सो टाइम : छ से नौ

  • मलाई खुल्दुली लागिहाल्यो । के होला र त्यस्तो फिल्म जो ठूलाले हेर्ने, मैले नपाउने ?

- सिपी अर्याल

‘‘तपाईंहरुकै आफ्नो सहर तौलिहवाको....’ खाना खाँदै थिएँ, माइकमा आवाज सुन्नेबित्तिकै जुरुक्कै उठेर गेटनिर आएँ । रिक्सामा चढेर बोल्ने केटो झन् जोस्सियो, ‘झंकार चलचित्र मन्दिरमा १० ओटा धमाकेदार फाइट, मजेदार गीत...’ माइक घन्किरह्यो, ‘..सुपरस्टार फाइटर हिरो मिथ्थुन, हाँ मिथ्थुन चक्रवर्तीको सिनेमा जनताकी अदालत भब्बे प्रदर्शन भइरहेछ !’

हाम्रै घरनजिक रिक्सा रोक्यो । यसको मतलब हुन्थ्यो, उसले फिल्मको पोस्टर हाम्रो घरनिरको पर्खालमा टाँस्ने भयो । खुसी भएँ । रिक्साको पछिल्लो भाग, दायाँबायाँ गरी तीनतिर घिरौँलाझैँ झुन्डिएका पोस्टरमा आक्रामक मुद्राको मिथ्थुन उभिएको थियो, उसको छेउमा सुकुमारी केटी मुस्कुराइरहेकी थिई । प्लास्टिकको झोलाभरि रहेको भातबाट एक मुठी झिकेर त्यसलाई पोस्टरमा दल्यो । पर्खालमा टाँस्यो ।

“भात सेलायो, हिँड् ।” पूरै लीन भएर एकोहोरिएको थिएँ, ममीले च्याप्पै हात समाएपछि पो झस्किएँ, “फिल्म हेर्न गयो भने यसको खुट्टा भाँच्छु भन्नुभा’छ बुबाले ।” आँखा ठूला पार्दै दाहिने हातको चोर औँला मतिर नचाउनुभयो ।

जनताकी अदालतले मेरो दिल हरेर लगेको चाल पाइसकेका थिए बाआमाले । त्यसैले बाले उर्दी जारी गरेका थिए, ममीचाहिँ बाको उर्दीलाई सकभर बढाइचढाइका साथ भन्न थाल्नुभएको थियो । म भने ‘१० ओटा धमाकेदार फाइट’वाला फिल्म जसरी पनि हेर्न जाने मुडमा थिएँ । त्यसैले टिकट काट्न र हाफ टाइममा समोसा खान बाको गोजीबाट १० रुपियाँ कसरी झ्याप पार्ने ? जुक्ति ननिकाली भा’थेन ।

***

“फिल्म हेर्न नजा है । बाको भकुराइ खालास् !” स्कुल हिँड्न लाग्दा ममीले कर्के आँखा लगाउनुभयो । 

“ल के ल ?” झिज्जिएँ । पैसा झ्याप पार्न पाएकै थिइनँ, कसरी हेर्न जानू फिल्म ? सेतो सर्टको बाहुलाले निधार पुछ्दै स्कुल हिँडेँ ।

हलमा चलेको फिल्मबारे थाहा पाउन स्कुलको छतमाथि गएर हेर्नुपथ्र्यो । किनभने, झंकार चलचित्र मन्दिर र म पढ्ने सनसाइन स्कुलको दूरी एक–डेढ सय मिटर थियो सायद । हलको आँगनभरि साइकल पार्क गरिएका देखिए भने बुझ्नुपथ्र्यो, फिल्म हेर्नैपर्छ ।

भर्‍याङ चढेर क्लासमा गइरहेको थिएँ । पर्खालमा एउटा सानो प्वाल थियो । त्यसबाट अभिषेकले बाहिर हेरिरहेको रै’छ । फिल्म हेर्न जाने मेरो पार्टनर थियो, अभिषेक ।

“ओए अभिषेक !” म उसको नजिकै गएर फुसफुसाएँ । यस्सो मतिर फर्केर उतै जोतियो ऊ । केहीबेरमा टाउको हल्लाउँदै ओठ लेप्राउँदै उसले मतिर हेर्‍यो । मैले बुझेँ, ऊ फिल्म हेर्न जाँदैन । ऊ क्लासतिर सोझियो । अनि, मैले त्यही प्वालमा मुख जोतेर हलतिर हेरेँ, मिथ्थुन उस्तै आक्रामक थियो ।

आक्रामक मिथ्थुनलाई मनभरि बोकेर दिनभर क्लासमा बसेँ मात्रै । त्यो फिल्म हेर्न पैसाको जुक्ति फुराइरहेँ । दिनभरि सोच्दा पनि केही उपाय नफुरेपछि अल्छी मान्दै घर फर्किएँ ।

***

४ बजेतिर घर आउँदा त देख्छु, टीभी कोठामा बुबा खाटमा पल्टिएर नवाब पारामा टीभी हेरिरहनुभएको । अरे !

“के भयो बुबा ? आज चाँडै आउनुभो अफिसबाट ?” ब्याग भुइँमा लडाएँ ।

“अँ ! सन्चो भएन । जा त त्यो मेरो पाइन्ट धुन दे मम्मीलाई ।” काम अह्राइहाल्नुभो ।

बुबाको मैलो पाइन्ट हातमा लिएर कोठाबाट निस्केँ । उहाँको पाइन्टको गोजीबाट कहिलेकाहीँ ठूलै ‘माछा’ झर्थे । आशले गोजी छामेँ । एउटामा कागज भेटियो । अर्को छामेँ, सुर्तीको खाली प्याकेट भेटियो । र, तेस्रो गोजीमा गएर मेरो हात टक्क रोकियो । खस्रोखस्रो कागज थियो । वरिपरि हेरेँ । कोही नदेखेपछि त्यो खस्रो कागज निकालेँ ।

१० रुपियाँको किटकिटाउनी नोट !

वाह ! ‘फस्ट डे लास्ट सो’ भए पनि हेर्न जान पाउने त भएँ तर अर्को महाविपत् आइलागेको थियो । ‘छ से नौ’ (बेलुका ६ बजेदेखि ९ बजे)को सो नै हेर्न जाने । तर, घरमा के बहाना बनाउने ?

त्यो पनि फुर्‍यो ।

बुबालाई सीधै भन्न कुन आँटले सक्नू ? धारानिर उभिनुभएको ममीलाई बुबाको मैलो पाइन्ट थमाउँदै कपाल कन्याउन थालेँ, “ममी भोलि सरले गाह्रो होमक दिनुभा’छ । म पर्बिनकोमा म्याथ सिक्न जान्छु । दुई–तीन घन्टामा आउँछु ।”

“हुन्छ,” मतिर हेर्नुभएन ममीले । मनभित्र अपार खुसी विस्फोट भयो ।

आफैँलाई मात्रै थाहा दिएर त्यसरी सुटुक्क ६ से नौको सो हेर्न जाँदा बाटोमा अभिषेकलाई देखेँ । हाम्रोभन्दा केही घर पर त थियो उसको घर । उसलाई परैबाट बोलाएँ ।

“ओए, जनताकी अदालत हेर्न जाम् बे । मसँग छ पैसा ।” गोजीको १० रुपियाँ सुटुक्क देखाएँ, “१० रुपियाँ छ । म हेराउँछु तँलाई ।” उसलाई फकाउन खोजेँ । किनभने, उसले दिउँसै नजाने संकेत गरिसकेको थियो ।

“दुइटा टिकटको आठ । अनि, बाँकी बच्यो दुई रुपियाँ । त्यसको चुरन किनेर खाएर पानी पियम्ला । जाम् बे अभिषेक, बहुत मारधाडवाला मिथ्थुनको फिल्म हो,” फकाउने प्रयास गरिरहेँ । “म जान्नँ बे । यसपछि मोहरा लगाउँछ अनि जाम्ला । सुनिल सेट्टी र अक्षय कुमारको,” उसले निर्णय सुनायो ।

“मोहरा ? सुनिल सेट्टीको ?” म एकदम उत्साहित भएँ । सुनिल सेट्टी अभिषेक र म दुवैको एकदम प्रिय हिरो । झंकारमा लागेका सुनिल सेट्टीका कुनै पनि फिल्म छोडिँदैनथ्यो । अझ, सुनिलपछि मनपर्ने अर्को हिरो अक्षय कुमार पनि थियो मोहरामा । ओहो ! जनताकी अदालतपछि मोहरा हेर्ने पक्का भयो, यदि हलमा लाग्यो भने ।

झंकारमा फिल्म रिलिज हुनेबित्तिकै कहाँ लगाउनू ! उनीहरुलाई जहिले मन लाग्यो, तहिले एक–दुई वर्षपछि लगाउँथे ।

“अँ,” अभिषेक घरतिर जान खोज्यो । “सुन्, त,” बोलाएर कानमा फुसफुसाएँ, “हाम्रो बालाई नभनेस् है म फिल्म हेर्न ग’को भनेर । पर्बिनकोमा पढ्न ग’छ भन्दिएस् ।” एउटा झूटले अर्को झूटलाई ढाक्नु त पथ्र्यो नै । अभिषेक हाँस्दै घरभित्र पस्यो ।

त्यसपछि झंकारतिर अघि बढेँ । रात्रि सो केटाकेटीले एक्लै फिल्म हेर्न जानु लगभग निषेध नै थियो । तर, हलवालालाई सिटमा मान्छे भर्नु जो हुन्थ्यो । त्यसैले औपचारिक रोकटोक थिएन । कसैले देखी पो हाल्छ कि भनेर झटपट टिकट लिन टिकटघरको झ्यालको प्वालमा हात छिराएँ र चिच्याएँ, “एक स्पेसल टिकट, और पैसा फिर्ता दैदियो ।”

भित्रबाट उसले टिकट र बाँकी पैसा थमायो । मसँग ६ रुपियाँ बाँकी नै थियो । त्यसले मोहरा हेर्ने ‘प्लान’ बनाइहालेँ । किनभने, हलमा पस्दा पनि ‘तु चीज बडी है मस्त मस्त...’ गीत घन्किरहेको थियो । म लगभग पक्का भएँ, अर्कोपटक त्यही फिल्म लाग्छ भनेर ।

६ बजे सुरू हुने भनेको फिल्म मेरो चिमचिमे घडीले सवा ७ बजाउँदा बल्ल चलायो ।

पर्दामा देखिएको मिथ्थुन मभित्र पस्न थाल्यो । फाइटको सिन आउँदा मुड्की आफैँ कस्सिन्थ्यो !

‘हाफटाइम’ भर्खर सकिएको थियो । कसैले ठूलठूलो स्वरमा कराएको सुनियो, “बब्लु है ?”

बब्लुलाई कसैले खोज्यो । त्यसरी खोज्न आउने प्राय: घरका मान्छे हुन्थे । अहिले आएको बब्लुको बा नै थियो कि ! फिल्म हेर्न गएको थाहा पाएपछि प्राय: केटाकेटीका बा हलमै आएर मुड्क्याउँदै घर लैजान्थे ।

बब्लुको चालोमालो नभेटेपछि टिकट चेक गर्ने लुरेसँग उसको बा हरेक सिटमा पुगेर खोज्न थाल्यो । फिल्म चलिरहँदा एक्कासि कोहीमाथि मुड्की बज्रिएको आवाज आयो । लौ ! बब्लुको ढाडले मुड्की भेटेछ । फिल्म रोकियो । बब्लुलाई बाले घिसारेर लैजान थाले ।

संसारमा भएजति गिनेचुनेका गाली र मुड्की बब्लुको ज्यानमा मुसलधारे वर्षाझैँ खनियो । बब्लु रोइरह्यो । उसलाई घिसार्दै घर लगे ।

रोकिएको फिल्म चलेको थिएन । किनभने, बब्लुले छाडेको नमीठो सन्नाटा कायम थियो ।

अल्लिबेरसम्म पर्दा नउज्यालिएकाले सिटी बज्न थाल्यो । ‘अरे...फिल्म चालू कर् !’ सिटीसँगै मान्छेको कर्कस आवाज आयो । फोहर गाली त कतिकति !

२० मिनेटपछि फिल्म सुचारू भयो । बब्लुको ‘ह्याङ’ बाँकी नै थियो, त्यसैले फिल्मले अब मजा दिन सकेन । त्यो रामधुलाइले मेरा करङ चिसा बनाएका थिए ।

मेरा बा पनि त्यसरी आएर मलाई घिसार्दै घर लैजाने हुन् कि भन्ने तीव्र भय थियो । डरले मरीचझैँ कक्रकिइरहेँ । डेढ घन्टा बितेपछि पर्दामा ‘द इन्ड’ लेखेको आयो ।

झटपट बाहिर निस्कन सिटबाट उठेँ । लाइट बालेर उभिएको लुरे करायो, “लड्के लोग बाहर निक्लो । सिनेमा और २० मिनेट चली । लेकिन लड्कनको देखेक् नाइ होइ ।” वयष्कका लागि थप २० मिनेट अर्को फिल्म देखाउने भन्दैछ । तर, हामी केटाकेटीले हेर्न नपाउने रे !

मलाई खुल्दुली लागिहाल्यो । के होला र त्यस्तो फिल्म जो ठूलाले हेर्ने, मैले नपाउने ?

“लड्के बाहर निक्लो !” लुरे कराइरहेकै थियो, मेरै उमेरका चार–छ केटाकेटी बाहिर निस्के । हलमा महिला थिएनन् ।

घडीमा १० को डाँडो कटिसकेको थियो । मलाई खुलदुलीले जित्यो । अनि, ढ्याके कुर्सीको मुनि ढाड लुकाएँ । मेरो छेउमा कोही थिएन । अलि पर बसेका थिए केही केटा । केही मिनेटपछि पर्दा उज्यालियो । लुरे आएर गलहत्याउँछ कि भनेर डरले बाहिर निस्केको थिइनँ ।

खुलदुलीले मेरो प्राण लैजान आँट्यो । अघिल्लो सिटको चरबाट पर्दा देखिन्थ्यो । मैले त्यहीँबाट काम चलाउने मेसो गरेँ । उज्यालिएको पर्दामा केही सेकेन्डमै अनौठा दृश्य देखेँ । लौ ! अर्कै फिल्म पो लगायो ! केटा र केटी कन्न थाले, केके गर्न थाले । एउटा आँखा चिम्म गरेर चरबाट हेरिरहेकै थिएँ । मलाई लाज लाग्यो । तर, पर्दातिर आँखा नलैजान पनि सकिनँ । हलभित्र भएका मान्छे चिच्याए, सिटी बजाए । सायद खुसी भएका हुँदा हुन् ।

लाजले रसिलो भएर पनि ढ्याके कुर्सीमुनि नै बसेर पर्दातिर हेर्दै थिएँ । १५ मिनेटजति पछि चरबाट पर्दामा देखियो, ‘द इन्ड’ । मान्छे बाहिर निस्कने सुरमा लागे । एक–दुई जना सुर्ती बनाउन प्याटप्याट गर्दै थिए । एक जना पानको बुजो लगाएर बोल्दै थियो, “बहुत मजेदार फिल्म देखेक् मौका मिलल् बाटी !”

सबै निस्केपछि म सुटुक्क निस्कौँला भन्ने सोचेको थिएँ । अचानक, लुरे करायो, “शिब् कौन है ?”

लौ मार्‍यो ! ऊ फेरि करायो, “सागरटोलवाला शिब् कौन है ?”

म कक्रिएँ । बा आएछन् । अब भकुर्छन् । मेरो ढाड भाँच्छन्, करङ छियाछिया हुनेछ, हातखुट्टा घट्टमा पिसिनेछन् ! मेरो जीवनको पनि ‘द इन्ड’ भयो । खुइय गरेँ ।

हलमा म र सायद चार–पाँच जना अझै थिए ।

लुरे चिच्याउँदै अघि बढ्यो, “शिब् कौन है ?” म त्यहीँ ढ्याके कुर्सीमुनि थिएँ ।

लुरे अलि परै थियो । निहुरी परेर लाइट बाल्यो । लौ ! मलाई देख्यो !

टर्चको तीव्र प्रकाश अब मतिर सोझियो । आँखा चिम्लिएर, घोप्टो परेको थिएँ ।

मेरो काँधमा कसैले थपथपायो ।

“उठ् ! घर हिँड् !” बुबाको आवाज सुनेँ । हेर्न सकिनँ ।

आँखामा बज्रिएको तीव्र प्रकाशले म दृष्टिविहीनझैँ भएँ । 

प्रकाशित: आश्विन ९, २०७४