[अनुभूति] संकटमोचनको विज्ञान

- जीवन क्षत्री

नेपालको निकट इतिहासमा विसं ०७२ उथलपुथलमय रह्यो । मेरो जीवनमा चाहिँ त्यो वर्षको उथलपुथललाई पनि वर्ष ०७३ ले राम्रैसँग माथ गर्‍यो । सामाजिक जीवनबारे यसबीच धेरै लेखिएकाले यो अनुभूतिचाहिँ मूल रूपमा व्यक्तिगत जीवनका केही घटनाक्रममा केन्द्रित हुनेछ, जसमध्ये त्यस वर्ष मैले भोगेको स्वास्थ्य संकट र मैले तिनबाट सिकेका पाठ अरूका लागि पनि लाभप्रद हुन सक्छन् । 

महात्मा गान्धीको आत्मकथा पढ्दा केही कुरा निकै अपत्यारिला लाग्थे । जस्तो कि, एकदमै गम्भीर रोग लागेका बेलासमेत उनी आफू आधुनिक औषधि विज्ञानको उपयोग गर्दैनथे । त्यतिसम्म त ठीकै थियो । तर, आफ्ना बालबच्चाहरू बिरामी पर्दासमेत उनीहरूलाई त्यो सुविधाबाट वञ्चित गरेको भनेर उनको तीव्र आलोचना हुन्थ्यो । रोग लाग्दा पानी वा माटोको प्रयोग गरिने परम्परागत उपचार विधिका किस्साहरू उनको आत्मकथामा छन् । 

त्यो पढ्ने बेला जति नै महान् भए पनि गान्धी यो मामलामा सन्की रहेछन् भन्ने मलाई लागेको थियो । दुख्यो भने तत्काल पीडा कम गर्ने ट्याब्लेट खान, खुवाउन वा सुई लगाउन छाडेर के पानी र माटोले उपचार गर्नतिर लागेको होला ? तर, यो वर्षका केही अनुभवहरूपछि मैले गान्धीको त्यस्तो प्रयोगलाई निकै फरक रूपमा हेर्न बाध्य भएको छु । 

मलाई एलर्जीको समस्या छ, जुन खास गरी धेरै चिसो भएको र निद्रा नपुगेको अवस्थामा बारम्बार रूघाखोकीको रूपमा देखापर्ने गर्छ । यो आफैँमा त्यति ठूलो समस्या नभए पनि अघिल्लो वर्षको जाडो मौसम लाग्ने बेलामा यसका कारण स्वास्थ्य संकट नै आइलाग्यो । ममा एकाएक दमका लक्षण देखा पर्न थाले, सास फेर्न गाह्रो हुन थाल्यो । अघिल्ला वर्षहरूमा जाडो सुरु हुने बेला कहिलेकाहीँ त्यस्तो भए पनि त्यो बिस्तारै हराएर जान्थ्यो । तर, यसपालि समस्या बढ्दै गयो । सासनली फुलाउन सहयोग गर्ने साल्बुटामोल नामक औषधिको स्प्रे लिने बाध्यता भयो । फिजिसियन साथीलाई देखाएँ, उसले दमको औपचारिक निदान गरी नियमित ‘स्टेरोइड’ नामक औषधि लिन पर्ने बतायो । 

त्यतिखेर ‘चालीस कटेसि रमाउँला’ भन्ने गीत निस्किसकेको थिएन तर मलाई चालीस नकट्दै बुढेसकालको रोगले गाल्दै थियो । त्यसको केही महिनाअगाडि सुरु भएको ढाडको समस्या त छँदै थियो । त्यो सिंगो सिजन लोकमानसिंह कार्की र तीर्थ खनियाँजस्ता कुपात्रहरूसित लड्दालड्दै खाने–सुत्ने ठेगान थिएन र आहार–विहारको सन्तुलन पूरै चौपट भइसकेको थियो । 

त्यतिखेर जीवन कति अस्तव्यस्त थियो भने ढाड दुखेका कारण जहाज चढेर काठमाडौँ–चितवन आउजाउ गर्नुपर्ने बाध्यता थियो । तर, आम्दानीचाहिँ शून्यमा झरेको थियो । अघिल्लो वर्ष एउटा मेडिकल कलेजबाट पूर्णकालीन जागिर छाड्दा बुबा असाध्यै चिन्तित भएर केही घन्टा मसित रिसाउनु भएको थियो । त्यसपछि खासै स्थायित्व नहुने आंशिक रोजगारीमा झुलिरहेको थिएँ । डा गोविन्द केसीको आठौँ आमरण अनशनताका लोकमानको जरा मात्र हल्लेर रूख ठाडै रहेपछि उनले मलाई त्यस्तो रोजगारी दिने निजी अस्पतालहरूलाई पनि तर्साएका थिए । र, म सडकमा पुगेको थिएँ । यसपल्ट बुबालाई सीधै भन्ने आँट नआएर ‘ काठमाडौँमा काम खोज्न चितवनमा बिदा लिएर आएको’ भनिटोपलेको थिएँ र दाइलाई चाहिँ सबै कुरा बताएको थिएँ । शरीर र निजी जीवन अस्तव्यस्त भए पनि मित्र वा शत्रुपक्षका कसैले पनि त्यसको सुइँकोचाहिँ पाएका थिएनन् । 

ठ्याक्कै मिति याद छैन । तर, दमको संकट आइलागेको लोकमान निलम्बित भएर म चितवनमा काममा फर्केपछिको कुरा हो । धेरै समय काम छाडेर हिँडिसकेकाले केही दिन बिदा लिएर आराम र उपचार पनि गर्ने सम्भावना थिएन । आंशिक नै भए पनि फिर्ता भएको रोजगारी बचाएर राख्नुपर्ने थियो । चिसो बिहानीमा सास फेर्नै गाह्रो भएपछि म अत्तालिएर फिजिसियन साथीलाई भेट्न गएको थिएँ । आखिर मानिसलाई जस्तोसुकै रोग लागे पनि सहनुको विकल्प त हुँदैन नै, साथीले मलाई लागेको शंका पुष्टि गरेपछि अब लामो समयसम्म र सम्भवत: आजीवन दमको औषधोपचारका लागि आफैँलाई मानसिक रूपमा तयार पार्नतिर लागेँ । 

अँध्यारो बादलमा चाँदीको घेराचाहिँ के थियो भने एक जना साथीले वर्षौं पुरानो र निकै जटिल भइसकेको दमलाई सूर्य नमस्कार, योग, जुम्बा नाच आदि उपायबाट नियन्त्रण गरेर औषधिबाट मुक्ति पाएको उदाहरण मसँग थियो । अर्को साथीले चाहिँ लामो समय निरन्तर एलोप्याथिक औषधि चलाएपछि एउटा आयुर्वेदिक औषधि प्रयोग गरेर दमका लक्षणहरूलाई ‘निको’ पारेको थियो । यो त्यस्तो रोग हो, जुन लामो समय औषधि प्रयोग नगरी ठीकठाक हुनु भनेको निको हुनुसरह नै हो । तत्काल औषधि प्रयोग गर्नुपरे पनि कुनै दिन त्यस्तै कुनै उपायले यो रोगबाट मुक्ति पाउँछु भन्ने विश्वासचाहिँ मनमा कताकता थियो । 

एलर्जीजन्य रोगहरूको सबैभन्दा राम्रो उपचार नै एलर्जी गराउने वस्तुहरूबाट बच्नु हो । तर, दैनिक जीवनमा त्यसरी बच्नु असम्भव हुन्छ । एलर्जीको प्रक्रिया सुरु भएर एलर्जन भनिने ती तत्त्वहरूले शरीरमा प्रभाव पार्न थालेपछि ‘इन्फ्ल्यामेसन’ भनिने एउटा प्रक्रिया सुरु हुन्छ, जसले अनेक कठिनाइ सुरु गर्छ । कारण हटाउने र लक्षण कम गर्नेबाहेक यसको उपचार हुँदैन । किनभने, त्यही इन्फ्ल्यामेसन हाम्रो शरीरलाई संक्रमणहरूबाट बचाउन नभई नहुने प्रक्रिया हो । संक्रमण र अनावश्यक पराई तत्त्वबाट शरीरलाई बचाइराख्ने प्रक्रियाले बाटो बिराएर अनावश्यक रूपमा उत्तेजित भइरह्यो भने त्यसले शरीरलाई क्षति गर्छ र दमजस्ता रोगहरू लाग्छन् । 

त्यतिबेला म दिनभरको कामपछि साँझ ट्याम्पु चढेर घर जान्थेँ । ट्याम्पुमा चिसो स्याँठले बेस्सरी हान्थ्यो । साथीले दम रोगको विधिवत् निदान गरेको दिन साँझचाहिँ म अवचेतन मनको निर्णयले नै ट्याम्पु छाडेर पैदल घरतिर लागेँ । सवा घन्टा सरासर हिँडेपछि घर पुगिन्छ । चितवनमा यसै पनि ठिहिर्‍याउने जाडो कमै हुन्छ, त्यसमा पनि त्यो त जाडो सुरु हुने ताकाको कुरा हो । हिँड्दा शरीरमा जुन ताप र फुर्ति उत्पन्न भयो, त्यसले घर पुग्दा मेरो आत्मबल यसै बढेको थियो । त्यसअघि पनि त्यो बाटो निकै हिँडेको थिएँ । तर, पछिल्लो केही महिनाको काठमाडौँ दौडधूप र तनावले मेरो दैनिक जीवन नै उलटपुलट भइसकेको थियो । त्यस साँझ अरू दिनझैँ तानेर लिने औषधि लिएर सुतेपछि अचम्म के भयो भने बिहानपख सास फेर्न गाह्रो हुन छाड्यो । निद्रा पुर्‍याएर उठेपछि मेरो आत्मविश्वास त्यसै बढेर गयो । 

त्यस दिनदेखि साँझ कम्तीमा एक घन्टा हिँड्ने रुटिन बनाएँ । ट्याम्पु वा मोटरसाइकलजस्ता हावाले हान्ने साधन चढ्न छाडिदिएँ र साथीले भनेको स्टेरोइड नामक औषधि सुरु गरिनँ । झन्डै १० दिनपछि तान्ने औषधि पनि बन्द गर्न सक्ने अवस्थामा पुगिसकेको थिएँ । त्यसको केही महिनापछि पुसको मध्यतिर ढाड दुख्ने अर्को समस्या अचाक्ली बढेपछि निरुपाय भएर एउटा खोलाको मूलमा रहेको दहमा पौडिन गएँ । चौबीसै घन्टाजस्तो दुखिरहने ढाडको समस्यामा केही घन्टाका लागि भए पनि आश्चर्यजनक सुधार भएपछि मध्य दिनमा त्यहाँ गएर आधादेखि एक घन्टा पौडिने रुटिन बन्यो । पूर्णकालीन रोजगारी नभएको फाइदास्वरूप त्यो काम गर्नचाहिँ सम्भव भयो । त्यसपछि महिनौँसम्म दिनको दुई घन्टा मैले पौडी र हिँडाइका लागि अनिवार्य छुट्याउन थालेँ । 

ढाडको समस्यामा उल्लेख्य सुधार हुन महिनौँ लाग्यो । तर, हिँडाइ र पौडीले जति स्वस्थ बनाउनमा एलोप्याथिकमा ठूलो लागत र मिहिने त पर्छ । स्वास्थ्यमा भएको त्यही सुधारमा टेकेर माघ ०७३ र यस वर्षको जेठमा गरिएका दुई लामा पदयात्रा व्यवधानबिना सम्पन्न भएपछि म आफैँले आफैँलाई स्वस्थ मानिसको सर्टिफिकेट दिन सकेँ । अझै पनि ढाड दुख्ने समस्या कहिलेकाहीँ बल्झिन्छ । तर, अब त्यसले पहिलेझैँ अपांगता सिर्जना गर्दैन । त्यसपछि श्वासप्रश्वासमा कुनै समस्या देखा परेको छैन । र, यस वर्ष जाडो सुरु हुने बेला त्यो समस्या देखिएन भने सायद त्यसको चिन्तै लिनु नपर्ला ।

मलाई चिसोको एलर्जी थियो भन्ने थाहा थियो । तर, हामीले पढेका बग्रेल्ती पाठ्यपुस्तकहरूले त्यो चिसोसित कसरी बच्ने भनेर यस्ता व्यावहारिक कुरा सिकाउँदैनथे । त्यसको एउटा कारण यस्तो होला– ती किताब जहाँ लेखिए, ती देशहरूमा झैँ घरहरूमा ‘सेन्ट्रल हिटिङ’ हुने र जाडोमा पनि न्यानो कोठामा सुत्न सक्ने हो भने मझैँ चिसोको एलर्जी भएका मानिसहरूमा त्यस खालको समस्या नै आउँदैन । हामीझैँ जाडोभर चिसो कोठामा सुत्नुपर्ने मानिसहरूका लागि भित्रैबाट ज्यान तताउनका लागि तातोपानी खाने, आगो ताप्नेभन्दा कस्सिएर हिँड्नेजस्ता सामान्य विधि प्रभावकारी हुन्छन् भनेर निचोड निस्कने गरी सायद अहिलेसम्म कुनै शोध नै भएको छैन । 

त्यसबाहेक आधुनिक चिकित्सा विज्ञानले नयाँनयाँ औषधि र शल्य–चिकित्साका विधिहरूको आविष्कारमा जति ध्यान पुर्‍याएको छ, उपचार प्रक्रियामा योग, व्यायाम वा गान्धीले जस्तै पानी र माटो प्रयोग गर्ने विधिहरूको उपयोगिताबारे आवश्यक खोज नै भएको छैन । आधुनिक औषधि विज्ञानका सीमा र कमजोरी रामै्रसँग थाहा भएकाले मेरो साथीले जसरी योगको मद्दतले दमसित जुध्यो र मैले जसरी थरीथरी औषधिको सट्टा हिँडेर चिसोको एलर्जीसित जुध्ने प्रयोग गरेर त्यसमा सफलता पाएँ, त्यस्तै विधिहरूबाट लाभ लिन सक्ने अरू अनगिन्ती बिरामी अहिले त्यसबाट वञ्चित छन् । 

०७३ को तनावपूर्ण हिउँद सकिने बेला माघमा पोखरामा हुन लागेको नेपाल साहित्य महोत्सवमा सामाजिक सञ्जालसम्बन्धी प्यानलको सहभागीका रूपमा निम्ता आयो । बाग्लुङ आउँदा–जाँदा गुज्रने र कहिलेकाहीँ बास बस्नेबाहेक पोखरामा पर्यटकका रूपमा त्यो मेरो पहिलो बसाइ थियो । चारदिने बसाइमा विख्यात भारतीय इतिहासकार रामचन्द्र गुहासित संगत गर्नेदेखि लिएर फेवातालमा बोटिङ गर्नेसम्मका काममा कति आनन्द लिइयो भने शरीर र दिमाग दुवैले प्रचण्ड उन्मुक्ति पाउने त्यस्तो अवस्था त्यसअगाडि आन्तोन चेखवका कथामा मात्र पढ्न पाइन्थ्यो । त्यो पूरा यात्राको रमाइलोको उत्कर्षचाहिँ पोखराबाट निस्केको चौथो दिनमा कुस्मादेखि तानसेनसम्म चारदिने हिँडाइपछि त्यहाँको आलिसान होटल श्रीनगरको बसाइ थियो । कुनै होटलको बसाइमा ओशोले भन्ने गरेझैँ आनन्दको वर्षा भएको अर्को घटना मलाई याद छैन । त्यस वर्षभरको तनाव र थकान अब विगत भइसकेको थियो र म नयाँ जीवनका लागि तयार थिएँ । 

प्रकाशित: आश्विन ४, २०७४