बल्ल मधेस महसुस

  • फरक हुलिया, वर्ण र भूगोललाई स्वीकार्न थाल्यो नेपाली रजतपटले

- गोकर्ण गौतम

‘सिक्किम दुख्छ, दार्जीलिङ दुख्छ । तर, आफ्नै देशको मधेस दुख्दैन ।’

सं रक्षणको यो संवाद नेपाली राजनीतिमाथिको व्यंग्य मात्र होइन, नेपाली फिल्ममा विद्यमान मधेसप्रतिको भेदभावपूर्ण सोचविरुद्धको रोष पनि हो । किनभने, निर्माणको आधा शताब्दी नाघिसक्दा मधेसका विषयवस्तुलाई मूलधारका फिल्ममा कहिल्यै महत्त्व दिइएन । राजनीतिमा झैँ सिनेमामा पनि मधेसलाई पाखा पारियो । महेन्द्र राजमार्गभन्दा तलको भूभाग र त्यहाँका कथा पर्दामा ‘अघोषित निषेध’जस्तै थियो । तर, ०६२/६३ को जनआन्दोलन र त्यसपछिको मधेस आन्दोलनले राजनीतिमा मधेसले दरिलो उपस्थिति जनाइरहेको छ । फिल्मको सन्दर्भमा पनि शुभ संकेतहरू देखिन थालेका छन् । मधेसी कथा, पात्र, भूगोल र कलाकारको सकारात्मक हस्तक्षेप बढेको छ । फरक विषयवस्तुलाई पर्दामा पस्कँदै आएका निर्देशक मनोज पण्डित भन्छन्, “नेपाली सिनेमाले नेपाल भन्नासाथ पहाडी टाकुरा र त्यहाँका दौरा–सुरुवाल मात्र देख्थ्यो । अबचाहिँ महेन्द्र राजमार्गभन्दा मुनिको फाँट र गम्छा–धोतीलाई पनि आत्मसात् गर्न थालेको छ ।”

संरक्षण नै त्यसको ज्वलन्त उदाहरण हो । मधेसको सामाजिक अस्थिरता, स्थानीय नेता र सिंहदरबारको स्वार्थी खेललाई उदांगो पारिएको संरक्षणका निर्देशक पनि मधेसी मूलका हुन्, पूर्णेन्दू झा । ओस्कार फिल्म कलेजका ‘पास आउट’ झा भर्गो नामक रोमान्टिक फिल्मबाट डेब्यु गर्ने सुरसारमा थिए । तर, मधेसमा देखिएको सामाजिक र राजनीतिक परिवर्तनलाई नजरअन्दाज गर्नै सकेनन् । ठूलो पर्दामा मधेसको न्यून उपस्थितिलाई पूर्ति गर्नु पनि त थियो । हाल सक्रिय रहेका एक मात्र मधेसी मूलका निर्देशक झा भन्छन्, “नियोजित रूपमै मधेसको विषय उठाएको हुुँ । किनभने, मधेसका मुद्दा र पात्रलाई आमसञ्चारको सशक्त माध्यम फिल्ममा ल्याउने समय घर्किसकेको थियो ।” शतप्रतिशत वीरगन्जमा छायाँकन गरिएको यस फिल्ममा प्रमोद अग्रहरी, रमेशरञ्जन झा, कृष्णा सिंह, श्वेता शाह, नन्दु श्रीवास्तवलगायतका मधेसी कलाकारले प्रमुख भूमिका निर्वाह गरेका छन् । 

संरक्षणभन्दा एक सातापछि प्रदर्शनमा आएको ग्याङस्टर ब्लुजको कथा पनि मधेसको अर्को महत्त्वपूर्ण सहर नेपालगन्जमा केन्द्रित थियो । निर्देशक हेमराज बीसीले मधेसको जीवनशैली, लबज, वेषभूषालाई नजिकबाट उधिन्ने प्रयास गरेका थिए । उनले फिल्ममा अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरणलाई मूल विषय बनाइएको छ । पछिल्लो चरणमा फिल्म र मधेसको सेतुको जस भने निखिल उप्रेतीको भैरवलाई जान्छ । सीमामा हुने गुण्डागर्दी र मधेसमा जातीय राजनीति चर्काइरहेको गुन्डा नाइकेविरुद्ध केन्द्रबाट खटिएको प्रहरी अधिकृतको ‘अपरेसन’ हो, यो फिल्म । सम्भवत: मधेसी पात्रलाई हिरो बनाइएको पहिलो फिल्म उमा हो । छिरिङरितार शेर्पा निर्देशित यही फिल्मबाट प्रमोद अग्रहरीले डेब्यु गरेका थिए, विनीत यादव नामक माओवादी कमान्डरको भूमिकामा । सुरजसिंह ठकुरी अभिनीत जंगे त पूरापूर वीरगन्जमै खिचिएको थियो । होस्टेल रिटन्र्समा मिथिला नगरीको पण्डितले खुब चर्चा कमाएको थियो । जुन चरित्र निर्वाह गरेका थिए, मधेसी मूलका कलाकार नाजीर हुसैनले । कामेश्वर चौरसियाले रेशम फिलिलीको हरिया पात्रमार्फत फिल्मवृत्तमा तरंग पैदा गरे । झुम्कीमा फागुराम थारू र ताण्डवमा सीमाक्षेत्रको माफियाको भूमिका निर्वाह गरेका कलाकार अग्रहरी भन्छन्, “फिल्ममा मधेसी कथा र पात्र समेट्दा पहाड र मधेसको दूरी कम हुन्छ नै, खाना, वेषभूषा, भाषा, लबज, रहनसहनमा पनि अपनत्व जाग्छ ।” 

फिल्मकर्मीमा यही भावना जागृत भएर हुनुपर्छ, मधेसका सवाललाई केन्द्रमा राखिएका फिल्मको लर्को लाग्दैछ । कम्तीमा मधेसी पात्र र भूगोललाई सम्मानजनक रूपमा देखाउन थालिएको छ । जस्तो : १७ कात्तिकमा प्रदर्शन हुने फाटेको जुत्ता वीरगन्जका एक युवकको कथा हो । ‘आई एम सरी...’ गीतमार्फत मधेसको जनजीवनलाई सुन्दर र जीवन्त ढंगबाट पस्किएको छनक दिइएको छ । त्यस्तै, साम्तेन भुटियाको साढे सातमा मधेस आन्दोलनताका राजधानीबाट खटिएको एक फोटो पत्रकारको भोगाइ समेटिएको छ । ट्रेलरमा समाविष्ट कामेश्वर चौरासियाको मधेसी लबजको बोली हिट हुन थालिसकेको छ । ‘मधेसको सुरक्षा भनेको देशको सुरक्षा’ भन्ने अवधारणामाथि पण्डितले एक बनाएका छन् । बर्दिया, नेपालगन्ज र वीरगन्जमा खिचिएको यो फिल्ममा अग्रहरीसँगै विशाल पोखरेल, प्रमोद खड्काको अभिनय छ । 

फिल्म मनोरञ्जन मात्र होइन, समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम र सामाजिक प्रतिविम्ब हो । तर, नेपाली फिल्मकर्मीले बल्ल फिल्मको विश्वव्यापी मान्यतालाई व्यवहारमा उतार्न थालेका छन् । नत्र त उस्तै कथा पहाडकै हुनुपथ्र्यो, हिरो हुन आर्यन ‘लुक्स’ नै चाहिन्थ्यो । त्यसैले ५० वर्षसम्म नेपालको ४० प्रतिशतभन्दा बढी क्षेत्रफल फिल्मबाट टाढा रह्यो । खासमा फरक हुलिया, वर्ण र भूगोललाई स्वीकार्ने प्रवृत्ति नै थिएन । मधेसले त्यो सोचको विपरीत पर्दामा खँदिलो सहभागिता जनाउन थालेको हो । यसका लागि भिन्न सोच र क्षेत्रबाट आएका फिल्मकर्मीको भूमिका त अहम् छ नै, नयाँ कथा र कथ्यशैलीमा अपनाउनुपर्ने बाध्यता पनि छ । मधेस खाद्यान्नको मात्र होइन, कथाको पनि उर्वरभूमि हो । 

किनभने , यहाँ असहजता र संघर्ष बढी छ, वर्गीय अन्तर छ, जातीयता हाबी छ, सीमा समस्या पनि उत्तिकै । यी कथा मलिलो बनाउने सामग्री हुन सक्दैनन् र ? झा भन्छन्, “मधेसका कुरीति कम गर्न पनि फिल्मको भूमिका प्रभावकारी हुन सक्छ । पहाडमा मात्र सीमित भएमा नेपाली फिल्मको कहिल्यै समृद्धि हुन सक्दैन । फिल्म अपूरो र अधुरो हुन्छ ।” तर , उनले प्रयोग गरेको ‘समृद्धि’ शब्द फिल्मको कलात्मकतासँग मात्र जोडिएको छैन, व्यापारमा पनि त्यत्तिकै सम्बन्धित छ । 

जसरी नेपाली फिल्मले मधेसलाई बेवास्ता गरेको छ, ठीक त्यस्तै मधेसमा नेपाली फिल्मले ‘सौतेनी व्यवहार’ भोग्नुपरेको छ । त्यहाँका अधिकांश सिनेमाघरमा नेपाली फिल्म प्रदर्शन नै हुँदैनन्, हिन्दी र भोजपुरीको बोलवाला छ । त्यसैले फिल्मको कुल व्यापारमा मधेसको योगदान १५ प्रतिशत नाघ्न मुस्किल पर्छ । यसको एउटै कारण हो, नेपाली फिल्ममा मधेसको कथा, चरित्र, क्षेत्र, भाषा र संस्कृतिको प्रतिनिधित्व नहुनु । नेपाली फिल्मप्रति मधेसले अपनत्व नै लिन नसकेको निर्देशक झाको तीतो अनुभव छ । किनभने, मधेसकै सवाल उठाइएको संरक्षण मधेसमा चलाउन हम्मेहम्मे पर्‍यो । जसोतसो रिलिज गरे । तर, व्यापार सुखद रहेन । एकातिर, नेपाली फिल्म हेर्ने बानीे छैन । अर्कातिर, बलिउडको मनोविज्ञानसँग नजिक रहेको भूगोल हो, मधेस । त्यसैले बलिउडको ‘हेजेमोनी’ हटाउन पनि मधेसका दृश्यकथा भन्नु अपरिहार्य भइसकेको छ । नेपाली फिल्ममा जबर्जस्त स्थापित हुँदो अभिनेता अग्रहरी भन्छन्, “कथा र पात्रलाई जीवन्तता दिन सबभन्दा पहिले लेखकले मधेसलाई महसुस गर्नुपर्छ । नगरकोटको डाँडामा गएर लेखिएको स्क्रिप्टमा मधेसको सुगन्ध आउँदैन ।” 

मञ्चमा उस्तै  

त्यसो त फिल्म मात्र होइन, रंगमञ्चमा पनि मधेसका सवाललाई प्राथमिकतामा राख्न थालिएको छ । यतिबेला अनामनगरस्थित मण्डला थिएटरमा लाटीको छोरा मञ्चन भइरहेको छ भने बत्तीसपुतलीको शिल्पी थिएटरमा घोडचढी । दुवै नाटकमा एउटा समानता छ, दुवैको पृष्ठभूमि मधेस हो । लाटीको छोरामा मधेसको कुनै गाउँमा गन्यमान्यबाटै बलात्कृत भएकी अशक्त युवतीको कथा भनिएको छ । कुन्दन चौधरी, सपना चौधरीलगायतका मधेसी मूलका कलाकारको अभिनय रहेको यस नाटकमा बाजिका भाषासमेत प्रयोग गरिएको छ । त्यस्तै, घोडचढीमा मधेसमा बसोवास गर्ने चमार समुदायको पेसा, संस्कृति र परम्परालाई झल्काइएको छ । गोबरले लिपेको भुइँ, बाँसको झुपडी, पानी तान्ने कल, खटियाले स्थानीयताको आभास दिलाउँछ । 

केही समयअगाडि नयनराज पाण्डेको उपन्यास लूलाई नाट्य रुपान्तरण गरेर मण्डलामै देखाइएको थियो । सरिता शाहले निर्देशन गरेको उक्त नाटकमा मधेसको जीवनशैली, हुलिया र मनोविज्ञानलाई मञ्चमा उतार्ने प्रयास गरिएको थियो । रंगकर्मी राजन खतिवडाले मधेसकै सवाल उठाएर माथापञ्चर मञ्चन गरेका थिए, तीन वर्षअगाडि । कथावस्तु र प्रस्तुतिका हिसाबले यो नाटकले चर्चा कमायो । तैपनि, मधेसलाई जीवन्त र प्रभावकारी शैलीमा मञ्चमा प्रस्तुत गर्न नसकिएको खतिवडाको भनाइ छ । मण्डला थिएटरका कला निर्देशक खतिवडा भन्छन्, “मधेसी जनताको व्यथा, मनोविज्ञान र संस्कृतिलाई सशक्त शैलीमा पोख्ने नाटकको खाँचो छ अझै ।” 

 

 

प्रकाशित: आश्विन ३, २०७४