ब्लुटुथबाट पनि ह्याक

- नेपाल संवाददाता

इन्टरनेट सेक्युरिटीमा काम गर्ने आर्मिस नामको एक कम्पनीले सबै ब्लुटुथ डिभाइसमा रहेका गम्भीर त्रुटि पत्ता लगाएको छ । यही त्रुटिको फाइदा उठाउँदै ह्याकरहरुले जुनसुकै डिभाइस पनि ह्याक गर्न सक्ने रहस्य खुलेको हो । इन्टरनेट सेक्युरिटीमा अनुसन्धान गरिरहेको आर्मिसको एक टोलीले यस्तो त्रुटि एन्ड्रोइड, आईओएस, विन्डोज वा लिनक्स सबैका ब्लुटुथ फिचरमा रहेको बताएको छ । 

यस्तो त्रुटिबाट ह्याक कसरी होला भनेर आर्मिसले प्रदर्शन गरेको थियो । प्रयोगकर्ताले चालै नपाउने गरी ह्याकरहरुले उनीहरुको डिभाइसको ब्लुटुथ आफैँ अन गर्न सक्छन् । र, कुनै नोटिफिकेसनबिनै त्यो डिभाइससँग जोडिन सक्छन् । त्यसपछि प्रयोगकर्ताका डिभाइसमा भएका हरेक फाइल, एप वा डाटा सजिलै ह्याक गर्न सक्छन् । ह्याकरहरुले ब्लुटुथबाट खराब फाइल (भाइरस वा वार्म) पठाउन पनि सक्छन् । यस्ता वार्मबाट सक्रमित डिभाइस अरु कुनै डिभाइससँग कनेक्ट हुनासाथ अर्को डिभाइस पनि सजिलै सक्रमित हुन्छ । र, संक्रमित डिभाइसहरु ह्याक गर्न ह्याकरलाई झनै सजिलो हुन्छ । 

आर्मिसले तयार पारेको प्रतिवेदन अनुसार हाल प्रयोगमा रहेका पाँच अर्बभन्दा बढी डिभाइस यस्तो जोखिममा रहेका छन् । आर्मिसले यो कुरा पत्ता लगाएपछि गुगल, एप्पल, माइक्रोसफ्टलगायतका ठूला टेक कम्पनी आफ्ना उत्पादनमा रहेका यस्ता कमजोरी हटाउन लागिपरेका छन् ।

 

प्रकाशित: आश्विन ३, २०७४