यथार्थवादी स्वर

- महेश क्षितिज

महेश पौड्यालको कथासंग्रह त्यसपछि फुलेन गोदावरीको भाव नै यही हो, झीनो कथानकका माध्यमबाट समाजको संस्कृतिलाई राम्ररी छाम्न सकिन्छ । समाजको यथार्थ भोगाइ र पात्रको मनोविज्ञानसँग जब निकट बसिन्छ, तब कथाले उठाएको विश्वदृष्टिमा हरेक सीमान्त तहका पात्रहरू, बालक, महिला र विविध कारणले समाजबाट झड्कारिएका पात्रहरूले आफ्नो विश्वदृष्टि बनाउँछन् । समाजमा यस्ता पनि पात्र छन्, जो सधैँ अँध्यारोमा बस्न बाध्य भए अथवा पारिए । सामाजिक संरचना तय गर्ने प्रभुत्वशाली वर्गलाई उनीहरूले विरोध गर्न सकेनन्, बरू हेजेमोनाइज्ड भएर हेजेमोनी स्वीकारे । यस्तै संस्कृति भोगिरहेका ग्रामीण आमनेपाली महाजातिहरूको आफ्नो कथा हो, त्यसपछि फुलेन गोदावरी ।

कथालाई सानो कुवा मात्र मान्ने पौड्यालले एकोद्देश्यमा केन्द्रित जीवनको यथार्थ अनुभूतिलाई त्यसपछि फुलेन गोदावरीमा प्रस्तुत गरेका छन् । सामाजिक यथार्थ र मनोवैज्ञानिक यथार्थ धारलाई उच्च बनाएर लेखिएका उनका कथामा ग्रामीण युगको प्रतिनिधित्व तीव्र देखिन्छ । पौड्यालका कथामा पनि रूमानी कवितामा जस्तै प्रकृतिको विराट रूप देख्न सकिन्छ । कथा पढ्दै जाँदा पात्रको मनोविज्ञानसँग कथाकार पौड्याल नजिक रहेका देखिन्छन् । पात्रका चेतन र अचेतन मनको द्वन्द्व, शिथिलता, रिक्तता आदिको सूक्ष्म विश्लेषणमा उनका कथा केन्द्रित छन् ।

कथाहरूले एकै खालको कथानक समातेका छन् । २० वटै कथाको संवेदना पक्षलाई हेर्दा सामाजिक यथार्थसँगै मनोविज्ञानलाई अटाउन सक्ने नेपाली कथाकारको भीडमा पौड्याल अब्बल देखिन्छन् । पौड्यालको संवेदनाको दिशा भने संयोग नभएर वियोग रहेको छ । पौड्यालका अधिकांश कथा बौद्घिक लेप र सन्तुलनका साथ व्यक्त भएका छन् । र, यौनका नाङ्गा चरित्रहरू कतै पनि देखिँदैनन् । संग्रहको पहिलो कथा नर्सरीमा लेखकले सन्तान गुमाएको बाबुको मनोविज्ञानलाई प्रस्तुत गरेका छन् । 

ग्रामीण जीवनप्रतिको मोह पौड्यालका कथाहरूको विशेषता हो । बाध्यताका कारण सहरमा बसाइँ सर्न विवश मान्छेहरूको मनोविज्ञानलाई निदाल कथामा देखाइएको छ । बालमनोविज्ञानलाई गम्भीर ढंगले प्रस्तुत गरेर लेखिएका कथाहरू क्रान्तिवीर, भुवन र कर्णालीको पल्लो किनार हुन् । क्रान्तिवीर कथामा आएको बालपात्रको विद्रोही चेतनालाई असामान्य बालमनोविज्ञान मान्नुपर्छ । सीमान्त वर्गको बालपात्र भुवनको सपना र लास कोसीमा बगेको कारुणिक घटनाले प्रभुत्वशाली वर्गले सीमान्तकृत वर्गमाथि गर्ने अत्याचारलाई चित्रण गरेको छ । सिकारी कथाभित्र आएको विषयले पुरुष अहम् देखाएको छ भने हुलाकी कथामा आएको कथानकले सञ्चार प्रविधिको विकासले हुलाक सेवा लोपजस्तै भएको यथार्थलाई प्रस्तुत गरेको छ ।

कथाकार पौड्याल बिथोलिएका पात्रहरू चयन गर्छन् । यस्ता पात्रलाई लेखक आक्रोशको आवाज उठाउन जबर्जस्ती गर्दैनन् । समाजमा छोडिएका, झड्कारिएका, एक्लिएका महिला, बालक, बृद्घ अनि सीमान्त तहमा रहेका मानिसहरूको साझा समस्यालाई उनले प्रस्तुत गरेका छन् । हाम्रो समाजमा यस्ता तल्लो तप्काका मानिसहरू पनि छन्, जसको पीडालाई न समाजका मान्छेहरूले बुझेका छन्, न त केन्द्रमा रहेको सरकारले नै बुझेको छ । कोही कतैबाट नबुझिएका पात्रको मनोविज्ञानलाई बुझेर लेखकले यी कथाहरूमा त्यस्ता पात्रको चयन गरेका छन् । 

पीडासँग खेल्न जान्नुपर्छ, त्यसमा पनि आनन्द छ । पीडा एउटा न एउटा यादसँग गाँसिएको हुन्छ । कतिपय पीडालाई मसाज गर्न सकिँदैन । दुखेर बाँच्नुपर्ने हुन्छ । संग्रहभित्रको शीर्ष कथाले पनि पीडालाई नै उठाएको छ । पुङ्गिनले आफ्नो बफादारी सिद्घ गर्न चलाएको तरवारले जब आमा र छोरी मारिए, तब गोदावरी फुल्ने ऋतु आएन । सेनासँगको भिडन्तमा पुङ्गिन नै मारिएपछि गोदावरी फुल्ने फूलबारी पनि उजाड बनेको छ । पौड्यालका कथाहरू पूर्वीय दर्शनसँग पनि निकट छन् । जन्मेपछि मानिसले अनेक तृष्णा, भोग, ममता, राग लिएर आएको हुन्छ । मान्छेको जीवनमा सन्तोष र असन्तोष देखा पर्दछ । पौड्यालका कथाका विषय र पात्रमा पूर्वीय दर्शनको प्रभाव उच्च रहेको छ ।  

कथाकार पौड्यालका कथाहरूमा प्रकृतिसँगको संवाद छ । झीनो विषयमा कथाको प्रवाह बढाउने उनको शैली नेपाली कथा साहित्यका लागि प्रशंसनीय विषय हो । भौतिकवादी युगमा मानिसको संवेदना न्यून रहेका बेलामा कथाकार पौड्यालमा यसलाई व्यक्त गर्ने कला बडो विचित्रको देखिन्छ । सरल र सहज ढंगमा पात्रको मनोदशालाई उद्घाटन गर्नु, सहजतामा प्रभावकारिता हुनु उनको कथा लेखनको गुण हो । 

पात्रका कार्यव्यापारमार्फत सामाजिक यथार्थ र मनोविज्ञानलाई प्रस्तुत गरेका लेखकले नेपाल र भारतका विभिन्न ग्रामीण भूभागलाई कथाको कार्यपीठिका बनाएका छन् । कथामा प्रयुक्त कुनै पनि पात्रले उज्यालोको संकेत गर्दैनन् । सबै पात्रहरू विक्षिप्त रहेका छन् । उज्याला पक्षका पात्रभन्दा अँध्यारा पात्र नै बढी रहेका छन् । पाठकलाई यो कुरा लेखकको सीमा हो जस्तो लाग्छ तर लेखकले अँध्यारै पक्षबाट कथामा उज्यालो खोज्न चाहेका हुन् भन्ने प्रमाण सबै कथा पढेपछि भेटिन्छ । मनोवैज्ञानिक कथाहरूले भरिएको त्यसपछि फुलेन गोदावरी पठनीय कृति हो । 

 

त्यसपछि फुलेन गोदावरी

कथाकार : महेश पौड्याल

प्रकाशक : ऐश्वर्य प्रकाशन

पृष्ठ : २०९

मूल्य : ३०५ रुपियाँ

प्रकाशित: आश्विन ४, २०७४