[स्मरण] कोही नजिक, कोही निषेध

  • अनिरुद्धप्रसाद सिंहले आफूले सुविधामा प्राप्त गरेको त्यो गाडी दाइजोस्वरूप ज्वाइँलाई दिएका रहेछन् ।

- रेवतीरमण खनाल

शासनसत्ता आफ्नो हातमा लिएपछि राजा महेन्द्र मुलुक र मुलुकवासीको भविष्य सुन्दर तुल्याउने अठोटका साथ कार्यक्रम बनाउन तल्लीन थिए । त्यसो त उनलाई भारत र चीनभन्दा अलग्गै पहिचान भएको मुलुक बनाउँछु भन्ने थियो । ०१७ सालको घटनापछि उनी दिउँसो २ बजेदेखि राती ११ बजेसम्म सधैँ आफ्नो कार्यालयमा खटिएका हुन्थे । कामको साप्ताहिक कार्यक्रम बनाउने, दक्ष मानिस हो भन्ने थाहा पाए दायाँबायाँ केही नसोची जिम्मेवारी सुम्पिने गरिरहेका थिए । 

०१९ सालमा आएर मुलुकभित्र र मुलुकबाहिर छरिएर रहेका काबिल, दक्ष, राष्ट्रवादी र इमानदार व्यक्तिहरूको खोजी गर्ने भनेर उनले जनसम्पर्क कार्यालयमातहत रोभिङ अफिस स्थापना गरे । मुलुकबाहिरका त्यस्ता नेपालीको खोजी गर्न भनेर रोभिङ एम्बेस्डर अर्थात् घुमन्ते राजदूतका रूपमा हृषीकेश शाहलाई नियुक्त गरियो भने मुलुकभित्रका व्यक्तिको खोजी गर्ने रोभिङ अफिसरका रूपमा प्रमोद कोइराला, राधेश्याम भट्ट, शंकरप्रसाद उपाध्याय र मलाई नियुक्त गरियो । कार्यालय संयोजकको जिम्मेवारी धनमणि आचार्यले पाए । 

तराईतिर त्यस्ता व्यक्तिहरूको खोजी गर्ने क्रममा डा हरदेव मिश्र, श्रीकृष्ण मिश्र, कृष्णबम मल्ललगायतको व्यक्तिगत विवरणका साथै उनीहरूका सकारात्मक र नकारात्मक सन्दर्भ समेटेर फाइल नै बनाएँ । त्यसै गरी भारत प्रवासमा रहेर पनि मुलुकको हित चिन्तक र देशभक्तिको भावना रहेका भनी धरणीधर कोइराला, लैनसिंह वाङ्देल, सूर्यविक्रम ज्ञवालीजस्ता थुप्रै व्यक्तिलाई मुलुकका लागि आवश्यक रहेको र देश सेवा गर्न इच्छुक रहेको भनेर सिफारिस आयो । राजाले तिनीहरूलाई टपक्क टिपेर ल्याए । हृषीकेश शाहले विभिन्न देशका बीचमा मुलुकको सम्बन्ध बढाउने र परिचय फैलाउने काम गरे । शाहका सल्लाह र सुझाव राजा महेन्द्रले धेरैजसो स्वीकार गरे ।

०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री रहेका डा तुलसी गिरी, कोइरालाका अति विश्वासपात्र विश्वबन्धु थापालगायत थुप्रै व्यक्तिलाई राजा महेन्द्रले ०१७ पछि टपक्क टिपेर महत्त्वपूर्ण जिम्मेवारी सुम्पिए । त्यसै गरी कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, वेदानन्द झा, शैलेन्द्रकुमार उपाध्याय, खड्गबहादुर सिंह आदिलाई राजाले पछिसम्मै विश्वास गरेका थिए । प्रशासनतर्फ काजी हंसमान सिंह, ईश्वरीमान श्रेष्ठ, मधुसूदन राजभण्डारी, भेषबहादुर थापा, भीमबहादुर पाँडे, प्रो सरदार यदुनाथ खनाल, कृष्णबम मल्ल, प्रद्युम्नलाल राजभण्डारी, नरकान्त अधिकारी, प्रो कृष्णबहादुर मानन्धर, क्षेत्रविक्रम राणा, सरदार विष्णुमणि आचार्य, शेरबहादुर शाही, कानुनतर्फ नयनबहादुर खत्री, विश्वनाथ उपाध्याय, अनिरुद्धप्रसाद सिंह, भगवतीप्रसाद सिंह, विनोदप्रसाद धिताल, प्रो रत्नबहादुर विष्ट, शम्भुप्रसाद ज्ञवाली आदि त्यतिबेला राजाले पत्याएका मानिसहरू थिए ।

दुर्भाग्य भनौँ ! त्यो जनसम्पर्क कार्यालय अन्तर्गतको रोभिङ अफिस लामो समय रहेन । कार्यालय नै खारेजीमा परेपछि मचाहिँ संवाद सचिवालयमा सरुवा भएँ । त्यसपछि मैले तयार गरेका झन्डै डेढ सय व्यक्तिका विवरणसहितका फाइल राजाका एडीसी जर्नेल शेरबहादुर मल्लमार्फत दरबारमा बुझाएँ । 

राजा महेन्द्रमा एउटा गजबको बानी थियो, पत्याएका व्यक्तिले दिएको सूचना र गरेको विश्लेषण फेल खायो वा समय सान्दर्भिक भएन र राष्ट्रिय हित प्रतिकूलको व्यवहार गरेको अनुभव भयो भने उसलाई गलहत्याउन पनि बाँकी राख्दैनथे । त्यति बेला रोयल इन्टिलिजेन्स ब्युरो (आरआईबी)बाट प्राप्त सूचनाका आधारमा मानिसहरू दोषी ठहर भएपछि कारबाहीका भागीदार हुन्थे । ०१५ सालको निर्वाचनबारे विभिन्न व्यक्तिहरूसँग सल्लाह–सुझाव लिने क्रममा राजानजिकका धेरैले नेपाली कांग्रेसले बहुमत ल्याउँदैन भनेर ठोकुवा नै गरे । तर, तिनले भनेको भन्दा फरक परिणाम आयो । राजा महेन्द्रले त्यस्तो सुझाव दिने थुप्रै व्यक्तिलाई दरबारबाट मात्र निकालेनन्, आफूवरिपरि पनि कहिल्यै ढिम्किन दिएनन् । तिनैमध्येका थिए, राजाका एडीसी जर्नेल समरराज कुँवर र चुत्रबहादुर थापा । 

कुँवर र थापा त्यतिबेला जागिरबाट मात्रै निष्कासित भएनन्, दरबारबाट पनि कोसौँ दूर रहन बाध्य भए । त्यसै गरी दरबारको गुप्तचरी गरेको आरोपमा राजा महेन्द्रले आफ्नै सचिव लोकदर्शन बज्राचार्यलाईसमेत थुने । आफ्ना अत्यन्त हितैषी र विश्वस्त मानिएका सरदार विश्वमणि आचार्यलाई पनि राजा महेन्द्रले कारबाही गरेका थिए । न्याय सेवातर्फको उच्च जिम्मेवारीमा रहेका अनिरुद्धप्रसाद सिंहको व्यक्तिगत फाइलमा त राजाले गुणन चिह्न नै लगाइदिएका थिए ।

सिंहले निजी प्रयोजनका लागि भनेर एउटा मोटर झिकाउन सटही र भन्सार सुविधा पाऊँ भनी राजामा निवेदन दिएका थिए । पूर्वप्रधानन्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र मन्त्रीजस्तो पदमा रहेर इमानदारीपूर्वक काम गरेको र निष्कलंक छवि बनाएको हुँदा राजाबाट सहजै रूपमा सटही र भन्सार सुविधामा गाडी झिकाउने पत्रमा तोकादेश भयो ।

समयक्रममा सिंहकी छोरीको विवाह बिहारका राज्यमन्त्रीका छोरासँग गर्ने तय भयो । सिंहले आफूले सुविधामा प्राप्त गरेको त्यो गाडी दाइजोस्वरूप ज्वाइँलाई दिएका रहेछन् । पछि यो कुरा राजाले थाहा पाए । निजी प्रयोजन र सुविधामा प्राप्त उक्त गाडी दाइजोस्वरूप दिएको र दरबारलाई जानकारीसम्म नगराएको भनेर राजा महेन्द्रले सिंहको व्यक्तिगत फाइल झिकाइ सीधै रातो कलमले गुणन चिह्न नै लगाइदिए । यस घटनापछि सिंहलाई उनले कहिल्यै ‘गुड लिस्ट’मा राखेनन् ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: आश्विन ४, २०७४