राहदानीले नधानेको नेपाली स्वाभिमान

  • नेपालीहरूको ध्यान मुलुकको हैसियत र इज्जत प्रवद्र्धनमा भन्दा नेपाली राहदानी त्याग्नमा बढी छ ।

- अच्युत वाग्ले

नेपाली कांग्रेसका जल्दाबल्दा युवा नेता प्रदीप पौडेल जापानको हानेदा एयरपोर्टबाटै फर्काइएको समाचारको रन्को हराएको छैन । यो घटनाबारे उनले प्रस्टीकरण दिएका छन् । त्यसमाथि टिप्पणी गर्नुपर्ने आवश्यकता छैन । उनैले प्रस्ट भनेको कुरा के हो भने उनलाई प्रायोजन वा आमन्त्रण गर्ने मानिसलाई त्यहाँका अध्यागमन अधिकारीहरूले सम्पर्क गर्न खोज्दा भेटिएनन् । अनि, समस्या पर्‍यो । 

यसको अर्थ हो, उनले बोकेको नेपाल सरकारको छापयुक्त राहदानीमा जापानी दूतावासले लगाएको प्रवेशाज्ञाभन्दा बढी विश्वसनीयता जापानभित्रै बस्ने कुनै प्रायोजनकर्ताको छ । यो नेपाली राहदानीको वास्तविक नियति हो । नेपाली राहदानी बाहकले हरेक विकसित मुलुकका अतिरिक्त भारत र थाइल्यान्डका अध्यागमनमा समेत अपमानजनक व्यवहार, ढिलासुस्ती र असान्दर्भिक प्रश्नहरूको सामना गर्नुपर्छ । पौडेलको घटना अपवाद होइन । गत वर्ष नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि हङकङ अध्यागमनमा भएको घटना पनि सायद धेरैको स्मरणमा छ ।

अमेरिका, जापान, युरोपेली मुलुकहरू वा अस्ट्रेलिया पुग्ने नेपालीले ती देशका अध्यागमनमा खेप्ने सबै अपमानलाई गड्यौलाले हिलो पचाएझैँ पचाउन अभ्यस्त भइसकेजस्तो लाग्छ । अझै नेपालमा आफ्नो ठूलो नाम र पद–प्रतिष्ठा भएको ठान्नेहरू त कतै जम्काभेटमा यस्ता कुरा उठ्नेबित्तिकै अन्तै तर्किहाल्छन् । मानौँ, यस्तो व्यवहार खेप्नु कुनै अपमानको विषय नै होइन । बल्लतल्ल ती मुलुक छिर्न पाउनेहरू उपल्लो दर्जाको नागरिक भएको आडम्बरपूर्ण व्यवहार निरीह नेपालीका सामु प्रस्तुत गर्छन् । नेपाली राहदानीप्रतिको सम्मान बढाउन समस्यालाई छोपेर होइन, यसका कारणहरू उधिनेर समाधान गर्नुपर्छ । त्यसतर्फ मुलुकको कुनै तप्काको ध्यान गएकै छैन ।

वर्जित “हरियो”

चार वर्षअघि बेलायती हिउँदको चिसो अपराह्न थियो । त्यही बेलुका ‘सरप्राइज पार्टी’मा सहभागी हुने निम्तो भरत (थर नभनौँ)ले दिए । बर्मिङ्घममा हामी एउटै घरमा बस्थ्यौँ । यो पार्टी उनले रातो राहदानी (बेलायती राहदानीको चल्तीको नाम) पाएको खुसीयालीमा निवासमै आयोजित थियो । उनले बेलायती नागरिक बन्ने आवश्यक तालिम र लामै संघर्षपछि यो ‘सफलता’ पाएका थिए । स्वाभाविक हो, उनको खुसी असीम थियो । पार्टी सुरु भएको केही मिनेटमा रद्द भएको नेपाली राहदानी निकाले र कोठाको बीचतिर हुर्‍याउँदै भने, ‘आज यसबाट मुक्ति पाइयो । अब म बिनाप्रवेशाज्ञा क्यानडा र सजिलै प्रवेशाज्ञा लिएर अमेरिका जान पाउने भएँ ।’ अंग्रेजीमा कामचलाउ मात्र संवाद गर्न सक्ने उनलाई हरेक यात्रामा लन्डनको हिथ्रो एयरपोर्टको कुनातिर लगेर अध्यागमन अधिकारीहरूले आधा घन्टा/एक घन्टा केरकार गरेको पीडाबाट पाएको मुक्तिको मनोदशा कुनै दासमुक्तिको घटनाभन्दा सानो थिएन । 

भरतलाई नेपाली राहदानी त्याग्दा त्यत्रो खुसी हुने परिस्थितिको कारण र कारक खोज्नेतिर मुलुकको ध्यान जानै चाहेको छैन । घटनामा सतही प्रतिक्रिया दिएपछि आम र खास सबै नेपालीको कर्तव्य सकिन्छ । अहिले मुलुकबाट बाहिरिएका दसौँ हजार नेपाली हरेक वर्ष भरतले जस्तै पार्टी गर्छन् । आयोजक, आयोजना हुने सहर र पार्टीका निम्तालु मात्रै फरक हुन्छन् ।

करिब १५ वर्षअघिको कुरा हो । नेपालबाट अमेरिका जाने एउटा टोलीमा परराष्ट्र मन्त्रालयका रातो राहदानीधारी अधिकारीदेखि प्रहरीका डीआईजी र सेनाका कर्णेलसम्म थिए । हिथ्रोको ट्रान्जिटमा अध्यागमन पुग्नुअगावै सबैलाई एउटा रिबनले घेरेर कुनापट्टी पुर्‍याइयो । रातो र कर्मचारीको राहदानी देखाउन खोज्नेहरूलाई त्यहाँका सुरक्षाकर्मीहरूले ‘किन बढी जान्ने भएको ?’ भन्ने आशयको विस्फारित नजरले हेरे । सबैलाई एकएक गरी नांगै पारेर चेकजाँच गरियो । त्यो त्यहाँको सुरक्षा संयन्त्रले आवश्यक ठान्यो होला । तर, जाँचका क्रममा अधिकारीहरू थाहा नपाएजस्ता प्रश्न सोध्थे, ती सोझै अपहेलनायुक्त र आपत्तिजनक थिए । सुरक्षासँग विरलै सम्बन्धित थिए । नेपालीहरू संसारको सुरक्षा जोखिमका कारक बन्ने कुनै कारण थिएन । बेलायतमा त गोर्खालीहरू सुरक्षाकै पर्यायवाचीकै रूपमा छन् । हामी सबै कुनै न कुनै रूपमा नेपालको सरकारी निर्णय प्रक्रियामा कुरा पुर्‍याउन सक्ने नै हैसियतका थियौँ । बेलायती अधिकारीहरूको यस्तो व्यवहारलाई कम्तीमा काठमाडौँस्थित उसको दूतावासमार्फत कुरा राखौँ भन्ने मेरो प्रस्ताव थियो । तर, अरू सबैको एकमत केमा भयो भने, ‘यो उनीहरूको देशको नियम हो भै‘गो, हाम्रो देश नै यस्तै छ, यसलाई मुद्दा नबनाऔँ ।’ यो एउटा उदाहरण मात्र हो, नेपालीमाथि हुने व्यवहार र हाम्रो मरिसकेको प्रतिरोधग्रन्थि, दुवैको ।

शरीर खानतलासीको ‘र्‍यान्डम’ भनिने यो प्रक्रियामा आफू पटक–पटक परेपछि धेरै मुलुकका एयरपोर्टमा नेपाली राहदानीधारीलाई गरिने व्यवहारको यस्तो ‘प्याटर्न’मा कौतूहल हुनु स्वाभाविक थियो । विसं ०६२ मा हुनुपर्छ, अमेरिकाको डालास सहरबाट प्र्mयांकफर्ट उड्न लाग्दा याद गरेँ, पहिलो पंक्तिमा मेटल डिटेक्टर लिएर बस्नेले त्यसपछाडिको जाँचकीलाई केही संकेत गर्ने रहेछ । त्यो दोस्रो जाँचकीले कड्किएर सोधेको प्रश्न थियो, ‘राहदानीको रङ किन हरियो छानेको ? हातले लेखेको पनि राहदानी हुन्छ ?’ ती प्रश्नको मसँग कुनै उत्तर थिएन । अर्को साल ह्युस्टनबाट उड्ने बेलामा पनि एउटा अधिकारीले अर्कोलाई सांकेतिक भाषामा ‘ग्रीन’ भन्यो । त्यसपछि मेरो शरीर जाँच भयो । खास गरी मुस्लिम मुलुकहरूले हरियो रङको राहदानी बढी चल्तीमा ल्याउनुको मार पनि नेपालीलाई परेको रहेछ । साँच्ची, नेपालले साधारण राहदानीको रङ हरियोचाहिँ किन राखेको होला ? यसको उत्तर मैले अझै फेला पारेको छैन ।

न्युयोर्क, सान फ्रान्सिस्को र हिथ्रो एयरपोर्टमा भारतीय मूलका सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लै उपस्थिति छ । उनीहरूको नेपालीप्रतिको व्यवहार गोरा अधिकारीहरूको भन्दा पनि कठोर भएको मेरो व्यक्तिगत अनुभव छ । यसको यकिन कारण पत्ता लगाउन सकेको छैन । हिथ्रोको अध्यागमनमा एक–दुई जना नेपाली मूलका अधिकारीहरू पनि काम गर्न थालेको हालसालै देखेँ । उनीहरू नेपालीसँग सकेसम्म बोल्न नपरे हुन्थ्योजस्तै गर्छन् । कहिलेकाहीँ लाग्छ, राष्ट्रियभाव र अपनत्व एउटा राहदानी फाल्नु र अर्को लिनुमा मात्रै रहेछ कि !

दिल्लीको दशा

३० वर्षयता, स्वास्थ्योपचार, सभा/सम्मेलन वा ट्रान्जिट यात्राका कारण भारतका मुख्यत: दिल्ली एयरपोर्टको अध्यागमनसामु सयौँ पटक उपस्थित हुनुपरेको छ, मैले । र, यो क्रममा सधैँ नै अनौठा र बेतुक प्रश्नको सामना गरिरहनुपरेको छ । संयोगले यसअघिको राहदानीको पहिलो पृष्ठमा पाकिस्तानको र त्यसपछिको पृष्ठमा चीनको प्रवेशाज्ञा लागेको थियो । राहदानी पल्टाउनेबित्तिकै हरेक भारतीय अध्यागमन अधिकारीको प्रश्न हुन्थ्यो, ‘ओहो ! पाकिस्तान गए हो ?’ अनि, दोस्रो पाना पल्टाएर भन्थ्यो, ‘चाइना भी गए हो ? कितनी बार ?’ म यन्त्रवत् भन्थेँ, ‘दुई–तीन चोटि ।’ प्राय: त्यो अधिकारी जुरुक्क उठेर कतै भित्र जान्थ्यो र झन्डै आधा घन्टा फर्कंदैनथ्यो । कहिलेकाहीँ आफ्नो सुपरीवेक्षकका साथ फर्किन्थ्यो । सामान्यत: केही भुतभुताउँथ्यो र प्रवेश दिन्थ्यो । त्यो राहदानी बोकेको १० वर्ष दिल्ली यात्रा गर्दा मेरो मन अकारण गह्रुँगो भएरै बित्यो । खास गरी अरू पाँच–सात पश्चिमा मुलुकको प्रवेशाज्ञा लागेपछि उनीहरूको व्यवहार अलि फरक भएको त पाएँ । तर, पहिलो पृष्ठ पल्टाउँदैमा उनीहरूको मुखाकृतिमा दौडिने अनौठा रेखाहरू भने समानै रहे । फेरि थप अरू मुलुकको पनि प्रवेशाज्ञा छाप देखेपछि ‘यत्तिका धेरै मुलुक किन घुमिरहन्छस् ?’ भन्ने नयाँ प्रश्न तेर्सिन थाल्यो । 

अक्सर, अर्को प्रश्न प्रवेशाज्ञाबारे हुन्छ । नेपालीलाई भारत आवतजावत गर्न प्रवेशाज्ञा चाहिँदैन भन्नेसम्म थाहा भएका अध्यागमन अधिकारीहरूमा पनि एउटा नेपाली तेस्रो मुलुकबाट भारत भएर फर्कंदा वा त्यता जाँदा भने भारतको प्रवेशाज्ञा हुनुपर्छ भन्ने अनौठो धारणा अझै कायम छ । सतह मार्ग भएर भारत छिर्ने र हवाई मार्ग भएर फर्कने क्रममा ‘प्रवेशको छाप नलागेको’ मुद्दामा मुम्बई एयरपोर्टमा गतवर्ष मात्रै पनि ठूलै झन्झट बेहोर्नु पर्‍यो । नेपाल र भारतबीचको अध्यागमनसम्बन्धी विशेष व्यवस्थाबारे पर्याप्त अभिमुखीकरण हुन नसकेको यी विषय दुई देशबीचको कूटनीतिक छलफलमा प्रवेश नै गर्दैन । जापानमा असजिलो पर्नु त के अस्वाभाविक भयो र, छिमेकमै अवस्था फेरिएको छैन ।

सबैले बुझेकै विषय हो, कुनै पनि मुलुकको नागरिकले बोक्ने राहदानीको मान्यता र इज्जत निक्र्यौल गर्ने दुईवटा मात्रै तत्त्व छन् । पहिलो, विश्व मानचित्रमा त्यो मुलुकको आर्थिक र सामरिक हैसियत । दोस्रो, यदि यस्तो ठूलो हैसियत छैन भने पनि त्यो मुलुकको उज्ज्वल र विशिष्ट छवि । साना मुलुक भए पनि लक्जेम्वर्ग र भ्याटिकनका नागरिकले नेपालीको नियति बेहोर्नु पर्दैन । किनभने, तिनलाई विश्वले हेर्ने दृष्टिकोण बेग्लै छ । अचेल भुटानी राहदानीले पनि क्रमश: त्यस्तो सम्मान पाउन थालेको मेरो व्यक्तिगत अनुभव छ ।

तर, नेपालीहरूको ध्यान मुलुकको हैसियत र इज्जत प्रवद्र्धनमा भन्दा नेपाली राहदानी त्याग्नमा बढी छ । राजाको शासनकालमा मूर्ति बेच्ने देश, बहुदलकालमा कूटनीतिक राजदानीको व्यापार गर्ने देश, त्यसपछि माओवादी आतंक एवं मानव तस्करी गर्ने देश र अहिले संक्रमणकालीन न्यायमा राज्य–प्रायोजित दण्डहीनता प्रवद्र्धन गरिएको देशको छवि नेपालले बनाएको छ । अनि, कसरी नेपाली राहदानीले अन्तर्राष्ट्रिय इज्जत पाउनू ? पहिले, मुलुकको छवि उजिल्याउन कोही त अग्रसर हुनु पर्‍यो । अनि, विदेशी एयरपोर्टबाटै फिर्ता हुनुपर्दैन, नेताहरूले पनि । आश्चर्य ! पौडेल र भट्टराईहरू पनि यसमा गम्भीर बहस अगाडि बढाउन इच्छुक देखिँदैनन् । 

प्रकाशित: आश्विन ९, २०७४