जनाना जेलमा !

- वसन्त थापा

जाडो महिनाको एउटा कुनै औसत बिहान थियो, त्यो । मंसिर निक्लँदो वा पुस लाग्दो हुनुपर्छ । सदाझैँ म लुगा लगाएर तयार भएँ कलेज जानलाई । सधैँ बिहान लाग्थ्यो, हाम्रो कलेज । कापी–किताब बोकिरहन पर्दैन, कलेज जाने भएपछि भन्ने मान्यता थियो । लेक्चररको टिपोट राख्नलाई एउटा पातलो कापी पट्याएर पाइन्टको पछिल्लो खल्तीमा घुसार्‍यो, बस् चलिदियो । स्कुलमा रहुन्जेल कहिले कलेजको प्रांगण टेकिएला र दसथरीका किताब, नोटबुक, इन्स्ट्रुमेन्ट बक्स आदि बोक्ने झन्झटबाट पार पाइएला भन्ने हुन्थ्यो । कलेज जाने दाइहरु फुक्का हात हल्लाउँदै हिँडेका देखेर त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । कसले घुसाइदिएको थियो, यस्तो वाहियात विचार हाम्रो मगजमा कुन्नि ! हामी पनि नजानीकनै त्यही देखासिकी गर्ने भएका थियौँ ।

तर, त्यस बिहान मैले हातमा कुनै मोटो नोटकापी र एउटा किताब बोकेको थिएँ । के प्रयोजनले हो, म सम्झन्नँ । पिताजीले सोभियत संघको झन्डै दुईवर्षे लामो बसाइपछि कोसेली ल्याइदिएको र नयाँ स्वेटर पनि लगाएको थिएँ, मन नलागी–नलागी । अगाडि माथिदेखि तलसम्मै ह्वाङ्ग खुल्ने ‘भी’ गलाको त्यो स्वेटर टाँक लगाउनुपर्ने खालको थियो । त्यो डिजाइन मैले इच्छा गरेजस्तो थिएन र मलाई त्यसको अँध्यारो नीलो रङ पनि मन परेको थिएन । जाडो थियो र केही न्यानो त लगाउनैपर्ने थियो । त्यसैले मैले त्यो स्वेटर भिरेको थिएँ ।

म सुत्ने भुइँतलाको कोठा घरपछिल्तिरको आँगनमा खुल्थ्यो । यसै पनि आँगन भन्नु नै त्यही थियो । सडक थियो, घर अघिल्तिर त । दाहिनेपट्टि छिमेकको घर टाँसिएको थियो, हाम्रो घरसित । घरको बायाँपट्टि र पछिल्तिर भने खुला थियो । हिउँदको दिन, कुनै बालीबिरुवा थिएन पछिल्तिरको बारीमा । त्यसैले परैसम्म देख्न सकिन्थ्यो । घोचा र मुड्काले छुट्याएको हाम्रो घडेरीको सिमाना पर्तिर म देख्छु, दुई जना मानिस १२–१५ हातको फरकमा उभिएर मतर्फ अस्वाभाविक तवरले एकटक हेरिरहेछन् । म केही अप्ठ्यारो महसुस गर्दै बाहिर जानलाई घरअघिल्तिर निस्कन्छु, जहाँ मलाई पर्खेर अरु दुई जना लाठे उभिइरहेका थिए । मलाई छेकारो मारेर समात्न सादा पोसाकका पुलिसहरु आएका प्रस्ट भयो । उनीहरुले भने, ‘हामीसित हिँड्नोस् ।’ म चुपचाप गएर बसेँ, सडकमा रहेको रसियन जिपको पछिल्लो सिटमा ।

हाम्रो गन्तव्य टाढा थिएन । हाम्रो घर रहेको लक्ष्मी चोकबाट मुस्किलले दुई किलोमिटरको दूरीमा उत्तरतर्फ फुस्रे जाने बाटामा पर्ने इन्डियन कोलोनीसित जोडिएको थियो, धरानको एसपी अफिस । सादा पोसाकका पुलिसहरुले आफ्ना हाकिम अघिल्तिर खडा गरे मलाई ।

एसपी त थिएन ऊ, इन्स्पेक्टर थियो, जसले मेरो नाम सोध्यो । र, ‘उता बस्दै गर्नूस्’ भनेर खुला चउरतर्फ देखायो । त्यस बिहान उनीहरुको जालमा पर्ने सायद पहिलो माछो थिएँ म । जालहारीहरु छ्यापछ्याप्ती गएका रहेछन् बजार र कलेजतिर । धेरै बेर मैले एक्लै बसिरहनुपरेन । एक–दुई, एक–दुई गर्दै मजस्ता माछाहरु त्यहाँ जम्मा पारियो । कलेजको समय बित्दा–नबित्दा हाम्रा समूहका धेरै जना विद्यार्थी साथीहरु त्यहाँ ल्याइसकिएका थिए । हामी चउरमा घाम खाएर बसेका छौँ र एक अर्कासित केही कुरा गर्न निष्फल प्रयास गरिरहेका छौँ । अनिश्चय र डरको मिश्रणले गर्दा कुनै वार्ता सिलेसिलेवार चल्न सक्दैन । तर, गिरफ्तारीमा परेर आउनेहरुको जमात बढ्दै जाँदा ‘पानी खान प‍र्‍यो’, ‘हामीलाई कतिबेर यहाँ राख्ने हो ?’ भन्न सक्ने धक फुक्न थालेको थियो । ‘हामी आदेशबमोजिम गर्ने हो’, ‘तपाईंहरुलाई यहीँ पर्खाएर राख्ने आदेश छ’, ‘शान्तपूर्वक बसिदिनुहोला’ भन्ने रेडिमेड जवाफ आउँथ्यो भित्र–बाहिर गर्ने प्रहरी अधिकृतहरुद्वारा । सायद समातिनेहरुको कोरम पुगेको थिएन, उनीहरुको हिसाबले । को–को आउने हुन् भनेर अनुमान गर्दै बस्यौँ, चउरमा सेकिएर । बिहानको प्यारो घाम दिन छिप्पिदै जाँदा जीउ पोल्ने भइसकेको थियो ।

पानीबाहेक केही खान मिलेको थिएन, घाम मध्यआकाशबाट कोल्टे लागिसक्दा पनि । कलेटी परेका ओठ र सुकेका आन्द्रा लिएर म हिजो कलेजमा भएका घटना सम्झिरहेको थिएँ, जुन घटनाको परिणामस्वरुप आज हामीले दसैँमा बेच्न ल्याइएका बोकाच्याङ्ग्रा जसरी चउरमा ढक्रिनु परिरहेको थियो ।

अल्लारे उमेरको उन्माद र क्रान्तिको भ्रान्तिले गर्दा हामीबाट ज्यादै जघन्य काम हुन गएको थियो अघिल्लो दिन, जसको जति निन्दा गरे पनि थोरै हुन्छ । धरान महेन्द्र कलेजका प्रिन्सिपल महाप्रसाद रिजालमाथि उनकै कार्यकक्षमा ‘खरानी’ समूहका एक हुल क्रुद्ध विद्यार्थीहरुद्वारा हात हालिएको थियो, जुन हुलको मुखियामध्ये म पनि एक थिएँ ।

आक्रोशको पराकाष्ठामा पुगेर ठूलो होहल्लाका साथ १५–२० जनाभन्दा बढीको हाम्रो हुल प्रिन्सिपलको कोठामा अकस्मात् पसेको थियो, त्यसरी नै जसरी धरान बजारलाई चिरेर सुतेको खहरे खोलामा हठात् आउने बाढी कसैको छाप्रामा तहसनहस पार्दै पस्थ्यो । अफिसबाहिर बरन्डामा गुजुल्टो परेका विद्यार्थीहरुको थप भीड बेग्लै थियो । अघिपछि त्यस कोठामा पस्नलाई निकै हिम्मत बटुल्नुपथ्र्यो । तर, विवेकशून्य उन्मादको रङ दिमागमा चढेका बेलाको कुरा बेग्लै हो । 

तुमुल स्वरमा चिच्च्याउँदै कुर्सीमा बसिरहेका प्रिन्सिपलको टेबुलमा खनियौँ । शरीरले च्याँसे म जिरे खुर्सानीसरह पड्किरहेको थिएँ, प्रिन्सिपलको टेबुल सामुन्ने उभिएर । अरु पनि कान खानेगरी एकर्कालाई उछिन्दै कराइरहेका थिए । प्रिन्सिपल महाप्रसाद यस अनपेक्षित झम्टाइबाट हतप्रभ भएका थिए । विद्यार्थीको क्रुद्ध हुल अतिशय उत्तेजित र अनियन्त्रित भयो । हामीमध्येको सबैभन्दा बलिष्ठ र आठराईतिरका अग्लो एक विद्यार्थीले कुर्सीनजिक गएर दुई घुस्सा कस्यो प्रिन्सिपलको पेटमा । बरा, घुस्साको चोटले रन्थनिएका प्रिन्सिपल दुई हातले पेट थिचेर कुर्सीबाट उठे । पीडाले उनको अनुहार विकृत भएको थियो । 

त्यो घुस्सा परेपछि सम्भवत: तत्क्षणै सबैलाई महसुस भयो, सीमा नाघियो भन्ने अथवा दिनुपर्ने सजाय दिइयो भन्ने । हातै हाल्ने कुनै योजना लिएर हामी भित्र पसेका थिएनौँ । तर, हात हालिसकिएको थियो । मानौँ, कुनै ठूलो युद्ध जितेजस्तै हाम्रो पूरै जमात प्रिन्सिपलको अफिसबाट नारा लगाउँदै त्यसरी नै निस्कियो, जसरी केही बेरअघि पसेको थियो ।

यो अनिष्ट हुने बीज थियो, विद्यार्थीहरुको ‘खरानी’ र ‘गोबर’ समूहबीच लामो समयदेखि विद्यार्थी युनियनबारे चलिरहेको विवाद । विद्यार्थी युनियनको चुनाव टारिएको थियो, जो ‘गोबर’ समूहका विद्यार्थी चाहन्थे र त्यो उनीहरुले प्रिन्सिपलको सह पाएर गरेका हुन् भन्ने ठनाइ ‘खरानी’ समूहका विद्यार्थीहरुको थियो । यी नितान्त अराजनीतिक नाम पाएका तर पूर्णत: राजनीतिक विचारले विभाजित विद्यार्थीहरुलाई पढाइभन्दा युनियनको गठन अत्यधिक प्यारो थियो । त्यसैले रडाको चलिरहेको थियो । पढाइमा ध्यान दिने ज्ञानी विद्यार्थीहरु पनि कलेजमा नभएका होइनन् तर तिनको आवाज कसले सुनिदेओस् !

‘खरानी’ र ‘गोबर’ भन्ने जुन विशेषण चल्तीमा आएको थियो, त्यो बनारसबाट सोझै आयातित थियो । अनि, त्यसको प्रयोग केवल कलेज हाताभित्र सीमित थिएन, धरान बजारका बासिन्दासमेत त्यसबाट वाकिफ थिए । ‘खरानी’ भन्नाले वामपन्थी वा कम्युनिस्ट समर्थक विद्यार्थी बुझाउँथ्यो र ‘गोबर’ भन्नाले कांग्रेस समर्थक । यद्यपि, उनीहरु आफैँलाई त्यस नामबाट पुकार्दैनथे । त्यो त अर्को पक्षले गालीका रुपमा चलाउने नाउँ थियो । जस्तै : कसैले ‘साले खरानी’ भन्यो भने त्यो भन्ने विद्यार्थी आफूचाहिँ ‘गोबर’ हुँ भन्ने स्वीकारिरहेको हुन्थ्यो । त्यसैगरी ‘गधा गोबर’ भनेर अरुलाई गाली गर्नेले आफू खरानी हुँ भन्ने जताइरहेको हुन्थ्यो । ‘हामी खरानी हौँ’ अथवा ‘हामी गोबर हौँ’ भन्ने समूहगत पहिचान पनि कसैले अभिव्यक्त गर्दैनथे । ‘खरानी जिन्दावाद’ वा ‘गोबर जिन्दावाद’ भन्ने नारा पनि लगाउँदैनथे । बस्, त्यो एकर्कालाई होच्याएर चिनाउने फुल नामका रुपमा प्रचलित थियो र त्यसको प्रयोगमा मानौँ, उनीहरुबीच कुनै अव्यक्त सहमति थियो ।

यस विशेषणको उद्भव भयो कसरी ? अघि नै उल्लेख भइसक्यो, यसको उद्गमस्थल बनारस हो भनेर । नेपालबाहिर पञ्चायतविरोधी राजनीतिको केन्द्रस्थल हुनाका साथै परम्परागत शैक्षिक थलो पनि थियो, नेपालीहरुका लागि बनारस । झन् धरानजस्ता सीमाछेउका नगरहरुका लागि पढ्ने–पढाउने कुरामा बनारस नै थियो सजिलो ठाउँ । त्यतिन्जेल काठमाडौँको बाटो सोझिइसकेको थिएन, अझै बांगोटिंगो र घुमाउरो नै थियो । बनारस बसेर ढुक्कसित कलेज वा विश्वविद्यालयमा मेलैसित पढ्नेहरु पनि थिए । कतिपयचाहिँ मौसमी विद्यार्थीहरु थिए, त्यहाँ जाने । म्याट्रिकमा गुल्टियो, अर्कोपटक जाँच दिन बनारस । नेपालमा आईएमा फेल, अर्कोपटक जाँच दिनलाई लाग्यो, बनारस । नेपालमा बीएमा असफल, चल्यो बनारस । केही महिना उता बस्थे, जाँच दिएको भन्थे । नभन्दै पास भएर आउँथे । बनारसमा त्यस्तो के बुटी थियो या के गुर थियो कुन्नि ! नेपालको परीक्षामा नालायक ठहरिएका विद्यार्थीहरु सहजै पास भएर देखाइदिन्थे उताबाट । परीक्षा चल्ने सिजनमा एकथरी विद्यार्थीको हुलै जान्थ्यो, धरानबाट बनारस ।

यसप्रकारको आनाजाना र निकटताले गर्दा पहिरनको नयाँ फेसनदेखि धेरै थोक सोझै आइपुग्थ्यो, यूपीको त्यस सहरबाट धरान । त्यसैगरी आएको थियो, उतै न्वारान भएर ‘खरानी’ र ‘गोबर’को नाम ।

‘खरानीलाई जस्तै फु गरेर उडाइदिन्छौँ कम्युनिस्टहरुलाई भन्थे रे’ काङ्ग्रेसीहरु पसारिएको हत्केला देखाउँदै । ‘गोबरका थास हुन् काङ्ग्रेसीहरु, लात्तीले कुल्चिदिन्छौँ भन्थे रे’ कम्युनिस्टहरु लात्ती उचाल्दै । यसरी बनारसबाट ल्याइएको नामलाई सर्लक्क बोकेर दुई खेमामा विभक्त थिए, धरान महेन्द्र कलेजका विद्यार्थीहरु । मण्डले भनिनेहरु जन्मिसकेका थिएनन्, त्यसबेला । यद्यपि, जन्मने लक्षणहरु देखा परेका थिए । त्यसैले झगडा–रगडा चल्थ्यो यिनै दुई ‘खरानी’ र ‘गोबर’ नामधारी समूहबीच । सामान्य झगडा मारपिटमा पनि परिणत हुन्थ्यो कहिलेकाहीँ हिंसाको त्यो लहर पोखिएर धरान बजारसम्म पनि पुग्थ्यो । उता कलेजमा ढुंगामुढा चल्थ्यो, यता बजारका दोकानहरु बन्द हुन्थे । एक किसिमले विद्यार्थीहरुको यस घम्साघम्सीले गर्दा आमाबाबु र अभिभावकहरुसमेत विद्यार्थीका दुई खेमामा बाँडिएका प्रतीत हुन्थे । उनीहरु आफूले मन पराउनेलाई च्याप्थे, मन नपराउनेलाई दुत्कार्थे । पुलिसले लखेट्दै आएमा एकथरीलाई आश्रय दिएर लुकाउँथे, अर्काथरीलाई ढोका थुनिदिन्थे । एक प्रकारले सिंगो धरान बजार ध्रुवीकृत थियो, राजनीतिक लाइनमा ।

अनि, कलेजका अध्यापकहरुलाई पनि एउटा वा अर्को समूहको पक्षधर वा विरोधीका रुपमा हेर्ने गरिन्थ्यो । वाणिज्य र कला संकायको पढाइ हुने महेन्द्र कलेजमा पढाउने नेपाली शिक्षकको अभाव थियो उसबेला । त्यसैले धेरै शिक्षक बिहारतिरका हुन्थे– पूर्णिया, समस्तीपुर, दरभंगा, लेहरीसराय, पटना आदि ठाउँबाट आएका । त्यसरी विशुद्ध नोकरीका लागि बाहिरबाट आएका शिक्षकहरुको ध्याउन्न कसरी लेक्चररको आफ्नो पद जोगाउने र कसरी विद्यार्थीको रडाको बीच तटस्थता कायम गर्ने भन्ने हुन्थ्यो । तर, रैथाने अध्यापकको हकमा त्यस्तो निरपेक्षता वा तटस्थता कायम गर्नु असम्भव नभए पनि कठिन हुन्थ्यो ।

उनीहरु वास्तवमै निष्पक्ष भए पनि देख्नेले त्यस्तो देख्न इन्कार गथ्र्यो । उनीहरुको सामाजिक, पारिवारिक र निजी पृष्ठभूमिका कारण पनि त्यसो हुन गएको थियो । जस्तो : प्रिन्सिपल महाप्रसादको हकमा भएको थियो ।

जमिनदार परिवारका महाप्रसादको आफ्नै व्यक्तिगत छवि र प्रतिष्ठा थियो, समाजमा । पहिलेदेखि नै कांग्रेसी रङमा रङ्गिएको थियो, पूरै रिजाल परिवार । केही फाट्टफूट्ट घरपरिवार थिए रिजालका, जो अपवादस्वरुप कम्युनिस्ट भएका थिए । उता आचार्यहरु प्राय: कम्युनिस्ट क्याम्पमा दरिएका थिए । विसं ०१५ को आमनिर्वाचनमा तीन घोघा मकै र हँसिया चिह्न लिएर उठेका उम्मेदवार दिव्यप्रसाद आचार्य ठूला कम्युनिस्ट नेता थिए ।

आचार्यहरुमा पनि कांग्रेस नभएका होइनन् तर एकदमै थोरै । ढकालहरु कोही कम्युनिस्ट थिएनन्, न त बाँस्तोलाहरुको त्यत्रो ठूलो खलकका कोही कम्युनिस्ट भनेर चिनिएका थिए । केदारनाथ खनाल अर्का ठूला कम्युनिस्ट नेता थिए, जो ०१७ मा भएको धरान नगरपालिकाको निर्वाचनमा मेयर चुनिएका थिए । त्यसैले हो कि खनालहरु प्राय: कम्युनिस्ट थिए । त्यस्तै पारिवारिक परम्परा देखिएको थियो र चलिरहेको थियो धरानमा । तसर्थ, आफ्नो सामाजिक व्यक्तित्वसित अविभाज्य रुपमा टाँसिएको कांग्रेसी छविलाई महाप्रसादले चाहेर पनि मिल्काउन सक्ने अवस्था थिएन । झन् रातो रङको चस्मा लगाएका आँखाले हेर्दा उनी कट्टर कांग्रेसी देखिनु स्वाभाविक थियो । भएकै त्यही थियो ।

नत्र उनीजस्ता माथिल्ला स्तरका व्यक्तिले कलेजमा पढ्ने उरन्ठ्याउला छुसी ‘गोबर’ विद्यार्थीहरुसित मिलेर कुनै दुरभिसन्धि गर्नु सम्भव नै थिएन । जस्तो नाम थियो महाप्रसाद, उनको व्यक्तित्व, चालढाल, बोलीव्यवहार त्यस्तै थियो । बडो सालीन र रोबदार ‘पर्सनालिटी’का धनी । जहिले पनि सुट र टाइमा सजिएका । हातमा कुनै पुस्तक र विद्यार्थीको हाजिरी रजिस्टर बोकेर क्लासतिर लमकलमक लम्किरहेका । राजनीतिशास्त्र पढाउँथे र अंग्रेजीमा सर्रर व्याख्यान दिन्थे । अग्ला कदका र श्याम वर्णका प्रिन्सिपल महाप्रसाद हुनसम्मका ‘ह्यान्डसम’ थिए, कमसेकम मेरो दृष्टिमा । मलाई उसबेलाका हिन्दी फिल्मका अभिनेता राजकुमार र रहमानको मिश्रणजस्तो लाग्थ्यो, महाप्रसाद सर । पर्दामा अभिजात वर्गीय चालढाल थियो रहमानको । कालो कपाल तेल लगाएर सिनित्त कोरिएको र शिरको बायाँपट्टि सिउँदो काटिएको । त्यस्तै थियो, महाप्रसादको केशविन्यास र चालढाल । मुहारमा अभिनेता राजकुमारको झलक । तर, मेरो हिसाबमा महाप्रसाद सर राजकुमारभन्दा एक खुट्किला बढी ह्यान्डसम थिए । कलेजका प्रिन्सिपल हुनलाई हरेक दृष्टिले लायक र पदीय गरिमा राख्नलाई पूर्ण समर्थ । प्रिन्सिपल त के उनलाई विश्वविद्यालयका उपकुलपति पदमा थपक्क राखे पनि फरक नपर्ने ।

महाप्रसाद सरजत्तिकै पद सुहाउँदो व्यक्तित्व र व्यवहार भएको मैले अर्को व्यक्ति देखेको धरान पब्लिक हाई स्कुलका हेडमास्टर हरिहरप्रसाद हुन् । उसबेला अहिलेजस्तो यूकेजी र एलकेजीमा पढाउनेलाई पनि प्रिन्सिपल भन्ने चलन थिएन । प्रिन्सिपल त कलेजको मात्रै हुन्थ्यो । स्कुलका प्रमुख शिक्षक हेडमास्टर नै कहलिन्थे । एउटा श्रेणी विभाजन थियो, कोटि छुट्याइएको थियो । हाई स्कुलका हेडसर हरिहरप्रसादको व्यक्तित्व पनि उत्तिकै प्रभावशाली थियो । उनलाई पर देख्नेबित्तिकै पानी परेको नुन जसरी पग्लिन्थे केटाहरु ।

जे होस्, त्यस्ता थिए हाम्रा प्रिन्सिपल महाप्रसाद सर र उनकै विरुद्ध हामीले कलेजमा त्यो काण्ड मच्चाएका थियौँ अघिल्लो दिन । राजनीतिको प्रेतबाट निर्देशित भएर आफ्नै गुरुको त्यस्तो अपमान गरेका थियौँ । हामीबाट अक्षम्य अपराध हुन गएको थियो भन्ने बोध भोकले चिसिएको दिमागमा बिस्तारै पस्दै थियो । आफ्नो कुकृत्यको सजाय कस्तो मिल्ला र त्यसको मात्रा के होला भन्ने डरले भित्रभित्रै गाँजिरहेको थियो, एसपी अफिसको फराकिलो चउरमा अनिश्चित कारबाहीको प्रतीक्षामा बसिरहेका बेला ।

साँझसम्ममा हाम्रा सिनियर सिद्धान्तकार अगुवाहरुलगायत ‘खरानी’ जमातका प्राय: सबै कार्यकर्तालाई एक डल्लो पारेर ल्याइसकेका थिए पुलिसले । जाडो यामको छोटो दिन भए पनि मनमा उम्लेको व्यग्रताले गर्दा दिन तन्किएजस्तो लागिरहेको थियो । साँझ पर्नेपर्ने बेलामा चिउरा–सिउरा यस्तै केही खाजा खान पाइयो । अँध्यारो हुनाको बेर थियो, दुईवटा बस आएर तेर्सिए एसपी अफिसको हातामा । पक्राउ परेका विद्यार्थीको संख्या ६० जति पुगेको हुँदो हो । हामीलाई विराटनगर लगिने पक्का देखियो । आखिर अञ्चलाधीशको कार्यालय, जेल आदि सबै थोक विराटनगरमै थिए । बाटामा कुनै उपद्रव नहोस् भनेर हामीलाई लैजान राती हुन्जेल पर्खेका थिए पुलिसले सायद ।

धेरैका अनुहार त न्यास्रिएका थिए । तर, हामी केही अगुवा ठानिएकाले त विचलित हुनुभएन । यसैले बसको यात्रा गीत गाउँदै, थपडी बजाउँदै अरुलाई ताल मिलाउन हौस्याउँदै काटियो । धरान छाडेको लगभग दुई घन्टापछि हामीलाई लिएर गएको बस जहाँ रोकियो, त्यो ठाउँ विराटनगर मधुमारा जेलको फाटक थियो । बसबाट ओर्लनासाथ हिया कटकट खाने मधेसको चिसोले हाम्रो स्वागत ग‍र्‍यो । बिजुलीको मधुरो प्रकाशमा एक–एकको टाउको गन्दै हामीलाई हुलियो जेलको गेटभित्र । कुनै अज्ञात सुरुङभित्र पसेको भान भएको थियो सुरुमा । फलामको बडेमाको चुइँकिने गेटबाट ठूलो कोठाजस्तो ठाउँमा छिरेर फेरि अर्को चुइँकिने फलामे गेट पार गरेपछि जेलको भित्री भागमा पुगियो । २० फिट अग्लो पर्खालले घेरेको बीच भागमा रहेको पुरानो दुई तले घरको भ‍र्‍याङ चढाएर हामीलाई माथ्लो तलामा लगियो । मानौँ, ढुसी र सडान्धको मुस्लो हाम्रै प्रतीक्षामा थियो । बीचमा बारिएको लामो हल थियो, जहाँ जमेको धूलोमाटोलाई हतारमा लापारलुपुर गरेर बढार्ने प्रयत्न गरेको देखिन्थ्यो । दलिन र झ्यालमा जेलिएका माकुरा–जालो हटाउन भ्याएका थिएनन् क्यार ! त्यही भुइँमा बिनाखोलका डसना लस्करै बिछ्याइएका थिए र ओढ्नलाई राखिएका थिए धुस्साहरु ।

ती डसना र धुस्सा भर्खर कुनै मारवाडीको गोदामबाट सोहोरसाहर पारेर ल्याइएका जस्ता देखिन्थे । तिनबाट कपडाको नौलो गाँठ फुकाउँदाको गन्ध आइरहेको थियो । भला, कसैले पहिलेबाटै उपयोग गरेको पुराना जिनिस थिएनन् ती । हाम्रो गाइड बनेर अघिअघि आएको मानिस जेलको नाइके थियो क्यार ! उसले पानीका लागि तल आँगनमा रहेको ट्युबवेल र पर्खालको कुनामा रहेको पाइखाना देखायो । आज अबेर भइसकेकाले बाँकी अरु कुरा भोलि बिहान सबेरै आएर बताउँला भनी ऊ बिदा भयो ।

जति सिकसिको लागे पनि अनिश्चित कालसम्मका लागि हाम्रो बास यहीँ हुने पक्का थियो । यस यथार्थलाई स्वीकार्नुबाहेक अरु उपाय पनि थिएन हामीसित । मनको उद्वेलनलाई दिनभरिको थकानले जित्न समय लागेन । हामी सबै छिटै भुस भयौँ ।

भोलिपल्ट बिहान तल जेलको आँगनमा हामीले चार–पाँचवटी आइमाई देख्यौँ । एउटा तीन–चार वर्षको बच्चो पनि थियो उनीहरुको साथमा । हिजो रातीकै नाइकेबाट पछि थाहा भयो, उत्तरतिर अग्लो पर्खालपारि रहेको मर्दाना जेल कैदीहरुद्वारा टनाटन भरिएकाले हाम्रो जमातलाई यता राखेको भन्ने । उसैबाट थाहा भयो, वास्तवमा हामीलाई राखिएको ठाउँ त जनाना जेल रहेछ । उसको भनाइमा अघि आँगनमा देखा परेका जनानाहरु कैदी थिए र तिनलाई हामी आए उप्रान्त दिउँसोभरि बाहिरै राख्ने व्यवस्था मिलाइएको थियो ।

त्यही जनाना जेल हाम्रो घर बन्यो, लगभग दुई महिनाका लागि । 

प्रकाशित: आश्विन ९, २०७४