम हाकिमहरूले सरकारलाई नदिएकामा तिनलाई गाली गर्थिन् । गीता घले, २२, बिहे नगर्ने निर्णयसहित दरबारमा जागिर खान पुगेकामा आफँैलाई धिक्कार्थिन् । उनीहरूको अनिश्चित भविष्यको कल्पनाले म पनि भावुक बन्थेँ । 

***

 बाहिर भेट भए पनि बम्बई चोक दरबारमै चाहिँ रानी सरलासँग भेट भएको थिएन । ‘रानी बस्ने कोठा कस्तो होला, त्यहाँ के के होलान् !’ यी कुरा जान्ने तीव्र इच्छा थियो । एक दिन कमलाले भनिन्, “सानु रानी साहेब साह्रै गल्नुभएको छ । पहिलेजस्तो अचेल मान्छे चिन्नुहुन्न । चिनिहाले निर्मल निवासबाट आएको हुँ भनिदिनूस्, त्यसो भए अप्ठ्यारो पर्दैन ।” उनैले मलाई रानीको कोठामा पुर्‍याइन् । 

उनी साधारण बिछ्यौनामा सुतिरहेकी थिइन् । हेरचाहमा नानी गीता घले थिइन् । सरला अचेत मानिसझैँ एकसुरले बर्बराइरहेकी थिइन् । के भनेकी हुन्, बुझ्न सकिनँ । रानी सरलाको निजी कोठा मेरो कल्पनाको विपरीत थियो । उनको पलङ पुरानो साधारण खालको थियो, रंग पनि खुइलिएको । गलैँचा पनि धेरै पुरानो थियो । झिरझिर गर्दै टेलिभिजन चलिरहेको थियो । कोठामा एकाध र्‍याक, टेबुल थिए, टेबुलमाथि राखिएको पंखा पनि पुरानै थियो । कोठामा शाहीपन झल्कने कुनै वस्तु थिएनन् । 

बायाँ भित्तामा राजा त्रिभुवनको एउटा ठूलो श्यामश्वेत तस्बिर थियो । तस्बिर निकै हिफाजत गरेर राखेजस्तो देखिन्थ्यो ।  हातले नभेटिने उचाइमा झुन्डिरहेको थियो, त्यो । तस्बिरमा सयपत्रीको सुकिसकेको माला थियो । अर्काे एउटा तस्बिर अलिक परको टेबुलमा थियो । पूर्वमुमाबडामहारानी रत्नको जन्म दिवसका दिन ४ भदौ ०५५ मा खिचिएको राजा वीरेन्द्रसहित राजपरिवारका सबै सदस्य थिए, त्यसमा । तस्बिरको पुछारमा रानी सरलासहित राजपरिवारका सबैको हस्ताक्षर थियो । 

थप दुई तस्बिर पलङको सिरानी आडैमा रहेको र्‍याकमा थिए । एउटामा राजा त्रिभुवन बडामहारानीहरू कान्ति–ईश्वरी, एक छोरी र किशोर उमेरकी रानी सरला पनि छिन् । अर्काेमा चाहिँ त्रिभुवन र सरला मात्र छन् । लजाएजस्तो देखिने किशोरी सरला कुर्सीमा छन्, गम्भीर मुद्रामा देखिएका प्रौढ त्रिभुवन उनको पछिल्तिर उभिएका छन् । यी दुई तस्बिरले बताउँथे कि, त्रिभुवन रानी सरलालाई औधि माया गर्थे । अनि, सरलाले पनि सौताका रूपमा रहेका दुई बडामहारानीहरूको हृदय राम्रैसँग जितेकी थिइन् । यस्तो नहुँदो हो त, दुई बडामहारानीका साथ बसेर सरलाले तस्बिर खिच्ने मौका पाउने थिइनन् । 

यी दुई तस्बिर देख्नासाथ मैले एरिका एन्ड द किङका केही पंक्ति सम्झेँ, जसमा उनले राजा त्रिभुवन, बडामहारानीद्वय र रानी सरलाको त्रिपक्षीय प्रेमबारे उल्लेख गरेकी छन् (हेर्नूस् : एरिकाको नजरमा सरला) । एरिका तिनै बेलायती फिजियोथेरापिस्ट हुन्, जसलाई त्रिभुवनकी जेठी रानी कान्तिको उपचारका लागि भारतको सिमलाबाट काठमाडौँ ल्याइएको थियो ।

राजा त्रिभुवन ००७ कात्तिकमा नयाँ दिल्ली निर्वासनमा जाँदा दुई बडामहारानीका साथ सरलासमेत साथै रहेबाट पनि उनी त्रिभुवनकी कति प्रिय थिइन् भन्ने प्रस्ट हुन्छ । अन्तिम उपचारका लागि त्रिभुवनलाई ०११ मा ज्युरिच लगिँदा पनि उनी सँगै थिइन्, कान्छी बडामहारानी ईश्वरीका साथमा । 

त्रिभुवन–सरलाबीचको अथाह प्रेम झल्कने ती दुई तस्बिरलाई मैले आफ्नो क्यामरामा कैद गरेँ । त्यसैबेला भित्तातर्फ कोल्टो परेर नबुझिने गरी बर्बराइरहेकी रानीले कोल्टो फेरिन्, मलाई देखिन् । 

“यो नयाँ मान्छे को हो ?” उनी चिच्याइन् । 

“रानी साहेबलाई हेर्न निर्मल निवासबाट आउनुभएको रे !” कमलाको यो जवाफ उनले पत्याइन् अनि नम्र पनि भइन् । 

त्यसपछि आफ्नो चिन्ता नाति ज्ञानेन्द्रसमक्ष पुर्‍याइदिन आग्रह गरिन् । भनिन्, “यिनीहरू सबै हिँड्छु भन्छन्, हिँडेपछि म के गरी बस्ने हो, के खाने हो ! ज्ञानेन्द्र सरकारलाई यिनीहरूको केही बन्दोबस्त गरिदिन भनिदिनु पर्‍यो । नत्र मेरो बिजोग हुने भो, म मरेपछि यिनीहरूको पनि बिजोग हुने भो !” 

***

सुन्धारास्थित काठमाडौँ मलको उपल्लो तल्लाको रेस्टुराँमा गफिँदै थिएँ म, ९ फागुन ०६६ को साँझ । साथमा मेरा हितैषी धनगढीका पत्रकार प्रकाशविक्रम शाह थिए । माओवादी सेनाको कैलालीस्थित ७ नम्बर डिभिजन कमान्डर महेन्द्रबहादुर शाही (हाल : ऊर्जामन्त्री) पनि हाम्रा साथमा थिए । कफी भर्खर हाम्रो टेबलमा आइपुगेको थियो, दिलीपले फोन गरे । मधुरो स्वरमा दिलीप बोले, “सर, सानु रानीसाहेब भर्खरै स्वर्गे होइबक्स्यो । हामी पशुपति आर्यघाटमा छौँ । फुर्सद छ भने आउनुभए हुन्छ ।” 

रोगले च्यापेपछि ९१ वर्षीया सरलालाई अघिल्लो दिन त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुर्‍याइएको रहेछ । डाक्टरहरूले उनको उपचार असम्भव बताएछन् । त्यसपछि सीधै पशुपतिस्थित घाटे वैद्यकहाँ पुर्‍याइएछ । घाटे वैद्यले ९ फागुन अपराह्न साढे ४ बजे रानी सरलाको मृत्यु भएको घोषणा गरेछन् । घाटे वैद्यको घोषणालगत्तै दिलीपले मलाई फोन गरेका थिए । त्यो फोनपछि पिइरहेको कफी छाडेर म पशुपति आर्यघाटतर्फ दौडेँ । 

पशुपतिनाथ मन्दिरको ठीक पछिल्तिरको चितामा रानी सरलाको शव राखिएको थियो । उनको अन्तिम बिदाइको तयारी हुँदै थियो । पूर्वराजपरिवारका कुनै सदस्य त्यहाँ थिएनन् । सरलाका माइतीतर्फका केही नातेदार भने उपस्थित थिए । मैले आफ्नो नजर उनीहरूको आँखातिर दौडाएँ । शोकाकूल थिएनन् त म भन्दिनँ तर उनीहरू कसैका आँखामा एक थोपा आँसु थिएनन् । 

अर्काे छेउको दृश्यले चाहिँ मलाई भावुक बनायो । जहाँ बज्यैहरू प्रभावती र शुभद्रा, द्वारे राधा, नानीद्वय कमला र गीता हिक्क हिक्क गरेर रोइरहेका थिए । अधिक रुवाइले उनीहरूको अनुहार सुन्निएको देखिन्थ्यो । दिलीप र मानकुमारले पनि आफूलाई थाम्न सकिरहेका थिएनन् । ब्राह्मणहरूले मृत शरीरमाथि दागबत्ती दिनुअघि फूलमाला चढाउने क्रममा बज्यै र नानीहरूले रानीको मुहारमा चुम्बन गरे, रानीको देह जल्न थाल्यो । 

यता रानी जलिरहेकी थिइन्, उनलाई अन्तिम समयमम्म साथ दिएका ती सुधा प्राणीहरूले त्यो दृश्य हेरिरहन सकेनन् । भक्कानो छाड्दै जलिरहेकी रानीलाई छाडेर उनीहरू आर्यघाटबाट निस्किए । 

प्रकाशित: आश्विन १०, २०७४