दह्रो प्रहार कहिले ?

- सन्तोष आचार्य

गोपाल खड्का प्रवृत्ति शक्तिमा रहँदा समाजको ठूलो हिस्सा उसको ताबेदार बन्न तँछाडमछाड गर्छ । सामाजिक दण्डभागी हुनुपर्ने यस्ता पात्रलाई पुज्ने परम्पराजस्तै छ हामीकहाँ । यसैले भ्रष्टाचारी हुनु पनि एउटा ल्याकत ठानिन्छ । कतै हाम्रो शिक्षा–प्रणाली, हाम्रो रहनसहन, संस्कार र संस्कृतिमै भ्वाङ परेको त छैन ? जस्तो दसैँमा मान्यजनबाट दिइने आशीर्वचनमा पनि विगत दुई दशकमा केही परिवर्तनका छनक देख्न सकिन्छ । मान्यजनले दिने आशिकमा ‘धेरै पैसा कमाएस्’ले प्रधानता पाइरहेको छ । भ्रष्टाचारीको भौतिक चमकधमक, रवाफ अनि ‘ठूला’हरुसँगको उठबसले पनि आशीर्वचनले रङ फेरेको हुन सक्छ ।

किनभने, जसरी पनि सम्पत्ति कमाउनैपर्ने र कमाउन सक्नेलाई पुज्ने हाम्रो प्रवृत्ति नै भ्रष्टाचारको मूल कारक हो । रामेश्वर खनालले ८ असोजको नेपालमा लेखेजस्तै रातारात धनकुवेर बन्ने अस्वाभाविक सपना अहिले स्वाभाविक भएको छ । जबकि, यो हाम्रो सामाजिक मान्यता नै थिएन । विगत चार दशकमा बिस्तारैबिस्तारै सामाजिक मूल्य, मान्यता र आदर्शहरु वाहियात हुँदैछन् । जसको कारणले विषमता निम्तियो, जसले थिति भताभुंग र लथालिंग बनाए, उनीहरु अझै पनि समाजमा झन्डैझन्डै पूजनीयजस्तै छन् ।

जस्तो: पूर्वसरकार प्रमुख एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई नै हेरौँ । मेरा नातेदारसमेत हुन् रेग्मी । विवाह, व्रतबन्धदेखि विभिन्न सामाजिक कार्यहरुमा उनलाई निम्त्याइँदा समारोहकै शोभा बढ्ने ठान्छन् मेरा नातेदार पनि । जबकि, प्रधानन्यायाधीश पदलाई ‘लियन’मा राखेर मन्त्रिपरिषद् अध्यक्ष भए, रेग्मी । उनी प्रधानन्यायाधीश हँुदा स्वयं न्याय क्षेत्र पनि चकित भएकै थियो । यो कसरी सम्भव भयो ? न्यायालयलाई गर्तमा पुर्‍याउने खेलको सुरुआत उनीबाटै भएको थियो । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श भत्काउँदै शक्ति पृथकीकरणको सिद्धान्तलाई ठेंगा देखाउने काम उनैले गरे । समाज यस्ता प्रवृत्तिलाई आफूनजिक पाउँदा सामाजिक मर्यादा बढेको ठान्छ भने हामी कहाँ रहेछौँ ?

पश्चिमाहरुले कुनै बेला आफूलाई ‘क्याथोलिसिज्म’बाट ‘प्रोटेस्टेन्ट’मा रुपान्तरित गरेर तडकभडक र पाखण्डबाट मुक्त गराए । जलस्रोतका जानकार दीपक ज्ञवालीले भनेजस्तै अबको हाम्रो आन्दोलन पनि त्यसमै केन्द्रित गरे के होला ? किनभने, ‘भ्रष्टाचार जारी छ’को आन्दोलनलाई मटियामेट गर्न पनि सामाजिक जागरणमार्फत एक दह्रो प्रहार जरुरी छ । 

प्रकाशित: आश्विन ९, २०७४