उम्मेदवारको एकालाप

- छुल्याहा गुरु

आँगनमा आएको चुनाव बडो मुस्किलले टिकट पाएको, शृंगारपटार गरीवरी भोट माग्न हिडेथेँ । कार्यकर्ताहरुले क्या फोहर, उजाड बस्तीमा हुलिदिए मलाई । अनि, त्यहाँका ख्याउटे, रोगी, नांगाभुतुंगा, घीनलाग्दा मान्छेहरुलाई नमस्ते गर्न लगाए । जाबो यौटा भोटका लागि केके गर्नुपर्ने ? कार्यकर्तादेखि उठेको रिस मनमै दबाएर मुस्कानसहित दुई हात जोडेर नमस्ते गरेँ । बजिया पिलन्धरे मतदाताहरु बैगुनी रहेछन् । मेरो नमस्कारको बदलामा अनेक गुनासा पो गर्न थाले, प्रश्न गर्न थाले ।

बाढीले सर्वस्व लग्दा कहाँ थियौ रे ! के उनीहरुसँगै म पनि बाढीमा बगिदिनुपथ्र्यो ? अनि, चुनावको तयारी कसले गरिदियोस् नि ? राहत लिएर पनि आइनँ रे म ! दुनियाँले राहत बटुलेर दिइरहैकै थिए त । कस्ता अगस्ती रैछन् ! बिजुली, बाटो, रोजगार, विकास के–के हो के–के, अनेकथरी गनगन गर्न लागे । रिंगटा लागेर भाउन्न भो । तैपनि, आफूलाई सम्हालिरहेँ । टाउकोमा छतको व्यवस्था भएन रे ! मैले भनेँ, “भोट खसाल्ने ठाउँमा आउनुहोला, त्रिपालको व्यवस्था हुनेछ ।” एक मतदाताले भने, “भोको पेट के भोट खसाल्नू ?” उनको गुनासो झर्न नपाउँदै मैले भनेँ, “चिन्तै नलिनूस् । मासुभातको व्यवस्था छ, जाऔँ सँगै ।”

प्रकाशित: आश्विन ५, २०७४