[टिस्टुङ देउराली] अन्तरिक्षबाट नेपाली भूगोल

  • अहिले नेपाल र वरपरको भूगोल सधैँभन्दा महत्त्वपूर्ण बन्दैछ । यस्तो समयमा नेपालको भौगोलिक चित्र र त्यसको प्रभावको बुझाइ झनै सान्दर्भिक बनेको छ ।

- विवेक पौडेल

चिनियाँ रेलको विस्तार नेपालको उत्तरी साँधसम्म पुगिसकेको छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन वा चीनको राजनीतिमा ठूलै उथलपुथल नभए यो रेल सञ्जाल केही वर्षमा नेपालभित्रै पुग्नेछ । हिमालय पर्वत पार गरी उत्तरबाट नेपालतर्फ यस्तो आधुनिक यातायातको जालो फैलिने सम्भावना एक दशकअघिसम्म पनि चिताइएको कुरा थिएन । आउने दिनमा पनि यसले सम्पूर्ण क्षेत्रकै अवस्थामा अहिलेसम्म सोच्न नसकिएको ठूलो फेरबदल ल्याइदिन सक्छ । 

अहिले नेपाल र वरपरको भूगोल सधैँभन्दा महत्त्वपूर्ण बन्दैछ । यस्तो समयमा नेपालको भौगोलिक चित्र र त्यसको प्रभावको बुझाइ झनै सान्दर्भिक बनेको छ । केही समयअघि दोख्लममा चीन, भारत र भुटानबीचको विवादको चुरो त्यही हो, जुन नेपालको संविधान संशोधन प्रादेशिक सीमांकनमा पनि देखिएको थियो । चल्तीका विद्वान् र नेताले जति लेप लगाएर सैद्धान्तीकरण गरे पनि सत्य के हो भने प्रदेश–१ को सीमा विवाद आन्तरिक नेपाली राजनीतिभन्दा सिलिगुडी घाँटीको संवेदनशीलतासँग बढी जोडिएको छ । दुईपक्षीय शक्तिसंघर्षमा सिक्किम र भुटानझैँ कुनै एक पक्षको मात्र उपयोगी हुन नेपालले पनि आफ्नो सुरक्षा, अर्थतन्त्र र प्राकृतिक स्रोतको नियन्त्रणबाट हात उठाउनुपर्ने हुन्छ । भन्नुको अर्थ कालापानी–लिपुलेक, गण्डकी ब्यारेज वा वीरगन्ज महावाणिज्य दूतावासजस्ता प्रवृत्तिको विस्तारमा नेपाली समाजले समयोग गर्नुपर्छ । तर, नेपाली जनताले यो स्वीकार नगरेबापत नै संविधान संशोधनका विभिन्न आपत्तिजनक मुद्दा र नाकाबन्दीपछिको खिचातानीमा देखिएको हो । त्यसलाई नेपालको आन्तरिक समस्याझैँ स्थापित गर्न राम्रा भनिने थुप्रै नेता र अगुवा खुलेरै लागे पनि नाटकको यो अध्याय खासै जम्न सकेको छैन । 

इतिहासमा झैँ आफ्नो मौलिकता जोगाएर आफ्नै समृद्धिको बाटो पहिल्याउने हो भने हिमाल वारपारको नयाँ यातायात सञ्जाल नेपालको निम्ति वरदान साबित हुन सक्छ । तर, यो सञ्जालले हिमाल चेप्ट्याएपछिको नतिजा के हुनेछ, नयाँ राम्रा अवसरहरू वा झनै ठूला समस्या ? फेददेखि टुप्पैसम्म लुटेराजस्ता अहिलेकै राजनीतिक वृत्तको नेतृत्वमा नेपालले यी सबै परिवर्तनबाट केही फाइदा लिन सक्दैन । उल्टै परनिर्भरता, असमानता र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको नाशको गति बढ्नेछ । तर, नेतृत्वमा नयाँ असल प्रवृत्ति हावी हुन सके यी सबै परिवर्तनबाट मुलुकले ठूलै प्रगति गर्न सक्नेछ । किनभने, अहिले सारा संसारको रंग बदल्ने परिघटना नेपालकै वरिपरि भइरहेका छन् । हाम्रो ऐतिहासिक समृद्धिसँग मेल खाने परिस्थिति फेरि निर्माण हुँदैछ र यसपटक यो झनै सुगम बन्दैछ । 

सयौँ वर्षअघिदेखि हिमालय वारपार चल्ने गरेको व्यापारको नियन्त्रण नेपालका काठमाडौँ र जुम्लाजस्ता स्थानले गर्थे । तर, युरोपेली औपनिवेशी युग सुरु हुनासाथ चीन र भारतले आफ्नो आन्तरिक व्यवस्थापनको लगाम गुमाउन पुगे । त्यसको चपेटामा नेपाल पनि पर्न गयो । उपनिवेशी व्यवस्थाले करिब दुई सय वर्षसम्म जरैदेखि उखेलेझैँ मनपरी दोहन गर्दा सम्पूर्ण क्षेत्रको रंग नै बदलिदियो । सधैँ निकट रहने गरेको उत्तरतर्फको भूभागसँग नेपालको सम्पर्कविच्छेद हुँदै गयो ।

पहिलेका राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध तोडिएसँगै संसारकै धेरै गरिब बस्ने भूभागको बीचमा नेपाल पनि रंगरोगन उडेको, खोँचमा बेवास्ताले जीर्ण बनेको पुरानो गोठजस्तै हुन पुग्यो । के अबको एसियाली शताब्दीमा नेपालले आफ्नो बाटो पहिल्याउन सक्छ त ? यसको जवाफ पाउने सुरुआती खुड्किलो भने नेपाल अवस्थित भूगोलका विभिन्न आयाम खोतल्नु नै हो । 

यहाँ अन्तरिक्षबाट खिचिएका नेपाल र वरपरका क्षेत्रका केही तस्बिर प्रस्तुत गरिएको छ । यी तस्बिर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट गत १० वर्षका विभिन्न समयमा खिचिएका हुन् । सबै तस्बिर अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को सार्वजनिक अभिलेखबाट लिइएका हुन् । तस्बिरमा विभिन्न स्थानको पहिचान पंक्तिकार स्वयंले गरेका हुनाले तिनको अवस्थितिमा केही तल–माथि भएको हुन सक्छ । 

तस्बिर–१ को बीचमा एउटा अन्तरिक्ष यान देखिएको छ । त्यसमाथिको सेतो भाग हिमालय पर्वत शृंखला हो । त्यसभन्दामाथि खैरो भूभाग तिब्बती पठार हो । हिमालय पर्वत तलको दक्षिणी भूभाग क्रमश: नेपाली पहाड, तराई र उत्तर भारतीय मैदानी क्षेत्र हुन् । तस्बिरमा सगरमाथा हिमाल, काठमाडौँ, पोखरा, वीरगन्ज, सुर्खेत आदि स्थान देखिएको छ । साथै, नेपालबाट भारततिर बग्ने तीन प्रमुख नदी कोसी, नारायणी र कर्णाली पनि देखाइएको छ । यी तीनै नदीको नेपालदेखि गंगासम्मको बहाव अन्तरिक्षबाट पनि प्रस्टै देखिएको छ । 

हिमालय शृंखला र तिब्बती पठारमा स्वच्छ पानीको ठूलो भण्डार रहेका कारण यसलाई ‘तेस्रो ध्रुव’ पनि भनिन्छ । पहिला उत्तरी र दक्षिणी, दुई ध्रुव मात्र हुन् । नेपाल र तिब्बतबाट सुरु हुने नदीमा एसिया महादेशका करोडौँ मानिसको जीवनचक्र निर्भर छ । जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लिने र नदी सुक्ने क्रम बढ्दैछ । भौतिक प्रगति हुँदै गर्दा प्राकृतिक सन्तुलनमा पनि फेरबदल भइरहेको छ । घना आवादी रहेका भारत, चीन, बंगलादेशजस्ता देशमा पर्ने संकटको सीधा प्रभाव नेपालमा पर्नेछ । समस्याको उचित व्यवस्थापनमा ध्यान नदिए खानेपानी अभाव र प्राकृतिक प्रकोपका कारण नेपालमा बसाइँसराइ वा शरणार्थीको चाप बढ्ने सम्भावना छ । यसले नयाँ र जटिल किसिमका तनाव बढाउन सक्छ । 

तस्बिर–१ मा हिमालमाथि बीचतिर एउटा ताल देखिन्छ । यो तालको नाम पाइकु–त्सो हो । त्यसको सीधा दक्षिणमा हिमालवारि काठमाडौँ अवस्थित छ । बीचमा गोसाइँकुण्ड र लाङटाङ क्षेत्र पर्छ । पाइकु–त्सोको नजिकै तिब्बतको केरुङ बजार पर्छ, जहाँसम्म चीनले रेलमार्ग निर्माण गर्दैछ । नेपाल आइपुग्ने रेलमार्ग यही हो । 

पाइकु–त्सो तालको तस्बिर–२ मा छ  । त्यसवरपर सुक्खा तिब्बती पठार क्षेत्र देख्न सकिन्छ । तिब्बती क्षेत्रभरि थुप्रै ताल र हिमनदी छन् । नेपालका कतिपय हिमालका पनि आधा भाग तिब्बततिर नै पर्छन् । अन्तरिक्षबाट हेर्दा देखिने तिब्बती क्षेत्रका तालहरू तस्बिर–३ मा छन् । 

अन्तरिक्षबाट खिचिएका तस्बिरहरू हेर्दा नेपाल उत्तरको तिब्बती क्षेत्र र दक्षिणको भारतीय मैदानी क्षेत्र दुवै खैरो रंगका देखिन्छन् भने त्यसबीचको नेपाली भूभाग प्राय: बादलले छोपेको र देखिएका भूभागहरू हिउँले सेताम्य वा गाढा हरिया जंगलले भरिएजस्ता देखिन्छन् । नेपाली नदीहरूले दक्षिणी भूभागमा पुगेपछि ठूलो क्षेत्रमा फैलिने साथै माटो र गेग्रान पनि थुपार्ने गर्छन् । नेपालभित्रै भने सायद चिसो तापक्रम र सतहमा पानीको मात्रा तुलनात्मक धेरै हुनाले कुहिरो र बादल धेरै देखिएको हुन सक्छ । तर, तापक्रम बढ्ने र अन्धाधुन्ध निर्माण कार्य बढ्नाले नेपाली वायुमण्डलको बनोट पनि फेरिँदै गएको छ, जसले हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रमलाई बढाएको छ । 

पानीको बहावका आधारमा नेपालबाट भारत बग्ने नदीहरू दक्षिण अमेरिकाबाहिर कुनै पनि देशबाट अर्को देशमा जाने दोस्रो धेरै मात्राको पानी हो । नेपालको तुलनामा भारतीय सीमावर्ती क्षेत्रमा जनघनत्व धेरै गुणा बढी छ, त्यसकारण त्यहाँ पानीको अभाव र आवश्यकता पनि उत्तिकै टड्कारो छ । भविष्यमा पानीको बहाव झन् घट्दै जाने हुँदा यसले नेपालमा जनसंख्याको चाप बढाउन सक्छ र अरू अप्ठ्यारा समस्याहरू थपिन सक्छन् । सीमाक्षेत्रमा पानी र तटबन्धकै कारण ठूलो विनाशको अनुभव हुन थालिसकेको छ । अतिवृष्टि भविष्यमा झन् बढ्ने हुँदा यस्ता समस्या अझ विकराल बन्नेछन् । 

नेपाली क्षेत्रबाट भारतको मैदानी क्षेत्रमा पुग्दा नदीहरूले निकै फरक स्वरूप ग्रहण गर्छन् । यसको एउटा उदाहरण तस्बिर–४ मा देख्न सकिन्छ । तस्बिर–५ मा टनकपुरनजिक नेपाली पहाडी भूभागबाट भारतमा बगेर मिसिँदै गरेका महाकाली र अन्य थुप्रै नदीहरू देखिन्छन् । भारतीय आवादी क्षेत्रमा भने हरियालीको मात्रा निकै कम छ र नदीको बहाव तस्बिर–६ मा जस्तो हुन्छ । 

अन्तरिक्षबाट हेर्दा काठमाडौँ पनि उत्तरी भारतीय मैदानी क्षेत्रजस्तै उजाड देखिन्छ । तस्बिर–७ मा काठमाडौँका कुन–कुन स्थान चिन्न सक्नु हुन्छ ? बीचतिर ठाडो धर्सोजस्तो देखिने क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । 

काठमाडौँको तुलनामा नेपालको उत्तरी भेगका हिमनदीका तस्बिर अन्तरिक्षबाट निकै आकर्षक देखिन्छन् । एउटा उदाहरण तस्बिर–८ मा देख्न सकिन्छ । हिमनदीहरू सयौँ मिटर गहिरा र कहिलेकाहीँ धेरै किलोमिटरसम्म लम्बाइ भएका हिउँका थुप्रा हुन् । हिमालमा स्थायी रूपमा हिउँ रहने हुँदा त्यसबाट बिस्तारै, वर्षमा केही मिटर मात्र बग्दै यी हिमनदी बन्छन् । आफ्नो बाटोका सबै पदार्थ पुर्दै र पिस्दै हजारौँ वर्षदेखि रहेका यस्ता हिमनदी नेपालमा प्रशस्त संख्यामा छन्, जसको छेउछाउमा हिमाली ताल र नदीहरू अवस्थित हुन्छन् । जलवायु परिवर्तनले गर्दा स्वच्छ पानीका भण्डार यी हिमनदीको आकार पनि घट्दै गएको छ भने यिनको संख्या पनि कम हुँदैछ । 

हिमाली क्षेत्रकै अर्को परिदृश्य तस्बिर–९ हो । यसमा नुप्त्से र ल्होत्से हिमालको बीचमा अवस्थित सगरमाथासँगै केही हिमनदीहरू पनि देख्न सकिन्छ । 

प्रकाशित: आश्विन ९, २०७४