होटलमय पोखरा

  • करिब पाँच दर्जन होटल तथा रिसोर्टहरू निर्माणाधीन अवस्थामा

- लालप्रसाद शर्मा

पोखरा ।। गर्न त पोखराका पर्यटकीय होटलहरूले पाहुना अझै कम भएको दुखेसो गर्छन् । तर, पछिल्लो समय पोखरामा होटल व्यवसायमा लगानी ह्वात्तै बढेको छ । जस्तो कि, सराङकोटमा सराङकोट माउन्टेन रिसोर्ट बनिरहेको छ । ३२ कोठे ‘लक्जरियस’ उक्त रिसोर्ट छिट्टै सञ्चालनमा आउँदैछ । सराङकोटमै तारे होटल अन्नपूर्ण भ्युको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा आसपासका डाँडाकाँडा मात्रै होइन, मुख्य पर्यटकीय केन्द्र लेकसाइडका भित्री गल्लीहरूमा पनि यतिबेला करिब पाँच दर्जन होटल तथा रिसोर्टहरू बनिरहेका छन् । 

“होटल थपिने क्रम बढेको छ,” पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली भन्छन्, “यहाँ पर्यटनबाहेक अर्को विकल्प नदेखेर होटलमा लगानी भएको हो ।” अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको, कोरला नाका खुल्ने सम्भावना बढेकाले पनि होटलमा लगानी थपिएको उनको अनुमान छ । अर्कोतर्फ विदेश गएर अनुभव, सीप र पुँजी लिएर आएकाले पनि होटलमै लगानी गरेका छन् । नेपालमै केही गर्नुपर्छ भन्नेहरू लगानीमा आकर्षित भएका र बैंक तथा वित्तीय संस्थाबाट सहजै ऋण पाउने भएर पनि लगानी भित्रिएको पराजुलीको अनुभव छ । 

एक अनुमानमा, पोखराका होटलमा मात्रै एक खर्ब रुपियाँभन्दा बढीको लगानी छ । पाँचतारे दुई, चारतारे एक, तीनतारे १४ र एकतारे ३० सहित पाँच सयभन्दा बढी पर्यटकीय स्तरका होटल र तिनमा २० हजार बेड उपलब्ध छन् । बर्सेनि एक अर्बको लगानी होटलमा थपिइरहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । वर्षमा आठदेखि दस होटल र पाँच सयदेखि ६ सयको हाराहारीमा बेड थपिने उनको भनाइ छ । “बैंकले पनि पोखरामा लगानी गरे सुरक्षित होइन्छ भनेर लगानी गरेका छन्,” तुलाचन भन्छन् । व्यावसायिक सुरक्षाको महसुस भएर पनि आकर्षण बढेको उनको भनाइ छ । 

होटल संघका केन्द्रीय सदस्य विप्लव पौडेलका अनुसार होटलको संख्या बढे पनि स्तरीय होटलको अभाव भने पोखरामा छ । “अहिले मध्यम खालका होटलमा लगानी बढिरहेको छ,” उनी भन्छन्, “बढी पैसा खर्च गर्न आउने गुणस्तरीय पर्यटकलाई लक्षित गरी होटल तथा लज बनाउनुपर्ने आवश्यकता देखिन्छ ।” 

मुख्य पर्यटकीय केन्द्र फेवाताल किनारको लेकसाइडमा अहिले खाली जग्गा देख्नै मुस्किल छ । बजारमा महँगो जग्गा, जनघनत्व बढी र कोलाहलले गर्दा डाँडाकाँडा जाने लहर चलेको छ । निर्माणाधीन होटलहरू प्राय: २५ देखि ३५ कोठाका छन् । 

पर्यटकीय स्तरका होटलमा सेवा सुविधा पनि सोही अनुसार हुनुपर्ने भएपछि पछिल्लो समय बनेका होटलहरूले स्तरीय सेवासुविधा उपलब्ध गराउन थालेका छन् । सराङकोट माउन्टेन रिसोर्टले छतमा स्वीमिङ पुल बनाउने बताएको छ । तुलाचन भन्छन्, “पोखरा आउने पर्यटकहरू हिमाल र फेवातालको दृश्य अवलोकन गर्न खोज्ने भएकाले त्यही अनुसार संरचना बनिरहेका छन् ।” 

पोखरेली मात्र नभएर आसपासका जिल्लाका र विदेशीले समेत होटलमा लगानी गरिरहेका छन् । पर्यटन कार्यालयका अनुसार ३ सय ५१ होटलले इजाजत लिएका छन् । यसैगरी उद्योग दर्ताका लागि पर्यटन कार्यालयबाट ८ सय ५५ होटललाई सिफारिस गरिएको छ । 

कुनै समय यस्तो थियो, यहाँका पर्यटकीय स्तरका होटलले नेपालीलाई बास दिँदैनथे । बरू, होटल/रेस्टुराँ ‘अफ सिजन’मा बन्द हुन्थे । तर, अहिले अवस्था फेरिएको छ । थपिएका कतिपय होटलले त आन्तरिक पर्यटकलाई नै लक्षित गरेका छन् । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई भन्छन्, “होटललगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी उत्साहप्रद छ ।” 

प्रकाशित: आश्विन ३, २०७४