कथित देवमानवका भ्रमित भक्तजन

  • अनुयायीहरूका विशाल भीड देखेका राजनीतिक दलहरू पनि ‘भोट बैंक’का लागि यस्ता गुरुहरूलाई खुसी पार्ने होडबाजीमा रहन्छन् ।

- जैनेन्द्र जीवन

भारतको अदालतले १५ वर्ष लगाएर गरिएको दुई सय पटकको सुनुवाइपछि हालै एउटा साहसिक फैसला गर्‍यो । १८ वर्षअघि आफ्ना दुई अनुयायीलाई बलात्कार गरेको कसुरमा राम–रहिम उपनामका स्वघोषित गुरु गुरमित सिंहलाई दोषी ठहर्‍यायो । त्यसलगत्तै पूरा तयारीका साथ आएका गुरमितका भक्तहरू र गुरुविरुद्घ फैसला आएमा मर्न/मार्न तयार भएर बसेका उनका हजारौँ अनुयायीले मच्चाएको हिंसा र ध्वंसमा ३८ जनाले ज्यान गुमाए, सयौँ घाइते भए । मिडियाकर्मीमाथि आक्रमण र सार्वजनिक सम्पत्ति तोडफोड गरिए । 

बलात्कार–घटनालाई जनसमक्ष ल्याएका स्थानीय पूरा सच पत्रिकाका सम्पादक रामचन्द्र छत्रपतिलाई उतिबेलै गोली हानी हत्या गरियो । उक्त हत्याका साथै भगवान्का नाममा चार सय शिष्यलाई बन्ध्याकरण गराएको अभियोगमा समेत केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले गुरमितमाथिको अनुसन्धान गरिरहेको छ । गुरमितलाई कुल २० वर्षको जेल सजाय भएको छ ।

पाखण्डको पराकाष्ठा : महँगा र चम्किला लुगा, त्यस्तै गहना, अत्याधुनिक मोटरसाइकल र रेन्ज रोभर गाडीका सौखिन, रक डान्स गर्ने भएकाले रकस्टार गुरुका रूपमा पनि चिनिन्छन् गुरमित । म्युजिक भिडियोदेखि फिल्मसम्म बनाएका अनि त्यसमा अभिनय पनि गरेका यी लहडी अनि विचित्रका गुरु विश्वभर आफ्ना ६ करोड अनुयायी रहेको दाबी गर्छन् । आफ्नो आधिकारिक वेबसाइटमा आफूलाई ‘आध्यात्मिक सन्त, परोपकारी, भर्सटाइल गायक, अल राउन्डर र खेलकुद व्यक्तित्व’ बताउने ५० वर्षीय उनले २३ वर्षको उमेरमा सुरु गरेको डेरा सच्चा सौदा नामक सम्प्रदायका हाल ४६ आश्रम सञ्चालित छन्, जसको सम्पत्ति अर्बौंमा आँकिन्छ । गैरनाफामूलक सामाजिक र धार्मिक संस्थाका रूपमा दर्ता भएको डेराको भारतस्थित हरियाणा, सिरसामा रहेको आश्रम विशाल त छ नै, त्यसभित्र गुरमितको आवास यति भव्य छन् कि तिनले डिज्नेल्यान्डको झल्को दिन्छन् । गुरमितको प्राय: ठूला दलमा पहुँच थियो भने कतिपय नेता पनि उनका अनुयायी थिए । पहुँचकै कारण अहिले पनि जेलभित्र उनलाई उच्चस्तरका सुविधाहरू उपलब्ध गराइएका छन् । 

कथित देवमानव बन्ने र बनिरहने कार्यप्रणाली भने प्राय: गुरुहरूको एउटै हुन्छ । सर्वप्रथम अनुयायीहरूका विशाल भीड सिर्जना गर्ने, त्यसका लागि आफ्नो सम्मोहनकारी प्रवचनकला अथवा आफूले जानेका सानातिना जादु तथा तन्त्रमन्त्रको उनीहरू प्रयोग गर्छन् । जति धेरै अनुयायी बनाउन सक्यो, त्यति नै धेरै धन, शक्ति र सम्मान मिल्ने भएकाले प्राप्त शक्ति/पैसाकै पुन: प्रयोगबाट उनीहरू आश्रमको विस्तार गर्दै जान्छन् । जसबाट अनुयायीहरूको संख्या अझ बढ्छ र फेरि त्यही अनुपातमा थप धनसम्पत्ति, शक्ति अनि सम्मान आर्जन हुन्छ । यसरी भक्ति, शक्ति र सम्पत्ति वृद्धिको यो चक्र चलिरहन्छ । कतिपय गुरुहरूको धन र शक्ति ठूलठूला कर्पोरेट हाउसका मालिक, कार्यकारी प्रमुख वा ठूला नेताको भन्दा कम हुँदैन । 

धन, वैभव, शक्ति र लोकप्रियताको तीव्र लालसायुक्त यी गुरुहरू आफ्ना प्रवचनमा भने अपरिग्रह, सादगीयुक्त जीवनशैली र सदाचारको अर्ती दिइरहेका हुन्छन् । बलात्कार गर्न र त्यो अपराधलाई दबाउन हत्यासमेत गर्न पछि नपर्ने उनीहरू आफ्ना अनुयायीहरूलाई चाहिँ भोगविलासविरुद्ध उपदेश दिन्छन् । अनुयायीहरूका विशाल भीड देखेका राजनीतिक दलहरू पनि ‘भोट बैंक’का लागि यस्ता गुरुहरूलाई खुसी पार्ने होडबाजीमा रहन्छन् । अनुयायीहरूमा ठूला नेता, साहूमहाजन, सेलिब्रिटी र उच्च अधिकारीहरू पनि रहेका कतिपय गुरुहरू त ‘किङमेकर’कै हैसियत राख्छन्, आफैँ प्रत्यक्ष राजनीतिक पदमा नभए पनि । शक्तिको मात लाग्दै र आँट बढ्दै गएपछि फौजदारी अपराध पनि गर्छन् । गुरमित मात्र होइन, यौनशोषण, ठगी, हत्याजस्ता अपराधमा संलग्न गुरु अरू पनि थुप्रै छन्, जस्तो कि हाल जेल सजाय भोगिरहेका आशाराम बापु । राधे माँ भन्ने कथित गुरुआमा पनि मुद्दा खेप्दै छिन् । यसरी कानुनको फन्दामा पर्ने बाहेक शक्ति र पहुँचका आडमा अनुसन्धानबाटै उम्किरहन सफल गुरु पनि धेरै छन् । 

अन्धो आकर्षण : यस्तो अन्धभक्ति अकारण भने छैन । केही गुण यी कथित देवमानवहरूका नभएका पनि होइनन् । कसैको नाचगानमा त कसैको कुनै खेलमा । कसैको हिसाबमा त कसैको बुद्धिचालको खेलमा विलक्षण प्रतिभा भएजस्तै यी गुरुहरूमध्ये प्राय:को वक्तृत्वकला प्रभावकारी हुन्छ । कतिपयले लोकप्रिय धार्मिक आख्यान र श्लोकहरू पनि कण्ठ पारेका हुन्छन्, जसलाई आफ्नो वक्तृत्वकलाले रोचक बनाएर भक्तहरूको मन जित्छन् । कोही पञ्चतन्त्रका कथाजस्ता एकसेएक रोचक कथा हालेर भक्तलाई अवाक् पनि पारिदिन्छन् । आचार्य रजनीश प्राय: मुल्ला नसिरुद्दिन भन्ने एक जना मूर्ख पात्रका कथा त्यस्तै रोचक ढंगले सुनाएर अनुयायीहरूलाई मन्त्रमुग्ध पार्थे । तर, वक्तृत्व जतिसुकै मोहक भए पनि कुनै सार वा आममानिसले व्यवहारमा उतारेर सुखी हुने सरल कार्यविधि भने ती कथामा हुँदैनन् । अनि, हावाबाट वा बाहुलाभित्रबाट विगुत, फलफूल, रोट इत्यादि निकाल्ने जादु जानेका गुरुको त त्यो जादू देखेरै भक्त दास बनिहाल्छन् । र, त्यसलाई भगवान्को लीला ठान्छन् । ‘भगवान् को प्रसाद’को मनोवैज्ञानिक असर कस्तो हुन्छ भने केही समयका लागि त्यसबाट आफ्नो रोग निको भएजस्तो लाग्छ बिरामीलाई । त्यस्ता भक्तहरू आफ्नो गुरुले गलत काम गरेका छन् भनेर पत्याउँदै पत्याउँदैनन्, चाहे अदालतले नै दोषी प्रमाणित गरेको किन नहोस् । 

शासन, समुदाय र समाजमा निहित विभिन्न कमजोरीहरूको फाइदा उठाउँदै देखाउनका लागि केही समाजसेवा गरे पनि यस्ता गुरुका कतिपय आश्रमहरू वास्तवमा व्यापारिक घरानाको जस्तो काम गर्छन् । कति त अवैध धन्दासमेत सञ्चालन गरिरहेका हुन्छन् । 

विविध कारणले आत्मविश्वास गुमाएका वा आफूलाई सामाजिक रूपमा असुरक्षित महसुस गरेका ठूला नेता, साहूमहाजन, सेलिब्रिटी र उच्च ओहदाका सरकारी अधिकारीहरूसमेत दैवी सुरक्षाका लागि यस्ता गुरुहरूकहाँ धाउँछन् । अनि, ‘ठूलाबडाहरू त भक्त बनेका छन्, त्यसैले यी गुरु त भगवान्कै दूत रहेछन्’ भनेर पनि कतिपय आममानिस यिनका अनुयायी बन्न पुग्छन् । र, गुरुहरू ठूला मानिस हुन् कि आममानिस, मानिसका असुरक्षाका मनोविज्ञान, भय, हतासाजस्ता कमजोरीमा खेल्न खप्पिस हुन्छन् । प्रचारका अत्यन्त भोका भए तापनि एकाध अपवादबाहेक बहुसंख्यक गुरुहरू आफ्नो अज्ञान वा ढोंगको पोल खुल्छ भन्ने डरले मिडियामा आउन वा प्रश्नको सामना गर्न चाहँदैनन् । बरू, आफ्नो छुट्टै मिडिया वा कुनै मिडियाको समय किनेर प्रवचन कार्यक्रम चलाउँछन् र त्यसैबाट आफ्नो प्रचार गर्छन् । भक्त नै भए पनि गुरुलाई प्रश्न सोध्ने खालका भक्तहरू मन पराउँदैनन् । उनीहरूलाई त हात जोडेर थुरथुर काम्दै कुरा सुनिरहने अन्धानुयायी नै चाहिन्छ । प्राय: गुरुहरूको आफ्ना भक्तहरूसँगको सञ्चार एकतर्फी हुन्छ । गुरुले भनिरहने, अनुयायीले सुनिरहने । दोहारो संवाद निषेध हुन्छ । 

भक्तको समस्या समाधान हुने सरल उपायहरू बताउने काम यस्ता गुरुहरूले कहिल्यै गर्दैनन् । बिगुत, प्रसाद, औँठी, बुटी आदि दिने गुरु परे त्यही दिएर सबै ठीक हुन्छ भनिदिन्छन् । प्रवचन मात्रै दिने गुरु भए ‘आफूभित्र हेर, तिम्रो सबै समस्याको जड तिमीलाई आफूभित्रै भएको थाहा हुन्छ, त्यहीँनिर तिमीलाई ईश्वरको दर्शन हुन्छ, उहाँले नै तिमीलाई बाटो देखाउनुहुनेछ’ शैलीका अमूर्त ज्ञान दिएर भक्तलाई चुप लगाइदिन्छन् । यसबाट भक्तको समस्या समाधान नभए पनि उसमा आफैँप्रति व्यर्थको हीनभाव र गुरुप्रति भय तथा भक्तिभाव भने अवश्य जागृत हुन जान्छ ।

पूर्वीय दर्शनको खिलापमा : क्रिस्चियन, बुद्धिष्ट, शिख अनि मुसलमान सबै समुदायमा यस्ता गुरु हुन्छन् । तर, तिनका तुलनामा हिन्दु समुदायमा गुरुहरू कता हो कता धेरै छन् । सम्भवत: हाम्रो प्राचीन हिन्दु सभ्यतामा धेरै लामो समय कायम रहेको गुरु–शिष्य परम्पराका कारण यसो भएको होला । यद्यपि, अहिलेको देवमानव व्यवसाय त्यस परम्पराको निरन्तरता, विरासत वा अवशेष केही पनि होइन । त्यसको विकृत नक्कल मात्र हो । कतिपय देवमानवहरूसँग बसेर फोटो खिचाउन, सेल्फी खिच्नेदेखि खुट्टा ढोग्न र प्रसादका रूपमा उनीहरूको जुठो खानसम्म दर तोकिन्छ । गुरुको आश्रमका लागि चन्दा भनेर त्यस्तो रेट लगाइएको हुन्छ । त्यस्तो रेट लगाउने गुरु र रकम बुझाउने शिष्य दुवैथरीले हाम्रो पूर्वीय सभ्यताको त्यस गौरवमय विरासतलाई बदनाम मात्र गरिरहेका छन् । 

भारतमा मौलाएको यो देवमानव धन्दा उस्तै धार्मिक, सामाजिक परिवेश भएको र सीमा जोडिएको नेपालमा आयात भएको मात्र छैन, सप्रिएको पनि छ । गुरमितजस्तै फौजदारी अपराध गर्दै हिँड्ने बाबा र हरियाणामा जस्तो दंगा गर्ने भक्तजन अहिलेसम्म हामीकहाँ नदेखिए पनि नेपाली गुरुहरूको अरू कार्यप्रणाली र नेपाली भक्तहरूको अन्धभक्ति भारतीयहरूको भन्दा खासै भिन्न छैनन् । तर, उनीहरूको बजार, शक्ति र साम्राज्य भारतीय बाबाहरूको जत्तिको विशाल छैन, देश अनुसारको छ । उनीहरूलाई नेपालमै पनि ती नामीदामी भारतीय गुरुहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । किनभने, प्राय: ठूला भारतीय गुरुका चेला र उनीहरूका आश्रमका यहाँ शाखा छन् । सहरी मध्यम र उच्च वर्गका कतिपय नेपाली परिवारहरूबाट चन्दाका नाममा संकलित ठूलो धनराशि ती आश्रमदेखि भारतसम्म पुग्छन् । ‘होममेड’ गुरुदेखि भारतीय गुरु वा उनका अनुयायीहरूमध्ये कयौँले त सरकारी जग्गा हडपेर, वनलगायतका सार्वजनिक सम्पत्ति मासेर, कब्जा गरेर आश्रम बनाएका छन्, आफ्ना भक्तहरूको राजनीतिक पहुँच र शासकीय शक्तिका आडमा । जुन कुरा नेपाली मिडियाले उठाउँदै आएको पनि छ । 

र, सच्चा गुरु : साँच्चै धर्म गरेर पुण्य कमाउने हो भने त धुर्मुस–सुन्तली वा डा गोविन्द केसीले गरेजस्तो गरे हुन्थ्यो । अस्पताल, विद्यालयहरू चलाए हुन्थ्यो । छुवाछूतविरुद्ध जागरण अभियान चलाए हुन्थ्यो । किनभने, यो सामाजिक समस्यालाई कानुन बनाएर मात्र निर्मुल गर्न सकिँदैन । सप्ताह पनि छाउपडी प्रथाले आक्रान्त सुदूरपश्चिम पहाडका गाउँगाउँ पुगेर लगाए हुन्थ्यो, छाउपडी प्रथा धर्म र शास्त्रसम्मत भनेर । किनभने, देउता रिसाउने डरले त्यहाँको समाजले यो कुरीति त्याग्न नसकेको स्थिति छ । तर, यस्ता कार्य गर्नमा न ती गुरुहरूको चासो छ, न तिनलाई चन्दा दिनेहरूको ।

लम्बेचौडे परिभाषा नगर्दा पनि धर्म र अध्यात्म भनेको ईश्वरका नाममा असल मानिस हुने उपक्रम हो भने त्यहीचाहिँ काम गुरुहरू गर्दैनन् । खराब कर्म गर्न र आफ्ना खराब कर्तुत छोप्नका लागि मात्र धर्म र अध्यात्मको नाम भजाउँछन् उनीहरू । भनून्, कृष्णजीको गोपिनीहरूसँगको खेलका एउटै कथा हजार पटक दोहोर्‍याएर मानव जातिको कुन दु:खको निवारण हुन्छ ? 

आफ्ना विचार, व्याख्या, प्रवचनका माध्यम र कर्मका दृष्टान्तद्वारा ती गुरुहरूले मानिसलाई सुखी बनाउने बाटो देखाएका छन् । यहाँ पनि केही राम्रा गुरुहरू भए । जस्तो : खप्तड बाबा, शिवपुरी बाबा । उच्च कोटिको आध्यात्मिक ज्ञान र नैतिकताले युक्त यी गुरुहरूले कहिल्यै कसैलाई ठगेनन्, ढाँटेनन् । कसैलाई भगवान् बनेर झुक्याएनन्, कसैप्रति कहिल्यै कुनै दुर्भावना राखेनन्, फैलाएनन् । आश्रम चलाए पनि कसैसँग चन्दा मागेनन्, कसैसँग केही लिएनन्, आफूसँग भएको ज्ञान र सिद्धि अरूलाई दिई मात्र रहे, बस् । तर, त्यो परम्पराका गुरुहरू या त अचेल छैनन् या त्यस्ता कतै कुनै तीर्थतिर गुमनाम छन् । बाँकीचाहिँ धेरै गुरमित मार्का छन् र जताततै छन् । 

प्रकाशित: आश्विन ३, २०७४