अस्पतालमै प्रदर्शनी गर्नुको कारणचाहिँ के हो ?

- मनबहादुर बस्नेत

पेसाले नर्स हुन्, रचना मास्के, ४० । तर, उनी कर्मस्थलमा बिरामीको सेवा मात्र गर्दिनन्, बिरामीको मनोभाव, मनोदशालाई आफ्नो क्यानभासमा समेत उतार्छिन् । उपचारार्थ आउने बिरामीहरुको दुर्दशालाई चित्रमा उतारेर मास्केले आफू कार्यरत महाराजगन्जस्थित शिक्षण अस्पतालको प्रांगणमै चित्रकला प्रदर्शनी गरिन्, त्यो पनि बिरामीकै लागि । २८ देखि ३० भदौसम्म चलेको प्रदर्शनीबारे उनीसँग गरिएको कुराकानी :

अस्पतालमै प्रदर्शनी गर्नुको कारणचाहिँ के हो ? 

यहाँ आउने बिरामीहरूमा आर्ट थेरापी होस् भनेर यस्तो सोच बनाएकी हुँँ ।

कस्तो आर्ट थेरापी ? 

जसरी संगीत सुनेर कोही मानिस आनन्दित हुन्छ र आफ्नो रोग, पीडालाई भुल्न या कम गर्न सक्छ, त्यसरी नै आर्ट हेरेर मानिसले त्यही अनुभव गरून् भन्ने मेरो उद्देश्य हो । चित्र हेरेर मन शान्त बनाउन सकून् र रोग निको हुन सहयोग गरोस् भन्ने मेरो चाहना हो । 

यो प्रदर्शनीको उद्देश्यचाहिँ के हो ? 

नर्सका रूपमा १९औँ वसन्त पार गर्दा मैले वृद्धवृद्धा बिरामीहरूलाई नजिकबाट बुझेँ । उनीहरूको पीडा, अवस्था, छोराछोरीबाट हुने व्यवहार जम्मै हेरेँ । यो सबै देख्दा मलाई उनीहरूका लागि केही गर्नुपर्छ भन्ने भावना पैदा भयो र यो प्रदर्शनीबाट जम्मा भएको सबै रकम ७५ वर्षमाथिका वृद्धवृद्धाहरूकै उपचारमा खर्च गर्नेछु । 

अस्पतालमा आउने बिरामी वृद्धवृद्धाको अवस्था कस्तो हुँदोरहेछ र तपाईंलाई यति भावविह्वल बनायो ? 

७५ वर्ष उमेर कटेकाहरूको उपचारमा पैसा खर्च गर्न अधिकांशले नमान्ने रहेछन् । त्यसपछि धेरैजसो उपचारै नगरी फर्किन्छन् । उपचार पाएमा अझै केही समय बाँच्न सक्नेहरूसमेत रोग निको नभई अस्पतालबाट जान्छन् । यसले मलाई असह्य तुल्यायो । 

किन पैसा खर्च नगर्ने रहेछन् ? 

कतिपयको त आर्थिक हैसियत नै त्यस्तो भएर पनि होला । कतिपयको चाहिँ यो उमेरमा पैसा खर्च गरी गरी उपचार गरेर पनि के गर्नु भन्ने पनि होला । बिरामी वृद्धवृद्धाले उपचार नगरौँ, जाऔँ भन्दा छोराछोरीले कर गरेर निको भएपछि मात्रै जाने एकदमै कम देखेँ । ज्येष्ठ नागरिकको उपचारमा उदासीन यो अवस्था देखेर जनरल बेडको खर्च भए पनि जुटाउन सकेँ भने बिरामी थप केही समय बाँच्न सक्छन् भनेर यो चित्रकला प्रदर्शनी गरेकी हुँ । 

यो प्रदर्शनीबाट तपाईंको लक्ष्य पूरा होला ? 

हुन्छ । थुप्रै जनाले सहयोग गर्नुभएको छ । ३२ वटामध्ये २० वटा चित्र बिकिसके । ८ देखि २० हजार मूल्यमा बिक्री भएका छन् । कतिपयले चन्दा बक्समा समेत सहयोग गर्नुभएको छ । 

तपाईंले पहिले आर्ट ग्यालरीमै प्रदर्शनी गर्नुभएको थियो । अहिले अस्पताललाई रोज्नुभयो । के भिन्नता पाउनुभयो ? 

अस्पतालको प्रदर्शनी प्रभावकारी भएको छ । किनभने, यहाँ आउनेहरू विभिन्न पीडा, समस्यामा हुन्छन् । ग्यालरीका आगन्तुक र अस्पतालको प्रदर्शनीमा आउने आगन्तुक बिलकुल फरक छन् । माया गरेर कसैको जीवन बचाउन सकियो भने त्यसले दिने आनन्द छुट्टै हुन्छ भन्ने यहाँको प्रदर्शनीमा आउनेले थाहा पाए । 

यहाँ आउनेहरूको प्रतिक्रियाचाहिँ कस्तो थियो ? 

एकदमै फरक । मैले प्रत्येक चित्रबारे कविता पनि लेखेकी थिएँ । चित्र हेरेर र कविता पढेर कतिपय त आफ्नो दुखद विगत सम्झिँदै रोए पनि । त्यही भएर प्रदर्शनीले छुट्टै सन्देश दिन सफल भयो कि जस्तो लाग्छ । 

कस्तो सन्देश दियो प्रदर्शनीले ? 

बुबा–आमा मरेपछि प्रशस्त दान गर्ने हाम्रो परम्परा छ । तर, स्वर्गमा पुगेर हामीले दिएको सामान बाआमाले पाएका छन् कि छैनन् भन्ने कसैले देखेको छैन । त्यसैले मरेपछि होइन, जिउँदो हुँदा बुबाआमाका लागि उपचार गर्न सकियो र उहाँहरूलाई थप केही दिन बचाउन सकियो भने त्यही नै ठूलो पुण्य हो भन्ने सन्देश दिएको छ कि भन्ने लाग्छ ।

प्रकाशित: आश्विन ५, २०७४