आइफोनका तीन नयाँ मोडल

- नेपाल संवाददाता

आइफोन लन्च भएको १० वर्षको उपलक्ष्यमा एप्पलले तीन नयाँ मोडलका आइफोन लन्च गरेको छ । अघिल्लो वर्ष आएको आइफोन सेभेनको अपडेटेड भर्सनका रुपमा यस वर्ष आइफोन एट र एट प्लस बजारमा आएको हो । त्यस्तै आइफोन सुरू भएको १० वर्ष पुगेको अवसर छोपेर आइफोन टेन पनि सार्वजनिक भएको छ । 

अहिले आएको आइफोन एट र एट प्लसका धेरै फिचर आइफोन सेभेनको जस्तै छ । मुख्य फरक भनेको यी नयाँ आइफोनमा वायरलेस चार्जिङ फिचर छ । त्यस्तै आइफोन एटमा १२ मेगापिक्सेलका क्यामेरा छन् । तर, एट प्लसमा मात्रै डुअल रियर क्यामेरा प्रयोग भएको छ । र, दुवैमा व्याक ग्लास कभर छन् । आइफोन एट र एट प्लस ६४ र २ सय ५६ जीबी क्षमतामा आउनेछन् । जसको सुरुआती मूल्य क्रमश: ६ सय ९९ र ७ सय ९९ डलर पर्नेछ । 

आइफोन टेन अलि फरक छ । यसमा इन्फिनिटी डिस्प्ले छ । अर्थात्, यसको अगाडिको पूरै भाग डिस्प्ले स्क्रिन हो । यस्तो डिस्प्ले स्क्रिनका लागि अगाडिको होम बटम पनि हटाइएको छ । र, यसमा फेस रिकगनिसन सेन्सर छ, जसले प्रयोगकर्ताको अनुहार स्क्यान गरेर फोन अनलक गर्छ । आइफोनमध्येको सबैभन्दा इनेभेटिभ भनिएको आइफोन टेनमा पनि डुअल रियर क्यामेरा छ । र, यो अहिलेसम्मकै सबैभन्दा महँगो स्मार्टफोन हो । जसको मूल्य ९ सय ९९ डलर पर्छ । 

प्रकाशित: आश्विन ४, २०७४